दसैँको टीकापछि म्याग्दीका प्रमुख पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। बाढीपहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक मर्मतपछि सञ्चालनमा आएसँगै मुस्ताङ जाने पर्यटकसँगै म्याग्दीका पर्यटकीयस्थलमा घुम्न आउने आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो।
घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से झरना र गलेश्वर क्षेत्रमा पर्यटकको चहलपहल बढेको स्थानीय व्यवसायीले बताएका छन्। दसैँ–तिहारको बिदा, अनुकूल मौसम र सडक सञ्चालनले थलिएको पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा व्यवसायीको छ।
बेनी नगरपालिका–९ गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले दसैँको टीकापछि पर्यटक आगमन बढ्न थालेको बताए। असोजको दोस्रो साताको कालीगण्डकी बाढीका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा पर्यटक आगमन घटेर व्यवसाय प्रभावित भएको उनले बताए।
असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि पहिरो र कालीगण्डकीको बाढीले क्षति पुर्याउँदा अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको हो। शरद् यामको असोज र कात्तिक महिना म्याग्दीमा विदेशी पर्यटकको आगमन बढी हुने समय मानिन्छ।
म्याग्दीका प्राकृतिक तातोपानी कुण्डमा पनि पर्यटकको आगमन बढ्न थालेको छ। बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्ड म्याग्दी नदीको बाढीले क्षति पुर्याएपछि मर्मत गरी असोजको अन्तिम सातादेखि सञ्चालनमा ल्याइएको हो। अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ–तातोपानी र पाउद्वार तातोपानी कुण्ड पनि पर्यटकका आकर्षक गन्तव्य हुन्।
अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ भ्रमणमा जाने–आउने पर्यटकको विश्रामस्थलका रूपमा परिचित भुरुङ–तातोपानीमा करिब एक महिनापछि पर्यटकको चहलपहल बढेको सञ्चालक प्रितम पुर्जाले बताए।
भुरुङ–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दु हो। विपद्बाट सुरक्षित रहेको यस पदमार्ग हुँदै अन्नपूर्ण आधार शिविर जाने पर्यटकको आगमन पनि बढेको छ। स्थानीय होटल व्यवसायी काजी थापाका अनुसार बिहीबार मात्रै करिब एक सय ५० जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए।












