म्याग्दीमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीका लागि एकै ठाउँमा उभिएका छन्। केन्द्रमा संस्थापन र देउवा पक्षले फरक मिति सार्वजनिक गरेपनि म्याग्दीमा भने जिल्ला सभापतिसहित पदाधिकारीसहित अधिकांस जिल्ला नेताहरुले तोकिएकै समयमा वडा, पालिका, प्रदेश तथा जिल्ला अधिवेशनमा सहभागि हुने निर्णय गरी तयारीमा जुटेका हुन्।
पार्टीका पूर्वसभापति तथा नेता शेरबहादुर देउवा पक्षले महाधिवेशनका लागि फरक मिति अघि सारे पनि म्याग्दीमा भने संस्थापन पक्षले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्ने तयारी अघि बढाइएको एक नेताले बेनीअनलाइनलाई बताए ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तथा नेपाली कांग्रेस म्याग्दीको आठौँ जिल्ला अधिवेशनको तयारीका सन्दर्भमा बिहीबार पार्टी कार्यालय बेनीमा बैठक सम्पन्न भएको जिल्ला सचिव भरतबहादुर रकालले बताए ।
जिल्ला सभापति खमबहादुर (खम्बीर) गर्बुजाको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्य रेशमबहादुर बानियाँ, जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भूमिश्वर गौतम, जिल्ला कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश ‘क’ सभापति ओम छन्त्याल र ‘ख’ टंक बुढाथोकी तथा पालिका सभापतिलगायतको सहभागिता रहेको थियो। बैठकमा पार्टीका पुराना नेताहरूको समेत उपस्थिति रहेको थियो।
बैठकले जिल्लाका ४५ वटै वडामा असोज ४ गते, पालिका अधिवेशन असोज ७ गते सम्बन्धित पालिका केन्द्रमा तथा प्रदेश र जिल्ला अधिवेशन असोज १० गते सदरमुकाम बेनीमा आयोजना गर्ने निर्णय गरेको सचिव रकालले बताए ।
निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्न जिल्लाका सबै तहका पार्टी संरचना, प्रतिनिधि तथा नेता–कार्यकर्ताबीच आवश्यक समन्वय र सहकार्य गर्ने बैठकले निर्णय गरेको छ । यही असोज १६ गते काठमाण्डौंमा नेपाली कांग्रेसको १५ र्औ महाधिवेशन आयोजना गरिएको छ । देउवा पक्षले भने उक्त महाधिवेशनलाई अबैधानिक भन्दै फरक मिति सार्वजनिक गरेको छ ।













