हरिकृष्ण गौतम
म्याग्दीमा सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले शिक्षक बैँक प्रभावकारी बनाइने भएको छ । विद्यालयको नियमित पठनपाठन खाली हुुन नदिने उद्देश्यले रहेक स्थानीय तहमा रहेको बजेटमार्फत शिक्षक बैंकमा शिक्षकको सूचीकृत गरिने र विज्ञापनबाट समेत शिक्षक ब्यवस्थापन गर्न नसक्ने अवस्थामा अस्थायी रुपमा शिक्षण सिकाइका लागि खटाउने अवधारणालाई प्रभाकारी कार्यान्वयनमा जोड दिइएको छ ।

मंगलबार सदरमुकाम बेनीमा सम्पन्न भएको म्याग्दीका प्रधानाध्यापकहरूको जिल्ला स्तरीय बृहत् बैठकमा जिल्लामा लामो समयसम्म विज्ञापन गर्दा समेत शिक्षक अभाव भएका विद्यालयमा आवश्यक शिक्षक उपलब्ध गराउने हरेक स्थानीय तहमा नेपाल सरकारले रु ५० हजार बजेट नै विनियोजन गरेको शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकको पेशागत क्षमता विकास, विषयगत दरबन्दी व्यवस्थापन र विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्यले आयोजित भेलामा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, स्थानीय तहका शिक्षा शाखा प्रमुख र सरोकारवालाबीच शैक्षिक सुधारका विभिन्न विषयमा छलफल भएको थियो ।

जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षता भएको भेलामा खत्रीले भौतिक पूर्वाधार प्रयाप्त रहेको अवस्थामा अव शैक्षिक गतिविधिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो । ‘करोडौ खर्चिएका भवनहरु रित्तिदैछन्, अब गुणस्तरीय शिक्षाका लागि विद्यालयको अभियानलाई समुदायले साथ दिने बेला आएको छ, माविसँगै आधारभुत तहका प्रअको भेला समेत छिटै गर्नेछौ’ जिल्ला समन्वय समितिकी कावा प्रमुख खत्रीले भन्नुभयो ।

भेलामा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक व्यवस्थापनदेखि विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारसम्मका विषयमा आफ्नो मन्तब्य राख्नुभएको थियो ।
इकाइ प्रमुख मतिलाल चापाईले बैठकमा प्रारम्भिक बालविकास केन्द्रका कक्षाकोठा व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, आधारभूत तह कक्षा १ देखि ५, कक्षा ६ देखि ८ तथा माध्यमिक तह कक्षा ९ देखि १२ सम्म विषयगत आवश्यकताका आधारमा शिक्षक व्यवस्थापन, प्रत्येक शैक्षिक सत्र सुरु हुनुअघि शिक्षकलाई पुनर्ताजगी तालिम प्रदान गर्ने, लिड स्कुलमार्फत मेन्टरिङ कार्यक्रम सञ्चालन गर्ने तथा शिक्षकको कार्यसम्पादनलाई शिक्षण सिकाइ उपलब्धिसँग जोडेर प्रोत्साहन गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।
इकाइ प्रमुख चापाइले शिक्षण पेशालाई मर्यादित र आकर्षक बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहजीकरण आवश्यक रहेको र स्थानीय तहले शिक्षकको पेशागत विकास तथा प्रविधिमैत्री क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा शैक्षिक गुणस्तर सुधार, शैक्षिक गुणस्तर अभिबृद्धिमा इकाईले गरेका सिकाई, विद्यालय हाताभित्र पत्रु खाना (जंक फुड) पूर्ण रूपमा निषेध गर्ने, विद्यालयबाहिर रहेका ४ देखि २३ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने लगायतका विषयमा छलफल भएको थियो ।
छ स्थानीय तहका विद्यालयले सुनाए असल अभ्यास
‘एक स्थानीय तह, एक असल अभ्यास’ कार्यक्रमअन्तर्गत जिल्लाका छवटै स्थानीय तहका प्रतिनिधि विद्यालयले आफ्ना शैक्षिक तथा व्यवस्थापकीय अभ्यास प्रस्तुत गरेका थिए।
बेनी नगरपालिकाको बेनी सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक भीमबहादुर घर्ती, मंगलाको मंगला माध्यमिक विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्री, मालिकाको जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाकर सुवेदी, धवलागिरीको हेम माध्यमिक विद्यालयका प्रधानाध्यापक मुनिराम थेनेल, रघुगंगाको ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेल र अन्नपूर्णको ज्ञानप्रकाश माध्यमिक विद्यालयकी प्रधानाध्यापक शान्ता नेपालीले प्रस्तुतीकरण गरेका थिए।
त्यसैगरी निजी विद्यालयका तर्फबाट प्याब्सन म्याग्दीका राजु केसी र डिबी दाहालले पनि असल अभ्यास प्रस्तुत गरेका थिए। त्यस्तै ब्याप्सन म्याग्दीका अध्यक्ष हिरा पुन,प्रअमध्येबाट जामुनाखर्क माविका प्रअ सोमनाथ ढुंगाना, सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्य, बेनी नगरपालिका शिक्षाअ अधिकृत क्षेत्रबहादुर भण्डारी, जिल्ला समन्वय अधिकारी निलकण्ठ शर्माले मन्तब्य राख्नुभएको थियो ।
त्यस्तै गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गर्न सफल अन्नपूर्ण गाउँपालिका–६, दानास्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयकी प्रधानाध्यापक शान्ता नेपालीलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले सहजीकरण गर्नुभएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाईले स्वागत मन्तव्यसहित एजेण्डा प्रस्तुत गर्दै प्रधानाध्यापकहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष खत्रीले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, शिक्षक, स्थानीय तह र सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।










