जबरजस्ती करणी मुद्दामा कैद भुक्तान तथा पुर्पक्षका लागि थुनामा रहेका पाँच जनासहित आठ जना कैदी डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट फरार भएका छन्। कैदीबन्दीले कारागारभित्र सुरुङ खनेर शुक्रबार राति फरार भएका हुन्।
कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर आठ जना कैदी फरार भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीको नेतृत्वमा प्रहरी टोली कारागार पुगेको थियो।
डीएसपी गिरीका अनुसार घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षण भइरहेको छ। घटनाको थप विवरण अनुसन्धानपछि मात्रै यकिन हुने उहाँले बताउनुभयो।
फरार हुनेमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१० निवासी जबरजस्ती करणी मुद्दाका राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्।
त्यसैगरी जाजरकोटको नलगाड नगरपालिका–९ निवासी चोरी मुद्दाका कैलाश भन्ने कपिल परियार पनि फरार भएका छन्।
पुर्पक्षका लागि थुनामा रहेका रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५ का चोरी मुद्दाका तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ का आदेश भण्डारी पनि फरार भएको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले कारागारबाट आठ जना कैदी फरार भएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहनुभएको छ। घटनाबारे विस्तृत विवरण केही समयपछि सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो।















