---Advertisement---

म्याग्दीका बाढीपीडित तीन परिवारलाई मोना कतार र अक्षयकोषको आर्थिक सहयोग

On: November 17, 2026 10:37 AM
Follow Us:

तिलु शर्मा पौडेल

म्याग्दीमा आएको बाढीपहिरोबाट प्रभावित तीन परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार र मोना कतार बहुउद्देश्यीय अक्षयकोषले सयुक्त रुपमा ४५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीबाट घरमा क्षति पुगेका मालिका गाउँपालिका–३, डाँडागाउँ औलका दुई परिवार र भोटेकोसीमा आएको बाढीमा परी अवस्था अज्ञात रहेका मालिका गाउँपालिका–४, छापाका भूपेन्द्र रेग्मीको परिवारलाई उक्त रकम प्रदान गरिएको हो।

मोना कतारले मालिका–३ का चिरन पुनको परिवारलाई २५ हजार र देव पुनको परिवारलाई पाँच हजार रुपैयाँ सहयोग गरेको छ। चिरन पुन मोना कतारका पूर्वसदस्यसमेत हुन्। उनको घरमा बाढीले बढी क्षति पुर्‍याएको थियो भने देव पुनको घरमा तुलनात्मक रूपमा कम क्षति पुगेको थियो।

त्यस्तै, भोटेकोसीको बाढीमा परी अवस्था अज्ञात रहेका भूपेन्द्र रेग्मीकी ४५ वर्षीया आमा नरमाया रेग्मी एक्लै रहेको र परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारीपछि उनको परिवारलाई अक्षयकोषले सहयोग गरेको हो। मोना कतार खेलकुद विभागका सहसंयोजक कृष्ण पटेलले पीडित परिवारकै घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए।

सहयोग प्राप्त गरेपछि पुनको परिवारले आफ्नो छोराले कर्मभूमि कतारमा गरेको सत्कर्मको फल जन्मभूमिमा यसरी प्राप्त होला भन्ने कल्पनासमेत नगरेको प्रतिक्रिया दिएको पटेलले जानकारी दिए। विदेशमा रहेका म्याग्देलीहरू घरमै आएर अप्रत्याशित सहयोग गर्दा आफूहरू खुसी र भावुक भएको पीडित परिवारको भनाइ थियो। मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले संस्था कतारमा मात्र सीमित नभई जन्मभूमि म्याग्दीका हरेक दुःखसुखमा साथ दिँदै आएको बताए। कतारमा रहेका तथा स्वदेश फर्किएका म्याग्देलीलाई आवश्यक परेको समयमा सहयोग गर्ने अभियानमा संस्था निरन्तर सक्रिय रहेको उनको भनाइ थियो।

यसैबीच, मोना कतारले म्याग्दीका बाढीपीडितका लागि सञ्चालन गरेको आर्थिक सहयोग संकलन अभियान बन्द गरेको छ। संकलित बाँकी रकम छिट्टै मोना अन्तर्राष्ट्रियको खातामा जम्मा गर्ने तयारी भइरहेको अभियानका संयोजक तथा मोना कतारका वरिष्ठ उपाध्यक्ष देवी कंडेलले जानकारी दिए।

मोना कतारको संरक्षकत्वमा स्थापित बहुउद्देश्यीय अक्षयकोषले पनि संस्थागत उद्देश्यअनुसार विपत्तिमा परेका म्याग्देलीलाई सहयोग गर्दै आएको छ। कतारमा आबद्ध रहेका वा नरहेका तथा कतारमै रहेका वा स्वदेश फर्किएका म्याग्देलीलाई दुःखसुखमा साथ दिने उद्देश्यले कोषले मानवीय सहयोगका गतिविधि अघि बढाएको अध्यक्ष विक्रम कार्कीले बताए।

संस्था भर्खरै स्थापना भएर विस्तारको चरणमा रहे पनि म्याग्दीका विपन्न तथा पीडितको साथमा उभिने प्रयास गरिरहेको उनले बताए। म्याग्दीका साथै जिल्लाबाहिरका विभिन्न स्थानमा पनि सहयोग र सहकार्यलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै उनले संस्थाको आर्थिक तथा सांगठनिक अवस्था सुदृढ हुँदै जाँदा मानवीय सेवाका कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

Leave a Comment