---Advertisement---

आज गाईपूजा गरिँदै, मीठा परिकार खुवाउने परम्परा

On: November 9, 2026 10:17 AM
Follow Us:

यमपञ्चक अर्थात् तिहारअन्तर्गत आज गाईपूजा गरिँदैछ । हिन्दू धर्मावलम्बीले गाईलाई गौमाताका रूपमा सम्मान गर्दै विधिपूर्वक पूजा गरी मीठा परिकार खान दिएर यो पर्व मनाउने गर्छन् ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाईलाई पवित्र जनावरका रूपमा लिने गरिन्छ । गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोबर र गहुँतको धार्मिक कार्यमा समेत प्रयोग हुने भएकाले हिन्दू परम्परामा गाईको विशेष महत्व रहँदै आएको छ ।

गाईले दिने दूध पोषिलो हुने र आमाको दूधसरह महत्वपूर्ण मानिने विश्वासका आधारमा गाईलाई माताका रूपमा सम्मान गर्ने चलन छ । गाईपूजाका दिन गाईलाई नुहाइदिने, टीका तथा माला लगाइदिने र विभिन्न परिकार खान दिने परम्परा छ ।

धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खुवाउँदा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाईपूजा गर्ने परम्परा रहेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परासमेत मान्दै आएका छन् । पछिल्लो समय गाईको अभावका कारण सङ्कल्प गरेर रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताएका छन् ।

यस दिनसँग जोडिएको अर्को धार्मिक विश्वास वैतरणी नदीसँग सम्बन्धित छ । साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) आज गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि गाईले वैतरणी नदी तारेर स्वर्ग पुर्‍याउने धार्मिक विश्वास रहेको छ ।

यसरी गाईपूजा धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्वसँग जोडिएको पर्वका रूपमा मनाइँदै आएको छ ।

Leave a Comment