म्याग्दीका स्वर्गीय डेनीश छन्त्यालको स्मृतिमा श्री कृष्ण युवा क्लबको आयोजनामा प्रथम ‘डेनिश १४ शट्स मेमोरियल कप’ आयोजना हुने भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ८ निवासी स्वर्गीय डेनिशको सम्झनामा यहि असोज २५ देखि २९ गतेसम्म पोखरा लामाचौरस्थित पुन मगर समाजको बास्केटबल कोर्टमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा खुला पुरुष ५–५ बास्केटबल तथा महिला भलिबल हुने भएको हो ।

डेनिशको खेलकुद र सिर्जनात्मक यात्रालाई सम्झनामा राख्दै प्रतियोगिता आयोजना गर्न लागिएको आमा एलिजा छन्त्यालले बताउनुभयो । डेनिश खेलकुदमा सबैभन्दा धेरै बास्केटबल प्रतिको रुचि र युवामाझको सक्रियतालाई सम्मान गर्दै प्रतियोगिता गर्न लागिएको हो ।

बास्केटबलतर्फ प्रथम हुने टिमले एक लाख ५४ हजार १४ रुपैयाँ तथा दोस्रो हुनेले एक लाख १४ हजार १४ रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता तथा अनुशासित टोलीलगायतका विधामा समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महिला भलिबलतर्फ प्रथम हुने टिमले ८५ हजार १४ रुपैयाँ तथा दोस्रो हुनेले ५५ हजार १४ रुपैयाँ प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भिस, उत्कृष्ट सेटरलगायतका विधामा पनि पुरस्कार राखिएको छ ।यसअगाडी डेनिशको स्मृतिमा भोटेकोशीका बाढी पीडितलाई १ लाख १४ हजार १४ रुपैयाँ,म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल निर्माण लागिबुबाआमा हिराप्रसाद एलिजा छन्त्याल र बहिनी सोनी छन्त्यालले ३ लाख सहयोगसहित विभिन्न क्षेत्रमा सहयोग गर्नुभएको छ ।












