---Advertisement---

आगामी मंगलबारदेखि देशका केही भूभागमा पानी पर्ने, त्रसित नहुन मौसम विभागको आग्रह

On: October 23, 2026 10:42 AM
Follow Us:

 नेपाल मौसम विज्ञान विभागले आगामी मंगलबारदेखि देशका केही भूभागमा पानी पर्ने सम्भावना देखाएको छ। वर्षा हुने आँकलन गरिए पनि नआत्तिन विभागले आग्रह गरेको छ।

सामाजिक सञ्जालमा फैलाइएको भ्रामक हल्लाप्रति लक्षित गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले सर्वसाधारणलाई सचेत गराएका छन्। केही स्थानमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे। आगामी मंगलबारदेखि वर्षाको सम्भावना रहेको र कुन स्थानमा कति तथा कहिलेसम्म पानी पर्छ भन्ने निश्चित नरहेको उनले बताए। अहिले सामाजिक सञ्जालतिर लगातार ७ दिनसम्म पानी पर्छ भनेर खबर फैलाइएको छ। यस्तो हल्लाले विशेष गरी किसानहरुलाई त्रसित बनाएको उनले जानकारी दिए।

मौसमी प्रणाली सधैँ परिवर्तनशील रहने भएकाले हल्लाको पछि नलाग्न महर्जनले जोड दिएका छन्। नेपालको सन्दर्भमा ३ दिनसम्मको मौसम पूर्वानुमान धेरै हदसम्म मिल्ने तर साता दिनसम्मको अनुमान नमिल्ने उनले बताए। अब केही दिनपछि आगामी साता हुने वर्षाबारे थप सूचना सम्प्रेषण गरिने उनको भनाइ छ। मौसम तथा वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै विश्वास गर्न मौसमविद् महर्जनले आग्रह गरेका छन्।

Leave a Comment