शारीरिक अपाङ्गता भएका खेलाडीलाई क्रिकेटमार्फत समान अवसर प्रदान गर्ने उद्देश्यसहित एसएससीएल ह्विलचेयर क्रिकेट यूएसए र स्पोट्र्स इभेन्ट सोलुसन्स (एसईएस) ले ह्विलचेयर क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने पहल थालेका छन् । ‘अपाङ्गतालाई खेलले पराजित गर्छ, एक खेल, एक विश्व र समान अवसर’ भन्ने नारासहित अघि बढाइएको यस पहलले ह्विलचेयर क्रिकेटको व्यावसायिक विकास, अन्तर्राष्ट्रिय सहकार्य र शारीरिक अपाङ्गता भएका खेलाडीको क्षमता अभिवृद्धिमा जोड दिएको छ ।

यस अभियानअन्तर्गत आयोजित उद्घाटन समारोह सफल बनाउन एसएससीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजहर कास्मीले प्रायोजन तथा सहयोग गरेका छन् । आयोजक एसईएसले उनको योगदानप्रति आभार व्यक्त गरेको छ । कार्यक्रममा बहराइन ट्रायथलन महासङ्घका उपाध्यक्ष, अन्तर्राष्ट्रिय ट्रायथलन रेफ्री तथा गल्फ एयरका वरिष्ठ प्रबन्धक अब्बास बु हसन प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । शब्बिर अहमदले पनि सहयोग गरेको नेपाली समाजसेवी रेजिना छिनालले बताउनुभयो । उहाँँका अनुसार प्रतियोगितामा भविस्यमा नेपाली खेलाडीलाई समेत सहभागी बनाउने योजना रहेको छ ।

बहराइन कबड्डी महासङ्घका अध्यक्ष तथा यल्लो पेन्ट इन्टरनेसनल मिडिया सर्भिसेसका प्रबन्ध निर्देशक हितेश सिक्काले उद्घाटन समारोह आयोजनामा महत्त्वपूर्ण योगदान गरेको जनाएको छ । एसईएसका प्रमुख कार्यकारी अधिकृत मोहम्मद शाहिर खानले ह्विलचेयर क्रिकेटलाई व्यावसायिक रूपमा व्यवस्थित गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलका रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन् । त्यसका लागि विभिन्न देशसँग साझेदारी, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा राष्ट्रियस्तरका खेलाडी विकास कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले उल्लेख गरेका छन् ।बहराइनको प्यारालिम्पिक समिति, सम्बन्धित खेलकुद निकाय तथा स्थानीय सरोकारवालासँग सहकार्य गरी त्यहाँ ह्विलचेयर क्रिकेट सुरु गर्ने, प्रतिभावान् खेलाडी पहिचान गर्ने र राष्ट्रिय टोली निर्माण गर्ने लक्ष्य राखिएको छ ।
आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल,बहराइनका खेलाडीले आफ्नो देशको प्रतिनिधित्व गर्ने वातावरण तयार पार्ने एसईएसको लक्ष्य रहेकाले यसलाई निकै चासोपूर्वक हेरिएको छ । एसएससीएल र एसईएसले ह्विलचेयर क्रिकेटलाई विभिन्न देशमा विस्तार गर्दै राष्ट्रिय कार्यक्रम सञ्चालन, संस्थागत साझेदारी र अन्तर्राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने दीर्घकालीन योजना अघि सारेका छन् । आयोजकका अनुसार यो अभियान खेलकुद प्रतियोगितामा मात्र सीमित नभई अपाङ्गताप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्ने, खेलाडीको क्षमता पहिचान गर्ने र सबैलाई समान अवसर उपलब्ध गराउने उद्देश्यमा केन्द्रित छ ।













