---Advertisement---

तिहार : प्रकृति, सम्बन्ध र संस्कारले सिकाएको जीवनदर्शन

On: November 8, 2026 6:32 PM
Follow Us:

ध्रुवसागर शर्मा
तिहार केवल बत्ती बाल्ने, मिठाई खाने, देउसीभैलो खेल्ने र रमाइलो गर्ने पर्व मात्र होइन । यो प्रकृति, पशुपक्षी, मानव सम्बन्ध, पारिवारिक आत्मीयता र आध्यात्मिक चेतनासँग जोडिएको नेपाली समाजको विशिष्ट सांस्कृतिक पर्व हो । तिहारले मानिसलाई आफू मात्र यो संसारको केन्द्र होइन, प्रकृतिका असंख्य जीवजन्तु र वनस्पतिसँगको सहअस्तित्वबाट मात्र मानव जीवन सम्भव छ भन्ने गहिरो सन्देश दिन्छ ।
नेपाली समाजमा मनाइने प्रमुख चाडमध्ये तिहारको आफ्नै विशिष्ट महत्व छ। दसैँले पारिवारिक भेटघाट, शक्ति, आस्था र विजयको सन्देश दिन्छ भने तिहारले प्रकृतिप्रतिको सम्मान, जीवजन्तुप्रतिको करुणा, पारिवारिक आत्मीयता र आपसी सद्भावलाई विशेष महत्व दिन्छ । त्यसैले तिहारलाई उज्यालोको पर्व मात्र नभनेर सम्बन्ध र संवेदनाको पर्व भन्नु बढी सान्दर्भिक हुन्छ।


तिहारको सबैभन्दा सुन्दर पक्ष भनेको यसमा मानिसले मात्र होइन, पशुपक्षीले समेत सम्मान पाउनु हो । काग, कुकुर, गाई र गोरुको पूजा गर्नुको पछाडि गहिरो सांस्कृतिक र व्यावहारिक दर्शन लुकेको छ। मानिसले आफ्नो जीवनमा विभिन्न रूपमा सहयोग पु¥याउने जीवजन्तुप्रति कृतज्ञता व्यक्त गर्ने माध्यमका रूपमा यी पर्वहरू विकसित भएका हुन् ।कागलाई सन्देशवाहकका रूपमा लिइन्छ । काग तिहारमा कागलाई खानेकुरा दिएर पूजा गरिन्छ ।


यसले प्रकृतिका साना जीवको समेत महत्व छ भन्ने सम्झाउँछ । त्यसैगरी कुकुरलाई मानिसको असल साथी, सुरक्षाकर्मी र विश्वासिलो प्राणीका रूपमा सम्मान गरिन्छ। मानिसले आफ्नो घर, परिवार र सम्पत्तिको सुरक्षामा कुकुरले पु¥याउने योगदानलाई सम्झेर कुकुर तिहार मनाउँछ । जनावरमध्ये मानिससँग सबैभन्दा नजिकको सम्बन्ध राख्ने प्राणीमध्ये कुकुर पनि एक हो । उसको इमानदारी, स्वामिभक्ति र निःस्वार्थ व्यवहार मानिसका लागि अनुकरणीय छन् ।


गाईलाई मातृत्व, समृद्धि र धार्मिक आस्थाको प्रतीक मानिन्छ । गोरु कृषि कर्मको महत्वपूर्ण सहयोगी हो । नेपाली कृषि सभ्यताको विकासमा गाईगोरुको योगदान अविस्मरणीय छ। आज प्रविधिको विकासले कृषि प्रणालीमा परिवर्तन ल्याए पनि हाम्रो समाजको आर्थिक, सांस्कृतिक र ऐतिहासिक जीवनमा पशुपक्षीको योगदानलाई बिर्सन मिल्दैन।


यसरी हेर्दा तिहारले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ—हामीले आफ्नो जीवनमा सहयोग पु¥याउने मानिसलाई त सम्मान गर्न सकेका छैनौँ भने बोल्न नसक्ने पशुपक्षीप्रति कति संवेदनशील छौँ ? तिहारको सन्देश पूजाको दिन माला लगाइदिने र मीठो खानेकुरा खुवाउनेमा मात्र सीमित हुनु हुँदैन। वर्षभरि नै पशुपक्षीप्रति दया, माया र संरक्षणको भावना राख्न सक्नु नै यस पर्वको वास्तविक सम्मान हो ।


तिहारको अर्को महत्वपूर्ण पक्ष दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध हो । भाइटीकाले रगतको सम्बन्धलाई मात्र होइन, विश्वास, माया, जिम्मेवारी र पारिवारिक एकतालाई पनि बलियो बनाउँछ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुखसमृद्धिको कामना गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीप्रति सम्मान, सुरक्षा र सहयोगको प्रतिबद्धता व्यक्त गर्छन् ।


तर आजको बदलिँदो सामाजिक परिवेशमा यो सम्बन्धको वास्तविक अर्थ बुझ्नु अझ आवश्यक छ । सम्पत्ति, स्वार्थ, अहंकार र पारिवारिक विवादका कारण दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध कमजोर हुँदै गएको देखिन्छ। कतिपय अवस्थामा एउटै घरमा बस्ने परिवारका सदस्यबीच समेत आत्मीयता हराउँदै गएको छ। यस्तो अवस्थामा भाइटीका केवल निधारमा सप्तरङ्गी टीका लगाउने परम्परा होइन, मनमा रहेको दूरी हटाउने अवसर पनि बन्नुपर्छ ।


तिहारले हामीलाई सिकाउने अर्को महत्वपूर्ण पक्ष आध्यात्मिक चेतना र अनुशासित जीवन हो । हाम्रो पूर्वीय दर्शनमा मानव जीवनलाई अनुशासित, मर्यादित र उद्देश्यपूर्ण बनाउन विभिन्न शास्त्रीय मान्यता प्रस्तुत गरिएका छन् । त्यसमध्ये विद्यार्थी जीवनका पाँचवटा विशेषता बताउने एउटा प्रचलित संस्कृत श्लोक छ-
काकचेष्टा बको ध्यानं श्वाननिद्रा तथैव च ।
अल्पहारी गृहत्यागी विद्यार्थी पञ्चलक्षणम्। ।।
यस श्लोकले विद्यार्थीमा हुनुपर्ने पाँचवटा गुणको चर्चा गरेको छ। कागको जस्तो चेष्टा, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा, थोरै खाने बानी र घरको सुखसुविधाप्रतिको मोह त्याग्ने स्वभाव विद्यार्थीका पाँच लक्षण मानिएका छन् ।


कागको जस्तो चेष्टा भन्नाले सधैँ सक्रिय, परिश्रमी र जिज्ञासु हुनु हो । कागले आफ्नो आहार प्राप्त गर्न निरन्तर प्रयास गरिरहन्छ। त्यसैगरी विद्यार्थीले पनि ज्ञान प्राप्तिका लागि निरन्तर खोज, अध्ययन र अभ्यास गर्नुपर्छ । एकपटक असफल हुँदैमा निराश हुने होइन, पुनः प्रयास गर्ने बानी बसाल्नुपर्छ ।


बकुल्लाको जस्तो ध्यान भन्नाले लक्ष्यप्रति एकाग्र हुनु हो । बकुल्ला पानीमा माछा समात्ने प्रतीक्षामा लामो समयसम्म स्थिर रहन सक्छ। उसको एकाग्रता विद्यार्थीका लागि उदाहरणीय मानिएको छ। आजको प्रविधिमैत्री युगमा मोबाइल, सामाजिक सञ्जाल र विभिन्न मनोरञ्जनका साधनले विद्यार्थीको ध्यान भङ्ग गरिरहेका छन् । यस्तो अवस्थामा बकुल्लाको जस्तो धैर्य र एकाग्रता झन् आवश्यक भएको छ ।


कुकुरको जस्तो निद्रा भन्नाले आवश्यकताअनुसार विश्राम गर्ने तर सधैँ सतर्क र सचेत रहने स्वभाव हो । कुकुर सामान्य अवस्थामा सुतेको देखिए पनि सानो आवाजमा समेत सजग हुन्छ। विद्यार्थी पनि आफ्नो अध्ययन, जिम्मेवारी र लक्ष्यप्रति सचेत हुनुपर्छ । यसको अर्थ निद्रा त्याग्नु होइन, समयको सदुपयोग गर्दै अनुशासित दिनचर्या अपनाउनु हो ।


अल्पाहारी भन्नाले आवश्यकताभन्दा बढी नखाने, सन्तुलित र संयमित भोजन गर्ने भन्ने बुझिन्छ । खानपानमा अनुशासनले शरीर र मस्तिष्क दुवैलाई स्वस्थ राख्छ। त्यसैगरी गृहत्यागी भन्नाले घरपरिवार छोडेर हिँड्नु भन्ने शाब्दिक अर्थमा बुझ्नु हुँदैन। यसको वास्तविक भाव घरको अनावश्यक सुखसुविधा, आलस्य र मोहमा अल्झिएर आफ्नो लक्ष्यबाट विचलित नहुनु हो । विद्यार्थीले आफ्नो समय र ऊर्जालाई अध्ययन तथा व्यक्तित्व विकासमा लगाउन सक्नुपर्छ ।


यी पाँचवटा गुण विद्यार्थीका लागि मात्र होइन, जीवनमा केही गर्न चाहने प्रत्येक व्यक्तिका लागि उत्तिकै उपयोगी छन् । कागको सक्रियता, बकुल्लाको एकाग्रता, कुकुरको सतर्कता, भोजनमा संयमता र सुखसुविधाप्रतिको अनावश्यक मोह त्याग्ने स्वभावले मानिसलाई अनुशासित र सफल बनाउन सहयोग पु¥याउँछ ।


तिहार र विद्यार्थीका यी पाँच लक्षणबीच पनि एउटा सुन्दर सम्बन्ध देखिन्छ। तिहारले पशुपक्षीको व्यवहार र महत्वलाई सम्मान गर्न सिकाउँछ भने उक्त श्लोकले तिनै पशुपक्षीका स्वभावबाट मानिसले जीवनोपयोगी शिक्षा लिन सक्ने बताउँछ । प्रकृतिका हरेक जीवमा कुनै न कुनै विशेषता हुन्छन् । मानिसले ती विशेषतालाई बुझेर आफ्नो जीवनमा सकारात्मक रूपमा प्रयोग गर्न सक्नुपर्छ भन्ने पूर्वीय चिन्तनको सुन्दर उदाहरण हो यो ।


आज हामी आधुनिकता, प्रविधि र भौतिक विकासको कुरा गरिरहेका छौँ । तर विकासको नाममा प्रकृतिको विनाश, सम्बन्धमा स्वार्थ र जीवनमा अनुशासनहीनता बढ्दै जाने हो भने त्यस्तो विकासले मानिसलाई वास्तविक सुख दिन सक्दैन । मानिससँग धनसम्पत्ति र सुविधा हुन सक्छन्, तर प्रकृतिसँगको सम्बन्ध, पारिवारिक आत्मीयता र मानवीय संवेदना हराउँदै गएमा जीवन अपूर्ण हुन्छ ।


तिहारको अवसरमा घरआँगन सफा गरेर दीपावली गर्नु जति आवश्यक छ, त्यति नै आवश्यक मनभित्रको अन्धकार हटाउनु पनि हो । घरमा दियो बालेर मात्र हुँदैन, व्यवहारमा सद्भावको उज्यालो फैलाउन सक्नुपर्छ । पशुपक्षीलाई पूजा गरेर मात्र हुँदैन, उनीहरूको बासस्थान र जीवनको संरक्षण गर्नुपर्छ ।

भाइटीकामा सम्बन्धको प्रतीकात्मक उत्सव मनाएर मात्र हुँदैन, वर्षभरि नै एकअर्काको सुखदुःखमा साथ दिन सक्नुपर्छ । अन्ततः तिहार एउटा यस्तो सांस्कृतिक पर्व हो, जसले मानिसलाई प्रकृतिसँग जोड्छ, पशुपक्षीप्रति संवेदनशील बनाउँछ, पारिवारिक सम्बन्धलाई आत्मीय बनाउँछ र जीवनमा अनुशासनको महत्त्व सम्झाउँछ। यसको सन्देश कुनै एउटा धर्म, जाति वा समुदायमा मात्र सीमित छैन । प्रकृतिको सम्मान, आपसी प्रेम, सहअस्तित्व र सदाचार सम्पूर्ण मानव समाजका साझा मूल्य हुन् ।


त्यसैले यस वर्षको तिहारमा हामीले घरमा मात्र होइन, आफ्ना विचार र व्यवहारमा पनि उज्यालो भित्र्याउने संकल्प गरौँ । पशुपक्षीप्रति करुणा, परिवारप्रति आत्मीयता, समाजप्रति जिम्मेवारी र आफ्नो कर्मप्रति इमानदारी देखाउन सक्यौँ भने मात्र तिहारको वास्तविक अर्थ सार्थक हुनेछ ।तिहारको उज्यालो दियोमा मात्र होइन, हाम्रो सोच, संस्कार र व्यवहारमा पनि बल्नुपर्छ । यही नै तिहारले मानव समाजलाई दिएको सबैभन्दा सुन्दर सन्देश हो ।

Leave a Comment