व्यवसायमा सफलता हासिल गरेर राजनीतिमा होमिएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा वर्तमान प्रदेशसभा सदस्य बिन्दुकुमार थापा नेपाली कांग्रेसको आगामी प्रदेश अधिवेशनमा सभापतिका बलिया दाबेदारका रूपमा देखिएका छन्। नेपाल राष्ट्र बैंकको कर्मचारीबाट व्यावसायिक जीवन सुरु गर्दै अटोमोबाइल, रियलस्टेट र आतिथ्य क्षेत्रसम्म साम्राज्य फैलाएका थापा अहिले गण्डकी प्रदेशको राजनीतिक वृत्तमा एक प्रभावशाली र परिचित नाम बनेका छन्।
पोखराको नयाँबजारमा जन्मिएका थापाको पारिवारिक पृष्ठभूमि कांग्रेससँग जोडिएको थियो। उनले प्रारम्भिक शिक्षा महेन्द्र माध्यमिक विद्यालय र माध्यमिक तहको अध्ययन बाराही माध्यमिक विद्यालयबाट पूरा गरेका थिए। पृथ्वीनारायण क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका उनी अधिवक्तासमेत हुन्। नेपाल राष्ट्र बैंकको पोखरा शाखामा करिब १८ वर्ष कर्मचारीका रूपमा काम गरेपछि उनले २०६० सालमा जागिर छाडेर पूर्ण रूपमा व्यवसायमा हात हालेका थिए। सुरुमा किराना पसल र पछि मोटरसाइकल तथा अटोमोबाइल कारोबारमा संलग्न भएका उनी पोखरामा अटोमोबाइल व्यवसाय भित्र्याउने अग्रणी व्यक्तित्व हुन्। अटोमोबाइल, रियलस्टेट, आवास, व्यापारिक मल, वित्तीय संस्था र होटेल क्षेत्रमा समेत लगानी विस्तार गरेका उनी पोखरा उद्योग वाणिज्य संघको अध्यक्षसमेत भइसकेका छन्।
व्यासायिक संघसंस्थाको नेतृत्व गर्दै प्राप्त गरेको संगठनात्मक अनुभवलाई उनले राजनीतिक जीवनमा सफलतापूर्वक प्रयोग गरे। नेपाल–रसिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको गण्डकी च्याप्टरदेखि गण्डकी विकास बैंकको अध्यक्षसमेतको जिम्मेवारी सम्हालिसकेका थापा २०७४ सालको प्रदेशसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट कांग्रेसको तर्फबाट विजयी भएर पहिलोपटक प्रदेशसभा सदस्य बने। त्यसबेला कास्कीमा कांग्रेसबाट विजयी हुने उनी एक्ला सांसद थिए।
पहिलो कार्यकालमा कानुन निर्माण र संसदीय काममा सक्रिय रहेका उनी २०७८ सालमा गण्डकी प्रदेश सरकारको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बने। त्यसपछि २०७९ सालको निर्वाचनमा दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएर उनले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हाले। मन्त्रीको कार्यकालमा उनले गण्डकी प्रदेशको पहिलो दिवा शिशु स्याहार केन्द्र सञ्चालन, दीर्घकालीन पुनस्थापना केन्द्रको स्थापना, गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयकलगायत जनसरोकारका धेरै महत्त्वपूर्ण काम अगाडि बढाए।
थापाको राजनीतिक जीवनमा सबैभन्दा बढी चर्चा पाउने अर्को पक्ष भनेको राज्यबाट प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने उनको अभ्यास हो। २०७८ सालदेखि नै तलब, भत्ता र अन्य सेवा सुविधा व्यक्तिगत प्रयोजनमा नलैग्ने घोषणा गरेका उनले हालसम्म ९० लाख रुपैयाँभन्दा बढी रकम सामाजिक क्षेत्रमा खर्चिसकेका छन्। क्यान्सर तथा मुटुरोगीको उपचार, विपन्न परिवारलाई सहयोग, खानेपानी, सडक निर्माण, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र विभिन्न विपद्का बेला उनले व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्दै आएका छन्। साथै, उनले प्रदेश सरकारबाट प्राप्त निवास सुविधासमेत प्रयोग नगरी आफ्नै घरबाट सेवा दिँदै आएका छन्।
Advertisement
व्यवसायबाट आर्थिक रूपमा आत्मनिर्भर बनेर राजनीतिलाई समाजसेवाको माध्यम बनाउँदै आएका थापा गण्डकी प्रदेशका ११ वटै जिल्लाको राजनीतिक, आर्थिक र भौगोलिक अवस्थाबारे गहिरो जानकारी राख्छन्। यही अनुभव र सांगठनिक क्षमताका आधारमा उनले पार्टीको संगठनलाई थप सुदृढ र उचाइमा पुर्याउन भन्दै आगामी प्रदेश अधिवेशनमा नेपाली कांग्रेस प्रदेश सभापतिका लागि दाबी प्रस्तुत गरेका छन्।













