---Advertisement---

विपद्ले थलिएको अन्नपूर्ण क्षेत्रको पदयात्रा फेरि पूर्ण रूपमा चलायमान

On: November 22, 2026 5:11 PM
Follow Us:

प्राकृतिक विपद्ले थलिएको अन्नपूर्ण क्षेत्रको पदयात्रा पहिलेकै स्वरूपमा फर्केको छ। बारम्बारका विपद्का कारण झन्डै एक महिनासम्म अन्नपूर्ण क्षेत्रका पदमार्गमा अवरोध उत्पन्न भएको थियो। विपद्ले बाढी पहिरो र हिमपात निम्त्याउँदा अन्नपूर्ण क्षेत्रभित्रका कतिपय पदमार्ग लामो समयसम्म पूर्ण रूपमा अवरुद्ध थिए भने केही आंशिक चलेका थिए।

अन्नपूर्ण क्षेत्रभित्रका धेरै पदमार्गमध्ये अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रा मात्र अवरोधबिना संचालनमा रहेको थियो। कहिले हिमपात त कहिले बाढीपहिरोको अवरोधले गर्दा सिजनको बेला अन्नपूर्ण क्षेत्रभित्रका धेरैजसो गन्तव्य प्रभावित भए, त्यसले गर्दा नेपालको पदयात्रा क्षेत्रमा घुमघाम र पदयात्रा गर्न जाने भनेर आएका कतिपय विदेशी पाहुनाको यात्रा नै रोकिएको थियो। केहीले बीचमै यात्रा रोकेर स्वदेश फर्केका थिए भने केही गन्तव्यमा पुग्नै नपाई फर्किनुपरेको थियो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पछिल्लो समय अन्नपूर्ण क्षेत्रभित्रका सबै पदमार्ग पहिलेकै अवस्थामा फर्केको र चलायमान बनिसकेको बताएको छ। आन्तरिक तथा बाह्य पर्यटक अन्नपूर्ण क्षेत्रभित्रका पदयात्रामा जान थालिसकेको र यो बेला सबैतिरका पदमार्ग नियमित रूपमा संचालनमा रहेको एक्याप प्रमुख रविन कडरियाले जानकारी दिए। उनका अनुसार अहिले अन्नपूर्ण क्षेत्रभित्रका सबै पदमार्गमा पदयात्रा चलिरहेको छ। पदमार्गमा कुनै खाले अवरोध नरहेको उनले बताए।

‘पदयात्रा पहिलेकै स्वरूपमा फर्केको छ, पूर्ण रूपमा चलायमान बनेको छ। कुनै पनि खण्डमा यो बेला पदयात्रा रोकिएको छैन। असोज दोस्रो सातादेखि अवरुद्ध भएको अन्नपूर्ण क्षेत्रभित्रका विभिन्न पदमार्गका ठाउँठाउँमा अवरोध सिर्जना भएको थियो,’ उनले भने, ‘अहिले भने ती सबै पदमार्ग पूर्ण आकारमा सुचारु भएका छन्। कहीँ कतै अवरोध छैन। अबको सिजन हिउँ पर्ने भए पनि त्यो अवस्था अझै सुरुवात भएको छैन।’ उनका अनुसार अन्नपूर्ण फेरोको थोराङला भञ्ज्याङ खण्ड त १५ दिनसम्मै अवरुद्ध बनेको थियो।

भारी वर्षा र हिमपातले सबैभन्दा बढी अन्नपूर्ण फेरो र मुस्ताङको पदयात्रा प्रभावित भएको थियो। अन्नपूर्ण फेरोमा पर्ने मनाङको चामेमा पुलका कारण लामो समय पदयात्रा प्रभावित भएको थियो। त्यस्तै फेरोकै माथिल्लो क्षेत्रमा हिमपातले पदयात्रा रोकिएको थियो। यता अर्को हिमाली जिल्ला मुस्ताङमा कालीगण्डकी करिडोरका कारण पदयात्रा प्रभावित भएको थियो। बाढी पहिरोले करिडोर क्षतविक्षत पारेकोले पदयात्राका लागि आएका पाहुना जान सकेका थिएनन्। त्यस्तै मुस्ताङको माथिल्लो क्षेत्रमा भने बाक्लो हिमपातले आउजाउ प्रभावित भएको थियो।

एक्यापको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) अवधिमा अन्नपूर्ण क्षेत्रमा ४९ हजार ५ सय ७६ जना तेस्रो मुलुकका विदेशी पर्यटक घुमघामका लागि गएका छन्। यो आगमन अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५० हजार ८ सय ४६ थियो। ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष केही पाहुना कम भएकै हुन्। अघिल्लोको तुलनामा यो आर्थिक वर्षको पहिलो चार महिना अवधिमा १२ सय ७० जना विदेशी पाहुना कम भएका हुन्,’ कडरियाले भने, ‘विपद्का कारणले त्यो आगमन प्रभावित भएको हो। पदयात्राको सिजन सुरु हुने बेलैमा विपद् निम्तियो, त्यसले गर्दा केही कम भएको हो। तर पनि त्यसलाई ठूलो प्रभाव भन्न मिल्दैन।’

विपद्का कारण आएका पाहुना अन्नपूर्ण क्षेत्रभित्रका नजिकका र सुरक्षित गन्तव्यमा घुम्न गएको, तर पदयात्रामा मात्र जान नपाएको कारणले पनि संख्यात्मक रूपमा उत्तिसारो असर नदेखिएको एक्यापको भनाइ छ। असोज महिनाको पदयात्रामा केही असर परेको तथ्यांकले देखाउने पनि उनले बताए।

विपद्का बाबजुद तेस्रो मुलुकका पर्यटकको आगमन प्रभावित भए पनि सार्क मुलुकका पाहुनाको आगमन भने उत्साहजनक रूपमा वृद्धि भएको एक्यापको भनाइ छ। एक्यापका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिना अवधिमा सबै गरि ७० हजार ८ सय ४८ जना पाहुना अन्नपूर्ण क्षेत्रमा गएका छन्। त्यसमा आन्तरिक पाहुनाको संख्या गणना गरिएको थपिँदैन।

अघिल्लो आर्थिक वर्षको सुरुको चार महिना अवधिमा जम्मा ४३ हजार ७ सय ५८ जना पाहुना आएका थिए। अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षको पहिलो चार महिनामा अन्नपूर्ण क्षेत्रभित्र प्रवेश गरेका सार्क मुलुकका पर्यटकको संख्या २७ हजार ९० बढी रहेको एक्याप प्रमुख कडरियाले जानकारी दिए।

‘सार्क मुलुकमध्ये पनि भारतका पाहुनाको आगमन उच्च हुन्छ। त्यसले गर्दा पनि सार्क मुलुकका पाहुनाको संख्या बढी देखिन्छ। तर पनि पाहुना आगमनमा सुधार भएकै हो। अप्ठेरोका बाबजुद पनि अन्नपूर्ण क्षेत्रमा पाहुनाको संख्या बढेको देखिएको छ,’ उनले भने, ‘विपद् ननिम्तिएको भए त यो आगमन संख्या अझ बढी हुने थियो। तर, सिजनका बेला केही प्रभावित भयो। त्यो प्रभावले सार्कभन्दा पनि तेस्रो मुलुकका पाहुनालाई बढी असर गरेको हो।’

पर्यटन व्यवसायी पनि विपद्ले प्रभावित भएको पदयात्रा क्षेत्र अब भने चलायमान बनिसकेको बताउँछन्। ‘मुख्य सिजनको सुरुवातमै पाहुनालाई घुमघाममा अवरोध गर्ने गरी अन्नपूर्ण क्षेत्रमा केही समस्या निम्तिएका थिए। तर, अहिले केही समस्या छैन,’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष तीर्थराज सुवेदी भन्छन्, ‘सिजनको सुरुवाती समयमा अप्ठेरो निम्तिएको हो। अहिले सबैतिर चलायमान बनेको छ।’

यो वर्ष विपद्को समस्या भोग्नुपर्दा पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउनसमेत नसकेको उनले बताए। ‘कम्तीमा एक महिनाजति अवरुद्ध भयो। पदयात्रामा निस्केका पर्यटकको पदयात्रा बिथोलियो। केही गन्तव्यमा पुग्नै नपाई फर्किनुपरेको थियो,’ उनले भने, ‘अहिले सबैतिर सहज बनिसकेको छ।’

Leave a Comment