१५२ औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय, म्याग्दीले आयोजना गरेको ‘हुलाकसँग मेरो सेल्फी’ प्रतियोगितामा जनप्रिय माविका शिक्षक दिनेश ढकाल प्रथम भएका छन् । कार्यालयले असोज २२ गते सार्वजनिक गरेको नतिजाअनुसार सामाजिक सञ्जालमा प्राप्त लाइक, भ्युज, सेयर र कमेन्टका आधारमा विद्यालयका विज्ञान शिक्षक ढकाल प्रथम भएका हुन् ।
बिजेता ढकालले २८ हजार ९ सय लाइक, ३९ हजार ६३ भ्युज, १२३ सेयर र ३२० कमेन्ट प्राप्त गरेका छन्। प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनका सचिव मञ्जु कटुवाल क्षेत्री द्वितीय र यज्ञबहादुर श्रेष्ठ तृतीय भएका छन्।
कटुवालले २९५ लाइक, २५ हजार १ सय भ्युज, ६१ सेयर र १५६ कमेन्ट तथा श्रेष्ठले २०१ लाइक, १२ हजार भ्युज, ९६ सेयर र १४९ कमेन्ट प्राप्त गरेका छन्। प्रथम, द्वितीय र तृतीय हुनेलाई १५२औँ विश्व हुलाक दिवसका अवसरमा असोज २३ गते जिल्ला हुलाक कार्यालय, म्याग्दीमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा कुल १२ जना सहभागी भएका थिए। मूल्याङ्कन समितिले प्रतिस्पर्धीले आफ्नै पोस्टमा गरेका रिप्लाई वा कमेन्टलाई भने समावेश नगरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापा मगरले बताए ।
जिल्लामा हुलाकको सेवा प्रवाहलाई गुणस्तरीय तथा जनसहभागिताकाका लागि विगतमा समेत विभिन्न कार्यक्रम गर्ने गरिएको थियो । जिल्ला हुलाक कार्यालयले विद्यार्थीसँग हुलाकसहित विभिन्न समुदायस्तरका कार्यहरु समेत गर्ने गरेको छ ।











