---Advertisement---

गोठदेखि जंगलमा पुरिएका अवस्थासम्म भेटिन्छन् अवैध बन्दुक

On: November 17, 2026 10:13 PM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीमा अवैध भरुवा बन्दुक खोजी तथा संकलनका लागि सञ्चालन गरिएको ‘ब्राभो शेरा’ अभियानको साढे ११ महिनामा ठूलो परिमाणमा भरुवा बन्दुक बरामद भएका छन्। प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी २०८२ साल मङ्सिर १५ गतेदेखि सुरु भएको अभियानअन्तर्गत २०८३ साल कात्तिक ३० गतेसम्म इजाजतपत्रविहिन प्रयोग भइरहेको अवस्थाका समेत गरी १ सय ७१ थन बन्दुक प्रहरीले बरामद गरेको छ ।


‘ब्राभो शेरा’ अन्तरगत जिल्लाका ६ वटै स्थानीय तहका गोठ, बनजंगल, खोलाखोल्सा तथा मानिसको बसोबास नभएका पुराना घरमा लुकाइछिपाइ राखिएका अवस्थामा बन्दुक फेला पर्ने गरेका छन्। प्रहरीको अभियानबाट त्रसित भएर बनजंगलमा बन्यजन्तुको शिकारका लागि राखेका बन्दुक बेवारिसे छोडेर भाग्ने गरेको समेत पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयमार्फत स्थानीय जनप्रतिनिधि, स्थानीयबासीका साथै बन्यजन्तुको शिकार हुने क्षेत्रका बारेमा स्थानीयवासीबाट प्राप्त सूचना र प्रहरीको खोजतलासका क्रममा धेरै बरामद भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । ‘बन्दुकको सूचना दिनेको परिचय गोप्य हुन्छ, अहिलेसम्म समुदायको साथले सफलता मिलेको छ’ प्रहरी निरीक्षक तिमिल्सिनाले भने ।


यसैक्रममा आइतबार इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको पाँच जनाको प्रहरी टोलीले गस्ती गर्ने क्रममा मालिका गाउँपालिका–५, देवीस्थानस्थित पन्थोकमा बेवारिसे अवस्थामा लुकाइराखिएका थप चार थान भरुवा बन्दुक बरामद गरेको प्रहरी निरिक्षक तिमिल्सिनाले बताए । सामुदायिक वनमा चोरीसिकारका लागि बन्दुक लुकाएर राखिएको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

पछिल्लो समय बन्दुकका बारेमा समुदायबाटै सूचना आउन थालेपछि प्रहरीलाई समेत खोजीकार्यमा सहज भएको छ । यसबर्ष नेपाल सरकारले स्थानीय तहको निर्वाचनको गर्न सक्ने भएकाले निर्वाचनलाई प्रभावित पार्न सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियानलाई थप तिब्रता दिएर जिल्लामा अवैध हतियार नियन्त्रण गर्ने प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताए।


विगतमा चुनाव आसपासमा मात्रै अभियान सञ्चालन गर्ने गरिएकोमा यसपटक बर्षभरी नै सञ्चालन गरिएको खोजीकार्यले अवैध चोरीनिकासीमा समेत न्यूनिकरण भएको प्रहरीको दाबी छ । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र, सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रमा हुने अवैध चोरीसिकार नियन्त्रणमा समेत अभियानले सहयोग पु¥याएको छ।

बरामद गरिएका बन्दुकमध्ये कुनैको पनि इजाजतपत्र नभएपनि आधुनिक प्रविधिको प्रयोगसहितका उपकरणहरु भारतबाट समेत ल्याएर बनाउने गरेको भेटिएको छ । प्रहरीले जिल्लामा कसैसँग अवैध भरुवा बन्दुक भए नजिकको प्रहरी कार्यालयमा बुझाउन वा प्रहरीलाई सूचना दिन आग्रह गरेको छ। अवैध बन्दुकसहित फेला परेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

Leave a Comment