---Advertisement---

मुस्ताङ जलवायु सम्मेलन : तराईदेखि हिमालसम्म असर

On: September 17, 2026 9:34 PM
Follow Us:

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले दुई दशकअघिसम्म बाक्लो मानवबस्तीले भरिएको ध्येगाउँमा देखिने पानीका मुहान पछिल्लो समयमा सुक्दै गएपछि स्थानीयले बस्ती छाड्न बाध्य भएको पीडा सुनाउनुभयो । जलवायु परिवर्तनका कारण पानीको मुहान सुकेपछि समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको लोघेकर दामोदरकुण्ड–५, ध्येगाउँका २६ घरधुरीको खेतीपाती र पशुपालनको आधार गुमेको छ । पानी नभएपछि पुख्र्यौली थातथलो छाडेर हिँडेका स्थानीयलाई थामजुङ भन्ने गाउँमा बसालिएको अध्यक्ष विष्टले बताउनुभयो ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको घरपझोङ जलवायु परिवर्तन सम्मेलन जलवायु परिवर्तनका कारण पर्याप्त हिउँ पर्न छाडेको र पानीको मुहान सुक्न थालेपछि स्थानीयवासीले भोग्नु परेको पीडा अध्यक्ष विष्टले सुनाउँदा देशभरबाट आएका जनप्रतिनिधिले निकै चासोपूर्वक सुनेका थिए । अध्यक्ष विष्ट जस्तै खानेपानीको अभावका कारण डेढ दशकअगाडी विस्थापित भएको ल्होमन्थाङ गाउँपालिका–२, सम्जुङगाउँका बारेमा गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङले सम्मेलनमा सहभागी जनप्रतिनिधि र सरोकारवाला निकायलाई जलवायु परिवर्तनको असर र गाउँको पीडा सुनाउनुभयो । 

समुद्री सतहदेखि तीन हजार ९६२ मिटर उचाइमा रहेको बस्तीका १८ घरधुरी पानी खोज्दै जोमसोम–ल्होमन्थाङ–कोरला मुख्य सडकमार्गदेखिनजिकै छोसरखोलाको पूर्वतर्फ रहेको नामासुङमा सरेको उपाध्यक्ष विष्टले कथा सुनाउनुभयो । जलवायु परिवर्तनको निर्मम प्रहार दुर्गम क्षेत्रका बासिन्दाले भाग्नु परेको ‘तितो अनुभव’ भन्दै उहाँले आउँदा दिन झन् भयावह हुने पनि बताउनुभयो । जोमसोममा आयोजना गरिएको सम्मेलनमा मुस्ताङका पाँच वटै स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनका कारण वर्तमान पुस्ताले कृषि, पशुपालन, पर्यटनका साथै प्राकृतिक साधनस्रोतलगायत विभिन्न क्षेत्रमा सामना गर्नु परेको कठिन चुनौतीसँगै भविष्यका लागि गम्भीर खतराका सङ्केतसमेत सुनाएका थिए । 

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले तल्लो भेगमा स्याउ उत्पादन घट्दै गएको, स्याउ र आलुमा नयाँ रोग देखिने गरेको, चरन क्षेत्रमा आहराको कमी, पहाड र तराईमा उत्पादन हुने विभिन्न फलफूलको विस्तार, अनियमित वर्षा, बाढीपहिरो जस्ता अनेक समस्याको सामाना गर्नु परेको बताउनुभयो ।

जलवायु सम्मेलनमा सहभागी हुन मुस्ताङ आएकी माडी नगरपालिका चितवनका प्रमुख ताराकुमारी काजी महतोले जलवायु परिवर्तनका कारण सिमसार क्षेत्रका जलचर मासिएको, तराईमा भूमिगत पानी सतह निकै तल झरेको, तापक्रममा वृद्धिले लामो खडेरी, बाढी तथा डुबान र नयाँ रोगव्याधिका कारण कृषि, पशुपालनको क्षेत्रमा गम्भीर असर परेको बताउनुभयो । कैलाली जिल्ला समन्वय समितिका टीकाकुमारी चौधरीले जलवायु परिवर्तनका कारण प्रकृतिले दिएको उपहार जस्तै वर्षा, पानीको स्रोत खोसिने र मासिने अवस्थामा पुगेको बताउनुभयो । 

सम्मेलनमा हरेक जनप्रतिनिधि आफ्नो जिल्लाले जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्याका बारेमा खुलेर पीडा पोख्दै अब जलवायु अनुकूलनमा पूर्वाधार जस्तै प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने, जलवायुजन्य समस्यालाई स्थानीय मुद्दाका रूपमा नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन देशभरका जनप्रतिनिधि प्रतिबद्ध भएको आयोजक घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिङ लालचनले बताउनुभयो ।   

Leave a Comment