---Advertisement---

राष्ट्रिय परिचयपत्र नभए पनि सार्वजनिक सेवा नरोकिने

On: November 2, 2026 8:37 PM
Follow Us:

राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा प्राविधिक समस्या देखिए पनि नागरिकले सार्वजनिक सेवा प्राप्त गर्न कुनै बाधा नहुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

विभागले सोमबार सूचना जारी गर्दै राहदानी, बैंक तथा वित्तीय सेवा र सवारी चालक अनुमतिपत्रलगायत सार्वजनिक सेवा नियमित रूपमा उपलब्ध हुने स्पष्ट पारेको हो।

विभागका अनुसार गत असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको छ। विवरण दर्ता तथा परिचय नम्बर जारी गर्ने काम भने नियमित भइरहेको छ।

नागरिकको विवरण प्रमाणीकरणका लागि प्रयोग हुने अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टम (स्वचालित जैविक विवरण प्रमाणीकरण प्रणाली) को क्षमतामा सीमितता हुँदा यस्तो समस्या देखिएको विभागले जनाएको छ।

प्रणालीको क्षमता विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको र आगामी दुई साताभित्र सम्पन्न भएपछि विवरण प्रमाणीकरण सेवा नियमित हुने विभागको अपेक्षा छ।

विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग आबद्ध सेवाप्रदायक निकायलाई समेत यसबारे जानकारी गराई आवश्यक समन्वय गरेको जनाएको छ।

पछिल्लो समय राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीलाई समस्या भएको गुनासो आएको थियो।

विभागले प्राविधिक समस्यालाई आधार बनाएर कुनै पनि नागरिकलाई सार्वजनिक सेवाबाट वञ्चित नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Leave a Comment