Wednesday, April 30, 2025
22.3 C
Beni
22.3 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 295

अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

0

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०÷०८१ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरण तथा नदीजन्य पदार्थ उत्खनन् र संकलन र वडा नम्बर ६ , एकल चौतारा स्थित खाली क्षेत्रमा नकुहिने फोहोर संकलन स्थापना गर्ने कार्यको प्रारम्भिक वातावरणीय परिक्षण  प्रतिवेदनको हालसम्मको अवस्था लगायत विषय माथी सार्वजनिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।गाउँपालिका अध्यक्ष भारतकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयले उठाएका सवाल बारे गाउँपालिका अध्यक्ष भारतकुमार पुन,उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन ,प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी,गाउँपालिका मातहतका विषयगत शाखाका प्रमुख र कर्मचारीहरुले जवाफ दिएका थिए ।

वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर खड्का ,वडा नम्बर ३ का वडा अध्यक्ष रमेश पुर्जा ,वडा नम्बर ४ का वडा सदस्य श्याम पुर्जा ,सहभागीहरु श्याम राना ,प्रदिप तिलिजा ,राजाराम बरुवाल लगायतले वडामा कर्मचारी नहुँदा भएको समस्या,गाउँपालिकालाई शिक्षा,स्वास्थ्य, योजना सम्पन्न पश्चात भुक्तानी प्रक्रिया,अनलाइन सुचना अभिलेख, कर,अनुदान उपभोक्ता अधिकार,विद्युतका कारण भएको क्षतीपुर्ती ,लगायतका विषयमा सवाल उठाउनुभएको थियो ।
गाउँपालिकाका वरिष्ठ लेखा सहायक प्रेम पराजुलीका अनुसार,चालुतर्फ ३५ करोड ९५ लाख ४९ हजार ६ सय रुपैयाँ विनियोजन भएकोमा तीस करोड १५ लाख १३ हजार ७३४ रुपैयाँ (५६.०३५ प्रतिशत) खर्च र पुँजीगततर्फ २१ करोड ३९ लाख ९४ हजार रुपैयाँ विनियोजन भएकोमा ४ करोड ९७ लाख २६ हजार २५६ रुपैयाँ (२३.२४५ प्रतिशत ) खर्च गरी कुल ४३ दशमलव ०८ प्रतिशत खर्च भएको छ ।
गाउँपालिकाले तेस्रो त्रैमासिकमा विद्युतीय भुक्तानी मार्फत दुई हजार ६९ जना लाभग्राहीलाई दुई करोड ६० लाख ५३ हजार ६७६ रुपैयाँ भत्ता वितरण गरेको छ । भने हालसम्म सम्म सात करोड ७२ लाख ९८ हजार ४५९ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ । प्रशासकीय अधिकृत एवं योजना तथा प्राबिधिक शाखाका प्रमुख हरिकृष्ण आचार्यका अनुसार ,कुल योजना १८५ वटा मध्ये हालसम्म एक सय १३ वटा योजना सम्झौता भएर ४५ वटा योजना सम्पन्न भएका छन् । भने ४४ वटा योजना सम्झौताको चरणमा रहेका छन् ।

गाउँपालिकाको न्यायीक समितिमा तेस्रो त्रैमासिकमा एउटा मात्र निवेदन दर्ता भएको छ । गाउँपालिकामा राजश्व शाखा प्रमुख नविन भट्टका अनुसार ,विभिन्न शीर्षकबाट १ करोड ४७ लाख ४० हजार ६२९ रुपैयाँ ०१ पैसा आन्तरिक राजस्व संकलन गरेको छ । इन्जिनियरीङ एसोशियसन बाबराका इन्जिनियर मोहन आचार्यले नदीजन्य पदार्थ उत्खनन् र संकलन र वडा नम्बर ६ ,एकल चौतारा स्थित खाली क्षेत्रमा नकुहिने फोहोर संकलन स्थापना गर्ने कार्यको प्रारम्भिक वातावरणीय परिक्षण (क्ष्भ्भ्) प्रतिवेदनको हालसम्मको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष पुनले वडा स्तरबाट छनोट भएर आएका योजना तथा कार्यक्रम चालु आर्थिक वर्षको असार मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित गाउँपालिका कार्यान्वयन चरणमा रहेको बताउनुभयो । अनुदानका बारेमा उठेका प्रश्नको जवाफ दिंदै उहाँले निश्चित उद्धेश्य प्राप्तीका लागि व्यक्तिगत प्रयोजनलाई भन्दा पनि सामुहिक हितलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । गाउँपालिकामा रोगगारी र आय आर्जन कार्यक्रमका लागि न्युन आवेदन पर्ने गरेको उहाँको भनाइ छ । गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले चालु आर्थिक वर्षमा संचालित योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्ने लक्ष्य सहित कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया अगाडी बढीरहेको बताउनुभयो ।
शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मेख बहादुर घर्तीले आफ्नो शाखाको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सरकारले कक्षा ५ सम्म दिवाखाजा प्रदानगर्ने भएपनि गाउँपालिकाले कक्षा ६ सम्मका विद्यार्थीहरुलाई दिवा खाजा वितरण गरेको बताउनुभयो ।

प्रशासकीय अधिकृत भगवती खड्का कटुवालले प्रशासन शाखा, पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखाका प्रमुख खड्ग प्रसाद पुन, स्वास्थ्य शाखाको प्रगति तथा समिक्षा अनमी अमृता फगामी, पशुसेवा शाखाका प्रमुख प्रकाश घर्ति, कृषि विकास शाखाका प्रमुख हेमन्तबहादुर शाही, पूर्वाधार तथा भवन नियमन शाखाका प्रमुख इन्जिनियर इश्वोर भण्डारी, रोजगार सेवा केन्द्रका प्रमुख सुमित्रा गैरे कंडेल, महिला तथा बालबालिका शाखाका सबिन थापाले आफ्नो शाखाको कार्यप्रगति विवरण प्रस्तुत गर्नभएको थियो ।
सूचना प्रबिधि शाखाका प्रमुख रमेश थापाले आफ्नो शाखाको विवरण प्रस्तुत गर्दै स्थानीय तहको संस्थागत मुल्याङ्कनमा अन्नपुर्ण गाउँ पालिकाले ७५.५५ अंक प्राप्त गरेको बताउनुभयो । त्यसैगरी आयुर्वेद शाखाका प्रमुख सुर्यमनी शाह र उद्दम विकास शाखाको प्रशासकीय अधिकृत भगवती खड्काले प्रस्तुतिकरण गर्नुभएको थियो । पत्रकार महासंघ म्याग्दी शाखाका सदस्य कृष्ण जिसी र सहसचिव साधन राम्जालीले सहजिकरण गर्नुभएको कार्यक्रमको संचालन प्रशासकीय अधिकृत भगवती खड्का कटुवालले संचालन तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

0

चारैतिर हरियाली वन। आँखै अघि देखिने हिमश्रङ्खला र बागलुङ बजार। डोयको उक्त पहाडलाई ब्लु हिलको रुपमा परिणत गर्दै पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले योजना सञ्चालन गरेको छ।

नगरपालिकाले डोयलाई नगरपालिकास्तरीय गौरवको योजनामा समावेश गरी पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय पूर्वाधार निर्माण सुरु गरेको हो। बागलुङ नगरपालिका(९ तित्याङको मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामाकरण गरेर चालु आर्थिक वर्षबाट पूर्वाधार निर्माण थालेको छ।

ब्लु हिल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन ९डिपीआर० निर्माण गरेको छ।

उक्त ब्लु हिलका लागि चालु आवमा नगरपालिकाले रु ७० लाख बजेट विनियोजन गरेको छ। ब्लु हिलमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जीम हल, मन्दिर, पार्किङ लगायतका पूर्वाधार निर्माण गर्न रु २४ करोड ५६ लाख २२ हजार लागत अनुमान गरिएको छ।

ब्लु हिलमा आन्तरिक पर्यटक पुर्‍याउने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

नगरपालिकाले चालु आवमा ब्लु हिल पर्यटकीय गन्तव्यको लागि रु ७० लाख बजेटअन्तर्गत अहिले जग्गा चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने लगायतको काम धमाधम थालेको छ।

‘नगरपालिकाभित्रको अत्यन्तै पर्यटकीय सम्भावना बोकेको डोय निकै हरियाली छ, आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ, प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने हाम्रो योजना हो’, नगरप्रमुख श्रेष्ठले भने, ‘ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेगरी नामाकरण गरेका छौँ, मौसम खुलेको समयमा यहाँ आउने जो कोहीले हरियालीका बीच दृश्यावलोकन गर्न सक्नेछन्।’

समुन्दी सतहदेखि करिब दुई हजार दुई सय मिटरको उचाइमा डोय डाँडा ‘ब्लु हिल’ छ। डाँडामा पर्यटकीय सडकसहितका पूर्वाधार निर्माण गर्ने नगरपालिकाको लक्ष्य  छ।

हाल सम्म जग्गा व्यवस्थापनमा रु २० लाख खर्च भइसकेको छ। पर्खाल लागाउने र शिवमन्दिर निर्माणको काम भइसकेको बागलुङ नगरपालिका(९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए।

डिपीआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ। ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरी अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ। यहाँ आउने पर्यटकलाई लक्षित गरी घरवास सञ्चालनमा ल्याउने स्थानीयको योजना छ। रासस

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

0

गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा दुई करोड ३३ लाखको लागतमा ती आयोजना सम्पन्न भएका हुन् ।

ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ । आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ । गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो ।

आगामी वर्ष वडा नं ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रष्टको एक करोड १५ लाख सहयोग र उपभोक्ताको श्रमदानसहित दुई करोड ४१ लाखको लागतमा दुईवटा खानेपानी आयोजना निर्माणको तयारी भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

ट्रष्टको सहयोगमा ५१ जिल्लामा निर्माण भएका दुई हजार तीन सय ८० खानेपानी आयोजनाबाट ६३ हजार घरपरिवार लाभान्वित भएका जनाइएको छ । रासस

म्याग्दीका लेकाली क्षेत्रमा ‘ढकायो’ टिप्ने चटारो

0

म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ। तरकारीको रूपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ।

जिल्लाको कुइनेमङ्गले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जा लगायत गाउँबस्तीका स्थानीयले ढकायो टिप्ने गरेका छन्।

रघुगङ्गा गाउँपालिका– ८ कुइनेमङ्गलेका जीवन छन्त्यालले अहिले लेकाली क्षेत्रका जङ्गलहरूमा ढकायो टिप्ने चटारो बढेको बताए। एक प्रकारको जंगली साग ढकायोका पात र डाँठलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिएका उनले बताए।

त्यसलाई गुन्द्रक बनाएर बेमौसममा समेत उपभोग गर्ने गरिन्छ। सो गुन्द्रक उपहारका रुपमा देशका विभिन्न भूभाग र विदेशमा समेत लैजाने चलन रहेको कुइनेमङ्गलेका नरे छन्त्यालले जानकारी दिए।

उनका अनुसार वैशाखदेखि असारको पहिलो हप्तासम्म ढकायोसँगै निउरो, वनलसुन, वनधनिया, टुसा, च्याउसमेत सङकलन गर्ने गरिएको उनको भनाइ छ। रासस

मोना सांगीतिक साँझको तयारी पूरा

0

बहराइनमा रहेका म्याग्देलीको साझा संस्था मोना बहराइनको आयोजनामा हुने मोना सांगीतिक साँझको तयारी पूरा भएको छ । राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष महावीर पुनको अनुसन्धान,नवप्रवर्तन र आविष्कारको लागि स्थापित राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ आयोजित मोना सांगीतिक साँझको प्रचारप्रसार सहित तयारी पूरा भएको अध्यक्ष विकास पुनले बताए । मे २ मा चर्चित गायक प्रकाश दुतराज, सम्भोज मल्ल गायिका पूर्णिमा लामा र मोडेल अस्मि थापाको प्रस्तुती रहने सांस्कृतिक साँझ भब्य हुने अध्यक्ष पुनको भनाई छ ।

अध्यक्ष पुनले तत्कालिन समयम गायक गगन पुन कुमर पुन, सुबिन गौचनसँगको सांगीतिक यात्राको स्मरण समेत अहिलेको तयारीको क्रममा भइरहेको बताए । उनले मोना सांगीतिक साँझमा सम्भोज मल्लसँग “पर्खी बसे तिमीलाई“ भन्ने बोलको गीतमा डोयट गर्ने बताए । उनले मोना सांगीतिक साँझमा आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ नाँगीमा जन्मिएर आविष्कारको क्षेत्रमा सक्रिय महाबीर पुनको अभियानलाई साथ दिन कार्यक्रम गरिएकाले बहराइनमा रहेका नेपालीहरुको समेत उत्साहजनक उपस्थिती हुने छ । मोना बहराइनको अभियानमा मोना अन्तराष्ट्रिय, एनआरएन बहराइन लगायतका संघसंस्थाले समेत सहयोग गरेका छन् ।

सांगीतिक कार्यक्रमबाट हुने मुनाफा रकम महावीर पुनले नेपालमा स्थापना गरेको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई सहयोग गरिनेछ । फराकिलो सोच र राष्ट्रको हितमा हिँडेका महावीर पुन कस्ता व्यक्ति हुन् भन्ने बारेमा देश विदेशमा चर्चाको विषय बनेको अवस्थामा मोना बहराइनले सांगीतिक साँझमार्फत थप सहयोगको अभियान सञ्चालन गरेको निर्वतमान अध्यक्ष लोक राम्जालीले बताए ।

टोकियोमा म्याग्दी महोत्सवको झल्को दिने नेपाली फेस्टिभल सम्पन्न

0

जापान, टोकियो : जापानको टोकियोमा अवस्थित खामी इतावासी हेवा क्वोइन (पार्क) तोरन (धर्ज्यु)ले सजी सजाउ छ । प्रवेशद्वारमा “स्वागत छ मोना इतिवासी नेपाली फेस्टिभल” लेखिएको ब्यानर छ भने म्याग्दीका पर्यटकीय क्षेत्रका तस्बिर अंकित ब्यानरले एक पटक म्याग्दी नै पुर्‍याउँछ । जापानको इतावासी नगरपालिका तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले संयुक्तरूपमा आयोजना गरेको फेस्टिभलका लागि पार्कलाई झकिझकाउ बनाइएको हो ।

No description available.

दुई दिवसीय फेस्टिभलको दोस्रो अर्थात अन्तिम दिनसमेत विभिन्न गतिविधिसहित सांस्कृतिक प्रस्तुति रह्यो । म्याग्दी सदरमुकाम बेनीमा हुने म्याग्दी महोत्सवको झल्को दिने गरी उक्त फेस्टिभलमा हजारौं नेपाली तथा जापनिज नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली कला, संस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक एवम् गन्तव्यहरूको बारेमा जापानी समुदायकाबीच प्रवर्द्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको फेस्टिभलको पहिलो र दोस्रो दिन विभिन्न झाँकीसहित कार्यक्रम स्थल परिक्रमा गरिएको थियो ।

No description available.

जापानिज गीत संगीत र नेपाली गीत संगीतमा कलाकारहरूले दिएको प्रस्तुतिले फेस्टिभल संगीतमय बन्यो । जापानका चर्चित रेस्लरहरुले रेस्लिङ खेल प्रस्तुत गरेका थिए, जुन आकर्षणको केन्द्रबिन्दु बन्यो । दर्शकहरूले रेस्लिङको भरपुर मनोरञ्जन लिए । धिमे नृत्य तथा तमु धिका कलाकारको प्रस्तुति अर्को आकर्षणको केन्द्र बनिरहँदा थाली नृत्यले माहोललाई तताएको थियो ।

No description available.

फेस्टिभल संयोजकद्वय ज्ञानेन्द्र कार्की र सुजुकी ताकुयाको स्वागत मन्तव्य रहेको कार्यक्रमना बोल्दै प्रमुख अतिथि सकामातो ताकामासीले नेपाली समुदायसँग मिलेर पहिलो पटक कार्यक्रम आयोजना गरेको बताउँदै भविष्यमा पनी सहकार्य गर्ने बताए । उनले हालको आँकडाअनुसार उदाबासीमा विदेशीको संख्या बढ्दै गएको बताउँदै त्यसमध्ये नेपालीहरू तेस्रो स्थानमा रहेको बताए । दुई देशबीचको सम्बन्ध र संस्कृतिको आदान-प्रदान गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै ताकामासीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।

No description available.

समुद्घाटन समारोहअघि घुम्टे नौमती बाजा समूह, धौलागिरी भजन समूह, मोहन ड्रागन महर्जन समूहको नेवारी संस्कृतिमा आधारित लाखे नृत्यसहितको झाँकी, नेपाल आदिवासी जनजाति महासंघ जापानका विभिन्न जातजातिका भेष भूषा र संस्कृति झल्कने सांगीतिक प्रस्तुतिसहितको झाँकीले फेस्टिभल स्थल परिक्रमा गरेका थिए । प्रत्यक्ष दोहोरी, जापानिज बालिकाहरूको नाच, १२-१५ वर्ष उमेर समूहका बालबालिकाले जापानको पुरानो मौलिक धुन, धिमे बाजा, लाखे नाच, कार्यक्रमको समापन पूर्व म्याग्देली सालैजो गायन र हजारौंको उपस्थितिले म्याग्दी महोत्सवको झल्को दिएको थियो । संघ जापानका अध्यक्ष तथा कार्यक्रमका सभापति विशाल केसीले नगरपालिकासँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । उनले नगरपालिका तथा फेस्टिभल आयोजक मूल समारोह समितिलाई आभार प्रकट गरेका थिए ।

No description available.

आइतबार साँझ समापन गरिएको फेस्टिभलमा सहभागी जनाउन कतार, कोरिया, नेपाल तथा हङकङदेखि पाहुनाहरू जापान आइपुगेका थिए । जसमा हङकङबाट मोना आईसीका संस्थापक अध्यक्ष प्रकाश पुन, दक्षिण कोरियाबाट मोना आईसीका महासचिव सुनेश केसी र कतारबाट मोना आईसीका कोषाध्यक्ष नरेन्द्र फगामी र उनकी धर्मपत्नी फूलमति फगामी, मोना कोरियाका उपाध्यक्ष रिम भण्डारीलगायत रहेका थिए ।

No description available.

समारोहमा जापानका लागि नेपाली कार्यवाहक राजदूत अम्बिका जोशी, मोना आईसीका अध्यक्ष ददिवल खड्का, इभेन्ट पार्टनर रोबिन शेरचन, एनआरएन जापानका अध्यक्ष नवीन निउरे, मोनाका आईसीका संस्थापक अध्यक्ष प्रकाश पुनलगायतले शुभकामना मन्तव्य दिएका थिए । मोना जापानले फेस्टिभल सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यबाद तथा आभार प्रकट गरेको छ ।

 

मोना जापानले सार्वजनिक गरेको धन्यवाद तथा आभार विज्ञप्ति

इताबासी नगरपालिकाको सहकार्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले यही अप्रिल २७ र २८ तारिख आयोजना गरेको दुई दिवसीय मोना फेस्टिभल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने समस्त महानुभावहरू प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहान्छौं ।

 

मेयर साकामोतोज्यू सहित इताबासी नगरपालिका परिवार, नेपाली राजदूतावास, मोना आइइसी, एनआरएनए जापान, इभेन्ट पार्टनर रोबिन शेरचन, प्रमुख प्रायोजक ददिवल खड्का, गण्डकी प्रदेशअन्तर्गतका सबै संघसंस्थाहरू, भात्तृसंगठन, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जापान शाखा, पुन क्लब लगायतका जापानमा क्रियाशील सबै संघसंस्था, समस्त प्रायोजक, स्टल राखेर सहयोग गर्नुहुने व्यवसायी मित्रहरू, मिडियाकर्मी, जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरू तथा समस्त जापानी मित्रहरूमा मोना जापान परिवार हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछ ।

जापानमा फेस्टिभल जस्तो एउटा महत्त्वाकांक्षी कार्यक्रमको आयोजना गरिनु आफैमा चुनौतीपूर्ण त छँदै थियो, त्यसमाथि संयुक्त कार्यक्रम भएकोले निश्चित दायरा र सीमाभित्र रहेर कार्यक्रम सम्पन्न गर्न त्यति सहज थिएन । तथापि यहाँहरूको आर्थिक, नैतिक, भौतिक र भावनात्मक ऐक्यबद्धतासहितको साथ, सहयोग र समर्थनले फेस्टिभल भव्यतापूर्वक सफल भएको यस अवसरमा खुसी व्यक्त गर्न चाहन्छौ । कार्यक्रम सम्पन्न गर्ने क्रममा भएका छिट फुट कमीकमजोरीप्रति हामी बिना कन्जुस्याइँ क्षमा याचना पनि गर्न चाहान्छौं । यस फेस्टिभलको आयोजनाबाट नेपाल र जापानबिचको उच्चस्तरीय असल सम्बन्धमा एउटा अर्को एउटा इँटा थप्ने काम भएको हामीले महुशस गरेका छौँ । नेपाली र जापानी जनताबिचको जनस्तरिय सम्बन्धलाई केन्द्रमा राखी सामाजिक, सांस्कृतिक, फुड कल्चर जस्ता विषयमा आदान-प्रदान गर्नुका साथै पारस्परिक सहकार्य गर्ने संस्कारको विकास गर्ने उद्देश्यले आयोजित फेस्टिभल मोना जापानको इतिहासमा एउटा गर्वानुभूति गर्न लायक कार्यक्रमको रूपमा हामीले लिएका छौँ ।

आफ्नो अति व्यस्तताको बाबजुद पनि कलात्मक साङ्गीतिक प्रस्तुति गरेर योगदान पन्याउनु हुने नेपाली तथा जापानी समस्त कलाकारहरू, स्वयंसेवक मित्रहरूका साथै हङकङ, दक्षिण कोरिया, कतार, नेपाल लगायतका विदेशबाट पाल्नुभएका मोना अभियन्ताहरू सबै-सबैमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं । साथै सिङ्गो कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारीका साथै ध्वनि व्यवस्थापनमा खट्नुहुने आदरणीय व्यक्तित्वहरू सबै जनामा मोना जापानको तर्फबाट मुरमुरी धन्यवाद ज्ञापन गर्दछौँ । आगामी दिनहरूमा पनि यहाँहरूको यस्तै साथ, सहयोग, माया र सहकार्य रहिरहने अपेक्षा सहित जापानवासी नेपालीहरूको हितलाई केन्द्रमा राखी गरिने हरेक जायज कदममा मोना जापानको पनि ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

डढेलो न्यूनिकरणका गर्न सबै पक्षको सक्रियता आवश्यक

0

पर्वतको जलजला गाउँ पालिकाको आयोजनामा बन डढेलो तथा जोखिम ब्यबस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार गाउँपालिकाको कार्यालय लामाखेतमा जलजला गाउँकार्यपालिकाका पदाधिकारीहरू, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, डिभिजन वन कार्यालय पर्वतका कार्यालय प्रमुख र कर्मचारीहरू विच वृहत अन्तरकृया कार्यक्रम गरिएको हो । जलजला गाउँपालिका भित्रका ५९ वटा सामुदायिक बन उपभोक्ता समितिका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा डिभिजन बन कार्यालय पर्वतका प्रमुख झ्याम नारायण सापकोटाले बन डढेलोको कारण, असर र त्यसको न्यूनीकरण सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले अहिले सम्मको आंकडा अनुसार पर्वत जिल्लामा सबैभन्दा बढी बनडढेलो जलजलाको बन क्षेत्रमा हुने गरेको समेत बताउनुभयो । त्यसैगरी डिभिजन बन कार्यालय पर्वतका सुचानाधिकारी राम बहादुर बि.क.ले गण्डकी प्रदेशका सबै जिल्लाको मार्च २४ सम्मको बन डढेलोको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले बन ऐनको जटिलता, व्यक्तिगत जग्गामा बढेको बनका कारण सामुदायिक बनलाई परेको अफ्ठ्यारो, बन्य जन्तुले पुर्याएको क्षतिपूर्ती समयमा प्राप्त गर्न नसक्नु, राहत उद्दार कार्यमा खटिने ब्यक्तीलाई सामाग्रीको ब्यबस्था नहुनु, वन ऐन उपभोक्तामैत्री नहुनु जस्ता सवाल उठाएका थिए ।सहभागीहरुले उठाएका प्रश्नहरुको डिभिजन बन कार्यालयका प्रमुख सापकोटाले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा बन संरक्षण र विपद ब्यबस्थापन सम्बन्धमा योजना माग, सामुदायिक बनमा पानीको श्रोत कायम राख्न र बन्यजन्तुलाई पिउने पानीको लागी पोखरी निर्माण साथै बन पैदावारको प्रयोग सम्बन्धमा समेत छलफल र अन्तरक्रिया भएको थियो ।

कार्यक्रम बाताबरण तथा बिपत ब्यबस्थापन समितिका संयोजक वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसीको अध्यक्षता, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद आचार्यको स्वागत र जलजला गाउँ पालिकाका सुचानाधिकारी भेषनाथ आचार्यले संचालन गर्नुभएको थियो

आमाको स्मृतिमा विद्यालयमा अक्षय कोषको स्थापना

0

म्याग्दीको रघुगंगा गाउँपालिका-५,झिँस्थित महेन्द्र माविमा स्वर्गीय आमाको स्मृतिमा साढे दुई लाखको अक्षय कोष स्थापना गरिएको छ । रघुगंगा गाउँपालिका-५,झिँ हाल हङकङमा बस्ने मञ्जु पाइजा पुनले आफ्नी स्वर्गीय आमा रामदेवी पाइजाको स्मृतिमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने गरी एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरिएको विद्यालयका शिक्षक होम केसीले बताउनुभयो ।

सहयोगदाता पाइजाले विद्यालयलाई एक थान कलर प्रिन्टर र एक थान साधा प्रिन्टर गरी दुई थान ६२ हजार बराबरको प्रिन्टर सहयोग गर्नुभएको छ ।
अक्षय कोषको ब्याजबाट प्राप्त सहयोगबाट गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई सहयोग गरिने विद्यालयका प्रधानाध्यापक याम शेरपुञ्जाले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा बुबा कलबहादुर पाइजा, श्रीमान युवराज पुर्जा , वडा अध्यक्ष मन बहादुर शेरपुञ्जा, विब्यस अध्यक्ष पदम बहादुर शेरपुञ्जा लगायतको उपस्थिती रहेको थियो ।

जानकीको दुःखान्त कथा

0

‘बाह् वर्षपछि खोलो पनि उभो फर्किन्छ भन्थे तर म्याग्दीको बेनी नगरपालिका-६,डम्बराकी जानकी विकलाई कसैले बनाएको यही उखानले नै झुक्कायो । सुन्दर भविष्यको सपना बुनेर आर्थिक अवस्था अत्यन्तै कमजोर परिवार खर्च चलाउन, चार छोरीहरूको लालनपालनका लागि बि.स २०६१ फागुन ९ गते श्रीमान मैतकुमार विकलाई साउदी अरब उडाएर फर्किएकी जानकी श्रीमान परदेश गएपछि घरको अवस्था सुध्रिनेमा ढुक्क थिइन ।

साउदीमा पुगेका श्रीमानको कमाइ पनि राम्रै थियो घर खर्च चलिरहेको थियो । केहीबर्ष घरखर्च चलाउँदै आएका मैतकुमारले साथीहरूलाई दिएको सापटी पैसा फिर्ता नभएपछि १६ बर्षसम्म साथीहरूलाई दिएको सापटी माग्दामाग्दै परदेशमै अस्ताए । उनको साउदी अरब गएपछिएकपटक पनि घर फर्कने सोच पलाएन ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८, जलथलेबाट बेनीमा बस्न थालेकी जानकीले १६ बर्षसम्म श्रीमानको पखाईमा विताइन् । केही वर्षपछि गाउँकासाथीहरु घर फर्किए। तर जानकीका श्रीमान फर्केनन्। श्रीमानको पखाईमा बसेकी जानकीले बि.स २०७७ साल मंसिरमा सुतिरहेको ठाउँमा असामयिक निधन भएको खबर पाइन् ।

१६ बर्षसम्म स्वदेश नफर्केका मैतकुमार चार महिनापछि फागुन २६ गते काठको बाकसमा फर्किए । श्रीमानको शव नेपाल पठाउन समेत जानकीले धेरैलाई अनुरोध गर्नुप¥यो । नेपाली दुताबासलाई हम्मेहम्मे पर्यो, सानो कम्पनीमा काम गर्ने र बिगत १६ बर्षदेखी जीवनबिमा, श्रम सम्झौता नभएकाले आवश्यक कानुनी सहयोग गरि आर्थिक जुटाएर घर पठाइयो ।

वैदेशिक रोजगारीमा पुगेका श्रीमानले धन कमाएर ल्याउँला र सुखसँग जीवन बिताउँला भन्ने जानकीको सपना थियो, त्यो भताभुङ्ग भयो । एक्कासी काठको बाकसमा शव आएपछि श्रीमान् घर आउने प्रतीक्षामा दिन गनेर बसेकी जानकीको जीवनकै भरोसा टुट्यो, सहारा गुम्यो ।

लाउँला खाउँला भन्ने उमेरमा भएको श्रीमानको अकल्पनीय मृत्युको बज्रपातले जानकीलाई‘न दिनमा भोक न रातमा निद्रा’ को स्थितिमा पु¥याइदियो। दिनभर मजदूरी गरी चार छोरीहरूको विवाह गरेकी जानकी अहिले डम्बरामा एउटा टिनको छाप्रोमा बस्छिन् ।

सानो झुप्रोमा उनले अहिले छोरीज्वाँइले छोडेर अलपत्र पारेकी नातिनी सृष्टि विकसँग जीवन व्यतित गर्दै आएकी छन् ।मंगला गाउँपालिका–१ कुहुँका ज्वाइँले अर्को विवाह गरेको केही बर्षपछि छोरीले समेत दोस्रो विवाह गरेपछि नातिनीको लालनपालन र पठनपाठनका लागि आफूसँगै राखेर सहारा दिइरहेकी छन् । आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर नातिनीको शिक्षादीक्षाका लागि पसिना बगाएकी छन् तर, पनि जानकीले गरिबीबाट छुटकारा पाएकी छैनन् ।

‘मैले पाएको दुःख शब्दमा वर्णन गर्न सक्दिन, आफ्ना दुःख सम्झिदाँ पनि अझै सपनाजस्तै लाग्छ’ जानकीले भनिन् । डम्बरामा श्रीमानले पठाएको पैसा संकलन गरी एउटा छाप्रो खरिद गर्ने पैसा दिएपनि अपुग भएको बताइन् । ‘उहाँको पखाईमा जवानी बित्यो, दुःख गर्दागदैं वित्नुभयो, केही अपूरो सपना पूरा गर्न अहिले पनि मजदुरी गर्दछु‘जानकीले भनिन् ।

अहिले नातिनीको खुसीको लागि आफ्ना पीडा मनभित्रै गुम्साएर राखेकी छिन्। नातिनीको शिक्षादीक्षामा लाग्ने खर्च, घरको गर्जोटार्न दिनरात मिहिनेत गर्छिन्। बु्ढेशकालमा पनि दुःखले हाँगा हालेको अवस्थामा पेटभरी नखाई साहसका साथ जिन्दगी जिइरहेकी उनका अब दुई वटा लक्ष्य छन्। छोरीले अलपत्र छोडेकी नातिनीको शिक्षादीक्षा, र घडेरीका लागि अपुग डेढ लाख पैसा जुटाएर पास गर्ने ।

भोकभोकै रात विताए
तीनवटा कोठा भएको टिनको छाप्रोमा रित्तो ग्याँसको सिलिण्डर, सानो चुल्हो छ । नजिकै रहेको म्याग्दी खोलाबाट चलेको सिरेटोले मुटु नै कमाउने गरी हावा,बर्खाको समयमा टिनको छानोले पानी ओत्दैन । चर्को घाममा टिन तातेर र हावाहुरी चल्दा भत्किएर अप्रिय दुर्घटना हुन सक्ने खतरा उत्तिकै छ ।

झट्ट सुन्दा र प्रत्यक्ष गएर हेर्दा यो सुत्ने कोठा जस्तो नै लाग्दैन । पेटभरी खाने अन्न छैन्,‘मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको छ’ जानकीले भनिन् । नातिनीलाई पेटभरी खान दिन नसकेको पीडाले रातभरी निन्द्रा समेत नलाग्ने उनले सुनाइन् । उनले धेरै रात एक छाक खाएर भोकै सुत्ने गरेको दर्दनाक कथा सुनाइन् ।

सुत्ने र खाना पकाउने कोठामा पुगेपछि जानकीले आँखाभरी आँसु निकाल्दै भनिन्, ‘जिवितै भए पनि नर्कमा छु जस्तै लाग्छ, ‘तपाईले यहाँ क्यामेराले के खिच्नुहुन्छ ?’ उनले दैनिक ज्याला मजदुरी गरी कमाएको पैसाले घर खर्च चलाउन मुस्किल हुने गरेको बताइन् । नातिीनको राम्रो शिक्षादिक्षा दिएर छोरीज्वाईलाई देखाउने हुटहुटी भने मनमा रहेको उनको भनाई छ ।

नेपाल आइडलमा म्याग्दीका सन्तोष पुन उत्कृष्ट १२ मा प्रवेश

0

नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल’को पाँचौं संस्करणमा म्याग्दीका सन्तोष पुन उत्कृष्ट १२ जनामा पर्न सफल भएका छन् । म्याग्दीको बेनी नगरपालिका–८,का सन्तोष पुनले उत्कृष्ट १२ मा छनौट भएपछि अब टप १० का लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाल आइडलको सुरुवातदेखि नै उत्कृष्ट लयमा रहेका पुनले म्याग्दी जिल्लाको पूरानो गीतसँगै यूवापुस्ताले रुचाइरहका कोशेली पस्किरहेका छन् । उनका प्रस्तुतीले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको ध्यान तान्न सफल भएको छ । उनलाई उत्कृष्ट १० भित्र पार्न भोटिङ खुल्ला गरिएको छ । भोटिङका लागि मोवाइलको एसएमएसमा १३ लेखेर ३७००० मा पठाउन सकिन्छ ।

सन्तोषले हालसम्म अडिसन सहित ८ पटक दिएको प्रस्तुतीमा निर्णायकको भूमिकामा रहेका न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटाले प्रेरणादायिक जिम्मेबारी सहित गायन क्षेत्रमा प्रचुर सम्भावना भएको भन्दै प्रशंसा गर्ने गरेका छन् । उनले गोल्डेन माइक समेत पाएका छन् ।

क्यान्सर पीडित आमाको उपचार, बुबाले गरेको पसलको जिम्मेबारी तथा गायन क्षेत्रलाई समेत समय दिएको बताउँदै गायन क्षेत्रलाई थप उचाईमा पुर्याउने भन्दै निरन्तर मेहनत गरिरहेका छन् । उनले कोरोनाको लकडाउनको समयमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । हातमा गितारसँगै परिवारको जिम्मेबारीलाई समेत निभाइरहेका पुनको प्रस्तुती दर्शकले समेत मन पराइरहेका छन् ।

error: Content is protected !!