---Advertisement---

विद्यार्थीको पढाइ बुझ्न शिक्षक नै पुगे घरदैलोमा

On: November 9, 2026 10:28 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले दसैँ र तिहारबीचको लामो बिदाको समय सदुपयोग गर्दै विद्यार्थीको घरमै पुगेर उनीहरूको पठनपाठन र दैनिक क्रियाकलापको अवस्था बुझ्ने अभियान सञ्चालन गरेको छ।

बिदाको समयमा विद्यार्थीले पढाइलाई कसरी निरन्तरता दिएका छन्, गृहकार्य पूरा गरेका छन् कि छैनन् र घरमा सिकाइको वातावरण कस्तो छ भन्ने जानकारी लिन विद्यालयले घरदैलो अभियान थालेको हो। अभियानमार्फत अभिभावकसँग प्रत्यक्ष भेटघाट गरी विद्यार्थीको सिकाइमा परिवारको भूमिका र विद्यालयसँगको सहकार्यबारे समेत छलफल गरिएको छ।

विद्यालयका शिक्षक गणेश केसीका अनुसार कात्तिक १ गतेदेखि सुरु भएको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमअन्तर्गत विद्यालयको सेवा क्षेत्रका विभिन्न बस्ती र समुदायमा पुगेर विद्यार्थीको शैक्षिक अवस्थाबारे जानकारी लिइएको छ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक तथा पूर्वविद्यार्थीका प्रतिनिधि सहभागी टोलीले घरघरमा पुगेर विद्यार्थीको गृहकार्य, पढ्ने बानी, पारिवारिक वातावरण र बिदाको समयमा उनीहरूले गरिरहेका गतिविधिबारे अभिभावकसँग जानकारी लिएको छ।

भेटघाटका क्रममा टोलीले विद्यार्थीलाई बिदाको समयलाई सिर्जनात्मक र उपलब्धिमूलक बनाउन सुझाव दिनुका साथै अभिभावकलाई घरमै पढ्ने वातावरण मिलाउन र नियमित अध्ययनका लागि प्रेरित गर्न आग्रह गरेको छ। अभिभावकले पनि विद्यालयको शैक्षिक अवस्था, शिक्षण पद्धति र सुधारका सम्भावित उपायबारे आफ्ना सुझाव तथा अनुभव राखेका छन्।

विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन विद्यालयको शिक्षण प्रयाससँगै घरपरिवारको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले बिदाकै समयमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

उहाँका अनुसार विद्यार्थीको पढाइ र व्यवहारबारे विद्यालयमा मात्र बसेर जानकारी लिनुभन्दा घरमै पुगेर अभिभावकसँग प्रत्यक्ष संवाद गर्दा उनीहरूको वास्तविक अवस्था बुझ्न र आवश्यक सुधारका उपाय पहिचान गर्न सहज हुन्छ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाको उत्साहजनक सहभागिता रहेको शिक्षक केसीले बताउनुभयो। घरदैलो अभियानले अभिभावकको विद्यालयप्रतिको अपनत्व बढाउनुका साथै शैक्षिक, भौतिक, व्यवस्थापकीय र आर्थिक सुधारका विषयमा सुझाव सङ्कलन गर्नसमेत सहयोग पुगेको उहाँको भनाइ छ।

विद्यालयको सेवा क्षेत्रका अधिकांश बस्तीमा पुगिसकेको टोलीले बाँकी स्थानमा पनि भेटघाटलाई निरन्तरता दिने जनाएको छ। भेटघाटका क्रममा प्राप्त सुझावलाई विद्यालयको आगामी योजना तथा सुधारका कार्यक्रममा समेटेर कार्यान्वयन गरिने विद्यालयले जनाएको छ।

बिदाको समयलाई केवल विश्राममा सीमित नराखी विद्यार्थीको सिकाइ, पारिवारिक वातावरण र समुदायसँगको सम्बन्ध बुझ्ने अवसरका रूपमा उपयोग गरेको जामुनाखर्क माविको यो अभ्यासले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Leave a Comment