Saturday, May 10, 2025
28 C
Beni
28 C
Beni
Saturday, May 10, 2025
Home Blog Page 29

टिकटकमा ‘लाइभ’ बस्दै कोसेली बेच्दै

0

बेनीको कालीपुल बसपार्कमा छ म्याग्दी कोशेली घर। यसकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल ‘टिकटकमा लाइभ’ बस्छिन्। टिकटक चलाउनु मनोरञ्जनका लागि भने होइन। यसमार्फत उनले व्यापार बढाएकी छन्।

स्थानीय उत्पादनको बजारीकरण गर्न उनका लागि टिकटक सहयोगी बनेको छ। ‘समाजिक सञ्जाललाई मनोरञ्जन र समय बिताउन मात्र नभएर व्यापार व्यवसायमा पनि प्रयोग गर्न सकिदो रहेछ,’ उनले भनिन्, ‘टिकटकको सहायताले मासिक तीनदेखि चार लाख रुपैयाँको सामान बेच्दै आएकी छु।’

‘टिकटक’को प्रयोग गर्न थालेपछि उद्यमीहरुले उत्पादन गर्ने सामान खरिद गर्न देखि उपभोक्ता र जिल्ला बाहिरका व्यापारीलाई बिक्री गर्न सजिलो भएको उनको अनुभव छ। ‘पहिले पसलमा आवश्यक पर्ने सामान जुटाउन र मासिक एक लाखको सामान बेच्न पनि मुस्किल थियो,’ उनले भनिन्, ‘टिकटकमार्फत अर्डर लिएर महिनाको चार लाखसम्मको बिक्री भइरहेको छ।’

‘टिकटक’कै सहयोगमा गाउँ गाउँमा दिदीबहिनीले उत्पादन गरेका सामान खरिद गर्ने उनले बताइन। उनले आफ्नो ‘टिकटक’ पोस्टमा सामानको भिडियोसहित आफ्नो सम्पर्क नम्बर राख्छिन्। उक्त ‘भिडियो’ हेरेर ग्राहकले सामान अर्डर गर्ने र आफ्नो खातामा पैसा जम्मा गरेपछि गाडी र कुरियर मार्फत सामान पठाउने गरेको गुरुङले बताइन।

म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको सटरमा गुरुङले गत असारदेखि कोशेली घर सञ्चालनमा ल्याएकी हुन्। कोशेली घरमा म्याग्दीका उद्यमीले उत्पादन गर्ने ढाका, अल्लो, तानमा बुनेका कपडा, राडीपाखी, जातीय पोसाक, नेपाली हाते कागज, भाँगो, कालो भट्ट, रातो च्याउ, सिमीको दाल, सिस्नो पाउडर, घर र भिरमह, टिमुर लगायत वस्तुहरु खरिदबिक्री हुन्छ।

पोखरा, काठमाडौं, बुटवल, चितवनका व्यापारी र विदेशमा रहेका नेपालीहरु ‘टिकटक’को माध्यमबाट कोशेली घरका सञ्चालक गुरुङको सम्पर्कमा आउँछन्। विदेशमा रहेका नेपालीका आफन्तलाई सम्पर्क गरेर सामान पठाउने र भुक्तानी लिने गरेको गुरुङले बताइन।

बेलायत, अष्ट्रेलिया, जापान, पोर्चुगल, अमेरिकामा रहेका नेपालीहरुले सामान माग गर्छन्। सिस्नोको पाउडर, टिमुरको चटनी, फापरको पिठोको विदेशबाट धेरै माग आउने गरेको गुरुङले बताइन।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोशेली घर सञ्चालन गरेपनि स्थानीय उद्यमीले तयार पारेका कृषि, पशु र लघुउद्योगको उत्पादन बजारीकरणमा सहयोग पुगेको बताए। यहाँ आउने पाहुनाहरु फर्किएर जाँदा चिनोस्वरुप कोशेली घरबाट सामान किनेर लैजाने गर्छन्। रासस

मोना कतारले शुभकामना आदानप्रदान तथा सम्मान

0

तिलु शर्मा पौडेल/ दोहा कतार

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा आन्तरिक वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ l कतारको समालमा अवस्थित पार्कमा साङ्गीतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रम सङ्घका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता तथा मोना आइइसीका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो l

कार्यक्रम मार्फत कतार भ्रमणमा रहनु भएको मोना कतारका संरक्षक रमेश पौडेलका ममतामयी आमा टिका पौडेल र छोरा सुप्रिम पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो l कार्यक्रममा मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाइली, मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्की लगायत अन्य वक्ताहरूले शुभकामना शुभकामना मन्तव्य राख्दै म्याग्देलीहरुलाइ समेटेर मोनाले आन्तरिक वनभोज मार्फत म्याग्देलिलाइ जोड्ने काम गरेको बताए l

कार्यक्रमका संयोजक तथा सङ्घका वरिष्ठ उपाध्यक्ष देवी कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि फगामीले मोना कतारले राम्रो कार्य गर्दै अगाडी बढिरहेको आफूले पाएको हुँदा मोनाका सकारात्मक कार्यमा आफ्नो सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे l महासचिव शिव खड्काले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भण्डारीले भर्खरै निर्वाचित भएर आएको नयाँ कार्यसमितिले पहिलो पटक वनभोज कार्यक्रमको आयोजना गरेको र भविष्यमा म्याग्देलीलाइ जोड्ने अन्य थुप्रै कार्य गर्दै जाने बताए l उनले वनभोज सफल बनाउन आ-आफ्नो स्थानबाट सहयोग गर्नु हुने मोनामा आबद्ध तथा उपस्थिति म्याग्देली सहित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए l

पर्यटक लोभ्याउने नारच्याङ झरना !

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङको बेंसी गाउँको सिरमा अवस्थित मनमोहक झरना पछिल्लो समय पर्यटकको रोजाईमा परेको छ । पहाडको टुप्पोबाट कलकल गर्दै खस्ने निकै सुन्दर, आकर्षक अनि मनमोहक झरनामा आन्तरिक पर्यटक पुग्न थालेपछि आवश्यक पूर्वाधार विस्तार गरिएको छ ।

अग्लो र भिरालो पहाड । पहाडको टुप्पोबाट उडेर बग्ने झरनामा पुग्ने स्थानीय वडा, गाउँपालिका र गण्डकी प्रदेश सरकारले समेत बजेट विनियोजन गरेपछि बनेको पूर्वाधारले समेत घुम्न जाने पर्यटकलाई सहज भएको छ । पछिल्लो समय मुस्ताङ घुम्न जानेका साथै म्याग्दी जिल्लाभित्रबाट नै घुम्न जानेको रोजाइमा पर्दै गएको छ ।

झरनाकै कारणले गर्दा पछिल्लोपटक नारच्याङ गाउँमा पर्यटकको चहलपहल बढेको छ । समुन्द्री सतहबाट १ हजार ७ सय मिटरको उचाइमा अवस्थित नारच्याङ झरनाको उचाई मात्र ३ सय मिटरभन्दा बढी छ । नारच्याङ झरनाभन्दा माथि मानव बस्ती नभएको हुँदा झरना एकदमै सफा रहेको छ भने झरनाको तल फेदीमा भुमेथानको मन्दिर रहेको छ ।  झरना आसपासमा रक क्लाइमिङ, क्यानोनिङ लगायतका सहासिक खेलहरु सञ्चालन गर्न सकिन्छ ।

उद्यमी बनाउन सिस्नो प्रसोधन गरेर पाउडर बनाउने तालिम

0

म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा दुर्दीकी कालिमायाँ रोकाले पहिलोपटक सिस्नोको पाउडर बनाउने तालिम लिनुभयो। गाउँघरमा खेर गएको सिस्नोबाट मनग्य आम्दानी गर्न सकिने धेरै जानकारीपछि तालिममा सहभागि महिलामा उत्साह छाएको छ ।वडा कार्यालयको वार्षिक स्वीकृत सीप विकास कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो ।

चार दिनसम्म संचालन भएको तालिममा सिस्नो संकलन, प्रसोधनदेखि बजारसम्म लैजाने सीप सिकेको स्थानीय सुकमायाँ बिकले बताउनुभयो । तालिममा १५ जना महिलाको सहभागिता रहेको थियो ।

आधारभुत तालिममा सिप सिकेपछि प्रशिक्षार्थीहरुले सिस्नो पाउडर समेत बताउनुभएको वडा अध्यक्ष लालबहादुर रोकाले बताउनुभयो । स्थानीयलाई उत्पादन सँग जोड्न वडा कार्यालयले तालिम संचालन गरेको वडा अध्यक्ष रोकाको भनाई छ ।

तालिममा सिकेका सिपलाई सदुपयोग गर्न सकेमा जिविको पार्जनमा टेवा पुग्ने उहाँको भनाइ थियो । स्थानीयको आवश्यकता र सम्भावनालाई ध्यानमा राखी वार्षिक कार्यक्रम निर्माण गर्ने साथै सहभागीले स्वीकृत भएको कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिरहेको बताउनुभयो ।

तालिममा बारी, वनपाखामा झाडी बनेको सिस्नुलाई प्रशोधन, पाकेजिङ र लेभेलिङ गरेर बजारीकरण गर्ने सम्बन्धि प्रशिक्षण गराइएको थियो । बिन्दु रोका पुन र दुर्गा नेपालीले तालिममा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षार्थीहरुले सिस्नोको पाउडर प्रदर्शनी गरेका थिए । गाउँपालिका कृषि विकास शाखाका प्राविधिक तारा बानियाँ (जगत)ले संचालन गर्नुभएको कार्यक्रममा प्रशिक्षक बिन्दु, पुर्व वडा सदस्य सुकमाया विक लगायतले बोल्नुभएको थियो ।

खेतबारी र वनजङ्गलमा खेरजाने सिस्नो टिपेर पाउडर बनाई मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका महिला उद्यमी नै छन् ।

हरिया सागपातमध्ये सिस्नोमा सबैभन्दा धेरै ‘भिटामिन ए’ नामक तत्व पाइन्छ । सिस्नोलाई तरकारी बनाएर खान सकिन्छ भने बिहान बेलुका खानासँगै दालमा मिसाई पकाएर समेत खान सकिन्छ ।

यसैगरी उमालेको एक गिलास तातोपानीमा एक चम्चा सिस्नोको धुलो मिसाएर खाएमा स्वास्थ्यलाई निकै फाइदा पुग्ने बताइएको छ । यसले विशेष गरी सुगर, जण्डिस, ग्याँस्ट्रिक, कब्जियत जस्ता रोगहरुको निको पार्न महत्वपूर्ण भूमिका खेल्ने सिस्नो प्रयोगकर्ताहरु बताउँछन् ।म्याग्दीमा उत्पादन हुँदै आएको सिस्नोको पाउडर विदेशसम्म पुग्छ ।

 

रक्सी बिर्सिएर रोटमा रमाउँदै ‘डम्बर दाई’

0

चैत महिनाको चर्को घाम ताते पनि डम्बर मल्लको अनुहारमा पसिना र सन्तुष्टि दुवै झल्किन्छन्। बागलुङ नगरपालिका–१ भगवतीरोडस्थित कालिका मन्दिरको गेट अगाडि उनी दाउरा ठोस्दै चुल्हो तापाउँदै रोट पकाउन व्यस्त देखिन्छन्। कुनै समय अत्यधिक मदिरा सेवन गरेर झैझगडा गर्ने उनी अहिले मन्दिरमा आउने भक्तजनलाई कालिकामाताको महिमा सुनाउँदै रोट विक्री गर्छन्।

डम्बरको जीवनशैलीमा आएको परिवर्तन देख्ने धेरैजसो भक्तजन उनलाई माया र सम्मानसाथ ‘डम्बर दाइ’ भनेर सम्बोधन गर्छन्। उनी भन्छन्, ‘कालिकामाताको कृपाले यो पवित्र काममा लागें। पहिले साथीभाइसँग भेटेर रक्सी पिउने बानीले जीवन बिग्रिएको थियो। अहिले भने सन्तुष्ट छु।’

मल्लले २०७६ सालदेखि कालिका मन्दिरको गेटमा रोट बनाउने र विक्री गर्ने काम सुरु गरेका हुन्। तत्कालीन कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको प्रेरणाले उनी यो पेसामा प्रवेश गरेका थिए।

‘त्यतिबेला राजु दाइले धेरै रक्सी सेवन गरेर हिँडेको देखेर सुझाव दिनुभयो- भाइ, चोखो निष्ठाले रोट बनाऊ।’ डम्बर सम्झन्छन्, ‘त्यति बेला रोट बनाउने ज्ञान थिएन। तर एकदिन परिवारसँग घुम्न निस्कँदा पाल्पाको भैरवस्थान पुगेँ। त्यहाँ रोट बनाउने तरिका देखेँ र सिकेँ। त्यसपछि फर्किएर यही काम थालेँ।’

चैत्राष्टमी सुरु भएसँगै डम्बर मल्लको हात खालि हुने फुर्सद छैन। सामान्य दिनमा दैनिक ८–१० वटा मात्रै रोट बनाउने उनी अहिले दुर्गा लागेसँगै पाँच–छ गुणा बढी रोट बनाउँदै छन्। ‘अहिले भक्तजन बढेका छन्। रोटको माग पनि अत्यधिक छ। त्यसैले पुर्‍याउन मुस्किल भइरहेको छ,’ उनी भन्छन्।

रोट बनाउन चामलको पिठोमा ल्वाङ, नविरल, चिनी र अन्य नैवैद्य सामग्री मिसाएर तयार गरिन्छ। एउटा रोट बनाउन झण्डै एक माना चामलको पिठो र २०० ग्राम लोकल घिउ लाग्छ। यस्तो रोट मल्ल भक्तजनलाई प्रति थान ४०० रुपैयाँमा विक्री गर्छन्।

‘कसैले एउटामात्रै रोट मगाउँछ भने फाइदा हुँदैन। सामग्री धेरै लाग्छ। तर धेरै रोटको अर्डर हुँदा खर्च कम हुने भएकाले फाइदा हुन्छ,’ उनी स्पष्ट पार्छन्। रोट पाक्न करिब ४५ मिनेट लाग्ने भएकाले अत्यधिक माग भएको बेला उनी भोरैदेखि उठेर काममा लाग्न बाध्य हुन्छन्।

‘अहिले त मध्यरात कटेपछि उठ्छु। नुहाईधोई गरेर चुल्हो तताउन थाल्छु। चार वटा चुल्होमा पालैपालो रोट पकाउँछु,’ उनी सुनाउँछन्।

रोट बनाउने र बेच्ने कामले डम्बर मल्ललाई आन्तरिक खुसी र आत्मगौरव दिलाएको छ। ‘एक पटक त एकजना भक्तजनले रोट चढाएपछि खुसी भएर मलाई २५ सय रुपैयाँ बक्सिस दिनुभयो,’ उनी सम्झन्छन्, ‘यस्ता साना घटनाले ठूलो सन्तुष्टि मिल्दो रहेछ।’

पहिले पहिले मन्दिरमा रोट चढाउने परम्परा बलियो थियो। पछिल्लो पुस्तामा यसको महत्व हराउँदै गएपछि मल्लले यसलाई पुनर्जीवित गर्ने अभियानस्वरूप रोट बनाउने पेसा थालेका हुन्। ‘पहिले म रोटको महत्त्व थाहा थिएन। जब जान्न थालेँ, छोराछोरीलाई पनि सिकाएँ। अहिले उनीहरूलाई पनि रोट र यसको धार्मिक अर्थ थाहा भएको छ,’ उनी भन्छन्।

डम्बर मल्लको यो यात्रामा परिवारको साथ पनि महत्वपूर्ण रह्यो। उनी आफ्नो कामलाई अझ विस्तार गर्ने योजनामा छन्। ‘अहिले चारवटा चुल्हो छन्। भविष्यमा माग अझै बढे विस्तृत तयारी गरेर ठूलो मात्रामा रोट बनाउन सकिन्छ,’ उनले भविष्य देखाउँदै सुनाए।

रक्सी छाडेर धार्मिक जागरणमार्फत नयाँ जीवनको सुरुवात गरेका डम्बर मल्ल आज बागलुङको कालिका मन्दिरमा मात्र होइन, सम्पूर्ण नगरमा एक प्रेरणादायी व्यक्तित्व बनेका छन्।

हराउँदै चैते दसैँ मेलाको मौलिकता

0

‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा – बागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा’ !

चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र सर्मिला गुरुङले वर्षौँअघि गाएको गीत हो यो । बागलुङको चैतै दसैँ  मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने मौकाको रूपमा रहेको पनि गीतले भाव बोकेको छ ।

चैते दसैँ मेलामा भेटिएका पुनःअर्को मेलामा भेट्ने बाचाका साथ छुटेको भावलाई गायक क्षेत्रीले धेरै पहिले गीतमा उतार्नुभएको थियो । गीतमा भनेजस्तै स्थानीय उत्पादनको खरिद बिक्रीसँगै माया पिरतीका लागिसमेत चैते दसैँ मेला प्रख्यात मानिन्छ । चैते दसैँमा गाइने लोकदोहरीमार्फत सयौँ कलाकारसमेत बागलुङले जन्माइसकेको छ ।

चैते दसैँको अवसरमा यस वर्ष पनि बागलुङ कालिका मन्दिर परिसरमा बुधबारदेखि मेला लागेको छ । यहाँको माहोल हेर्दा मेला फेरिएजस्तै यससँग सम्बन्धित मौलिक भाकासमेत फेरिएका छन् । यस वर्ष मात्रै होइन हुन त ऐतिहासिक मानिएको यो मेला हरेक वर्ष फेरिँदै गएको स्थानीयले आभाष गरिरहेका छन् । पछिल्ला वर्षमा चैते दसैँको अवसरमा गाइने मौलिक भाकासमेत हराएका छन् तर रमाइलो मेलामा आकर्षण बढेको छ । कालिका मन्दिर दर्शन गर्न आउने र वर्षभरिलाई आवश्यक सामग्री खरिद बिक्री गर्ने कार्यसमेत परिवर्तन भएको छ ।

चैते दसैँको अवसरमा गाइने ‘एउटो पैसो कहिलेलाई चैते दसैँलाई’ भन्ने गीत अचेल सुनिन छाडेको छ । यस्तै, ‘रेरे साइलो’, ‘यानीमया’, ‘ठाडो भाका’ र ‘सालैजो’जस्ता मौलिक भाका सुनिएका छैनन् । हाल मेलामा रामाइलोका लागि बजाउने आधुनिक गीत मात्रै सुनिने गरेका छन् । आयातित सामग्री खरिद बिक्री गर्ने र रेकर्ड गरिएका तिनै गीतमा नाँच गान गर्ने गरिन्छ । यसपटक पनि मेलामा हालिने लिङ्गे पिङ र चर्खेपिङ्को सट्टा रमाइलो झुला ९आधुनिक पिङ० राखिएको छ । स्थानीय ८० वर्षीय दुर्गाबहादुर आचार्यलाई चैते दसैँ मेलाको मौलिकता पछिल्लो दशकदेखि नै फेरिँदै गएको आभाष हुन थालेको छ । त्यो क्रम हरेक वर्षजस्तै बढ्दै छ ।

स्थानीय बिमल श्रीसका अनुसार मेलामा प्लाष्टिकका सामग्रीको खरिद बिक्री भइरहेको तर ठेका तथा डालोको बिक्री हुन छोडेको छ । “चैते दसैँ मेला पहिले र अहिलेसँग तुलाना नै हुँदैन । पहिले मिठो मसिनो खान र राम्रो वस्तु खरिद गर्न चैते दसैँ आउनुपर्दथ्यो, अहिले त मेला आधुनिक बनिसक्यो । स्थानीय सामग्री डाला, नाङ्ला र ठेकीको व्यापार छैन”, उहाँले भन्नुभयो, “रातभरि रेरे साइलो, सालैजो गीत गाएर जाग्राम बसिन्थ्यो, अहिले त कलकारले बनावटी गीतमा लय भर्छन् । पहिला जस्तो मौलिकता छैन । गाउँ–गाउँमा मेला पर्वहरू लाग्न थाले, चैते दसैँ मेलाप्रतिको चाख घटेको छ ।”

चैते दसैँ मेला र यहाँको कालिका मन्दिरसँगै जोडिएर आउँछन् । जिल्लाको आर्थिक, सामाजिक र सांस्कृति विकासमा कालिका मन्दिरको छुट्टै महत्व छ ।  यो बागलुङ जिल्लालाई चिनाउने एउटा माध्यम पनि हो । चैते दसँैले त्यसमा थप रौनक थप्छ । त्यसैले यो मन्दिर र मेलालाई एक सिक्काका दुई पाटाका रूपमा प्रस्तुत गर्दै  थुप्रै गीत पनि गाइएका छन् ।

“पहिला चैते दसैँ लोकदोहोरी गाउँने चौतारी जस्तौ थियो, यहाँ गीत गाएर बागलुङका सयौ कलाकार राष्ट्रिय कलाकार बने”, स्थानीय राम शर्माले भन्नुभयो “अहिले तिनै कलाकारले चैते दसैँ बिर्सेका छन्, जसले मेलाको महत्वसमेत घट्दै छ । पहिले चैते दशैको दोहोरीको देशभरि चर्चा हुन्थ्यो, अहिले दोहोरीभन्दा अन्य तयारी गीतमा जोड दिइएको छ ।”

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले चैते दसैँ मेला बागलुङको मौलिक परम्पराजस्तै बनेपनि आधुनिकताको प्रभावले मौलिकता जोगाउन नसकिएको बताउनुभयो । उहाँले दर्शकको स्वभाव र रचिअनुसार हाल मेलाको व्यवस्थापन गर्ने गरिएको बताउनुभयो । “ठेका, डालो र नाङ्लो जस्ता स्थानीय मौलिक उत्पादनका स्टलललाई निःशुल्क गरेका छौँ तर उनीहरूको भन्दा प्लाष्टिकजन्य सामाग्रीको खरिदबिक्री बढी हुन्छ”, उहाँले भन्नुभयो, “भजन, रत्यौली र यानीमयाजस्ता गीत प्रदर्शन गर्न थालेका छौँ तर पहिला जस्तो रातभर जाग्राम बसेर मौलिक गीत गाउँने चलन छैन ।”

मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादनहरू कोदो, मकै, धान, चामल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, आँसी, बाउसा, मान्द्रो, थुन्से, मादल, भाडाँकुडालगायत दैनिक उपभोग्य वस्तुहरू खरिद बिक्री हुने गरेकामा हाल खेलौनाजन्य सामग्री, मदिरा र खानाका परिकार मात्रै बिक्री वितरण हुने गरेकाले व्यापारीहरू पनि त्यसैमा लागेका छन् । रासस 

रोइला कप ब्याडमिन्टन प्रतियोगिता सकियो

0

बेनीमा रोइला कप गण्डकी प्रदेश स्तरीय बि लेभल र म्याग्दी जिल्ला स्तरीय सि लेभल ब्याडमिन्टन शनिबार सकिएको छ।जिल्ला ब्याडमिन्टन संघ म्याग्दी र बेनी नगरपालिका ब्याडमिन्टन संघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको बि लेभलमा सरोज गुरुङ र इशान खड्काको जोडी प्रथम भएको छ ।

त्यसैगरी प्रवेश मगर र बिमल कुमाल द्धितिय, नबिन बुढा, दिलेन्द्र पुन, देवान थापा र दिपेन राईको जोडी तृतिय भएको छ । प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ४५ हजार, ३० हजार, १०, १० हजार नगद, प्रमाणत्र र ट्रफी वितरण गरिएको थियो ।

त्यसैगरी प्रतियोगिताको सि लेभल जिल्लास्तरीयमा सुदिप श्रेष्ठ, रियान श्रेष्ठ प्रथम, सचिन शाक्य, भरत खड्का क्षेत्रीको जोडी द्धितिय, अनिष भण्डारी, रविन गर्बुजा र बिक्षान भण्डारी र बिबस पुन तृतिय भएका छन् ।

प्रथम, द्धितिय र तृतियले क्रमश २५ हजार, १५ हजार र ५, ५ हजार पुरस्कार पाएका छन् । गण्डकी प्रदेश स्तरीय बि लेभलमा ३२ टिम र सि लेभल जिल्ला स्तरीयमा ४२ टिमको सहभागीता रहेको बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सञ्जन शाक्यले बताउनुभयो ।

चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको घुइँचो

0

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ।  बागलुङ कालिका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।  बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि बिहानै ४ बजेदेखि मन्दिर खुला गरेपछि भक्तजनको घुइँचो लागेको हो।

बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ।  चैते दसैँका अवसरमा भारतीय पर्यटकको पनि उल्लेख्य उपस्थिति छ।  चैते दसैँलाई बागलुङको पहिचानका रुपमा समेत लिइन्छ।  भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपीठ मानिने कालिका मन्दिरमा पूजाआराधना गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ।

मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ।  चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत २० गतेदेखि सुरु भएको छ।

मेला २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष खड्काले जानकारी गराए। मेलाको अवसरमा लोकदोहोरी गीत प्रतियोगिता, कालिका कप पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ। पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष खड्काको भनाइ छ।  रासस

रोइला कप ब्याडमिन्टन प्रतियोगिता सुरु

0

बेनीमा शुक्रबारदेखि रोइला कप गण्डकी प्रदेश स्तरीय बि लेभल र म्याग्दी जिल्ला स्तरीय सि लेभल ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ म्याग्दी र बेनी नगरपालिका ब्याडमिन्टन संघको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी प्रदेशका महान्याधिवक्ता चिरञ्जिवी शर्माले उद्घाटन गर्नुभयो ।

गण्डकी प्रदेश स्तरीय बि लेभलमा ३२ टिम र सि लेभल जिल्ला स्तरीयमा ४२ टिमको सहभागीता रहेको बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सञ्जन शाक्यले बताउनुभयो ।

गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा प्रथमलाई ४५ हजार, दोस्रोलाई ३० हजार र तृतीयले दश ÷दश हजार पुरस्कार पाउनेछन् । म्याग्दी जिल्ला स्तरीय प्रतियोगितामा प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र पाँच÷पाँच हजार पुरस्कार पाउनेछन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, पुर्व अध्यक्ष दिनेश केसी, बेनी नगरपालिका –७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ, जिल्ला ब्याड्मिन्टन सघका अध्यक्ष सन्दिप अधिकारी लगायतको उपस्थितिमा प्रतियोगिता उद्घाटन गरिएको थियो ।

प्रतियोगिताको जिल्ला ब्याड्मिन्टन सघ म्याग्दीका सचिव सचिन शाक्यले सञ्चालन गर्नुभएको थियो । शनिबार दोस्रो चरणको खेल सञ्चालन भइरहेको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा रेग्मी

0

म्याग्दीको प्रसिद्ध धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी पुनः चयन हुनुभएको छ। बेनी नगरपालिका-९,स्थित गलेश्वरमा रहको क्षेत्र विकास कोषको शनिबार सम्पन्न ८ औं अधिवेशन तथा १९ औं कार्यकारी सभाले कोषबाट कार्यसमितिको उपाध्यक्ष बम बहादुर पुन, कोषाध्यक्ष कुमारी रोका रहनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा पुर्ण बहादुर बानियाँ, रमेश प्रसाद सुबेदी, धन प्रसाद रोका, पुण्य बहादुर चोखाल, टेक बहादुर बानियाँ, मनोज पौडेल, देबी प्रसाद छन्त्याल, मनु पुन फगामी, लक्ष्मी कुमारी केसी कार्की र रामजी शर्मा रहनुभएको छ ।

कार्यक्रममा निर्वतमान सदस्य सचिव बलबहादुर खत्रीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ८ औं अधिवेशन तथा १९ औं कार्यकारी सभाको बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभयो । मेयर केसीले नगरपालिकाभित्रका धार्मिक पर्यटनको विकासका लागि सक्रिय रहेको बताउनुभयो । कोषको रकमलाई प्रभावकारी तथा पारदर्शी बनाउनुपर्नेमा जोड दिइएको थियो । काली गण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ।

error: Content is protected !!