Saturday, May 10, 2025
18.9 C
Beni
18.9 C
Beni
Saturday, May 10, 2025
Home Blog Page 27

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै सावित्री खत्री

0

जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन्।

कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि रु १२ लाखभन्दा बढी आम्दानी गर्न थालेकी हुन्।

चारवटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाइ छ । यस वर्ष च्याउबाट मात्रै रु सात लाखभन्दा बढी आम्दानी भएको उनले बताइन्।

“च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,” कृषक खत्रीले भने। गोब्रे च्याउको प्रतिकिलो रु ५०० र कन्येलाई रु २०० मा बिक्री गर्ने गरेकी उनले गोब्रे च्याउबाट यस वर्ष रु पाँच लाख र कन्ये च्याउबाट रु दुई लाख आम्दानी भएको बताइन्।

कच्चापदार्थसहितका साम्रगीसमेत तयार गर्ने गरेकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट रु पाँच लाखको बिक्री गर्छिन्। च्याउबाहेक मौसमअनुसार काँक्रो, घिराैंला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरलगायतका तरकारी उत्पादन गर्दै आएको बताइन्।

तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उनले बताइन्। खत्रीले यस वर्ष उच्च प्रविधिको टनेल थपेर बाह्रै महिना च्याउखेती गर्न थालेकी हुन्। उनले वातानूकुलित टनेलमा जाडो तथा गर्मी दुवै याममा च्याउ उत्पादन हुने बताइन्। अब च्याउखेतीबाट निरन्तर आम्दानी हुने उनले बताइन्।

सामाजिक एवं राजनीतिक रुपमा सक्रिय रहेकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई विस्तार गर्दै गएकी छन् । वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान् भीमबहादुर केसीले च्याउ र अन्य तरकारीखेतीको उत्पादन तथा बजारीकरणमा सघाइरहेका छन्। अहिले दम्पतीका अलावा समय–समयमा ज्यालादारी मजदुर खोजेर तरकारीखेती गर्ने गरेको उनको भनाइ छ ।

खेती गर्नलाई धेरै ठूलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति श्रीमान्ले विदेश नगई सघाउन थालेको खत्रीले बताइन्। मेहनत गर्ने हो श्रीमान्ले विदेशमा कमाउने पैसा दुवै मिलेर यहीँ दुःख गरी कमाउन सकिने खत्रीको अनुभव छ । खत्रीले च्याउखेतीबाट भएको कमाईले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउन सफल भएकी छन् । छोरालाई समेत निजी विद्यालयमा पढाएकी छन्।

यसका अलावा बैङ्कमा बचत गर्न सफल भएको उनले बताइन्। मेहनत र परिश्रम गर्ने हो भने पैसा कमाउन विदेश जान पर्दो रहेनछ भन्ने आफ्नो अनुभवले देखाएको उनले बताइन्। पछिल्लो समय गाउँपालिकामा व्यावसायिक रुपमा लाग्ने कृषकको आकर्षण बढेको रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । “गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अबका दिनमा च्याउखेतीमा अनुदान समेत बढाउँछौँ,” आचार्यले भने।

च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्व पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाका लागि अति उपयोगी छ । च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूर्ण मानिन्छ । च्याउले क्यान्सर, मुटुरोगजस्ता रोग लाग्नबाट बचाउँछ ।

म्याग्दीमा साढे ४० हजारबढी स्वास्थ्य बीमामा जोडिए

0

हिमाली जिल्ला म्याग्दीमा पछिल्लो तथ्याङ्क अनुसार साढे ४० हजार जनाभन्दा धेरै सर्वसाधारण, नागरिकहरु स्वास्थ्य बीमाको पहुँचमा जोडिएका छन् । चालु आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म जिल्लाभर कुल ४० हजार ६ सय ४८ जनाले स्वास्थ्य बीमा गरेका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रममा कुल बीमित परिवार सङ्ख्या १४ हजार ६ सय २४ रहेको छ भने जिल्लामा कुल सेवा प्रदायक स्वास्थ्य संस्था दुईवटा मात्रै छन् । म्याग्दी जिल्लामा प्रदेश अस्पताल बेनी र दरबाङ आधारभूत अस्पताल दरबाङमा मात्रै नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । यी दुईवटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा गरेका नागरिकले बीमाको सुविधा उपभोग गरिरहेका छन् ।

म्याग्दी जिल्लामा स्वास्थ्य बीमाको नवीकरणको दर ७२ प्रतिशत रहेको छ भने अति गरिब बीमित सङ्ख्या २२ रहेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय म्याग्दीले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रममार्फत ६ हजार ३ सय ९६ जना ज्येष्ठनागरिकहरु समेटिएका छन् भने ५३ जना एच.आई.भी. संक्रमितहरुले स्वास्थ्य बीमा गरेका छन् । यसैगरी अति अशक्त अपाङ्गतर्फ बीमितको सङ्ख्या १ सय ५१ जना रहेकोमा कुष्ठरोग संक्रमितका बीमित २ जना र एमडिआर टिबी २ जना रहेको स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक उपेन्द्र बरालले जानकारी दिनुभयो ।

जिल्लामा ३ सय ७२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु क्रियाशील रहेकोमा त्यसमध्ये जम्मा १ सय ९८ जनाले मात्रै स्वास्थ्य बीमा गरेका छन् । सरकारले समुदायस्तरमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई निःशुल्क रुपमा स्वास्थ्य बीमाको सुविधा दिएको छ । नेपालमा वि.सं. २०७२ सालमा सुदुरपश्चिमको कैलाली जिल्लाबाट स्वास्थ्य बीमा लागू गरिएको थियो । अहिले ५ जनासम्मको परिवारले ३५ सय रुपैयाँ र ५ जनाभन्दा बढी सदस्य भएका परिवारले प्रतिव्यक्ति थप सातसय रुपैयाँको दरले शुल्क तिरेर स्वास्थ्य बीमा गर्न सक्ने व्यवस्था रहेको छ । स्वास्थ्य बीमा गरेपछि यसको सुविधा पाउन तोकिएकै स्वास्थ्य संस्थामा मात्रै जानुपर्दछ ।

यसैबीच ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’, ‘सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नारासहित यसवर्ष देशैभर नवौं स्वास्थ्य बीमाको वार्षिकोत्सव विविध कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ । सोही अनुसार म्याग्दी जिल्लामा पनि स्वास्थ्य बीमाको वार्षिकोत्सव तथा विश्व स्वास्थ्य दिवस कार्यक्रम सोमबार मनाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक बरालले आफ्नो प्रस्तुतीकरणसहित सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमममा प्रदेश अस्पताल बेनी म्याग्दीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानले आर्थिक अभावकै कारण उपचार सेवाबाट बञ्चित कुनै पनि बिरामीलाई बेनी अस्पतालमा निःशुल्क रुपमा उपचार गर्ने गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिँदै बेनी अस्पतालको सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउन पहल भैरहेको बताउनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख भुवन ठकुराठीले सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम २०२५ मा आएर बल्ल देशैभर पुगेको बताउँदै म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकृत विनिता जिसीले स्वागत गर्नुभएको थियो ।

म्याग्दीका प्रा. डा बोजिन्द्र तुलाचन खाङ्स विश्वविद्यालयको विभागीय प्रमुख

0

प्रा.डा.बोजिन्द्र तुलाचन दक्षिण कोरियाको सोलस्थित खाङ्स विश्वविद्यालयको अन्तराष्ट्रिय अध्ययन विभागको विभागीय प्रमुखमा नियुक्त हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगाका डा.तुलाचनले हालै उक्त विश्वविद्यालयले विभागीय नियुक्ती गरी पदस्थापन गरेको छ ।

मोना दक्षिण कोरियाका सल्लाहकार डा. तुलाचनले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले विभुषित गर्ने नेपाल विद्याभूषण ‘क’ विभूषण प्राप्त गर्नुभएको थियो । डा.तुलाचन अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक मनोविज्ञानमा नेपालको पहिलो अनुसन्धानकर्ता समेत हुनुहुन्छ ।

विश्वभरका ३४ देशका विद्यार्थीमा ४.४५ जिपिए लिएर राष्ट्रिपति अवार्ड, आजु विश्वविद्यालयबाट समेत सम्मानित हुनुभएका डा. तुलाचनले दक्षिण कोरियामा विश्वविद्यालयस्तरमा विभिन्न अनुसन्धानमा समेत आफ्नो पहिचान बनाउनुभएको छ ।

धौलागिरी मावि सिंगाबाट एसएलसी दिएर म्याग्दी बहुमुखी क्याम्पसबाट इन्टरमेडिट तथा स्नातक तह आरआर क्याम्पसबाट गर्नुभएको थियो । डा.तुलाचनले दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट मानव संसाधन व्यवस्थापनमा पीएचडी गरेका डा. तुलाचनले अन्तर्राष्ट्रिय स्तरमा ट्रेड युनियन अध्ययनमा अनुसन्धान गर्नुभएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसमा ‘गेस्ट लेक्चर’को रुपमा उपस्थित भएर म्याग्दीका विद्यार्थीलाई समेत विश्वबजारको शैक्षिक अवस्था सहित लक्ष्य प्राप्तीका बारेमा जानकारी गराउनुभएको थियो । ‘‘यो एउटा अवसर हो, मैले यसलाई विश्वभरका विद्यार्थीको क्षमता विकासमा जोड्नेछु’’ डा. तुलाचनले बेनीअनलाइनलाई भन्नुभयो ।

डा. तुलाचनले आजु विश्वविद्यालयबाट मानव संसाधन व्यवस्थापनमा पीएचडी अन्तर्राष्ट्रिय विकास र सहयोगमा आजु विश्वविद्यालयबाटै स्नातकोत्तर, अङ्ग्रेजी साहित्य, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तथा आजु विश्वविद्यालयको भिजिटिंग स्कलर समेत हुनुहुन्छ ।

प्रा.डा. तुलाचनले विद्यार्थी सफल हुनका लागि आफ्नो क्षमतालाई सबैभन्दा पहिला सम्मान गर्नुपर्ने बताउनुभयो । नेपालको शैक्षिक गतिविधिलाई पाठ्यक्रम अनुसार नियमित इन्टर्नसिपको वातावरण बनाउन सकेमा संसारको कुनै पनि ठाउँमा प्रतिस्पर्धा गर्न सक्ने डा. तुलाचनको भनाई छ ।

लोकदोहोरी गित प्रतियोगिताको उपाधी म्याग्दीलाई

0

ऐतिहासिक चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ। मेलाको मुख्य आकर्षण पहिचानको रुपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जितेका हुन् ।

फाइनल प्रतिस्पर्धामा बागलुङ प्रतिष्ठानलाई पराजित गर्दै म्याग्दी प्रतिष्ठानले उपाधि हात पारेको हो । प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन खड्का र निशा गुरुङ द्धितिय भए । तृतीय स्थान नगरकोट दोहोरी साँझका सविन आचार्य र जमुना सुनार तथा कास्की प्रतिष्ठानका अनिल चापागाई र आर्चना चापागाईले प्राप्त गरे । दुवै टिमले बराबर अङ्क प्राप्त गरेका थिए।

प्रतियोगितामा १६ टिमले नाम दर्ता गराएका मध्ये १४ टिमले सहभागिता जनाएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । प्रतियोगिताको विजेता म्याग्दी प्रतिष्ठानले २ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । यसैगरी द्धितिय भएको बागलुङ प्रतिष्ठानले एक लाख रुपियाँ र तृतीय हुन सफल नगरकोट दोहारी साँझ र कास्की प्रतिष्ठानले ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा नायक दोहोरी साँझका सरोज सिम्खडा सर्वोकृष्ट दोहोरी गायक र नगरकोट दोहोरी साँझकी जमुना सुनार सर्वोत्कृष्ट दोहारी गायिका बन्नुभयो । उहाँहरुले समान नगद ५–५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । सुरेन्द्र र संगिनाको समुह अनुशासित समुह घोषित भए ।दोहोरी गीत प्रतियोगिता चैत्राष्टमी मेलाको ऐतिहासिक प्रतियोगिता हो ।

म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई उद्यमशीलता तालिम

0

विद्यार्थीलाई उद्यमशील बनाउन म्याग्दी बहुमुखी क्याम्पसमा २ दिने उद्यमशीलता विकास सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ। आइडिया स्टुडियो र प्रभु वैंकको सहजीकरणमा भएको कार्यक्रममा उद्यमी बन्न आवश्यक पर्ने ज्ञान, सीप र उत्प्रेरणा प्रदान गरिएको थियो । कार्यक्रममा व्यवसायिक योजना, व्यवसाय सञ्चालनका अवसर र चुनौती, लागत र लाभ विश्लेषण, बैकिंङ सुविधाको उपयोग, ऋण लगानी लगायत विविध विषयमा सहजीकरण गरिएको थियो ।

क्याम्पस सञ्चालक समितिकाअध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरु भोलानाथ घिमिरे, नारायण प्रसाद सुवेदी, सह–प्राध्यापक रामजी प्रसाद सुवेदी, उप–प्राध्यापक तारानाथ शर्मा र विष्णु आचार्य लगायतको उपस्थिति थियो । आइडिया स्टुडियोका निर्देशक अनिल बस्नेत, प्रोजक्ट म्यानेजर प्रज्ञा घिमिरे, सहप्राध्यापक रामजीप्रसाद सुबेदी, उपप्रध्यापक विष्णु आचार्यले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमा प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख राजु रानाले विद्यार्थीहरुको व्यवसायिक योजना अनुसारको कार्ययोजना सम्पन्न गर्नको लागि वैकको लगानी र आवश्यक प्रक्रियाको सम्वन्धमा जानकारी गरानुभएको थियो । प्रभ बैंक गण्डकीकी एसिस्टेन्ट जानकी मल्ल, बेनी शाखाका हिमाल शाक्यले समेत बैंकमार्फत उद्यमशिलतामा भइरहेको कामका बारेमा आफ्ना भनाई राख्नुभएको थियो ।

आइडिया स्टुडियो र प्रभु वैंकले गण्डकी प्रदेशका ३ वटा म्याग्दी बहुमुखी क्याम्पस, धवालगिरी बहुमुखी क्याम्पस वाग्लुङ, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सहित १५ वटा व्यावसायिक योजनाहरु बीच प्रतिस्पर्धा गराई त्यसबाट छनौट भएका व्यावसायिक योजनाहरुलाई आवश्यकता अनुसार विऊ पूँजी उपलव्ध गराउनेछ ।

कार्यक्रमको समापनमा क्याम्पस प्रमुख श्रीधर सुवेदीेले विद्यार्थीलाई उद्यमशिलता बनाउन प्राथमिकता दिएको बताउनुभयो । यसअगाडी देशभरका १४ सय क्याम्पसमा प्रतिस्पर्धा गरेको विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता परियोजनामा समेत म्याग्दीबाट दुई विद्यार्थीको ब्यवसायिक योजना छनौट भएको थियो ।

 

नेपाल निवृत्त शिक्षक समाज म्याग्दीको अध्यक्षमा पुन : सुबेदी

0

नेपाल निवृत्त शिक्षक समाज, म्याग्दीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा पुन : हरिकृष्ण सुबेदी चयन हुनुभएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा धुरबलाल शर्मा, महिला उपाध्यक्षमा धनकुमारी थापा, सचिवमा कोमलप्रसाद उपाध्याय र कोषाध्यक्षमा नारायणबहादुर कार्की रहनुभएको छ। सदस्यहरुमा चन्द्रबहादुर घिमिरे, मोतिराज उपाध्याय, मोहन बानिया, इन्द्रा तुलाचन, निलकण्ठ सुवेदी, यामबहादुर खत्री, हरिप्रसाद सुवेदी, शेरबहादुर खड्का, गुप्तबहादुर रोका र भिमप्रसाद गौतम रहेका सचिव उपाध्यायले जानकारी दिनुभयो ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधीमा केशवप्रसाद रेग्मी चयन हुनुभएको र थप एक जना पछि चयन गरिने समाजले जनाएको छ ।अधिवेशनमा बोल्दै प्रमुख अतिथि नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय सदस्य हरिप्रसाद शर्मा लामिछानेले निवृत्त शिक्षकहरूको अनुभव र ज्ञानलाई समाजको हितमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले निवृत्त शिक्षकहरूले समाजलाई मार्गदर्शन गर्न सक्ने बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले निवृत्त शिक्षकहरूको सम्मान र कल्याणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।अधिवेशनमा निर्वाचन मण्डलमा रहेर जिम्मेवारीपूर्वक अधिवेशन सम्पन्न गराउनु हुने शिवप्रसाद कटुवाल, कृष्णबहादुर थापा तथा शेरबहादुर गुरुङलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ ।

अन्नपूर्ण हिमालको हिउँपहिरोमा २ जना बेपत्ता

0

म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा सोमबार बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताए ।

आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौंबाट उद्धारको टोलीलाई हेलिकोप्टरमार्फत पठाइएको उनले जानकारी दिए । पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० पुरुष र १२ महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।

काठमाडौं विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा

0

काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २६२ रहेको छ । यसलाई निकै खतरनाक अवस्था मानिन्छ ।

यस्तै, नेपाल पछि दोस्रो नम्बरमा भारतको दिल्ली (१७९), भियतनामको हनोइ (१७७) तेस्रो तथा पाकिस्तानको लाहोर (१७२) चौथो स्थानमा छन् ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको सङ्ख्या पनि बढेको छ । चिकित्सकहरूले अनावश्यक बाहिर ननिस्किन, बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा घरमा पनि झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।

मौसमविद् शान्ति कँडेलले वायु प्रदूषणका कारण काठमाडौं उपत्यकाको आकाशमा लागेको बादल पूर्णरुपमा फाट्न अझै केही दिन लाग्ने बताइन् । उनले आज दिउँसोपख काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेकाले वर्षा पछि प्रदूषण केही मात्रामा घट्ने बताइन् ।

निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

0

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।

दुई लाख भक्तजनले गरे बागलुङ कालिका भगवतीकाे दर्शन

0

जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पु-याइदेउ रेशम बागलुङ कालिका…’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाएका थिए । त्यसयता पनि कालिका भगवतीको महत्व र महिमा उजागर गर्दै कैयन गीत रचिए र गाइए ।

गीतले भनेझैँ मनले आँटेताकेको पूरा हुने विश्वासमा चैतेदसैँ पारेर यस मन्दिरमा पूजाआजा गर्नेको लर्को लाग्छ । गुठी व्यवस्थापन समितिको दाबीअनुसार चैत्राष्टमीका दिन शनिबार मात्रै करिब दुई लाख भक्तजनले बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शन गरे । आइतबार रामनवमीमा पनि बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्यो ।

चैतेदसैँको नवरात्रभर विशेष पूजाआज हुने भएकाले टाढाटाढाबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् । मन्दिर परिसरमा चलिरहेको चैत्राष्टमी मेलाले पनि दर्शकलाई आकर्षित गरिरहेको समितिका अध्यक्ष कुमार खड्काले बताए। उनका अनुसार विसं १५९१ मा मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको हो । “चैतेदसैँमा लाग्ने यो देशकै ठूलोमध्येको मेला हो, यो कालिका भगवतीको महिमासँग जोडिएको छ”, अध्यक्ष खड्काले भने, “सदियौँदेखि चल्दै आएको चैतेदसैँ मेलालाई निरन्तरता दिँदै आएका छौँ ।”

तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्वदन्ती छ । कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको अध्यक्ष खड्काले बताए। स्थानीयवासी भरत खड्काले कालिका भगवती मन्दिर र चैतेदसैँ मेला एकअर्कामा अभिन्न रहेको बताए ।

“पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ”, उनले भने, “पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पुजिन्छ ।”

सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको हो । यहाँ बर्सेनि बडादसैँ र चैतेदसैँमा मन्दिरमा विशेष मेला लाग्ने गरेको छ । देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन् । मन्दिरमा बाह्रै महिना नियमित पूजाआजा हुने समितिका उपाध्यक्ष निशान खड्काले जानकारी दिए।

साउन र पुस महिनामा भने बलि नचढ्ने उनको भनाइ छ । “औँशी र एकादशीमा पनि मन्दिरमा बलि चढ्दैन, नियमित पूजाआजा भने दैनिक हुने गर्छ”, उनले भने, “मङ्गलबार र शनिबार भक्तजनको बढी भीड हुन्छ ।” मन्दिरमा राँगा, सुँगुर, बोका, कुखुरा, हाँस आदिको बलि दिने चलन छ । इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले कालिका भगवतीसँग जोडिएको चैतेदसैँ मेलाले लामो इतिहास र परम्परा बोकेको बताए ।

श्रेष्ठले ‘एक पैसा कहिलेलाई बागलुङको चैतेदसैँलाई…’ भन्ने गीत पनि प्राचीनकालीन भएको बताउनुभयो । उनका अनुसार पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिने गरेको थियो । “त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो, चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो”, श्रेष्ठले भने, “गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे, भारतीय व्यापारी पनि आउने गर्थे ।” पहिले भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउँथे ।

स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्ने गरेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे । मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहोरी (झ्यारे) गाएर बस्ने गर्थे । गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन् ।

मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवर्द्धनका विविध गतिविधि समेटिएको समितिका अध्यक्ष एवं मेलाका संयोजक खड्काले बताए। मेलास्थलमा स्थानीय उत्पादनको बिक्रीकक्षदेखि रमाइलो मेलासम्म राखिएको छ । परम्परागत रुपमा चल्दै आएका लोकदोहोरी, भलिबल, छेलोलगायतका प्रतियोगिताले मेलामा आकर्षण थपेका छन् ।

error: Content is protected !!