राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर विद्यार्थीको पठन क्षमता, उच्चारण, बुझाइ र आत्मविश्वास विकास गर्न म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिताकोृ आयोजना गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीको आयोजनामा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूबिच उक्त प्रतियोगिता आयोजना गरिएको हो।

जिल्लामा माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरूले समेत नेपाली भाषाका पाठ तथा पाठ्यसामग्रीहरू शुद्धसँग उच्चारण गर्न नसक्ने समस्या देखिएपछि विद्यार्थीहरूको पढेको कुरा बुझ्ने क्षमता वृद्धि, विद्यार्थीको आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न प्रतियोगिताको आयोजना गरिएको इकाई प्रमुख मतिलाल चपाईले बताउनुभयो ।


प्रतियोगिताको अध्यक्षता शिक्षा विकास समितिकी अध्यक्ष एवम् जिसस कार्यवाहक प्रमुख दिलकुमारी खत्री, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश गैरे, बेनी नग।रपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारी, जामुनाखर्क माविका प्रअ सोमनाथ ढुंगानाले मन्तब्य राख्नुभएको थियो । प्रतियोगितामा विजेतालाई जिसस प्रमुख खत्री, बेनी नगरपालिका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने वितरण गर्नुभएको थियो ।
म्याग्दीका ६ वटा पालिकामध्ये रघुगंगा गाउँपालिका बाहेकका सबै पालिकाका कक्षा १ देखि ५ सम्मका प्रति कक्षा १ जनाका दरले २८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। साथै, रघुगंगा गाउँपालिकाअन्तर्गतको मालिका आधारभूत विद्यालयले पनि स्वतःस्फूर्त रूपमा प्रतियोगितामा सहभागिता जनाएको थियो ।प्रतियोगितामा कक्षा १ तर्फ सर्वोदय मावि (अन्नपूर्ण गाउँपालिका) की सुप्रिना सुनार प्रथम, धवलागिरी गाउँपालिकाकी सेजा थापा दोस्रो र बेनी सामुदायिक मावि (बेनी नगरपालिका) का उत्सव सापकोटा तेस्रो बभएका थिए ।

त्यसैगरी कक्षा २ तर्फ लिटल गार्डेन एकेडेमी (बेनी नगरपालिका) की सभ्यता भण्डारी प्रथम, शारदा मावि (मंगला गाउँपालिका) का अजन घर्ती दोस्रो र रुम इङ्लिस बोर्डिङ स्कुल (मालिका गाउँपालिका) की सीमा सेन्चुरी तेस्रो स्थान हासिल गरे। कक्षा ३ तर्फ लिटल गार्डेन एकेडेमी (बेनी नगरपालिका) की जेनिसा कुँवर प्रथम, मालिका आविका प्रिन्स रोका (मालिका गाउँपालिका) दोस्रो र मालिका आविका निरोज छन्त्याल (रघुगंगा गाउँपालिका) तेस्रो भएको इकाईले जनाएको छ ।

त्यस्तै कक्षा ४ तर्फ धवलागिरी एकेडेमी (ताकम, धवलागिरी गाउँपालिका) की आरोही गुरुङ प्रथम, लिटल गार्डेन एकेडेमी (बेनी नगरपालिका) का साहित्य रेग्मी दोस्रो र मालिका गाउँपालिकाको देउराली माविका विद्यार्थी तेस्रो स्थान, कक्षा ५ तर्फ माउन्ट एभरेस्ट आवासीय मावि (बेनी नगरपालिका) की अनिस्का विक प्रथम, मालिका आवि (रघुगंगा गाउँपालिका) का योगेश पुन दोस्रो र हेम मावि (सिवाङ, धवलागिरी गाउँपालिका) का आविष्कार सुवेदी तेस्रो भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।











