हरिकृष्ण गौतम
बुटवल बसाइँ सरेको पाँच दशकपछि जन्मगाउँ बेनी नगरपालिका–३, भकिम्ली फर्किएर एक दम्पतीले चौरासी पूजामा हुने खर्च स्थानीय जयन्ती माध्यमिक विद्यालयलाई सहयोग गर्नुभएको छ। गाउँमा सामान्य खर्चमा चौरासी पूजा गरी फजुल खर्च जोगाएर रंगबिर र दिलमाया राना दम्पती तथा छोरा सुकबहादुर रानाले विद्यालयलाई गरी एक लाख ५१ हजार सहयोग गर्नुभएको छ ।

मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा ५२ वर्षअघि जन्मथलो भकिम्ली छाडेर रुपन्देहीको बुटवल उपमहानगरपालिका–८, सुक्कानगर बसाइँ सर्नुभएका राना दम्पतीले चौरासी पूजा जन्मभूमिमै गर्ने आफ्नो चाहना पूरा भएको बताउनुभयो।‘जन्मभूमि छोडेर गए पनि आफ्नो गाउँ सधैँ याद आइरहन्थ्यो।

५२ वर्षपछि पहिलोपटक आफ्नै भूमिमा आएर पुण्य काम गर्न पाएकोमा धेरै खुसी लागेको छ। यो मेरो र श्रीमतीको जीवनकै सबैभन्दा सुन्दर क्षण हो। आज हामी निकै खुसी छौँ,’ रानाले भन्नुभयो।आफ्नो चौरासी पूजा जन्मगाउँमै गर्ने चाहनामा छोराले समेत साथ दिएको भन्दै राना दम्पतीले खुसी व्यक्त गर्नुभयो। समुदायको लगानीमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको देखेर दंग पर्नुभएका राना दम्पतीले जन्मभूमिको विद्यालयलाई पुण्य अवसरमा सानो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष पदमबहादुर पुनले जन्मभूमिबाट टाढा रहेर पनि आफ्नो गाउँप्रतिको माया र जिम्मेवारी नबिर्सिएको परिवारले चौरासी पूजामा हुने खर्चलाई शिक्षा र सामाजिक सेवामा लगाउने कार्य प्रशंसनीय भएको बताउनुभयो। ‘चौरासी पूजालाई पारिवारिक उत्सवमा मात्र सीमित नराखी जन्मगाउँमा गरिएको सहयोग सधैँ सम्झनामा रहनेछ। यो सहयोगले जन्मगाउँसँगको सम्बन्ध भूगोल र दूरीले मात्र टाढा नहुने सन्देश दिएको छ,’ वडा अध्यक्ष पुनले बेनीअनलाइनलाई भन्नुभयो।

सोही अवसरमा छोरा सुकबहादुर रानाले विद्यालयको आवासीय कार्यक्रम सञ्चालनका लागि २० हजार रुपैयाँ,नमुना आमा समूह र सोरठी आमा समूहलाई १० हजार रुपैयाँ सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक मनबहादुर पुनले बताउनुभयो। कार्यक्रममा सहयोगदातालाई दोसल्ला र फूलमालासहित सम्मान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक मनबहादुर पुनको सञ्चालन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर रुचालको अध्यक्षता, शिक्षक अभिभावक संघका सदस्य रत्नबहादुर जिसीको स्वागत र सहायक प्रधानाध्यापक डेकबहादुर घर्तीको मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो।

भकिम्लीबाट स्वदेश तथा विदेशमा रहनुभएका स्थानीयको सक्रियतामा तीन करोड रुपैयाँको लगानीमा विद्यालयको २० कोठे पक्की भवन निर्माण गरिएको छ। स्थानीयको सहयोगमा विद्यालयमा विभिन्न शैक्षिक गतिविधिसमेत सञ्चालन हुँदै आएका छन्।











