नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज शनिबार काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन यमराजको दूतका रूपमा कागलाई पूजा गरी मीठा खानेकुरा खान दिएर यो पर्व मनाउने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत रूपमा आज काग तिहार मनाउन लागिएको हो ।
धार्मिक मान्यताअनुसार कागले यमराजसमक्ष पृथ्वीको खबर पुर्याउने भएकाले यस दिन कागलाई पूजा गरी मीठा खानेकुरा दिइन्छ । कागले घरआँगनमा आएर कराए शुभ समाचार ल्याएको विश्वास गर्ने चलनसमेत छ ।
काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना गरिन्छ ।
तिथिको घटबढका कारण यस वर्ष यमपञ्चक शुक्रबार बेलुकीदेखि सुरु भएको हो । यमयातनाबाट मुक्ति पाउने धार्मिक विश्वासका साथ शुक्रबार साँझदेखि नै यमदीपदान सुरु भएको छ । यसैगरी धनतेरस पर्व पनि शुक्रबार मनाइएको थियो ।
















