---Advertisement---
On: October 24, 2026 9:45 AM
Follow Us:

बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न सात करोडको अनुमान

म्याग्दीको पश्चिमी क्षेत्रलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले सडकका विभिन्न खण्डमा क्षति पुर्‍याएपछि पुनर्निर्माणको लागत अनुमान गरिएको हो।

बेनीदेखि धौलागिरि गाउँपालिकाको केन्द्र मुनासम्म करिब २२ स्थानमा सडक क्षतिग्रस्त भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। सडक भासिने, कालोपत्र बगाउने, ग्यावियन जाली र टेवा पर्खाल भत्किने समस्या देखिएको छ। यसले मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका बासिन्दाको आवागमन प्रभावित भएको छ।

पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि बेनी–पानाबगर खण्डमा चार करोड ६२ लाख ५६ हजार २० रुपैयाँ र पानाबगर–दरवाङ खण्डको बलौटे क्षेत्रमा दुई करोड २७ लाख ४३ हजार ५९९ रुपैयाँ लागत अनुमान गरिएको छ।

बेनीदेखि मङ्गला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा पहिरो खसेको छ भने नदी कटानले दुई स्थानमा सडक भत्काएको छ। यस खण्डमा मात्रै तीनदेखि चार करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

मालिका गाउँपालिका–६ स्थित बलौटेमा म्याग्दी नदीले करिब १०० मिटर कालोपत्र सडक बगाएको छ। नदी किनारतर्फको सडक डिलदेखि भित्री भागसम्मै भत्किएकाले तत्काल नियमित यातायात सञ्चालन गर्न कठिन भएको इन्जिनियर उलकले बताउनुभयो। सडक पुनः सञ्चालनयोग्य बनाउन खोलाको किनारतर्फ पक्की पर्खाल निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।

पानाबगरदेखि दरवाङसम्म चार स्थानमा पहिरो खसेको छ। दरवाङदेखि मुना खण्डको धारापानीमा करिब १५० मिटर ढलान गरिएको सडक भासिएको छ भने थापाचौरमा पहिरोले सडक संरचनामा क्षति पुर्‍याएको छ।

वैकल्पिक सडकबाट जोखिमपूर्ण यात्रा

सडक क्षतिग्रस्त भएपछि बेनीदेखि मुनासम्मको सीधा यातायात प्रभावित भएको छ। बलौटेदेखि तोलाबाङसम्मको सडकमा ठूलो क्षति पुगेपछि दुखुखोला पुलबाट दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडक प्रयोग गरिएको छ।

साँघुरो, कच्ची र उचित ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न कठिन हुने गरेको छ। क्षतिग्रस्त सडकमा पैदलयात्रासमेत जोखिमपूर्ण रहेको कार्यालयले जनाएको छ। अहिले पहिरो पन्छाएर बेनीदेखि दुखुखोला पुलसम्म र त्यहाँबाट वैकल्पिक मार्ग हुँदै तोलाबाङ, दरवाङ र मुनासम्म एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ।

फापरखेत पहिरोका कारण शनिबारदेखि पखेर–बरङ्जाङ–सातबिसे–बाबियाचौर वैकल्पिक सडकसमेत प्रयोग गरिएको छ।

दसैँलगत्तै पुनर्निर्माणको तयारी

बलौटेमा क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले २५ लाख रुपैयाँ स्रोत सुनिश्चित गरेको र दसैँलगत्तै काम सुरु गर्ने तयारी रहेको कार्यालय प्रमुख उलकले बताउनुभयो।

म्याग्दी प्रदेशसभा क्षेत्र १(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम जुग्जालीले बस्तीलाई असर नपर्ने गरी सडक पुनर्निर्माण गर्नुपर्ने र आगामी वर्षायामअघि नदी नियन्त्रणको काम गर्नुपर्ने बताउनुभयो। आवश्यक बजेट व्यवस्था गरी क्षतिग्रस्त सडक एक वर्षभित्र पुनर्निर्माण गर्न पहल भइरहेको उहाँले जानकारी दिनुभयो।

बेनीदेखि दरवाङसम्म २४ किलोमिटर दूरी रहेको सडकको १६ किलोमिटर ४०० मिटर खण्ड कालोपत्र भएको छ। दरवाङदेखि मुनासम्मको १८ किलोमिटर सडकमा धारापानी–झिनडाँडा खण्डको छ किलोमिटरबाहेक बाँकी निर्माणाधीन छ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पसमेत मानिने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने यो सडक पश्चिम म्याग्दीका बासिन्दाका लागि महत्वपूर्ण मार्ग हो। धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट खोरिया, मरेनी, जलजला र गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडकको मार्ग गत पुसमा खुलेको थियो।

Leave a Comment