Friday, June 27, 2025
26.3 C
Beni
26.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 259

भिमकुमारी महत स्मृति अक्षयकोषले कक्षा ११ र १२ का विद्यार्थीलाई सहयोग

बेनी नगरपालिका वडा नं १ रत्नेचौरस्थित भानु माविका कक्षा ११÷१२का विद्यार्थीलाई भिमकुमारी महत स्मृति अक्षयकोषले पाठ्यक्रम र शैक्षिक साम्रागी वितरण गरेको छ । समाजसेवी सबी थापाले आफ्नी स्वर्गीय आमाको स्मृतिमा विद्यालयमा स्थापना गर्नुभएको कोषबाट विद्यार्थीलाई १३ हजार बराबरको शैक्षिक साम्रागी र पाठयपुस्तक सहयोग गरिएको कोषका सदस्य एकेन्द्र बहादुर महतले जानकारी दिनुभयो ।

वडा अध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समाजसेवी सबी थापा र इन्द्र थापाले हरेक बर्ष विपन्न, जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने गरेकोमा धन्यवाद दिदैं आगामी दिनमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्न अनुरोध गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता कोषका अध्यक्ष नेत्रबहादुर महत, स्वागत निर्वतमान प्रअ भरत खत्री, मन्तब्य प्रअ दिनेश बोगटीले राख्नुभएको थियो ।

यसअगाडी आफ्नै आमाको स्मृतिमा सबी थपाले बेनी नगरपालिका–४,थामडाँडामास्थित भृकुटी आधारभुत विद्यालयमा १ लाखको ‘भिमकुमारी महत स्मृति कोष’ अक्षयकोष स्थापना गर्नुभएको थियो ।

उक्त कोषबाट विद्यालयमा अध्ययनरत गरीब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई लक्षित उक्त छात्रवृत्ति दिइने छ । हाल अमेरिकामा रहनुभएका इशा फाउण्डेशनका संस्थापक समेत रहनुभएका शवी र इन्द्र थापादम्पत्तीले म्याग्दीमा विपन्नको उपचार, अभिभावकविहिन बालबालिकाको उच्च शिक्षासम्मको शैक्षिक अभिभावकत्व ग्रहण गदैं आउनुभएको छ ।

म्याग्दी क्याम्पसमा उच्च शिक्षाका समस्या समाधानका लागि राष्ट्रिय गोष्ठी हुने

म्याग्दी बहुमुखी क्याम्पसमा पहिलोपटक उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसन्धानत्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी आयोजना गरिने भएको छ । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा यही साउन ३२ गते र भदौं १ गते क्याम्पस प्राङ्गनमा हुने गोष्ठीमा समग उच्च शिक्षाका क्षेत्रमा केन्द्रित हुने बताइएको छ ।

शुक्रबार क्याम्पसको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा उच्च शिक्षाका लागि योग्य, दक्ष जनशक्ती आपूर्ति, विकास र परिचालन सँगै स्थानीय तहमा निती निर्माणलाई समेत सहज हुने गरी विभिन्न विषयमा केन्द्रित भएर छलफल र प्रस्तुती हुने क्याम्पसका अनुसन्धान विभाग प्रमुख एवम् पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो ।

‘अहिले शैक्षिक क्षेत्रमा अनुसन्धान र अनुसन्धानमा आधारित लेखहरुको अपरिहार्य छ, यो गोष्ठी म्याग्दीकौ शैक्षिक क्षेत्रमा कोशेढुंगा सावित हुने छ’ सापकोटाले भन्नुभयो । उहाँका अनुसार धौलागिरी क्षेत्रमा पहिलोपटक आयोजना हुन लागेको गोष्ठीमा म्याग्दीका साथै बागलुङ, पर्वत लगायतका क्षेत्रबाट समेत सहभागि हुने छन् ।

म्याग्दी बहुमुखी क्याम्पसका ८ जनाले अनुसन्धानत्मक लेखको प्रस्तुती सहित गुणात्मक र मात्रात्मक तथ्याङ्कहरुलाई विश्लेषण गरिने छ । राष्ट्रिय गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बाशुदेव काफ्ले, पिएन क्याम्पस पोखराका प्राध्यापक डा. मिन पुन र युजिसी नेपालका नारायण भण्डारीले सहजीकरण गर्नुहुने छ ।

गोष्ठीमा उच्च शिक्षाका समस्या र चुनौती, उच्च शिक्षा नीति सुधार, सेमेस्टर प्रणाली र वार्षिक प्रणाली, पाठ्यक्रम डिजाइन र कार्यान्वयन, विद्यार्थी मूल्याङ्कन र परीक्षा प्रणाली, उच्च शिक्षामा सुशासन, अनुशासन अभ्यासहरू सामाजिक मिडिया,उच्च शिक्षा र एआई, विद्यार्थी छाड्ने र प्रतिभा पलायनका विषयबस्तुमा समेत छलफल हुने छ ।

पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख श्रीधर सुबेदीले शैक्षिक सुधारका लागि अनुसन्धानमुलक लेख प्रकाशन गर्नेलाई क्याम्पसबाटै सहयोग हुने बताउनुभयो । उच्च शिक्षामा देखिएका हरेक प्रकारका चुनौतीको समाधानका लागि क्याम्पसले समय सुहाउँदो पाठ्यक्रम सहित विभिन्न तालिम तथा उत्पादनमुखी क्षेत्रमा लाग्ने विद्यार्थीका लागि अनुदान भित्राउन समेत सक्रिय रहेको बताउनुभयो ।

सोही अवसरमा क्याम्पस सञ्चालक समितिका सदस्य क्या. मिनबहादुर कार्कीले सामुदायिक विद्यालय र क्याम्पसमा विद्यार्थीको संख्या घट्दै गएको अवस्थालाई मध्यनजर गरी अबका गतिविधि केन्द्रित हुनुपर्नेब बताउनुभयो । पत्रकार सम्मेलनमा सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदी, भोलानाथ घिमिरे लगायत पत्रकारहरूको उपस्थिती रहेको थियो भने ब्यवस्थापन विभाग प्रमुख विष्णुप्रसाद आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

म्याग्दीमा व्यवसाय दर्ताको तुलनामा खारेजी दर बढ्दो

जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्यवसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा २११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन्। कार्यालयका अनुसार २०८०/ ८१ मा ३१ उद्योग र ५३ व्यावसायिक फार्म खारेज भएका हुन्। आर्थिक वर्ष २०७९/८० मा १४ उद्योग र २९ व्यावसायिक फर्म खारेज भएका थिए। सो अवधिमा १०१ वटा उद्योग र ११० वटा व्यावसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषनाथ शर्माले बताए।

आर्थिक वर्ष २०७७/७८ मा ७६२, २०७८/७९ मा ५७० र २०७९/८० मा ३१७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए। म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोरोना महामारी पछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायीहरू विदेश पलायन हुने र अन्य पेसा रोज्ने क्रम बढेको बताए।

“व्यवसाय दर्ता तथा खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिड पछिको आर्थिक मन्दीको असरका रूपमा लिएका छौँ,” उनले भने, “वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज गर्नेहरू पनि छन्।”

जिल्लामा फेन्सी, हार्डवयर्स र होटल तथा रेस्टुरेन्टको व्यापार घटे पनि सटर नै बन्द नभएका अध्यक्ष श्रेष्ठको दाबी छ। उद्योग वाणिज्य संघको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यावसायिक फार्महरू पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका छन्।

उद्योग तथा व्यवसाय दर्ता र नवीकरणबाट उद्योग तथा पर्यटन कार्यालयले संकलन गर्ने राजस्वमा पनि गिरावट आएको छ। आर्थिक वर्ष २०७९/८० मा १९ करोड ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १७ लाख ३८ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ।

गत वर्ष ३२२ उद्योग र ३९४ व्यावसायिक फर्मले नवीकरण गरेका थिए। गत वर्ष दर्ता भएका उद्योगहरूमा ३०६ जनालाई रोजगारी सिर्जना भएको छ। जिल्लामा हाल दुई हजार ८८९ उद्योग र दुई हजार ५४३ व्यवसाय कायम भएका छन्।

जङ्गली रातो च्याउको माग सहरदेखि विदेशसम्म

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

हाँको मालिका गाउँपालिका–५ देवीस्थानका रेशम बूढामगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्नमा व्यस्त छन् ।बर्खायाम सुरु भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी देविकला घर्तीको  परिवारका सदस्यहरु च्याउ खोज्न जङ्गलमै दिन बिताउने गर्छन् ।

ओसिलो जङ्गलका पुराना रुख र ठुटामा पाइने रातो च्याउ खोज्न रेशम र देवीकला मात्रै होइनन्, साउन दोस्रो सातादेखि पश्चिम म्याग्दीका रुम, दिच्याम, मुना, मुदी, लुलाङ, गुर्जा, देवीस्थान, विमलगायतका गाउँका स्थानीयवासी व्यस्त छन् ।

गाउँको होमस्टेदेखि सहरका तारे होटेल र विदेशसमेत रातो च्याउको माग भएकाले महङ्गोमा बिक्री हुने गर्छ । रातो च्याउको मूल्य यस वर्ष आलो प्रतिकिलो रु दुईहजार र सुकाएको रु पाँच हजारसम्ममा बिक्रि हुने गरेको छ ।

जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिम मोलेर रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य महङ्गो भएको रुमकी देविकला घर्तीले बताइन् ।

प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ म्याग्दीका ग्रामीण बस्तीमा पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ भएको मुना घरबासका सञ्चालक राधिका भण्डारीले बताइन् ।

“घरवासमा आउने जो कोहीले खान र कोशेलीका लागि रातो च्याउ खोज्ने गर्छन्”, भण्डारीले भने “पाहुनाले युरोप अमेरिकासमेत कोशेलीका लागि यही च्याउ किनेर लैजाने गरेका छन् ।”

गत सालसम्म प्रति किलो आठ सयदेखि  एक हजारसम्ममा बिक्रि भएको रातो च्याउको मूल्य यस वर्ष  दुई हजार पुगेको छ । सुकाएको रातो च्याउ आलोको तुलनामा महङ्गो भएको व्यापारी जगमाया पुन मगरले बताइन् ।

हालसम्म रातो च्याउको व्यावसायिक बजारीकरण नभएको रुमका स्थानीयवासी टेकबहादुर घर्तीले बताए। जङ्गलमा भर्खरै पलाएको च्याउ टिप्न थालेपछि उत्पादन घट्न थालेको र मूल्य वृद्धि भएको घर्तीको भनाइ छ ।

रातो च्याउ सुकाएपछि लामो समयसम्म भण्डारण गर्न मिल्ने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि अर्गानिक उत्पादन बिक्रि गर्दै आएका सुमन पौडेलले जानकारी दिए। गत वर्ष रुमबाट रु पाँच लाखको जङ्गली च्याउ बिक्री भएको स्थानीय टेकबहादुर घर्तीले बताए

व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको उनको भनाइ छ । सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी रातो च्याउको  उत्पादन गर्न सकिने सम्भावना रहेको आत्मनिर्भर साना किसान सहकारी संस्था दरवाङका अध्यक्ष सन्तनाथ सुवेदीले बताए ।

उनले भने, “अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिना मै फल्ने बीउ उत्पादन भयो त्यसरी रातो च्याउको विकास गर्न सकिन्छ ।”

भत्किदै घरबार, म्याग्दीमा बढ्दो क्रममा सम्बन्ध बिच्छेद

म्याग्दीमा आधुनिक जिवनशैली, सहरी क्षेत्रमा बसाईसराई, आर्थिक हिनामिना, कलिलै उमेरमा विवाह, डिपेन्डेन्टमा अष्ट्रेलिया र प्रेमि र प्रेमिकालाई श्रीमान र श्रीमती बनाउन झुक्काएर डिर्भोस गर्नेहरुका कारण बर्षेनी घरबार भत्किनेहरुको संख्या बढ्दै गएको छ ।

पछिल्ला दुई आर्थिक बर्षको तथ्याङ्क हेर्दा २० बर्षदेखि ७५ बर्षसम्मकाले सम्बन्ध बिच्छेद गरेका छन् । जिल्ला अदालत म्याग्दीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९÷०८० मा कुल ६१८ मुद्दामध्ये ३५२ मुद्दा सम्बन्ध विच्छेदको दर्ता भएकोमा ३२९ फछ्र्योट भएको थियो भने आव २०८०÷०८१ मा कुल ५९२ मुुद्धामा सम्बन्ध विच्छेदका ३१७ थान रहेको देखिन्छ । सम्बन्ध विच्छेद सहित ११० वटा मुद्दा विचाराधीन रहेको जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार भोलाराज रेग्मीले बताउनुभयो ।

पत्नीसँग सम्बन्ध बिच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि समय तोकेर दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउने प्रयास गर्ने गरेपनि दुबै पक्षको एउटै स्वर हुने गरेले मेलमिलाको प्रयास सफल हुन सकेको छैन । दैनिकजसो सम्बन्ध–विच्छेदको निवेदन बोकेर विवाहित दम्पत्ती अदालत धाइरहेछन् ।

कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक विवाद, वैदेशिक रोजगारमा गएका पतिपत्नीबीच बढ्दो असहमति, यौनजन्य गतिविधि, अन्तर्जातीय विवाहका साथै परिवारमा विश्वासको सङ्कट भएर अदालतसम्म मुद्दा पुगेको कुरा अधिवक्ता ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।

पछिल्लो समय अंशसहितभन्दा अंश नलिई सम्बन्ध विच्छेद गर्ने प्रवृति बढेको अवस्थामा सम्बन्ध विच्छेद दर्ता गरेपछि श्रीमान र श्रीमती दुबैले विदेशको बाहना बनाएर नाटक गरी प्रेमी प्रेमिकासँग विवाहको तयारी गरेको भन्दै केही महिनामै सम्बन्ध विच्छेदलाई रद्ध गरिदिन अदालतमा पुगेर अनुरोध समेत गर्ने गरेको पाइएको छ ।

सम्बन्ध विच्छेदका घटनाले परिवार, सामाजिक र ब्यक्तिगत रुपमा समेत धेरै क्षती पुगिरहेको अवस्थामा जनचेतनामुलक कार्यक्रम सहित बाल विवाह रोक्ने अभियानलाई प्रभावकारी बनाउनुपर्ने महिला अधिकारकर्मी एवम् म्याग्दी बहुमुखी क्याम्पसकी पूर्व सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीको भनाई छ ।

म्याग्दीमा श्रीमतीसँग अलग हुन बैदेशिक रोजगारीमा जाने बाहना बनाएर प्रेमिकालाई अर्को श्रीमती बनाएका घटनाहरू समेत छताछुल्ल भएपछि अब सम्बन्ध बिच्छेदका मुद्धामा हेल्चेक्राई नगर्न र सोच बिचार गरेर मात्रै निर्णय लिन कानुनका जानकारहरु बताउँछन् । जीवनभर सँगै बाँच्ने बाचा गरेर विवाह बन्धनमा बाँधिएका दम्पत्ती कलिला सन्तानलाई छोडेर अगल हुने गरी कानुनी प्रक्रियाबाटै सम्बन्ध विच्छेद गर्नेको संख्या हरेक बर्ष बढ्दो क्रममा छ ।

१३ वर्षदेखि परदेशीको बाटो पर्खिरहेका परिवार

म्याग्दीकाे धाैलागिरि गाउँपालिका वडा नम्बर ४ मुदी चेचुङ गाउँको लिलप्रसाद घर्ती १३ वर्षअघि मलेसिया जानु भयो । घरको आर्थिक अवस्था कमजोर भएकाले घर्तीलाई बा, आमा, श्रीमती, एक छोरा र तीन छोरी घरमै छोडेर मलेसिया जानुपर्ने बाध्यता आएको थियो ।

मलेसिया पुगेको केही समयसम्म उहाँले घरमा चिठ्ठी र पैसा पठाउनु भयो । बेलाबेला परिवारसँग फोनमा कुराकानी पनि हुन्थ्यो । यति हुँदैमा पनि परिवारमा खुशी छाएको थियो । उहाँकी श्रीमती लक्षिमाले छोराछोरी राम्रो विद्यालयमा भर्ना गर्नु भयो । घरमा खाने लाउने समस्या कम हुन थाल्यो । छोराछोरी, आमाबुबा र आफू खुशी भएको लक्षिमाले लिलप्रसादलाई सुनाउनु हुन्थ्यो ।

यसरी काम गर्दै पैसा जोगाउँदै घर परिवारसँग सुख साट्दै दुई वर्ष बित्यो । एकदिन फोनमा लिलप्रसादले कम्पनीले दिने घर बिदामा आफू घर आउने बताउनु भयो । यो कुराले लिलप्रसादको परिवारमा खुशी थपियो । घर बिदामा आउने दिनहरू नजिकिँदै गर्दा लिलप्रसादले लक्षिमालाई फोन गरेर आफू अर्को कम्पनीमा काम गर्न जान लागेको बताउनु भयो । तर कुन कम्पनीमा के कामका लागि जान लागेको भन्ने बारे केही भन्नु भएन ।

त्यसपछि लिलप्रसादको फोन पनि आउन छोड्यो । कम्पनी फेर्दा हुने जोखिमबारे न परिवारलाई थाहा थियो न त लिलप्रसादलाई । बाबा घर फर्कने दिन गनेर बसेका छोराछोरीले दिनको गन्ती भुले । लक्षिमाका दिनहरू लिलप्रसादको फोन आउँछ कि भन्ने आशमा बित्न थाले । आमाबुबाका आँखा छोरो फर्कन्छ कि भन्दै टोलाउन लागे ।

आर्थिक अवस्था उँभो लागेको परिवार फेरि के खाऊँ र के लाऊँको अवस्थामा पुग्यो । घर व्यवहार कसरी चलाउने ? छोराछोरीलाई कसरी पढाउने ? सासूससुराको रेखदेख कसरी मिलाउने ? यी सबै जिम्मेवारी लक्षिमाको काँधमा आयो । उहाँले आमाजूको जग्गा कमाएर घर व्यवहार मिलाउन थाल्नु भयो । खेतीपाती गरेर उब्जेको अनाज बेचेर छोराछोरी पढाउनु भयो । लक्षिमाको दुःखमा माइतीले साथ दिए ।

समय बित्दै गयो । लक्षिमाले निकै दुःख गरेर छोराछोरी पढाउनु भयो । परिवार चलाउनु भयो । अहिले उहाँको ठूलो छोरा र छोरीको विवाह भइसकेको छ । उहाँले आफ्नो कर्तव्य राम्ररी पूरा गरिरहनुभएको छ । तर उहाँलाई आफ्नो श्रीमानको साथ खड्किन्छ । गाउँबाट विदेश जाने सबैलाई उहाँले श्रीमान् खोजिदिन अनुरोध गरिरहनु भयो ।

एकदिन लक्षिमाका छोरा साथीको राहदानी (पासपोर्ट) बनाउन जिल्ला प्रशासन कार्यालय जाँदा आप्रवासी श्रोत केन्द्रबारे थाहा पाउनु भयो । त्यहाँ पुगेर थाहा भयो बेपत्ता भएका मानिस खोजी दिने संस्था हुन्छ । उहाँले आफ्नो बाबा खोजी पाऊँ भनी निवेदन दिनुभयो । देश र विदेशमा रहेका विभिन्न सङ्घ–संस्थासँग बिन्ती गर्नु भयो ।

लक्षिमा र उहाँको परिवारको प्रयासहरू विफल रहे । छोरा आउला भनेर बाटो हेरेर बस्नुभएकी लिलप्रसादकी आमाका आँखा उहाँको पखाईमा नै बन्द भए । लिलप्रसादका बुबा धिपधिप गर्दाको सास साँचेर छोराको पखाईमा हुनुहुन्छ । तर १३ वर्ष बितिसक्दा पनि लिलप्रसादको केही पत्तो लागेको छैन ।

लक्षिमाले आफ्नै पौरखमा सबै ऋण तिरिसक्नु भयो । छोराछोरी हुर्किसके । अहिले घर परिवारको आर्थिक अवस्था राम्रो छ । लक्षिमालाई आफ्नो आसपासमा सबै कुरा मिलिसकेकाले लिलप्रसाद फर्केर आए हुने भन्ने छ ।

उहाँले अझै पनि विदेश जाने आफन्त, नातागोता, छरछिमेक र साथीभाइलाई आफ्नो श्रीमानलाई खोजिदिन अनुरोध गरिरहनुभएको छ । त्यसबाहेक जिल्ला समन्वय समितिले सञ्चालन गरेको आप्रवासी श्रोत केन्द्रमा निवेदन दिनुभएको छ । केन्द्रले विभिन्न निकायहरूसँग सहकार्य गरेर खोजी गरिरहेको छ । १३ वर्षदेखि छोराछोरी बाबा आउने प्रतिक्षामा छन् ।

आज नागपञ्चमी, मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ ।

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन ९ब्राह्मण० पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

जलजला गाउँपालिकाले बिउ आलु उत्पादन गर्ने कृषकलाई अनुदान वितरण

पर्वतको जलजला गाउँपालिकाले उन्नतजातको बीउ आलुमा आत्मनिर्भर बनाउन कृषकलाई आलुको बीउमा १० लाख ७५ हजारभन्दा बढी अनुदान दिएको छ ।

आलु रोप्ने सिजनमा बीउ नपाएर चिन्तित हुने कृषकलाई लक्षित गरी गाउँपालिकाले आलुको मुल बिउ गाउँपालिकाले खरिद गर्ने सम्झौता अनुसार प्रगतिशिल बीउ उत्पादन समुह र नमुना कृषि तथा पशुपंक्षी कृषक समूहलाई ३३ हजार २ सय केजी बिउ आलुको १० लाख ७५ हजार ४५० रुपैयाँ अनुदान वितरण गरिएको हो ।

प्रगतिशिल बीउ उत्पादन समुहलाई प्रति केजी ३५ रुपैयाँको दरले २२ सय ७० केजी मुलबिउको ७९ हजार ४५० रुपैयाँ र प्रगतिशिल बीउ उत्पादक कृषक समुहलाई प्रमाणित प्रथम पुस्ताको बिउको प्रतिकेजी ३० का दरले ९ लाख ९६ हजार अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि अधिकृत राजुप्रसाद गौतमले बताउनुभयो ।

‘कृषकको आलुको बिउ गाउँपालिकाले खरिद गर्ने सम्झौता छ, अनुदानसँगै प्रोत्साहनका कार्यक्रमबाट उहाँहरु उत्साहित हुनुहुन्छ’ अधिकृत गौतमले भन्नुभयो । बीउ आलुका लागि गाउँपालिकाले मल तथा उत्पादन साम्रागी समेत दिने गरेको छ।

गाउँपालिकाले समुहमार्फत खरिद गरेको बिउ आलु पोखराको कोल्ड स्टोरमा भण्डारण गरी सिजनमा गाउँपालिका भित्रका बीउ उत्पादक कृषक समुहलाई नै वितरण गर्ने अधिकृत गौतमको भनाई छ । गाउँपालिकाले आलुको सिजनमा मल बिउ नपाएर निराश कृषकलाई लक्षित गरी राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँगसामूहिक मूलबीउ रोप्ने अभियान सञ्चालन गरेको थियो । गाउँपालिका भित्र बर्षेनी आलु बिक्री गर्ने ४० अगुवा कृषक छन् ।

गाउँपालिका भित्र आलुको पकेट क्षेत्रमा एउटै बीउको प्रयोग हुँदा निर्वाहमुखी उत्पादन र बिक्री गर्ने क्रममा गुणस्तरमा देखिएको समस्या समाधान गर्ने गरी राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको मूलबीउ भित्राएर अनुदान दिएको को प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

‘आलुखेतीका लागि बिउमाअनुदान दिन शुरु गरेपछि कृषकको सङ्ख्या बढ्दै गएको छ, समुहमा आवद्ध भएर आलुखेतीमा सक्रिय हुनेको संख्या बढ्दो छ’ आचार्यले भन्नुभयो ।जलजला आलु उत्पादनका लागि उर्वर मानिएपनि विगतमा उन्नतजातको आलुको बिउ समयमै नपाउँदा निराश हुने कृषकको समस्या समाधान भएको प्रगतिशिल बीउ उत्पादन समुह तारानाथ भुषालले बताउनुभयो ।

‘गाउँपालिकाले सहयोग गरेपछि यहाँ कृषक आलु उत्पादनमा हौसिएका छन’ अनुदान दिने, खरिदमा पनि सघाउनु हाम्रो लागि ठूलो राहत हो’ अगुवा कृषक भुषालले भन्नुभयो । आलुको गुणस्तर राम्रो भएकाले अन्य पालिकाबाट समेत बिउ लिन आउने गरेका छन् ।

यसैबीच गाउँपालिकाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ६६ हजार ७० केजी उन्नत विउ बिक्री गरी २९ लाख ७१ हजार६४९ रुपैयाँ आन्तरिक आम्दानी तर्फ राजश्व संकलन गरेको छ । गाउँपालिकाले कृषकबाट खरिद गरेको आलुको बिउ ५० प्रतिशत अनुदानमा कृषक र कृषि ज्ञान केन्द्रमार्फत सिफारिस भएका कृषक समुह तथा म्याग्दी, कास्की लगायतका जिल्लाका कृषकलाई ३५ हजार ९७७ केजी बिउ बिक्री गरी २१ हजार ९८ हजार ६५९ आम्दानी गरेको हो ।

गाउँपालिका भित्रका समुहलाई प्रति केजी ३० रुपैयाँ र पर्वत र अन्य जिल्लाका समुहलाई ६० रुपैयाँमा बिउ आलु बिक्री गरिएको छ । गाउँपालिकाले आलुको बिउ बिक्रीबाट कुल राजश्व संकलनको २२ प्रतिशत संकलन गरेको छ । ढुंगागिटी, बालुवा बिक्रीबाट हुने आम्दानीपछि सबैभन्दा धेरै राजश्व बिउ आलु बिक्रीबाट गाउँपालिकाले आम्दानी गरेको छ।

बडिगाड पहिरोमा मृतक संख्या ११ पुग्यो

बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा खसेको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिहिबार दुई जना, बुधबार १ र मंगलबार ८ गरी ११ जनाको शव पहिरोबाट निकालिएको प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए ।
अबिरल बर्षातका कारण बागलुङको बडिगाडमा वडा नं. ९ को बलघास र वडा नं. १० को आरुपाटामा पहिरो खसेको थियो ।

घटनामा अझै ११ वर्षका एक बालक बेपत्ता छन् । बिहिबार दिउँसो ७ वर्षिय मधु बुढा र १० वर्षियका मनोज बुढाको शव घटनास्थलबाट उत्खनन् गरेर निकालिएको थियो । तीन दिनदेखि घटनास्थलमा खोजीकार्य भैरहेको छ । बडिगाड गाउँपालिका वडा नं. १० आरुपाटामा खसेको पहिरोमा स्थानीय जोगबहादुर बुढाको घरसहित ३ वटा र वडा नं. ९ को बलघासमा २ गरी ५ घर भत्केका छन् ।

उक्त घटनामा घरधनी बुढासहित उनका परिवार र आश्रय लिन आएका छिमेकीको पनि मृत्यु भएको हो । मंगलबार पुगेको टोलीले खोजी गर्न नसकेपछि बुधबार नेपाली सेनाको श्रीमेहर गण, सशष्त्र प्रहरी बल र प्रहरीको थप टोली अझै घटनास्थलमा परिचालन भैरहेको छ । पहिरोमा गम्भिर घाइतेमध्ये ३ जनालाई उपचारका लािग काठमाण्डौं पठाइएको छ ।

म्याग्दीमा २२ हजार केजी मह उत्पादन

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

 म्याग्दी– व्यावसायिक मौरीपालनको उच्च सम्भावना रहेको हिमाली जिल्ला म्याग्दीमा १ वर्षको अवधिमा २२ हजार केजी मह उत्पादन भएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाभर कुल २२ हजार केजी अर्थात् २२ मेट्रिक टन मह उत्पादन गरिएको हो ।

जिल्लाको विभिन्न स्थानमा मौरीपालक किसानहरुले सुरु गरेको मौरीपालन व्यवसायबाट मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाभर सञ्चालनमा रहेका ११ सय ओटा मौरीका घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताउनुभयो । एउटा घारबाट वार्षिक सरदरमा २० देखि २५ केजीसम्म मह उत्पादन हुन्छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80

कृषि ज्ञान केन्द्रमार्फत किसानहरुलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम तथा गोष्ठी प्रदान र बिउ पुँजीलगायत सेवासुविधाको सहयोग भएपछि वर्षेनी मौरीपालक किसान र मह उत्पादनमा वृद्धि हुने गरेको छ । गतवर्ष म्याग्दी जिल्लाका दुईवटा समूहलाई ग्रामीण पोषण प्रवद्र्धन कार्यक्रममार्फत ९० प्रतिशत अनुदानमा ३७ वटा मौरी गोलासहितको घारलगायत सहयोग गरिएको कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो । मौरीपालनतर्फ किसानको आकर्षण बढाउन कृषि ज्ञान केन्द्र र स्थानीय तहले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

म्याग्दीमा बेनी नगरपालिकाको ज्यामरुककोट, बास्कुना, पुलाचौर, अर्थुङ्गे, घतान, पात्लेखेत, मंगला गाउँपालिकाको कुहुँ, धवलागिरिको मल्कबाङ, मालिकाको विम, रघुगंगाको भगवती र पिप्ले तथा अन्नपूर्णको शिख र घार मौरीपालनको पकेट क्षेत्र मानिन्छन् । यीमध्ये यसअघि बेनीको ज्यामरुककोट र पुलाचौर तथा मंगलाको कुहुँ क्षेत्रलाई मौरी स्रोतकेन्द्रको रुपमा विकास गरिएको थियो । परम्परागत रुपमा मुढे र खोप्पे घारको सट्टा आधुनिक घारमा व्यावसायिक मौरीपालन गरेमा मह उत्पादनमा वृद्धि भई आम्दानी पनि बढ्ने कृषि ज्ञान केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो ।

म्याग्दीमा हाल १५ देखि २० जनाको संख्यामा मात्रै व्यवसायिक रुपमा मौरीपालन गरेका किसानहरु रहेका छन् । कतिपय किसानहरु वैदेशिक रोजगारीबाट फर्किएपछि मौरीपालन व्यवसायमा सक्रिय छन् । म्याग्दी जिल्लामा उत्पादन भएको मह विदेशी मुलुकहरु जापान, कतार, साउदी, बहराईनसम्म पुग्ने गरेको मौरीपालक किसानहरु बताउँछन् । विदेशका ती देशमा जाने प्रवासी म्याग्देलीहरुले मह पुर्‌याउने  गरेका छन् । यसका साथै म्याग्दी घुम्न आएका विदेशी पर्यटकले समेत मह खरिद गरेर लैजाने गरेको मौरीपालक किसान बताउँछन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

तीन दशकदेखि व्यावसायिक मौरीपालन गर्दै आएकी सुजता ग्रुप प्रालि डडुवाका सञ्चालक सुजता खत्रीले गतवर्ष मौरीपालन व्यवसायबाट करिब चारलाख रुपैयाँ आम्दानी गरेको अनुभव सुनाउनुभयो । उहाँले गएको वर्षमा प्रतिकेजी १७ सय रुपैयाँको दरले दुईसय केजीभन्दा धेरै मह बिक्री गरेको जानकारी दिन्भयो । डडुवामा उत्पादित मह म्याग्दीसहित बाहिरी जिल्लामा बिक्री भएको थियो । मौरीपालन व्यवसाय गर्दै आएका किसानहरुले मह, मौरी, महका पोला तथा मौरीसहितका घारहरु बिक्री गर्ने गर्दछन् ।

म्याग्दीमा पछिल्लो समय व्यावसायिक तरिकाले आधुनिक घारमा मौरीपालन गरिएको भए पनि गाउँघरमा अझै परम्परागत तरिकाको मुढेघार तथा खोप्पे घारमा समेत मौरी पाल्ने गरिएको छ । मौरीपालन व्यवसाय र मह उत्पादनको हिसाबले म्याग्दी उपयुक्त जिल्ला मानिन्छ । स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक मानिने मह पूजाआजामा समेत विशेष रुपमा प्रयोग गरिँदै आएको छ ।