Saturday, May 10, 2025
22.2 C
Beni
22.2 C
Beni
Saturday, May 10, 2025
Home Blog Page 30

निजामती कर्मचारी यूनियनको नयाँ बर्षको शुभकामना आदन-प्रदान कार्यक्रम

0

नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समिति म्याग्दीले प्रकाशन गरेकोे भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठको प्रमुख आथित्यतामा आयोजिय कार्यक्रममा कर्मचारीका समस्यालाई समाधान गर्ने विभिन्न एजेण्डामा आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो ।कार्यक्रममा युनियनका सल्लाहकार सञ्जिव वाँस्तोला, किरणचन्द्र सुवेदी,चेतनारायण भन्डारी र अमृतप्रसाद कडेल,पूर्व अध्यक्ष ज्ञान गिरी,पुर्वअध्यक्ष दयाराम पौडेल निजामती कर्मचारी संगठन अध्यक्ष सोमवहादुर केसीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

युनियनका अध्यक्ष सुमन सुबेदीको अध्यक्षता, उपाध्यक्ष प्रदिप गौतमको स्वागत र सञ्चालन तारा बानियाँले गर्नुभएको थियो । अध्यक्ष सुबेदीले भित्तेपात्रो (क्यालेन्डर) प्रकाशनमा सघाउनेलाई धन्यवाद दिदंैं यूनियनले कर्मचारीको हकहितका लागि निरन्तर आफ्नो सक्रियता देखाउने बताउनुभयो ।

कोसेरा खोलामा स्टिल ट्रस पुलको उद्घाटन, कुईनेबासीको यात्रा सहज

0

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा मानिने जिल्लाको रघुगंगा गाउँपालिका-८ को कुईने गाउँको कोसेरा खोलामा ट्र प्रविधिको स्टिल ट्रस पुलको शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।

३२ मिटर लामो पुलबाट रघुगंगाका कुइने गाउँका करिब एक सय घरधुरीका ४८५ जना जनसङ्ख्या लाभान्वित भएका छन्। रू ३३ लाख २४ हजार हजार १६७ रुपैयाँ को लागतमा पुल निर्माण भएको पुल उपभोक्ता समितिका सचिव इश्वर छन्त्यालले बताउनुभयो ।

पुलका उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले पुल निर्माण भएपछि कुईनेका स्थानीयवासीलाई आवत–जावतमा सहज हुने बताउनुभयो ।

आफूले स्थानीयवासीको आवश्यकता र मागलाई प्राथमिकता दिएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले अघिल्लो आर्थिक बर्षमा नै सम्पन्न हुने पुलको सडक पहिरोको कारण बन्दभएपछि ढिला गरि निर्माण सम्पन्न भएको बताउनुभयो ।

पालिकाका दुर्गम बस्तीका जनताको आवश्यकता र प्राथमिकताका आधारमा आफुहरुले काम गरिरहेको वडा नं ६ का वडा अध्यक्ष मन कुमार शेरपुञ्जाले बताउनुभयो ।

संघिय सरकारको झुलुङ्गेपुल क्षेत्रको ८५ प्रतिशत, रघुगंगा गाउँपालिकाको १२ प्रतिशत र स्थानीयको दुई प्रतिशत जनश्रमदान र मिलन म्याग्दीको प्राविधिक सहयोगबाट निर्माण भएको पुलले बर्खाको समयमा हिड्न नमिल्ले ठाउँमा पुल बनेपछि सुरक्षित रूपमा यात्रा छोटो र सजिलो भएको उपभोक्ता समितका अध्यक्ष दिनेश छन्त्यालले बताउनुभयो ।

उक्त पुल उद्घाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालको अध्यक्षता, पूर्ण छन्त्यालको स्वागतमा भएको कार्यक्रममा मिलन म्याग्दीका प्रतिनिधि तथा प्राविधिक याम बहादुर विश्वकर्माले समेत पुल निर्माणमा भएको खर्च र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा सार्वजनिक लेखा परिक्षण समेत गरिएको थियो ।

सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा ६ जनालाई जन्मकैद

0
dav

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले छ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै घटनाका सहयोगी ठहरिएका थप नौ जनाको सजाय निर्धारणका लागि यही चैत २७ गते पेशी तोकेको हो ।

रघुगङ्गा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोकका २१ वर्षीय गर्बुजाको विसं २०८० माघ ११ गते साँझ बेनी–८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो ।

जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले धवलागिरि गाउँपालिका–४ का २३ वर्षीय शङ्कर घर्ती, २२ वर्षीय अमृत पुर्जा, बेनी–५ का २४ वर्षीय सफल खत्री, परिवर्तित नाम ४३ (ध), ४३ (ड) र ४३ (म)लाई जम्मकैदको सजाय तोकिएको जानकारी दिए ।

रघुगङ्गा–७ चिमखोलाका उत्सव पुन, मनिष तिलिजा, वडा नं २ का सञ्जन खत्री, मङ्गला गाउँपालिका–२ का प्रवीण जिसी, बेनी–९ का सविन राई, जलजला गाउँपालिका–३ पर्वतका सोहन बरुवाल, परिवर्तित नाम ४३ (त), ४३ (न) र ४३ (फ)लाई चैत २७ गतेको पेशीले सजाय निर्धारण गर्ने सूचना अधिकारी पौडेलले बताए ।

बालबालिकासम्बन्धी कानुनले १४ देखि १६ वर्षसम्मकालाई आधा र १६ देखि १८ वर्ष सम्मकालाई एकतिहाइ सजाय छुट हुने व्यवस्था गरेको छ । सोह्र वर्षभन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना सात दिन कैद भुक्तान गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार चौधदेखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष छ महिना सजाय भुक्तान गर्नुपर्ने छ ।

विसं २०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठजना बयस्कलाई कारागार र पाँच नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो ।

 

गण्डकीमा संस्थागत क्षमता मूल्याङ्कन नतिजामा जलजला प्रथम

0

म्याग्दी सदरमुकाम बेनी नजिकै रहेको पर्वतको जलजला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)को नतिजामा प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा जलजलाले ९८.५ अंक प्राप्त गरेको हो ।

मूल्याङ्कन अनुसार जलजलाले शासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक प्रगतिमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधार १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा आठ तथा सहकार्य र समन्वयमा छ अंक प्राप्त गरेको छ । गत वर्ष ८६ अंक पाएको थियो ।

पर्वतको महाशिला गाउँपालिकाले ८१.७५, मोदी गाउँपालिकाले ७८.२५, पैयु गाउँपालिकाले ८१, कुश्मा नगरपालिकाले ६७.७५, फलेवास नगरपाकिलो ७५.२५ र बिहादी गाउँपालिकाले ७१ अंक पाएका छन् । गाउँपालिका तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्न स्वमूल्याङ्कनले सहयोग गर्ने गरेको छ ।

आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउन पनि यसले भूमिका खेलेको छ । स्वमूल्याङ्कनको नतिजामा म्याग्दीका स्थानीय तहहरुमा बेनी नगरपालिकाले ९०.२५, अन्नपूर्ण गाउँपालिकाले ८०.७५, धवलागिरी गाउँपालिकाले ६६.५, मालिका गाउँपालिकाले ७१, मंगला गाउँपालिकाले ७०.५, रघुगंगा गाउँपालिकाले ७६.७५ अंक प्राप्त गरेका छन् ।

म्याग्दीका विद्यार्थीले सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट माग

0

म्याग्दीका विद्यार्थी संगठनले यातायातका सवारीसाधनमा विद्यार्थी छुट नदिएको भन्दै विद्यार्थीहरुको परिचयपत्रको आधारमा पाउने ४५ प्रतिशत छुट कार्यान्वयका लागि दबाब दिएका छन् ।

अनेरास्ववियु जिल्ला कमिटी म्याग्दी र नेपाल स्वतन्त्र विद्यार्थी यूनियन म्याग्दी बहुमुखी क्याम्पसले सार्वजनिक यातायातमा विद्यार्थीको छुट कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीको ध्यानाकर्षण गराएको छ । म्याग्दी जिल्लाभित्र चल्ने रुट र जिल्ला बाहिरको लामो दुरीका सवारी साधनले विद्यार्थीहरुलाई छुट नदिएको भन्दै यसको कार्यान्वयनका लागि माग गरेको हो ।

स्वतन्त्र विद्यार्थी यूनियन म्याग्दीका सभापति संगम चोखाल क्षेत्री र अनेरास्ववियुका अध्यक्ष खुमबहादुर किसान, उपसचिव एवम् म्याग्दी बहुमुखी क्याम्पस स्ववियु सचिव मन्जुर कटुवाल क्षेत्रीले ज्ञापनपत्र बुझाएका हुन् । सार्वजनिक सवारी साधनले मनपरी भाडा अशुल गर्दै आएको भन्दै यसलाई रोक्दै जान सरोकारका विषयमा ध्यान जान नसकेको भन्दै विद्यार्थीले खवरदारी गरिरहेका छन् ।

आफूखुशी भाडा अशुली गर्दै आएको भन्दै यसलाई नियनत्रणमा नलिए सर्वसाधारण मारमा परेको र त्यसबाट विद्यार्थीको छुटको अधिकार समेत गुमनाम भएको भन्दै विद्यार्थी संगठनको सक्रियता देखिएको हो ।

यसैबीच शुक्रबार नै कोरला यातायात प्रालिको आयोजना, म्याग्देली यूवा आवाजको सहआयोजनामा समेत विद्यार्थी छुटका लागि छलफल सहित निर्णय हुर्दैछ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले विद्यार्थीको माग पुरा गर्न सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो । विद्यार्थीले उठाएका जायज मागहरुको सम्बोधनका लागि काम अघि बढाउन सरोकारवाला निकायलाई थप दवाव दिने तयारीमा विद्यार्थी छन् ।

मुना-जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै

0

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ ।

चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका–२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो ।

हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो बाटो ढोरपाटनसँग जोडिने धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । सडक डिभिजन कार्यालयले रु एक करोडको लागतमा मुना–खोरीया–मरेनी खण्डमा स्तरोन्नति जारी राखेको छ ।

बेनीबाट मुना–खोरीया–मरेनी हुँदै करिब ५६ किलोमिटर ट्र्याक खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए।

“बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको ट्र्याक खुलेपछि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ”, उनले भने, “पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।”

म्याग्दीको धौलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।

बेनी– तातोपानी–बाबियाचौर–तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारको लगानीमा कालोपत्र भएको छ ।

गलकोटमा पिकअप जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाईते

0

गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारबाट कोतमैदानतर्फ जाँदै गर्दा पिकअप जिप दुर्घटना भएको हो । गलकोट नगरपालिका वडा नम्वर ३ को खसगाउँमा विहान १०ः३० बजेको समयमा ग १ ज ६१०० नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकबाट करिव १ सय मिटर तल खस्न जाँदा १ जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन् ।

दुर्घटनामा परेका गलकोट नगरपालिका वडा नम्वर ११ रिघाका २२ वर्षिय विष्णु रानालाई अस्पतालले १२ः१५ बजेको समयमा मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय हरीचौरले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परी चालक गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका २२ वर्षिय राजन विक, गलकोट नगरपालिका वडा नम्वर ४ डाँडाखेतका १९ वर्षिय रमेश सुनार र गलकोट नगरपालिका वडा नम्वर ३ बोहोराफाँटका १९ वर्षिय अशोक बोहोरा घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको अहिले गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ । घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको छ ।

शिक्षकको काठमाण्डौ केन्द्रित आन्दोलनमा म्याग्दीबाट ३० भन्दा बढी शिक्षक सहभागि

0

शिक्षकहरूले बुधवारदेखि पुनः काठमाडौं केन्द्रित आन्दोलन गरेपछि म्याग्दीबाट समेत आन्दोलनमा सहभागि हुन शिक्षक काठमाण्डौ पुगेका छन् ।

नेपाल शिक्षक महासङ्घ म्याग्दीका सहित विभिन्न पेशागत संगठनका अगुवाको नेतृत्वमा ३० जनाभन्दा बढी शिक्षक अनिश्चितकालीन शैक्षिक आन्दोलनमा सहभागि भएको महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदीले बताउनुभयो ।गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलनमा सहभागि भएको अध्यक्ष सुबेदीको भनाई छ ।

आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म जिल्ला नफर्किने अडान अन्दोलनरत शिक्षकको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिएको शिक्षक अगुवाहरूको भनाई छ ।

सांसदहरूले डेढ वर्षमा पनि एउटा कानुन बनाउन नसक्दा शिक्षकहरू दोस्रो पटक आन्दोलनका लागि सडकमा आउन बाध्य भएको शिक्षक महासंघले जनाएको छ । जिल्लामा बार्षिक परीक्षाको नतिजामा ब्यस्त रहेका शिक्षकले समेत सरकारले आनकानी गरेमा थप शिक्षक काठमाण्डौ जाने तयारीमा छन् ।

बिरुवा क्याराभानले मजदुरको खातामा ३ लाख हाले, बाँकी २० दिनमा दिने लिखित सहमति

0

अन्तत : बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङका मजदुरको ज्याला दिन बिरुवा क्याराभान कन्स्ट्रक्सन सहमत भएको छ । ज्याला दिन आनकानी गर्ने, मजदुरलाई धम्काउने, पुनः नापजाँच जस्ता अनावश्यक बखेडा झिकेको ठेकेदार कम्पनीले ३ लाख रुपैयाँ मजदुरको खातामा जम्मा गरी बाँकी २० दिनभित्र सबै ज्याला फिर्ता गर्ने लिखित प्रतिबद्धता जनाएको हो ।

बिहिबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मजदुरका अगुवा रुकुम चौरजहारी नगरपालिका–८ का मजदुर तुलराम सार्कीको बैंक खातामा ३ लाख जम्मा गरेपछि भएको सहमतिमा बाँकी १० लाख दिने लिखित सहमतिपछि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को घटक संस्था नेपाल बिजुलि, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल)को अगुवाइमा प्रदेश २–०३ को ००१ क ०१३४ नम्बरको गाडीमा लोड गरेको स्काभेटरलाई ठेकेदारलाई फिर्ता दिइएको छ ।

जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पूर्वाधार कार्यालयका प्रमुख ईन्जिनियर विष्णु पौडेल, क्युपेक केन्द्रिय सचिव एवम् महिला विभाग प्रमुख बलादेबी राई सहित मजदुरका अगुवाहरूको उपस्थिती रहेको थियो । छलफलमा प्रजिअ ढकालले सहमति अनुसारको मजदुरको ज्याला तोक्रिएको समयमै फिर्ता नगरे कानुनी उपचारको अन्तिम विकल्प भएको बताउनुभयो।

क्याराभान कन्स्ट्रक्सनसँग सम्झौता गरी २०७९ मङ्सिर १५ गतेदेखि २०७९ चैत मसान्तसम्म काम गरेका मजदुरहरुले ज्याला नपाएको भन्दै चरणबद्ध आन्दोलन गरेका थिए । मङ्गला गाउँपालिका–२,रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यालय म्याग्दी विच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडक निर्माणमा समेत ढिलासुस्ती भइरहेको अवस्थामा पूरानो ज्याला नदिएपछि राजनीतिक दलले समेत मजदुरको समस्यामा प्रतिबद्धता जनाएका थिए ।

एसइई दिएर बसेका विद्यार्थीलाई एक महिने प्रशिक्षण

0

म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई जिल्ला भलिबल संघले एक महिने प्रशिक्षण दिने भएको छ । फर्सदको समयमा खेलकुद गतिविधिमा आर्कषित गर्ने उदेश्यले संघले चैत्र २४ गतेदेखि बैशाख २२ गतेसम्म खुल्लामञ्च बेनीमा प्रशिक्षण दिने संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

‘‘फुर्सदको समयलाई सदुपयोग गर्न प्रशिक्षण राखेका छौ’’, अध्यक्ष बानियाँले भन्नुभयो । विद्यालयस्तरबाटै भलिबल खेलाडीको पहिचान गर्ने उदेश्यले प्रतियोगिता सञ्चालन गरिरहेको संघले तालिमबाट उत्कृष्ट २० खेलाडीलाई छनौट गरी कक्षा ११ र १२ का लागि निशुल्क छात्रवृत्ति प्रदान गरिने छ ।

तालिममा भलिवल खेलका आधारभूत ज्ञान, सीप, उपलब्ध गराई अनुशासित रुपमा खेलकूदको विकासमा लगाउने संघका सचिव कुमार किसानले बताउनुभयो । जिल्ला भलिबल संघले नियमित खेल अभ्यासका लागि कबड हल समेत बनाउने तयारीमा जुटेको छ ।

 

error: Content is protected !!