Thursday, May 1, 2025
16 C
Beni
16 C
Beni
Thursday, May 1, 2025
Home Blog Page 298

बेल्जियममा सडक दुर्घटना हुँदा एक नेपालीको मृत्यु

0

बेल्जियमको मोल सहरबाट आन्त्वर्पेन आफैले गाडी चलाएर आइरहेका पर्वत जलजला ६ का वीर फगामी मगरलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।

जापानी खानाको व्यवसाय गर्दै आएका फगामी आफूले चलाएका रेस्टुराँहरूमा काम गर्ने कामदारहरू लिन भ्यान लिएर आन्त्वर्पेन जाँदै थिए।

यो गत बिहीबार दिउँसो १ बजेरतिरको घटना हो।

प्रहरीका अनुसार फगामीको भ्यान ठूलो ट्रकको पछि छिर्‍यो र पछाडिबाट आएको अर्को ट्रकले हिर्काउँदा नराम्रोसँग क्षतविक्षत भयो। एयरब्यागसम्म खुलेको भए ज्यान जोगिन सक्थ्यो तर एअर ब्याग खुलेन।

श्रीमतीसँग मिलेर व्यवसाय गर्दै आएका फगामीका १२ वर्षकी छोरी र दुई छोरा छन्।

स्थानीय शव गृहमा उनको शव राखिएको छ। मे ४ को दिन उनको दाहसंस्कार गरिने सल्लाह भएको राम बहादुर पुन मगरले बताए।

बेल्जियमको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ। setopati.com

मोना जापानको फेस्टिवल सुरू (फोटो फिचर)

0

म्याग्दी जिल्लालाई जापानमा चिनाउने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा  मोना फेस्टिवल सुरु भएको छ । आज शनिबार अर्थात अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा सुरु भएको फेस्टिवलको उद्घाटन समारोहमा उत्साहजनक सहभागिता देखिएको छ । फेस्टिबलमा झाँक्री सहित विभिन्न भेषभुषामा नेपालीहरु उपस्थित भएका छन् ।

म्याग्दीको अर्गानिक उत्पादन, अल्लो, ढाकाको उत्पादनका साथै जिल्लाको पर्यटकीयस्थलहरुका बारेमा जानकारी सहित नेपाललाई नै चिनाउन आयोजित फेस्टिबलको केहीसमयपछि उद्घाटन गरिने मोना जापानले जनाएको छ । फेस्टिबलमा मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुन, अध्यक्ष ददीवल खड्का,महासचिव सुनेश केसी, कोषाध्यक्ष नरेन्द्र फगामी, मोना कतारका पूर्व अध्यक्ष तिलु शर्मा पौडेल, मोना दक्षिण कोरियाका पूर्व अध्यक्ष कृष्ण सुञ्चेरी लगायत समेत पुगेका छन् । फेस्टिवलमा २४ स्टल राखिएकोमा म्याग्देलीको ४ देखि ५ स्टल राखिने छ ।मोना फेस्टिबलमा कुल ५० लाखभन्दा बढी नेपाली खर्च हुने बताइएको छ ।
तस्वीर सौजन्य तिलु शर्मा पौडेल, हिरा बुढाथोकी

राष्ट्रिय फूटबल टोलीकी स्ट्राइकर साम्बालाई मोना फ्रान्सको सम्मान

0

नेपालकी चर्चित महिला फुटबलर सावित्रा भण्डारी (साम्बा)लाई म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सले स्वागत तथा सम्मान गरेको छ । फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा अनुबन्ध हुनुभएकी साम्बालाई अध्यक्ष देबेन्द्र केसीले कदरपत्र र खादाले सम्मान गर्नुभएको थियो ।

राष्ट्रिय फूटबल टोलीकी स्ट्राइकर साम्बाले नेपाली फुटबलमा अहिलेसम्मकै सफल महिला स्टार खेलाडी साम्बाले विश्व महिला फुटबलको सबैभन्दा शीर्ष लिगमा पुगेर नेपालको शीर उच्च बनाएमा उत्साहित भएको भन्दै सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा मोनाका बरिष्ठ उपाध्यक्ष दिल गर्बुजा, महासचिव प्रताप मल्ल, हेमेन क्षत्री, सिर्जना केसी, समाजसेवी अमर भण्डारीको उपस्थिती रहेको थियो । विपन्न परिवारमा जन्मेर संघर्षका पहाड छिचोल्दै राष्ट्रिय टिम हुँदै युरोपेली लिगसम्मको उनको यात्रा धेरैका लागि प्रेरणा र पाठ बनेको मोनाका अध्यक्ष केसीको भनाई छ ।

नेपालमा खेलेर केही हुन्न भन्ने भाष्यलाई गलत सावित गरिदिएकी साम्बा मिहिनेत र प्रतिभा भए संसारका शीर्ष देश र क्लबको ध्यान खिच्न सफल भएको भन्दै साम्बाको सर्वत्र चर्चा हुने गरेको छ ।

अपाङ्गता समावेशी तथा विपद् सुरक्षा जोखिम न्यूनीकरणको चिन्ता

0
म्याग्दीको सदरमुकाम बेनीमा शुक्रवार विपद् व्यवस्थापन समिति एवं सरोकारवालाबीच अपाङ्गता समावेशी तथा विपद् सुरक्षा जोखिम न्यूनीकरणमा अन्तर्क्रिया सम्पन्न भएको छ ।
अपाङ्गता स्वाबलम्बन विकास संघ डिडा नेपाल, जर्मन कर्पोरेसन, हुमेडिया इन्टरनेशनल एड, आईएनएफ नेपाल, ईन्सेक गण्डकी प्रदेश र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको संयुक्त आयोजनामा म्याग्दीका सरोकारवालाहरुबीच अन्तर्क्रियार छलफल गरिएको हो ।
कार्यक्रममा विपद् व्यवस्थापन समिति एवं सरोकारवालाहरुबीच अपाङ्गता समावेशी तथा विपद् सुरक्षा जोखिम न्यूनीकरण सम्बन्धी विषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष सुवेदीले प्रस्तुत गरेको कार्यपत्रमाथि कार्यक्रममा सहभागी सरोकारवालाहरुले छलफल समेत गरेका थिए ।
अन्तर्क्रिया तथा छलफलमा सहभागीहरुले म्याग्दी जिल्ला विपद्का हिसाबले उच्च जोखिममा रहेकाले सतर्कताको लागि आवश्यक पूर्वतयारी गर्नुपर्ने बताएका छन् । सहभागीहरुले विपद्को अवस्थामा उद्धार, राहत र पुनसर््थापना तथा आवश्यकताअनुसार सामग्रीहरुको भण्डारण गर्ने कार्यमा स्थानीय तहले तयारी गर्नुपर्नेमा जोड दिए ।
यसैगरी विपद्जन्य घटनाहरुमा जिल्ला विपद् व्यवस्थापन समितिले विपद्को समयमा अपाङ्गता भएकाहरुलाई उपयुक्त हुने खालका सामग्रीहरु अनिवार्य रुपमा व्यवस्था गर्नुपर्ने सहभागीको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जिल्लाका सबै पालिकाहरुलाई विपद् व्यवस्थापन गर्नको लागि उपयुक्त पूर्वाधार बनाउन निर्देशन दिइएको बताउनुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने तथा उपयुक्त सामग्रीहरु तत्काल खरिद गर्न आग्रह गर्दै जिल्ला विपद् व्यवस्थापन समितिमा अपाङ्गता भएका व्यक्तिको पनि प्रतिनिधित्व सुनिश्चित गराउन निर्देशन दिनुभयो ।
कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, माओवादी केन्द्रका जिल्ला संयोजक शेरबहादुर केसी, राष्ट्रिय जनमोर्चाका पूर्व अध्यक्ष रमेश पुन र ईन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
आईएनएफ नेपालका आउटरिच म्यानेजर ताराहाङ तावालिम्बुले औचित्यमाथि पुष्टि गर्नुभएको कार्यक्रम डिडा नेपालका अध्यक्ष दिपक तिमिल्सेनाको अध्यक्षता र संस्थापक गिरीधारी सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो भने राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सहसचिव टिकाराम सापकोटाले स्वागत गर्नुभएको थियो ।

मराङमा वडा कार्यालय भवन उद्घाटन

0

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ ।धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो ।

४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह शुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सचिव, सभाहल र भण्डारण कक्ष रहेको छ ।रु. एक करोड लागत अनुमान गरिएको भवन निर्माणका लागि बि एण्ड बि कन्ट्रक्सनले गत वर्ष रु. ८५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

गत असारमा निर्माण सकिनुपर्ने भवन मराङ जोड्ने सडक स्तरोन्नतिका क्रममा अवरुद्ध बनेपछि निर्माण सामग्री ढुवानी गर्न समस्या हुँदा पछि ढकेलिएको निर्माण कम्पनीका प्रतिनिधि शिव बानियाले बताउनुभयो ।

भवन निर्माण सकिएपनि अन्तिम भुक्तानी पाउन बाँकी रहेको उहाँले गुनासो गर्नुभयो ।  वि.स. २०७७ असार अन्तिम साताको पहिरोले आमा समूह भवनमा सञ्चालित वडा कार्यालयको सम्पूर्ण सामग्री बगाएको थियो ।

पहिरोले बगाएपछि मराङ स्वास्थ्य चौकीको भवनबाट वडा कार्यालयको सेवा सञ्चालन गरिएको थियो । आफ्नै भवन भएपछि सेवा प्रवाह सहज हुने गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर २ र ७ को भवन निर्माण कार्य सकिएर प्रयोगमा आइसकेका छन् । वडा नम्बर ५ मल्कवाङमा पनि यसअघिनै सामुदायिक भवन बनाएर वडा कार्यालय सञ्चालन गरिएको छ ।

घट्टखोलामा गाउँपालिकाको सुविधासम्पन्न भवन निर्माणाधिन रहेको छ । यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी र ताकममा ५ शैया क्षमताको अस्पताल भवन निर्माणाधिन रहेको छ ।

वडा कार्यालय भवन उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत मोतिराम अर्याल, वडा अध्यक्षहरु देबेन्द्र रोका, याम घर्तिमगर, अमर छन्त्याल, अशोक खत्री, जिसस सदस्य श्रीप्रसाद गर्बुजा लगायतको उपस्थिति रहेको थियो । स्थानीयबासीहरुले भवन निर्माण भएको खुसीयालीमा नाचगान गरेका थिए ।

बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

0

म्याग्दीको बेनी नगरपालिकालाई  पूर्ण खोप पालिका घोषणा गरिएको छ। (आज) शुक्रबार बेनी नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नगरपालिकालाई  पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको हो । नगरपालिकाका सबै वडामा  लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि  जिल्ला सामान्य समिति म्याग्दीका प्रमुख राजकुमार थापाले नेपाल सरकारले कुनै काम एक्लै सम्पन्न्न गर्न  सम्भव नभएका कारण स्थानीय तहलाई तोकेको हुँदा स्थानीय तहले प्राथमिकतामा राखेर कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।

१६ महिना देखि ५ वर्ष उमेर समूहका २१८२  जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएकाले पूर्णखोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका भुवन ठकुराठीले जानकारी दिनुभयो । उहाँले खोप पाउनुपर्ने हरेक बालबालिकाको नैसर्गिक अधिकार भएकोले हरेक बालबालिकाले पूर्ण खोप पाउनुमा स्वास्थ्यकर्मी  मात्रै नभई हरेक क्षेत्र, विद्यालय, आमा समूह, जनप्रतिनिधिको पनि   उत्तिकै महत्वपुर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत हेमचन्द्र पौडेलले कार्यक्रम घोषणा गर्न सजिलो तर सम्पन्न गर्न र त्यसलाई टिकाइ राख्न गाह्रो हुने भएकोले कार्यक्रमको दिगोपनामा जोडिनुपर्नेमा जोड दिनुभयो ।

नगर पालिकाका  सामाजिक समितिका संयोजक चक्र केसीले प्राविधिक कुरामा अलमलिंदा धेरै जसो स्वास्थ्य सम्बेदनशिलताका कुराहरु छुट्न गएको भएतापनि अवका दिनमा त्यसलाई थप ब्यबस्थित पारिदै लगिने बताउनुभयो ।कार्यक्रममा बेनी नगरपालिकाका जन स्वास्थ्य शाखाअधिकृत चन्दन सुबेदीले नगरपालिकामा संचालन भएको खोप अभियानको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिबद्दता ब्यानर पढेर प्रतिबद्दता समेत  गरिएको थियो । पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रम बेनी नगर पालिकाका प्रमुख सुरत केसीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यता,  नगरपालिकाका स्वास्थ्य शाखा  उप-प्रमुख लिला गौतमको संचालन र स्वागत सोमनाथ उपाध्यायले गर्नुभएको थियो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने बेनी नगरपालिका जिल्लाको तेश्रो स्थानीय तह बनेको छ । यसअघि रघुगंगा गाउँपालिका र धौलागिरि गाउँ पालिकालाई  घोषणा गरिएको थियो ।

मलम्पारकी मायाँकुमारीलाई आर्थिक अभावको कारण उपचारमा समस्या

0

म्याग्दीको धवलागिरी गाउँपालिका-५,मलम्पार मल्कबाङकी मृर्गौला पीडित ३१ बर्षिया मायाँकुमारी छन्त्याललाई आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ ।

विगत ८ बर्षदेखि निरन्तर दुई वर्षदेखि डाइलासिस गर्दै आउनुभएकी छन्त्यालले हप्तामा ३ पटक डाइलासिस गर्नुपर्ने भएपनि प्रयाप्त आर्थिकको अभावका कारण समस्या भएको बताउनुभयो । ‘मेरो उपचारमा आर्थिक सहयोगको आवश्यकता छ,भएको सबै पैसा सकियो’ पीडित छन्त्यालले भन्नुभयो ।

गण्डकी अस्पतालमा डायलासिस गदैं आउनुभएकी छन्त्यालले ब्यक्तिगत सहयोग जुटाएर अहिलेसम्म सहज भएपनि रकम अभाव भएपछि समस्या भएको बताउनुभयो ।

भएको सम्पूर्ण सम्पत्ति उपचारको क्रममा सकिएको र अब उपचार गर्ने कुनै माध्यम छैन्, छन्त्यालले भन्नुभयो । पीडित छन्त्यालले उपचारको लागि सहयोग गरिदिन आग्रह समेत गर्नुभएको छ । मृर्गौला प्रत्यारोपण नगर्दासम्म नियमित डायलासिस गर्नुपर्ने अवस्था रहेको पीडित छन्त्यालको भनाई छ ।

होमलाल पुन र ज्ञानसरा जुग्जालीको ‘सुन मायाली’ (भिडियो सहित)

0

म्याग्दीका कलाकार होमलाल पुन र ज्ञानसरा जुग्जाली छन्त्यालको आवाजमा मौलिक पञ्चेवाजाको गीत सार्वजनिक भएको छ । परम्परागत रुपमा गाइने यानीमाया गीतमा समावेश गरिने खालका शव्दहरु समायोजन गरि झिङखानीको तामा सुन मायाली गीत साँगीतिक बजारमा ल्याईएको हो ।

गायक पुनको शव्द र गायीका जुग्जालीको लय सृजनामा रहेको उक्त गीत पुन डिजिटल पोखराको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा एल.वि.पुनले संगीत संयोजन गर्नुभएको छ भने म्युजिक भिडियोको निर्देशन विल पूर्जा मगरले गर्नुभएको छ । विष्णु थापा मगरले छायाँकन तथा सम्पादन गर्नुभएको भिडियो पोखरामानै खिचिएको हो ।

भिडियोमा म्याग्दी जिल्लाका संस्कृति झल्किने थाली नाँचलाई प्रस्तुत गरिएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्वर २ का गायक पुनले यस अघि पनि केही गीतहरु प्रस्तुत गरिसक्नुभएको छ । लोक संस्कृतिको संरक्षण स्वरुप यानीमाया गीतमा समावेश गरिने शव्दहरु सृजना गरेर मौलिक भाका प्रस्तुत गरिएको गायक पुनले बताउनुभयो । इन्द्र धनुष इन्भेष्टमेन्ट प्रा.ली.को प्रस्तुतीमा रहेको गीतको म्युजिक भिडियोमा पनि मौलिकपन झल्काईएको छ ।

सामुदायिक बनमा आगो लगाउने एक पक्राउ

0

म्याग्दीको एक सामुदायिक बनमा आगो लगाउने १ जना पक्राउ परेका छन्। बेनी नगरपालिका-६को खैरेनी सामुदायिक बनमा आगो लगाउने सोही वडाका एक यूवालाई पक्राउ गरिएको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ।

गत वैशाख ९ गते आगो लगाएको विशेष सूचनाका आधारमा १० गते पक्राउ गरिएका यूवा केहीदिन अगाडी मात्रै बैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकबाट फर्किएका थिए ।

‘अनुसन्धान गरि मुद्दा चलाउने प्रक्रियामा छौ,मुद्धा दर्ता गरेपछि ब्यक्तिगत परिचय सहित सम्पूर्ण जानकारी दिन्छौ’सहायक बन अधिकृत विनयबहादुर अधिकारीले भन्नुभयो । उहाँका अनु्सार मुद्धा दर्ताको प्रक्रिया अगाडी बढाइएको छ ।

म्याग्दीमा ३ सय ११ सामुदायिक वनमध्ये १ सय १२ वटाको १ हजार हेक्टरमा डढेलोले जलेर खरानी बनेको छ । भिरालो क्षेत्रमा लागेको डढेलोले ग्रामिण बस्तीलाई नै त्रसित बनाइरहेको छ । बन क्षेत्रमा फैलिएको आगलागीले गर्दा निस्केको धुँवाले जिल्लामा पछिल्लो एक महिना यता वायु प्रदूषण बढेको छ । प्रदेश वन निर्देशनालयले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा बढी म्याग्दीको बन क्षेत्रमा क्षती पुगेको तथ्याङ्कले देखाउँछ ।

आगलागीले जिल्लाका अधिकांस सामुदायिक र राष्ट्रिय बनक्षेत्र उजाड र नाङ्गो भएको छ ।नयाँ घाँस पलाउने आसमा डढेलो लगाउँदा साना तथा ठूला सयौं रूख विरुवा जलेर नष्ट भएको डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले बताए ।सामुदायिक बन क्षेत्रमा अग्नीरेखा सहित आगो फैलिन नदिने गरी विभिन्न योजनाहरू मार्फत समुदायलाई नै तालिमको आवश्यकता रहेको उपभोक्ता समुहको भनाई छ । वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको विगो असुल गरि तीनवर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

पत्रकार महासंघ म्याग्दीको आठौं साधारण सभा

0

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बेनी नगरपालिका-७, बिरेन्द्रचोकमा रहेको आफ्नै भवनमा आयोजित साधारणसभाको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले उद्घाटन गदैं गण्डकी प्रदेशभित्र म्याग्दी शाखाले संस्थागत विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

साधारणसभामा महासंघको केन्द्रिय प्रतिनिधि पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतमले पत्रकारहरूको संस्थागत विकासमा केन्द्रित हुनुपर्नेमा बताउनुभयो ।

महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुबेदीले पत्रकारिताको क्षेत्रमा देखिएका समस्या समाधानमा पत्रकारको साझा धारणा हुन्ुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाको अवसरमा सञ्चारिका समुह म्याग्दीकी अध्यक्ष देवी केसी, जनपत्रकार संगठन म्याग्दीका अध्यक्ष बादल शाही, फोनिज म्याग्दीका अध्यक्ष साधन राम्जाली,क्रान्तिकारी पत्रकार संघ म्याग्दीका अध्यक्ष कमल खत्री,प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानियाँ,प्रेस यूनियनका अध्यक्ष राकेश शर्मा,नेपाली कांग्रेसका नेता अजयमिलन श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुबेदी, महासंघका संस्थापक सदस्य सुवासकुमार श्रेष्ठ, पूर्व अध्यक्ष तारानाथ शर्मा, संस्थापक अध्यक्ष घनश्याम खड्काले पत्रकारिताको अवसर, चुनौती र देखिएका समस्याका बारेमा बोल्नुभएको थियो ।

साधारणसभाको अवसरमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गरिएपनि कार्यान्वयन नभएको, सञ्चारगृह सञ्चालन, न्यू मिडियाको नाममा फेक समाचार, सामाजिक सञ्जालबाट हुने गलत गतिविधिको नियन्त्रण तथा पत्रकारिताको अवसर, चुनौती र देखिएका समस्या लगायतका विषयमा सम्बन्धित निकायसँग समन्वयको आवश्यकता रहेको बताइएको थियो । पत्रकार महासंघ गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपक भट्टराई लगायत महासंघका साधारण सदस्यको उपस्थिती रहेको साधारणसभाको अध्यक्षता अध्यक्ष प्रकाश पौडेल, स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम, आर्थिक प्रतिवेदन कोषाध्यक्ष अमित विश्वकर्मा र प्रगति प्रतिवेदन सहित कार्यक्रमको सञ्चालन सचिव सन्तोष गौतमले गर्नुभएको थियो । पत्रकार महासंघको गण्डकी प्रदेशका ११ जिल्लामा साधारणसभा गर्ने म्याग्दी पहिलो शाखा भएको छ ।

 

error: Content is protected !!