Wednesday, April 30, 2025
17.6 C
Beni
17.6 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 288

पाँच बर्षपछि म्याग्दीमा नापतौल यन्त्रको दर्ता र नविकरण, साढे २ सय ब्यवसायी लाभान्वित

0

म्याग्दीमा पाँच बर्षपछि आयोजना गरिएको नापतौल दर्ता र नवीकरणमा साढे २ सयभन्दा बढी ब्यवसायी लाभान्वित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा नापतौल तथा गुणस्तर विभागको पोखरास्थित कार्यालयले सदरमुकाम बेनी र गलेश्वर बजारमा आयोजित नाप तौल परीक्षण शिविरमा नयाँ २२ जना र पूराना २ सय ५० ब्यवसायीले नविकरण गरिएको हो । शिविर आइतबारदेखि मंगलबारसम्म सञ्चालन गरिएको थियो ।

शिविरमा मिटर, लिटर र ढक तराजुजस्ता यन्त्र मापदण्डअनुसार भए÷नभएको चेकजाँच गर्दै कम तौल भएका यन्त्र मिलाउने, दर्ता र नवीकरण नभएकाको नवीकरण गर्ने र यसअघि नै प्रयोगमा ल्याइए पनि दर्ता नभएका यन्त्र नयाँ दर्ता गरिएको म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

‘हरेक दुई बर्षमा शिविर बस्नुपर्नेमा कोरोनाका कारण रोकिएको थियो, शिविरमा ल्याइएका अधिकास यन्त्रहरु ठिक अवस्थामा देखियो’ अध्यक्ष श्रेष्ठले भन्नुभयो।  नेपाल सरकारको नियमाअनुसार नापतौलका यन्त्र प्रयोग गर्ने सबै व्यवसायीले अनिवार्य रुपमा नापतौलका यन्त्रहरु चेक गर्नुपर्ने भएकाले आगामी दिनमा नियमित हुने संघका महासचिव नारायण जिसीले बताउनुभयो ।

शिविरमा गुणस्तर तथा नापतौल कार्यालय पोखराबाट आउनुभएका युवराज अधिकारी सहितको टोलीले सेवाग्राही र ब्यवसायीको इमान्दारिताका लागि समेत नापतौल दर्ता र नवीकरण कार्य समयमै गर्नुपर्ने बताउनुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघले अनुगमन तथा यन्त्र उपकरणहरुका बारेमा ब्यवसायीलाई कुनै समस्या भएमा वा बिग्रिएमा समेत अन्य समयमा समेत सहजीकरण गर्ने गरेको छ।

 

कुहुँमा तीन दिने उद्घोषण तथा भाषणकला तालिम सुरू

0

म्याग्दीको मंगला गाउँपालिका-१, कुहुँमा महिलालाई बोल्ने बानीको विकास गर्न तीन दिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ । मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबारदेखि सुरू भएको तालिमको मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले उद्घाटन गदैं संस्थागत तथा दैनिक जीवन सञ्चालनका लागि क्षमता विकासका कार्यक्रम आवश्यकता रहेको बताउनुभयो ।

वडा अध्यक्ष रोकाले व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी हुने बताउनुभयो । सोही अवसरमा दिपशिखा माविका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले ग्रामिण क्षेत्रमा अझैपनि बोल्ने कलाको विकास हुन नसक्दा महिलाहरूलाई अवसरबाट बन्चित गराउने गरिएको बताउँदै तालिममा सिकेका ज्ञान,सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

मंगला–१ कुहुँ, पूर्णगाउँ, थाईवाङ, पौयूपाँटा लगायतका बस्तीबाट २५ जना महिलाको सहभागिता रहेको तालिमको अध्यक्ष सिकाई केन्द्रकी अध्यक्ष गौमती रोकाले गाउँघरमा अहिले पनि बोल्ने कलाको अभ्यास नहुदाँ महिलाहरूलाई विभिन्न संघसंस्थामा नेतृत्व गर्ने अवसरबाट बन्चित गराउने गरिएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो ।

तालिमको उद्घाटन सत्रमा अध्यक्षता रोका, स्वागत सदस्य नरदेबी रोका र सञ्चालन सहजकर्ता रमिला पाइजाले गर्नुभएको थियो। तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम, कोषाध्यक्ष अमित विश्वकर्माले गर्नुभएको छ ।तालिममा उद्घोषण, भाषणकला,नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप, र भाषण कला, माइन्यूट लेखनका साथै प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

 

अन्नपूर्ण हिमालबाट खसेको हिमपहिरो (भिडियोसहित)

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ, म्याग्दीमा पर्ने संसारको दशौं अग्लो चुचुरो (८०९१ मि.) अन्नपूर्ण प्रथम हिमालबाट गएको साता खसेको हिमपहिरो । हिमालय क्षेत्रमा दैनिकजसो छिनछिनमा हिमपहिरो खस्ने गर्दछ । हिमालको आधारशिविरमा पुग्ने पर्यटकहरु माथि हिमालबाट खस्ने हिमपहिरो हेर्न निकै लालायित हुन्छन् ।

हिमपहिरोले दुर्घटनाको समेत जोखिम बढाउने हुँदा सचेत हुनुपर्दछ । हिमाल आरोहण गर्ने आरोहीहरु हिमपहिरोको जोखिम मोलेर हिमालको आरोहण गर्ने गर्दछन् ।

भिडियो स्रोतः प्रताप बानियाँ/म्याग्दी ।

जलविद्युत् आयोजनाले कालीगण्डकीको घाट सङ्कटमा

0

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्किनीस्थित कालीगण्डकी किनारमा रहेको आर्यघाट सङ्कटमा परेको छ । निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका कारण तिल्किनीको उपल्लो आर्यघाट अतिक्रमण हुँदा साँघुरो हुनुका साथै फोहर व्यवस्थापन मुख्य समस्या बन्दै गएको हो ।

ठेकेदार कम्पनी जेपी एसोसियट्सको लापरबाहीका आर्यघाट अतिक्रमण हुँदा साँघुरिनुका साथै जथाभावी फोहर जम्मा भएको स्थानीय बताउँछन् ।

जलविद्युत् आयोजनाको विद्युत्गृह क्षेत्रका लागि वर्कसप सञ्चालन गर्न फलामे टसको पूर्वाधार बनाउन सहमति दिइएको भए पनि ठेकेदार कम्पनीले घाटको विश्रामस्थलतर्फको जमिनलाई अतिक्रमण गरेर संरचना बनाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

उनका अनुसार आयोजनाको सहजताका लागि घाट नजिकै अस्थायी संरचना बनाउन दिइएको भए पनि थप जग्गा अतिक्रमण गरेको र घाट नजिकैको मलामी विश्रामस्थलको जमिनमा ढुङ्गा र माटो थुपारेर घाटलाई नै सङ्कटमा पार्ने काम भएको छ ।

आयोजनाका लागि वर्कसप बनाउन टस भवन निर्माण भएपछि घाट जान वैकल्पिक गोरेटो बाटो बनाइएको थियो । उक्त पदमार्गमा समेत आयोजनाले ढुङ्गा र माटो जथाभावी फालेर जीर्ण र जोखिमयुक्त बनेको अध्यक्ष भण्डारीले बताए ।

रघुगङ्गा गाउँपालिका, रघुगङ्गा हाइड्रोपावर कम्पनी, जेपी एसोसियट्स र सो आर्यघाट प्रयोग गर्ने समुदायबीच तीन वर्ष अगाडि तिल्किनी उपल्लो आर्यघाटमा जमिनको लम्बाइ तथा चौडाइअनुसार प्रतिक्षालय निर्माण गर्ने सम्झौता भए पनि अहिलेसम्म उक्त सहमति कार्यान्वनय भएको छैन ।

रघुगङ्गा गाउँपालिकाले आर्यघाट परिसरमा आयोजनाले राखेको ढुङ्गा तथा माटो खाली गर्न र घाट क्षेत्रमा अतिक्रमण गरेको जमिनलाई खाली गर्न निर्देशन दिएको छ । जलविद्युत्को विद्युत्गृह रहेको तिल्किनीमा तीन वटा घाट छन् ।

आयोजनाको पूर्वाधार निर्माणका क्रममा तीनवटै घाट प्रभावित बनेको स्थानीयबासी बताउँछन् । ती घाटहरुमा रघुगङ्गा–२ र ३ वडामा दिवङ्गत भएकाहरुलाई अन्तिम संस्कारका लागि प्रयोगमा ल्याउने गरिएको छ । रासस

अठार वर्षपछि उपल्लो दरवाङमा सडक कालोपत्र

0

जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो।

उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताए। ‘बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो’, उनले भने, ‘सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ।’

तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा २०६३ मा स्थानीयवासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो। यहाँ एक सय घर छन्। उपल्लो दरवाङको सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु ६५ लाख बजेट विनियोजन भएको थियो।

गत पुसमा रु ५८ लाखमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले दुई सय ५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय मिटरमा पक्की नाली निर्माण गरिसकेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सव इञ्जिनियर रविन चोखालले बताए।

मालिका गाउँपालिकाले सो सडकमा यसअघि करिब चार सय मिटर पक्की नाली निर्माण गरेको थियो। यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरवाङ जोड्ने सडक ढलान गरिएको थियो। रासस

शिक्षकले दलीय आबद्धता त्याग्नुपर्ने, जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

0

म्याग्दीको बेनी नगरपालिकामा राजनीतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीले राजनीतिक दल त्याग्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयको निर्देशन तथा ऐनको कार्यान्वयन गदैं राजनीतिक दलको कार्यकारी तथा सदस्यता लिएका शिक्षकहरूले दलबाट राजीनामा दिएको १५ दिनभित्र नगरपालिकालाई जानकारी दिनुपर्ने निर्णय गरेको छ।

नगर प्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा क्रियाशिल राजनीतिक दललाई दलीय आबद्धता भएका शिक्षक तथा कर्मचारीहरूलाई अलग गर्न पत्रचार समेत गरिने भएको छ ।

सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू दलीय राजनीतिमा सक्रिय हुने गरेको गुनासो बढ्न थालेपछि मन्त्रालयबाट समेत परिपत्र गरिएको थियो ।

यसैबीच नगरपालिकामा कार्यरत जनप्रतिनिधि,कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनेको छ ।

नगरकार्यपालिकाको बैशाख १८ गते बसेको कार्यपालिकाको बैठकले बैशाख १२ गते गरेको शिक्षा समितिको बैठकका निर्णयहरु अनुमोदन गदैं जनप्रतिनिधि, कर्मचारी र सामुदायक विद्यालयमा अध्यापनरत शिक्षक र कर्मचारीले सामुदायिक विद्यालयलाई नै रोज्नुपर्ने नियम बनाएको हो ।

उक्त नियम अनुसार उपमेयर, वडाका जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेका छन् । “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि शिक्षक सरुवा सहितका थप सुधारका योजनाहरु समेत बनाइएको छ’ सामाजिक विकास समितिका संयोजक चक्र केसीले भने ।

नगरप्रमुख सुरत केसीले सामुदायिक विद्यालयको लगानीलाई गुणस्तरीय बनाउने र सबै विद्यालयको विद्यमान विद्यार्थी, शिक्षक, कर्मचारीको संख्या सहितको विवरण समेत संकलन गर्ने गरी अनुगमनलाई तिब्रता दिन निर्देशन दिएका छन् ।

नगरपालिकाले सामुदायिक विद्यालयका प्रअ, शिक्षकलाई पालिकाभित्रका विद्यालयमा सरुवा सहित कम विद्यार्थी भएका विद्यालय मर्ज सहितको तयारीका लागि कार्यविधिका लागी समेत उपसमिति बनाएको छ ।सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा भनेर राज्यको ठुलो लगानी भएअनुसार विद्यार्थी नहुदाँ शिक्षक दरबन्दी मिलान गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

यसैबीच बेनी नगरपालिका वडा नं ८ मा अवस्थित बालमन्दिर माविलाई कक्षा १० सञ्चालनको अनुमति दिने, बेनपा–७ मा रहेको प्रकाश माविको कक्षा ११ र १२ मा कम्प्यूटर विज्ञान थप गर्ने, बेनपा–२ बगरफाँटमा अवस्थित सरस्वती आधारभुत विद्यालयलाई कक्षा ८ को अनुमति दिने निर्णय समेत भएको छ ।

बेनीका निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने

0

बेनी नगरपालिका भित्र सञ्चालित संस्थागत (निजी) विद्यालयले जेहेन्दार, विपन्न, अपाङ्ग भएका विद्यार्थीलाई अनिवार्य १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने भएको छ । बेनी नगरकार्यपालिकाको बैशाख १८ गते बसेको कार्यपालिकाको बैठकले नयाँ शैक्षिक सत्रबाटै कार्यान्वयन हुने गरी संस्थागत विद्यालयका सञ्चालक र प्रिन्सिपलसँगको छलफलबाट कुल विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिएको विवरण समेत नगरपालिकालाई उपलब्ध गराउनुपर्ने निर्णय भएको सामाजिक विकास समितिका संयोजक चक्र केसीले बताए ।

‘संस्थागत विद्यालयमा विपन्नले तोकिएको सुविधा पाउनुपर्ने बाध्यकारी नियम छ, कार्यान्वयनमा आलटाल गर्न पाइदैन’ बेनपा–९ का वडा अध्यक्ष समेत रहेका संयोजक केसीले भन्नुभयो । शिक्षा ऐन र नियमावलीले व्यवस्था गरेअनुरुपको छात्रवृत्ति वितरणका लागि संस्थागत विद्यालयलाई सिफारिस समेत गरिने छ ।

मेयर सुरत केसीको अध्यक्षतामा बसेको बैठकले संस्थागत विद्यालयले अभिभावकाबाट बर्षभरी लिने शुल्कको पूर्व स्वीकृति नगरपालिकालबाट लिनुपर्ने, चर्को शुल्क भएमा नगरपालिकाले हस्तक्षेप गर्ने, शिक्षकहरुलाई नियुक्ती पत्र दिनुपर्ने, सबै शिक्षकलाई प्रचलित कानुन अनुसार तलब दिनुपर्ने, स्वीकृति विनाको पाठ्यक्रमहरु पठनपाठन गर्न नपाइने निर्णय भएको छ । बेनी नगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयको अनुगमनलाई समेत तिब्रता दिएको छ ।

आज मातातिर्थ औँसी, आमाको सम्मानमा मनाइँदै

0

आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन जन्म दिने आमालाई सम्मान गरी आज मातातिर्थ औँसी मनाइँदै छ।

आजको दिन आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइन्छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको शास्त्रहरूमा उल्लेख गरिएको छ।

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । नागरिक

 

म्याग्दीमा विश्व रेडक्रस दिवस मनाइयो

0

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ट्राफिक प्रहरीलाई मास्क सहयोग गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा बुधबार बेनीमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २५ हजार थान मास्क उपलब्ध गराइएको हो । रेडक्रसका शाखा सभापति अमर बानियाले जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीलाई मास्क हस्तान्तरण गरेका थिए।

स्थापना दिवसको अवसरमा बेनीमा प्रभातफेरी गरिएको थियो । रेडक्रसको भवनबाट शुरु भएको ¥याली बेनी बजार परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय अगाडीको बिरेन्द्र चोकमा पुगेर समापन गरिएको थियो । शाखा सभापति बानियाले रेडक्रसले मानवीय सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा गर्दै आएको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ । यस वर्षको विश्व रेडक्रस दिवसको नारा ‘मानवतालाई जीवित राखौँ’ भन्ने रहेको छ ।

अनिश्चित, ध्रुवीकृत, द्वन्द्व र विभेदको चपेटामा परेको संसारमा निःस्वार्थ सेवाभाव राखी मानवीय पीडा कम गर्न अहोरात्र खटिने स्वयंसेवकहरूले पु¥याउने सेवामार्फत मानवताको दियो जगाइराख्न आवश्यक छ’ भन्ने सन्देश दिन खोजेको छ । रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय परोपकारी संस्था हो ।

म्याग्दीको विकट खतेन गाउँमा बल्यो बिजुली

0

म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो ।

प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।“घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो”, उनले भने, “खतेनका छिमेकी बस्तीका करिब चार सय घरमा पनि मिटरबक्स वितरणको तयारी गरेका छौँ ।”

मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका चार सय घरमा विद्युतीकरणका लागि जडान गरिएको ‘ट्रान्सफर्मर’ र मुख्य लाइनको गत चैत अन्तिम साता परीक्षण गरिएको थियो । “मालिकाको वडा नं २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नं ३ को लुप्सीपार, पात्ले र ४ नं वडाको ओखरबोटको मुख्य र शाखा लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान र परीक्षण सफल भएको छ”, उनले भने, “विद्युत् प्राधिकरणले मिटर बक्स वितरण, हाउस वायरिङ गरेपछि चार सय घरधुरीमा केन्द्रीय लाइनको बिजुली बल्छ ।”

नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका तीनवटा वडामा बिजुली बाल्ने तयारी भएको हो । मालिकाको २, ३ र ४ नं वडाको घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् ।

विद्युतको कुनै स्रोत नभएको घ्याङलेपानीका बासिन्दा ‘सोलार’ बत्ती र टुकी प्रयोग गर्छन् । वर्षौँको प्रयासपछि बिजुली बाल्ने तयारी भएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । रुम गाउँमा चार वर्षअघि तार तानेर पोल गाडिएको थियो ।

म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरमा राष्ट्रिय प्रसारणको विद्युत् सुविधा विस्तार गर्न गत वर्ष रु २० करोड बजेट विनियोजन भएको थियो । यो योजनामार्फत म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् सेवा पुग्ने प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।

एक वर्षभित्र विद्युतीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार ग्राहक छन् । गत आर्थिक वर्षमा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए । रासस

error: Content is protected !!