Wednesday, May 14, 2025
21.9 C
Beni
21.9 C
Beni
Wednesday, May 14, 2025
Home Blog Page 300

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण

0

म्याग्दीको मालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ । मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुुबेसीबाट उक्त ताल जोड्ने पदमार्ग निर्माण गरेको हो ।

राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चित उक्त ताल मालिका–६ र मङ्गला–२ को सिमानामा पर्दछ । गाउँपालिकाका रोजगार सहायक मिलन शर्माले १३ लाख ५० हजार लागतमा दुई किलोमिटर ढुङ्गाको सिँढीसहित पदमार्ग निर्माण भएको जानकारी दिए । “पदमार्ग नहुँदा जोखिम मोलेर ताल र मन्दिरमा जानुपर्ने अवस्था थियो”, उनले भने, “पदमार्ग बनेपछि हिँडेर सहजै ताल भएको स्थानसम्म पुग्न सकिन्छ ।”

चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन भएको रु चार लाख ५० हजार बजेटबाट सात जना सूचीकृत बेरोजगारसहित ५० जना कामदार परिचालन गरेर भिरमा सिँढीसहित पाँच सय ५० मिटर लामो पदमार्ग निर्माण भएको छ । यसअघि आव २०७७/७८ र आव २०७८/७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु नौ लाख बजेटबाट १।५ किमी पदमार्ग निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।

घना जङ्गलको बीचमा दुखु लेकबाट दुखु झरना झरेको छ । झरनाको दायाँतर्फ पर्ने जङ्गलमा मालिका देवीको पुरानो मन्दिर छ । यही दुखु झरनाले मङ्गला र मालिका गाउँपालिकालाई छुट्याएको छ । दायाँतर्फ मालिका र बायाँतर्फ मङ्गला गाउँपालिका पर्दछ । दुवैतिर घना जङ्गल छ ।

झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ । यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको मालिका–६ दुखुबेँसीका बासिन्दा एवं पदमार्ग निर्माण समितिका अध्यक्ष गङ्ग रोकाले बताए ।

“यो तालको सिरानमा रहेको मन्दिर वरिपरिको जङ्गली क्षेत्रमा बिहान उज्यालो नहुँदै कुखुराको भाले कहाँबाट आउँछ बास्छ अनि उज्यालो भएपछि त्यो भाले कहाँ जान्छ भन्ने विषयमा कसैलाई जानकारी छैन”, उनले भने, “मन्दिरमा बिहान भाले बास्ने समयमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास छ ।”

“किंवदन्तीअनुसार दुई शताब्दीअघिको दुखुगाउँका नौ भाइमध्ये एक भाइले भरिया लिएर ताल अवलोकन गर्न गएछन् । ताल नजिकै एउटा घर देखेर राति त्यही विश्राम गरेछन् । बिहान कुखराको भाले बासेकोे आवाजले उनीहरु ब्युँझिँदा दुवै जना ढुङ्गामा सुतेको अवस्थामा आफूलाई पाएछन् । आफ्नो भाकल र पूजाआजा गर्न गएका ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आएर उक्त घटना सुनाएपछि सोही घटनाका आधारमा तालको नामकरण गरिएको बताइन्छ । ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बलि लिएर पूजा गर्ने गरेको भनाइ छ”, समितिका अध्यक्ष रोकाले भने ।

बेनीबाट करिब एक घण्टामा सवारीसाधनमार्फत सहस्रधारा पुगिन्छ । सहस्रधारा, दुखुबेँसी, दरुङ गाउँबाट करिब एक घण्टा पैदलयात्रा गरेपछि यो ताल पुग्न सकिन्छ । जङ्गल विस्तारका कारण वरिपरिको क्षेत्रबाट देख्नै नसकिने र कठिन पहरोलाई छिचोलेर पुग्नै नसकिने भएपछि ताल खुम्चिँदै गएको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।

भाले बास्ने तालको संरक्षण गरेर यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको उनले जानकारी दिए । पदमार्ग निर्माणसँगै पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिक अवस्थामा सुधार हुँदै जाने वडाध्यक्ष रोकाले बताए । रासस

पर्वतको महाशिलामा घरेलु मदिरा ब्रान्डिङ गर्न सुरु

0

पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ । मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान सुरु गरेको हो ।

पालिकाका विभिन्न वडामा व्यावसायिकरुपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किबीलगायतको मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । उनका अनुसार गाउँपालिकाको अघिल्लो गाउँसभाबाट घरेलु मदिराको अध्ययन अनुसन्धान गर्ने निर्णय पारित भएको थियो ।

छिमेकी जिल्ला स्याङ्जा र कास्कीमासमेत घरेलु मदिरा ब्रान्डिङ गरी बिक्रीवितरण गरिरहेको अवस्थामा महाशिलाले पनि कार्यक्रम अघि बढाएको अध्यक्ष भुसालले बताए । घरेलु मदिरा कोदो, मकै, चामल, केरा, भोगटे, जुनार, जौ, आरुबखडालगायत विभिन्न जातका अन्न तथा फलफूलबाट उत्पादन गर्ने गरिएको छ । महाशिलामा उत्पादनका आधारमा कोदो बढी उत्पादन हुने अन्न हो । यसलाई ब्रान्डिङ गर्दा उपयुक्त हुने निष्कर्षका साथ अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

गाउँपालिकामा कोदोको बढी सम्भावना भएकाले कोदोको मदिरालाई प्राथमिकता दिएर अनुसन्धान गरिएको अध्यक्ष भुसालले बताए । “यहाँ धेरै पहिलेदेखि स्थानीयले मदिरा बनाउँदै आउनुभएको छ, धेरैको जीविकोपार्जन यसैबाट भइरहेकाले यसलाई कसरी व्यवस्थित गरेर अघि बढ्न सकिन्छ भनेर अनुसन्धान गरी सो कार्यान्वयन गर्न लागि परेका छौँ”, उनले भने, “अनुसन्धान रिपोर्टपश्चात् बाकीँ काम अगाडि बढ्नेछ ।”

सर्च नेपालले गरेको उक्त अनुसन्धानमा कोदोको गुणस्तरीय मदिरा सङ्कलन गरिएको र नमुना सङ्कलनका लागि सबै वडामा तामाका भाँडा प्रयोग गरी मदिरा बनाइएको छ ।

घरेलु ज्ञान, सीप र प्रविधि प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध हुने कोदोबाट एकदेखि सातपाने र मिश्रित एकदेखि सातपानेसम्मको गुणस्तरीय मदिरा सङ्कलन गरी नमुना ल्याब परीक्षणका लागि पठाइएको अध्यक्ष भुसालले जानकारी दिए । उनका अनुसार पालिकाका छुट्टाछुट्टै बस्ती र समुदायमा तयार गरिएको मदिराको छुट्टाछुट्टै नमुना सङ्कलन गरिएको छ ।

सङ्कलन गरिएका नमुनामा अल्कोहलको मात्रा पत्ता लगाएर खानयोग्य मदिरामा अल्कोहलको मात्रा खुलाई ब्रान्डिङ गर्न सिफारिस गरिने सर्च नेपालले जनाएको छ । ब्रान्डिङ भए पनि अहिले अवैधरुपमा उत्पादन हुँदै आएको मदिरालाई व्यवस्थितरुपमा उद्योग सञ्चालन गरी उत्पादन अनुमति प्रदान गरिने भएको छ ।

महाशिला गाउँपालिकाका छवटै वडामा लुकिछिपी घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ । यसको ब्रान्डिङ गर्नसकेमा पालिकाको राजस्वमा वृद्धि हुनुका साथै स्वरोजगारका अवसर वृद्धि हुने पालिकाको विश्वास छ । रासस

२० अर्ब तिरेर टेलिकमको लाइसेन्स नवीकरण

0

नेपाल टेलिकमले लाइसेन्स (इजाजत) नवीकरण गर्न २० अर्ब रूपैयाँ नेपाल दूरसञ्चार प्राधिकरणलाई तिरेको छ। लाइसेन्स अवधि सकिनुभन्दा अघि नै नेपाल दूरसञ्चार प्राधिकरणलाई नवीकरण शुल्कबापत २० अर्ब रूपैयाँ बक्यौता भुक्तानी गरेको हो।

टेलिकमको लाइसेन्स अवधि शुक्रबारदेखि सकिन लागेसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेलिकमको लाइसेन्स नवीकरण गर्ने प्रस्ताव बिहीबार मन्त्रीपरिषद्मा पेश गरेकी हुन्।

टेलिकमको २५ वर्षे अवधि वैशाख २८ गते सकिँदैछ। लाइसेन्स अवधि सकिने अघिल्लो दिन मन्त्री शर्माले मन्त्रीपरिषद्मा प्रस्ताव लगेकी हुन्। एक पटकमा १० वर्षभन्दा बढीको लाइसेन्स अवधि थप नहुने व्यवस्था छ।

शनिबारदेखि टेलिकम लाइसेन्सविहीन हुने हुँदा शुक्रबार बस्ने मन्त्रीपरिषद्ले लाइसेन्स अवधि थप गर्ने निर्णय गर्ने मन्त्रालयले जनाएको छ। टेलिकमले यसअघि पहिलो पटक २०७६ सालमा दोस्रोपटक २०७१ मा र तेस्रोपटक २०७६ मा दूरसञ्चार सेवाको इजाजतपत्र नवीकरण गरिसकेको छ। अहिले भने ऐनअनुसार नै लाइसेन्सको अवधि सकिएकाले नयाँ प्रक्रियाबाट नवीकरण गर्न लागिएको हो।

टेलिकमले लाइसेन्स नवीकरण अघि नै नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष निवेदन दिएको थियो। प्राधिकरणको ऐन संशोधन वा सरकारी निर्णयविना लाइसेन्स नवीकरण गर्न नसक्ने प्राधिकरणले बताउँदै आएको थियो।

सञ्चार मन्त्री रेखा शर्माले भने टेलिकमले नवीकरण शुल्कबापतको बक्यौता तिरेमा लाइसेन्स अवधि थप गर्ने आश्वासन यसअघि दिँदै आएकी थिइन्।

रास्वपा सभापतिको हैसियतमा रविलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

0

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले  बताए।

यस्तै बैठकले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बन्ने हाम्रो प्रमुख माग कायमै रहेको नेता केसीले बताए।

साथै उनले आजको बैठकमा सबै दलका संसदीय नेतालाई बोल्न दिने तर, संसद अवरोध नगर्ने निर्णय भएको पनि उनले बताए।

उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो।

बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधि सभामा शीर्ष नेताहरूलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची रहेको छ।

आज अक्षय तृतीया मनाइँदै, यसकारण विशेष मानिन्छ यो दिन

0

वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ ।

अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । त्यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ ।

यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने विश्वास गरिन्छ । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ ।

वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो । गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिवर्धक अन्न जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ ।

पाँच बर्षपछि म्याग्दीमा नापतौल यन्त्रको दर्ता र नविकरण, साढे २ सय ब्यवसायी लाभान्वित

0

म्याग्दीमा पाँच बर्षपछि आयोजना गरिएको नापतौल दर्ता र नवीकरणमा साढे २ सयभन्दा बढी ब्यवसायी लाभान्वित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा नापतौल तथा गुणस्तर विभागको पोखरास्थित कार्यालयले सदरमुकाम बेनी र गलेश्वर बजारमा आयोजित नाप तौल परीक्षण शिविरमा नयाँ २२ जना र पूराना २ सय ५० ब्यवसायीले नविकरण गरिएको हो । शिविर आइतबारदेखि मंगलबारसम्म सञ्चालन गरिएको थियो ।

शिविरमा मिटर, लिटर र ढक तराजुजस्ता यन्त्र मापदण्डअनुसार भए÷नभएको चेकजाँच गर्दै कम तौल भएका यन्त्र मिलाउने, दर्ता र नवीकरण नभएकाको नवीकरण गर्ने र यसअघि नै प्रयोगमा ल्याइए पनि दर्ता नभएका यन्त्र नयाँ दर्ता गरिएको म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

‘हरेक दुई बर्षमा शिविर बस्नुपर्नेमा कोरोनाका कारण रोकिएको थियो, शिविरमा ल्याइएका अधिकास यन्त्रहरु ठिक अवस्थामा देखियो’ अध्यक्ष श्रेष्ठले भन्नुभयो।  नेपाल सरकारको नियमाअनुसार नापतौलका यन्त्र प्रयोग गर्ने सबै व्यवसायीले अनिवार्य रुपमा नापतौलका यन्त्रहरु चेक गर्नुपर्ने भएकाले आगामी दिनमा नियमित हुने संघका महासचिव नारायण जिसीले बताउनुभयो ।

शिविरमा गुणस्तर तथा नापतौल कार्यालय पोखराबाट आउनुभएका युवराज अधिकारी सहितको टोलीले सेवाग्राही र ब्यवसायीको इमान्दारिताका लागि समेत नापतौल दर्ता र नवीकरण कार्य समयमै गर्नुपर्ने बताउनुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघले अनुगमन तथा यन्त्र उपकरणहरुका बारेमा ब्यवसायीलाई कुनै समस्या भएमा वा बिग्रिएमा समेत अन्य समयमा समेत सहजीकरण गर्ने गरेको छ।

 

कुहुँमा तीन दिने उद्घोषण तथा भाषणकला तालिम सुरू

0

म्याग्दीको मंगला गाउँपालिका-१, कुहुँमा महिलालाई बोल्ने बानीको विकास गर्न तीन दिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ । मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबारदेखि सुरू भएको तालिमको मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले उद्घाटन गदैं संस्थागत तथा दैनिक जीवन सञ्चालनका लागि क्षमता विकासका कार्यक्रम आवश्यकता रहेको बताउनुभयो ।

वडा अध्यक्ष रोकाले व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी हुने बताउनुभयो । सोही अवसरमा दिपशिखा माविका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले ग्रामिण क्षेत्रमा अझैपनि बोल्ने कलाको विकास हुन नसक्दा महिलाहरूलाई अवसरबाट बन्चित गराउने गरिएको बताउँदै तालिममा सिकेका ज्ञान,सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

मंगला–१ कुहुँ, पूर्णगाउँ, थाईवाङ, पौयूपाँटा लगायतका बस्तीबाट २५ जना महिलाको सहभागिता रहेको तालिमको अध्यक्ष सिकाई केन्द्रकी अध्यक्ष गौमती रोकाले गाउँघरमा अहिले पनि बोल्ने कलाको अभ्यास नहुदाँ महिलाहरूलाई विभिन्न संघसंस्थामा नेतृत्व गर्ने अवसरबाट बन्चित गराउने गरिएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो ।

तालिमको उद्घाटन सत्रमा अध्यक्षता रोका, स्वागत सदस्य नरदेबी रोका र सञ्चालन सहजकर्ता रमिला पाइजाले गर्नुभएको थियो। तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम, कोषाध्यक्ष अमित विश्वकर्माले गर्नुभएको छ ।तालिममा उद्घोषण, भाषणकला,नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप, र भाषण कला, माइन्यूट लेखनका साथै प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

 

अन्नपूर्ण हिमालबाट खसेको हिमपहिरो (भिडियोसहित)

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ, म्याग्दीमा पर्ने संसारको दशौं अग्लो चुचुरो (८०९१ मि.) अन्नपूर्ण प्रथम हिमालबाट गएको साता खसेको हिमपहिरो । हिमालय क्षेत्रमा दैनिकजसो छिनछिनमा हिमपहिरो खस्ने गर्दछ । हिमालको आधारशिविरमा पुग्ने पर्यटकहरु माथि हिमालबाट खस्ने हिमपहिरो हेर्न निकै लालायित हुन्छन् ।

हिमपहिरोले दुर्घटनाको समेत जोखिम बढाउने हुँदा सचेत हुनुपर्दछ । हिमाल आरोहण गर्ने आरोहीहरु हिमपहिरोको जोखिम मोलेर हिमालको आरोहण गर्ने गर्दछन् ।

भिडियो स्रोतः प्रताप बानियाँ/म्याग्दी ।

जलविद्युत् आयोजनाले कालीगण्डकीको घाट सङ्कटमा

0

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्किनीस्थित कालीगण्डकी किनारमा रहेको आर्यघाट सङ्कटमा परेको छ । निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका कारण तिल्किनीको उपल्लो आर्यघाट अतिक्रमण हुँदा साँघुरो हुनुका साथै फोहर व्यवस्थापन मुख्य समस्या बन्दै गएको हो ।

ठेकेदार कम्पनी जेपी एसोसियट्सको लापरबाहीका आर्यघाट अतिक्रमण हुँदा साँघुरिनुका साथै जथाभावी फोहर जम्मा भएको स्थानीय बताउँछन् ।

जलविद्युत् आयोजनाको विद्युत्गृह क्षेत्रका लागि वर्कसप सञ्चालन गर्न फलामे टसको पूर्वाधार बनाउन सहमति दिइएको भए पनि ठेकेदार कम्पनीले घाटको विश्रामस्थलतर्फको जमिनलाई अतिक्रमण गरेर संरचना बनाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

उनका अनुसार आयोजनाको सहजताका लागि घाट नजिकै अस्थायी संरचना बनाउन दिइएको भए पनि थप जग्गा अतिक्रमण गरेको र घाट नजिकैको मलामी विश्रामस्थलको जमिनमा ढुङ्गा र माटो थुपारेर घाटलाई नै सङ्कटमा पार्ने काम भएको छ ।

आयोजनाका लागि वर्कसप बनाउन टस भवन निर्माण भएपछि घाट जान वैकल्पिक गोरेटो बाटो बनाइएको थियो । उक्त पदमार्गमा समेत आयोजनाले ढुङ्गा र माटो जथाभावी फालेर जीर्ण र जोखिमयुक्त बनेको अध्यक्ष भण्डारीले बताए ।

रघुगङ्गा गाउँपालिका, रघुगङ्गा हाइड्रोपावर कम्पनी, जेपी एसोसियट्स र सो आर्यघाट प्रयोग गर्ने समुदायबीच तीन वर्ष अगाडि तिल्किनी उपल्लो आर्यघाटमा जमिनको लम्बाइ तथा चौडाइअनुसार प्रतिक्षालय निर्माण गर्ने सम्झौता भए पनि अहिलेसम्म उक्त सहमति कार्यान्वनय भएको छैन ।

रघुगङ्गा गाउँपालिकाले आर्यघाट परिसरमा आयोजनाले राखेको ढुङ्गा तथा माटो खाली गर्न र घाट क्षेत्रमा अतिक्रमण गरेको जमिनलाई खाली गर्न निर्देशन दिएको छ । जलविद्युत्को विद्युत्गृह रहेको तिल्किनीमा तीन वटा घाट छन् ।

आयोजनाको पूर्वाधार निर्माणका क्रममा तीनवटै घाट प्रभावित बनेको स्थानीयबासी बताउँछन् । ती घाटहरुमा रघुगङ्गा–२ र ३ वडामा दिवङ्गत भएकाहरुलाई अन्तिम संस्कारका लागि प्रयोगमा ल्याउने गरिएको छ । रासस

अठार वर्षपछि उपल्लो दरवाङमा सडक कालोपत्र

0

जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो।

उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताए। ‘बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो’, उनले भने, ‘सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ।’

तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा २०६३ मा स्थानीयवासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो। यहाँ एक सय घर छन्। उपल्लो दरवाङको सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु ६५ लाख बजेट विनियोजन भएको थियो।

गत पुसमा रु ५८ लाखमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले दुई सय ५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय मिटरमा पक्की नाली निर्माण गरिसकेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सव इञ्जिनियर रविन चोखालले बताए।

मालिका गाउँपालिकाले सो सडकमा यसअघि करिब चार सय मिटर पक्की नाली निर्माण गरेको थियो। यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरवाङ जोड्ने सडक ढलान गरिएको थियो। रासस