---Advertisement---

चोरीको मोबाइलबाट खुल्यो सुजन छन्त्याल हत्या प्रकरण, दुई दाजुभाइ आरोपित

On: October 9, 2026 6:10 PM
Follow Us:

काठमाण्डौको टोखा नगरपालिका–९, शिवमन्दिर चोकनजिक हत्या गरिएका म्याग्दीका ३३ वर्षीय सुजन छन्त्यालको हराएको मोवाइलबाट अभियुक्तको पहिचान खुलेको छ । वैदेशिक रोजगारीका लागि काठमाडौँ गएका म्याग्दी धवलागिरी गाउँपालिका–५मल्कवाङका छन्त्यालको गत असोज ४ गते विहान ३ः२० बजे होटलबाट निस्किदाँ कुटपिटपछि गम्भीर घाइते अवस्थामा भेटिएका सुजनको उपचारका क्रममा मृत्यु भएको घटनामा प्रहरीले मोबाइल बिक्री गर्ने दुई दाजुभाइलाई आरोपितका रूपमा पहिचान गरेको हो।


काठमाडौँको तारकेश्वर नगरपालिका–११ हिलेटोलका २४ वर्षीय मनिष खड्का र २७ वर्षीय अनिश खड्काविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ। आरोपी दुई दाजुभाई मृतक सुजलको रेकी गरी होटलबाट निस्किएपछि एकान्तमा कुटपिट गरी मोबाइल र नगद लुटेको आरोप लागेका थिए । चोरीको मोबाइल बिक्री तथा सिसीक्यामेराको आधारमा प्रहरी अनुसन्धानबाट आरोपी दुबैले मृतक सुजललाई लखेटी लखेटी कुटपिट गरेको र अचेत अवस्थामा छोडेको पाइएको छ ।


प्रहरी बृत्त महाराजगञ्ज काठमाण्डौका अनुसार अभियुक्तद्धय खड्कालाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ। घटनाको अनुसन्धान सीसीटीभी फुटेज, मोबाइलको पहिचान नम्बर र प्राविधिक विश्लेषणका आधारमा अघि बढाइएको थियो । लुटिएको मोबाइल बिक्री गरेपछि अनुसन्धानले थप गति लियो। प्रहरीले मोबाइलको अन्तर्राष्ट्रिय पहिचान नम्बर (आईएमईआई) र अन्य प्राविधिक माध्यमबाट अनुसन्धान गर्दै मोबाइल खरिद गर्ने व्यक्तिसम्म पुगेको थियो। खरिदकर्ताको बयानबाट मोबाइल बिक्री गर्ने व्यक्तिको पहिचान खुलेपछि मनिष र अनिशसम्म पुग्न प्रहरी सफल भएको थियो ।


मृतक सुजललाई सडकपेटीमा अचेत अवस्थामा फेला पारेका थिए । टाउकोमा गम्भीर चोट लागेका अवस्थामा उपचारका लागि वीर अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोही दिन राति उनको मृत्यु भएको थियो। त्रिवि शिक्षण अस्पतालमा गरिएको शव परीक्षणले टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको पुष्टि गरेको आफन्त सोम छन्त्यालले बेनीअनलाइनलाई बताए ।

प्रहरी अनुसन्धानअनुसार फुटेजमा आरोपित दाजुभाइले सुजनलाई शिवमन्दिर चोकबाट पछ्याउँदै एकान्ततर्फ लगेको, कुटपिट गरेको थिए । उक्त स्थानमा अभियुक्तद्धय खड्काले विगतमा पनि लुटपाट गर्ने गरेकोे, बिदेशबाट आएका र जानेहरुलाई होटल आसपासमा बसेर निगरानी गर्ने र एक्लै भए आक्रमण गर्ने गरेको समेत पाइएको छ। मृतकका दाजु धनबहादुर छन्त्यालले दिएको जाहेरीमा सुजनलाई लुटपाट गर्ने उद्देश्यले कुटपिट गरी सडकमा छाडिएकोउल्लेख छ ।

अचेत अवस्थामा समयमै उपचार नहुदाँ टाउकोमा रगत जमेको अवस्थामा चिकित्सकले मृत घोषित गरेका थिए । पीडित परिवारले मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) अनुसार कर्तव्य ज्यान मुद्दामा आरोपितलाई हदैसम्मको सजाय गर्न माग गरेको छ। थप कानुनी प्रक्रियाका लागि प्रहरीले सीसीटीभी फुटेज, मोबाइलसम्बन्धी प्राविधिक विवरण र शव परीक्षण प्रतिवेदनलाई आधार बनाएको छ।

Leave a Comment