Thursday, May 15, 2025
21.9 C
Beni
21.9 C
Beni
Thursday, May 15, 2025
Home Blog Page 302

पात्लेखेतका महिलालाई नौमती बजाउने तालिम

0

म्याग्दीको बेनी नगरपालिकाले महिलालाई नौमती बजाउने तालिम सुरु गरेको छ । आमा समुहसँग उपमेयर कार्यक्रम अन्तरगत नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै महिलाहरूलाई आयआर्जनमुलक सीप सिकाउने उद्देश्यले मंगलबारदेखि बेनपा–१०पात्लेखेत र वाखेतका आमा समुहलाई नौमती बाजा बजाउने तालिम सुरु गरिएको हो ।

तालिमको उद्घाटन गदैं बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले ग्रामिण क्षेत्रका महिलाको सक्रियतामा नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै आयआर्जनमा समेत सघाउने भएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो । ‘नौमती बाजा बजाएर पनि राम्रो आम्दानी गर्न सकिन्छ, आमा समूहको अग्रसरतामा भएका कार्यक्रमहरु सफल र दिर्घकालिन समेत देखिएका छन्’ उपमेयर लामिछानले भन्नुभयो ।

गृहिणी महिलालाई आवश्यक ज्ञान सीप र प्रविधि समेत प्रदान गरी नेपाली मौलिकताको जगेर्ना गर्दै आर्थिक विकासमा सघाउने उपमेयर लामिछानेको भनाई छ । गाउँमा विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा विदेश पलायन भएको अवस्थामा महिलालाई सीपसँगै आम्दानीको समेत अवसर रहेको सिद्धबराह आमा समुहकी सचिव गिता रोकाले बताउनुभयो । तालिममा बाजा बजाउने इच्छा भएका महिलालाई अवसर दिइएको छ ।

तालिमा सहभागी ३० जना महिलालाई स्थानीय देबीलाल नेपाली र श्याम नेपालीले एक महिनासम्म प्रशिक्षण दिनुहुने छ । तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष मसबिर रोकाले आमा समुहसँग उपमेयर कार्यक्रममा दुई सेट नौमती बाजा खरिद, तालिम सञ्चालन लगायत महिला लक्षित गतिविधिका लागि ६ लाख, कुटानी पिसानी मेसिनका लागि ३ लाख बजेट विनियोजन भएको बताउनुभयो ।

तालिमको अध्यक्षता वडा अध्यक्ष रोका, स्वागत वडा सदस्य जानकी शर्मा र सञ्चालन नगरपालिकाकी महिला विकास निरिक्षक प्रतिमादेवी शर्माले गर्नुभएको थियो । म्याग्दीमा नौमति बाजाको तालिम लिएका महिलाहरूको सक्रियता प्रभावकारी देखिएको छ । पछिल्लो समय विवाह, व्रतबन्ध, चाडबाड तथा मेला पर्व र उत्सवहरूमा नौमती पञ्चेबाजाको माग बढी हुने गरेको भए पनि बाजा बजाउन सक्ने दक्ष जनशक्तिको भने अभाव रहँदै आएको छ । पञ्चेबाजा बजाउने सीपको पुस्तान्तरण नभएकाले पनि समस्या भएको हो ।

 

 

म्याग्दीमा ट्राफिक सप्ताह सुरू

0

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा ट्राफिक सप्ताह सुरू भएको छ । जिल्ला प्रहरी कार्यालय अन्तरगत ट्राफिक प्रहरी कार्यालयको आयोजनामा तथा स्थानीय तह, विभिन्न संघसंस्थासँगको समन्वय तथा सहकार्यमा साताव्यापी रूपमा विविध ट्राफिक चेतनामूलक कार्यक्रम गरी ट्राफिक सप्ताह मनाउन लागिएको हो ।

सप्ताहको पहिलो दिन सदरमुकाम बेनीबजारमा प्रभातफेरी गरी जिल्ला समन्वय समितिमा पुगेर अन्तरक्रिया कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले ट्राफिक सप्ताहको उद्घाटन गदैं सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको जिम्मेबारी रहेको बताउनुभयो ।

दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्लाका स्थानीय तहका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न, सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन सचेतनामुलक अभियानहरु निरन्तर जारी राख्नुपर्नेमा जोड दिइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू गरिने बताउनुभयो।

म्याग्दीमा सवारी दुर्घटनाको विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।

त्यस्तै ग्रामिण क्षेत्रमा सडकको अवस्था,सवारी साधनको खराब र लाइन्सेन्स नभएका चालक, निजी सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने , भाडाका सवारीसाधनको नियमित मर्मतको अभाव, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेको छ। ट्राफिक सप्ताहमा सचेतनामुलक अभियान, सवारीचाकलको स्वास्थ्य परीक्षण देखि दुर्गम क्षेत्रमा समेत विभिन्न कार्यक्रम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाश सपुत : गायकदेखि चलचित्र निर्देशकसम्म

0

गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिएका छन् ।

निर्देशकका रूपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरे । काठमाडौंमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सार्वजनिक गरियो ।

सपुत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रूपमा उदाएका थिए ।

‘वसन्त’मा पनि उनी आफै मुख्य पात्रका रूपमा देखिँदैछन् । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको सपुतले बताए ।

चलचित्र निर्देशनलाई उनले आफ्नो अर्को सपना भएको रूपमा अर्थाए ।

गायनमा प्रवेश गर्दाताका नै सपुतले चलचित्रमा अभिनेता बन्ने सपना रहेको सुनाउँथे। गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपुतलाई दर्शकले रूचाएका थिए ।

“अभिनेताका रूपमा ‘परदेशी २’लाई मैले परीक्षाका रूपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो”, सपुतले भने, “पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।”

चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उनले सुनाए ।

“चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन छ, लवज छ, मौलिक सङ्गीत छ”, सपुतले भने, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।”

चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उनको भनाइ छ ।

सपुतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताए । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपुतले सुनाए ।

“मैले गायकका रूपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो चलचित्र निर्माण, निर्देशन र अभिनयमा पनि जोडिन्छ”, उनले भने, “यो मेरा लागि अवसर र चुनौती दुवै हो, बाँकी त दर्शकको हातमा छ ।”

कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उनको भनाइ छ ।

चलचित्रमा ‘वसन्त’ पात्रका रूपमा सपुत स्वयंको मुख्य भूमिका रहेको छ । अर्को मुख्य पात्र ‘शान्ति’का रूपमा अभिनेत्री स्वस्तिमा खड्का छन् । चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने उक्त चलचित्र आउँदो वसन्त याममा प्रदर्शनमा आउने सपुतले जानकारी दिए ।

“आउँदो चतै दसैँ र नयाँ वर्षको छेको पारेर चलचित्र प्रदर्शन ल्याउने तयारीमा छौँ”, उनले भने ।

चलचित्रको कथा र सङ्गीत पनि सपुत आफैले तयार पारेका हुन् । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् ।

सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन् । सपुतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ ।

विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक यात्रा तय गरेका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रूपमा चिनिन्छन् ।

मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौं ‘भ्यूज’ पाएका छन् ।

साङ्गीतिक यात्राका क्रममा देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ नहुने सपुतलाई चलचित्र लेखन, निर्माण तथा निर्देशन कत्तिको फाप्ने हो त्यसका लागि भने आउँदो वसन्तु ऋतु कुर्नैपर्छ । रासस

लागुऔषधको कुलतले निम्त्याउँछ अपराध

0

लागुऔषधको कुलतमा फसेका दुई यूवाले नियमित खर्च गर्ने पैसा नभएपछि पर्वतको जलजला गाउँपालिका–२,मल्लाजमा दहमा एक दम्पत्तीको विभत्स हत्या गरे ।

गएको चैत्र महिनाको १९ गते मदिरा र प्रतिबन्धित लागुऔषधको प्रयोग गर्ने गरेका जलजला गापा–२ नेपानेका ३४ बर्षिय कृष्ण बहादुर विश्वकर्मा र कुस्मा नगरपालिका–२,खुर्कोटका ३२ बर्षिय दिपक दर्जीले पेशेवर अपराधीको जस्तै १५ दिनदेखि नै लुटपाटको योजना बनाएर दम्पत्तीको हत्या गरी गरगहना, केही नगद सहित रिचार्ज कार्ड १७ थान लुटेर लगे ।

बैदेशिक रोजगारीबाट फर्किएपछि सवारीचालक बनेका विश्वकर्मा र दर्जी कुलतमा फसेपछि सवारीधनीले निकालेपछि नियमित लागुऔषधको प्रयोग गर्ने गरेका थिए। घटना अगाडी विश्वकर्मा र दर्जी लागूपदार्थको सेवनपछि लठ्ठ थिए ।

बोलेरो र जीपबाट आउने तलबसुविधाले खर्च चलाउँदै आएपनि नियमित गाँजा र मदिरा सेवनको लतमा फसेपछि एकबर्षदेखि काम विहिन भएका थिए । आर्थिक रुपमा विपन्न र परिवारको जिम्मेबारीले समेत थिचेपनि कुलतको साहरामा रमाइरहेका विश्वकर्मा र दर्जीले आफ्नो दैनिक हुने खर्च चलाउनै नसक्ने अवस्था भएपछि लुटपाटको योजना बनाएर एउटा सुन्दर घरको खुसी नै लुटिदिए ।

‘कुलतमा फसेका उनीहरुले लुटपाट गरी खर्च चलाउन घटना घटाएको पुष्टी भएको छ,‘लुटेर गुजरा चलाउने योजना बनाएका थिए’ पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले बेनीअनलाइनलाइ भने । उनले जसरी पनि खानैपर्ने अवस्था भएकाले लागुऔषध किन्नका लागि पैसा जुटाउने मौका हेरिरहेका उनीहरूले परिचय खुल्ने डरले हत्याका घटना घटाएका थिए ।

अभियुक्तद्धय विश्वकर्मा र दर्जीले नियमित गाँजा र मदिरा सेवन गर्ने गरेको पाइएको छ । उनीहरूले प्रतिबन्धित लागुऔषधको समेत सित्तैमा पाएसम्म सेवन गर्ने गरेका थिए ।

दैनिक कागजमा बेरेर साना साना गाँजाको पोकासहित बजारमा आउने गरेका विश्वकर्माले गाउँमा बृद्धबृद्धा र आर्थिक रुपमा बलियो अवस्थामा रहेको परिवारमा लुटपाट गरी संकलन भएको आर्थिकले लागुपदार्थ सेवन गर्ने योजना बनाएको प्रहरीलार्इ बयान समेत दिएका छन् ।

‘कुलतमा फसेका युवाले अपराध जन्माउँछन, समाजमा अब कुलतमा फसेकाहरुलाई निगरानी गर्नुपर्छ’ प्रनाउ भुषालले भने । उनले भात खान छाडेर पनि गाँजा तान्नै पर्ने अवस्थामा अभियुक्तद्धय विश्वकर्मा र दर्जी पुगेको समेत प्रनाउ भुषालको भनाई छ ।

घटनाको अघिल्लो दिन दिउँसो आधा घण्टा घटनास्थल पुगेर रेक्की समेत गरेको भेटिएको थियो । कुलतमा फसेकाहरूबाट परिवारका सदस्य समेत असुरक्षित हुने गरेको अवस्थामा समाजमा घट्ने घटनाका ठूलो हिस्सा मदिरा र लागुऔषधको सेवनबाट हुने भएकाले समयमै निगरानी गर्न नसक्दा समाजमा अपराधिक घटना घट्ने गरेको प्रहरीको भनाई छ ।

दह घटनाका अभियुक्त दर्जी बि.स ०८०साउन देखी माघ महिना सम्म ६ महिना बागलुङ स्थित नव जीवन सुधार गृहमा ६ महिनामा बसेर निस्किएका थिए । प्रहरी अधिकारीहरूका अनुसार यहाँ घट्ने ८० प्रतिशत अपराधिक घटना लागुऔषधकै कारण भइरहेको बताउँछन्।

लागुऔषध प्रयोग गरेर हत्या र जबर्जस्ती करणी गर्ने गरेको भएपनि सबै मुद्दा कर्तव्य ज्यान र जबर्जस्ती करणीमा परिणत हुने भएकाले लागुऔषधकै फरक मुद्धाको रुपमा लामो समयसम्म अभिलेखमा राखिदैन । समाजमा लागुऔषधको कुलतमा फसेकाहरुलाई समयमै सुधारकेन्द्र र उनीहरुको अपराधिक मानसिकताको पहिचान गर्न सकेमा घरायसी हिंसा र समाजमा हुने अपराधिक घटना नियन्त्रणमा सहज हुने भएकाले सचेतनामुलक अभियान समेत सञ्चालन गर्नुपर्ने जानकारहरु बताउँछन् ।

डढेलो नियन्त्रणमा सबै संयन्त्र असफल !

0

म्याग्दीको ९० सामुदायिक र सरकारी वनको १ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा डढेलो फैलिएको डिभिजन बन कार्यालयको आँकडा छ । बनमा आगो लगाएको आरोपमा बेनी नगरपालिकामा दुई जनालाई नियन्त्रणमा लिइएको छ भने एक जनालाई मुद्धा समेत दर्ता गरिएको छ । डढेलो लाग्ने क्रम बढ्दा मानवीय तथा भौतिक क्षतिको जोखिम उच्च हुँदै गएको छ।

हरेक वर्ष यो समयमा आगलागीको घटना हुन्छ भन्ने विषयमा तीनै तहको सरकारी निकाय अनभिज्ञ छैन ।तैपनि आगलागी नियन्त्रण गर्न आवश्यक सामग्री र पूर्वतयारीको अभावमा म्याग्दीका सामुदायिक र सरकारी बन उजाड देखिएको छ । जानाजान वा अन्जानमा जंगलमा आगो लगाउँदा कराडौं बराबरको क्षति भएको छ भने ले चराचुरुङ्गीर अन्य वन्यजन्तुहरु पनि जलेका छन्। उनीहरुको बासस्थानमै खलल पुगेको छ, काठ, दाउरा, जडीबुटी पनि डढेलोका कारण क्षति पुगेको छ ।

सामान्यतया गर्मी बढेसँगै फागुन, चैत, वैशाख र जेठ डढेलो लाग्ने महिनाहरु भएपनि म्याग्दीमा डढेलो लाग्नुको मुख्य कारण मानवीय नै हो । जंगलमा डढेलो लगाएमा चाँडै घाँस पलाउने र पानी पर्दा खरानी बगेर खेतमा गई मल हुने कारणले जंगलमा डढेलो लगाउने गरेको पाइन्छ । खेतबारीमा पातपतिंगर डढाउँदासमेत वनमा डढेलो लागेको देखेपनि उनीहरूलाई कानुनी दायरामा ल्याउन सकिएको छैन ।

मदिरा सेवनकर्ता र बालबालिकाले समेत आगलागी देखेर आसपासका जंगलमा आगो लगाउने गरेको पाइन्छ । म्याग्दीमा सामुदायिक बनको नेतृत्व लिन हौसिनेहरू, तीनै तहका सरकारका निकायले आगलागी नियन्त्रणका लागि गम्भीरतापूर्वक लिनेगरेको छैन ।अहिलेको डढेलोबाट भएको क्षतीको पहिलो जिम्मेबारी नै उपभोक्ता समिति हो ।

उपभोक्ता समितिले बनको स्रोतसाधन बिक्री गरी आर्थिक संकलन गर्ने बाहेक आगलागीबाट जोगाउन पूर्व तयारीमा कुनै समय दिदैनन् । अहिले सामुदायिक बन उपभोक्ता समिति राजनीतिक दलका कार्यकर्ता ब्यवस्थापन गर्ने संयन्त्र जस्तै भएको छ ।सरकारी अधिकारीहरू समुदायस्तरमा बजेट, उपकरणहरु र पीडितलाई आकस्मिक सहायता दिएपछि राज्यको दायित्व सकिने मानसिकतामा देखिन्छन्। स्थानीय सरकारसँग डढेलो नियन्त्रणको प्रभावकारी योजना नै छैन, बनमा अग्नि नियन्त्रण रेखा बनाउने र नियमितरूपमा त्यसको रेखदेख डँडेलो फैलन रोक्ने बारेमा चासो र चिन्ता कतै देखिदैन ।

सामुदायिक वनमा सम्बन्धित उपभोक्त समितिले घाँसदाउरा र काठ बेच्ने बाहेक अन्य केही काम गरेको देखिदैन । स्थानीय तह, प्रदेश र संघीय सरकारले आगलागीको तथ्याङ्क पस्किने बाहेक केही काम गर्न सकेका छैनन् । बन जलेको देखेपनि जनप्रतिनिधिहरूमा न्यूनिकरणका अभियानहरु सञ्चालनका लागी निति बनाउने समय भेटिएको छैन ।

यसबर्ष डढेलोको क्षती टुलुटुलु हेरे बस्न बाध्य भएपनि स्थानीय सरकारले नै वन डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय,सरकारी तथा गैरसरकारी निकायहरुका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिनका लागि पूर्वतयारी गर्न लगायतका लक्ष्यहरु तय गरी प्रभावकारी कार्यान्वयन गर्न सकेमा मात्रै आगामी बर्ष म्याग्दीमा डढेलोको न्यूनिकरणमा सघाउ पुग्छ । नत्र सरकारी निकायलाई सुझाव दिनु ’काग लाई बेल पाक्यो हर्ष न विस्मात’ भने जस्तै हुनेछ ।

 

चारदिन सम्म एउटै ठाउँमा बसेको हिमचितुवा

0

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी नजिकै देखिएको हिमचितुवा चारदिनदेखि बस्ती आसपासमै बसेको छ । गएको शुक्रबार कालिगण्डकी नदी पारी बस्ती नजिक देखा परेको दुर्लभ वन्यजन्तु हिँउ चितुवालाई देखेका स्थानीयले सोमबार दिउँसोसम्म सोही आसपासको क्षेत्रमा देखिएका वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४का वडा अध्यक्ष कर्मा ग्याछो गुरुङले बताए । ‘एउटै ठाउँमा देखिएको छ, बिरामी भएर बसेको पनि हुनसक्छ, उद्धारको आवश्यकता छ’ वडा अध्यक्ष गुरुङले भने ।

हिमालकी रानी भनेर समेत चिनिने हिमचितुवा नजिकै कुकुर पुग्दा माथिल्लो क्षेत्रमा गएर बसेपनि चारदिनसम्म एउटै क्षेत्रमा देखिनुलाई बिरामी भएको हुनसक्ने भन्दै स्थानीयले समेत एक्याप सहितको टोलीलाई समेत उद्धारमा सक्रिय हुन अनुरोध गरेका छ ।

हिमचितुवा आसपासमा क्षेत्रमा रहेका पशु चौपायालाई केही क्षति नगरी बसेकाले बिरामी भएर माथिल्लो क्षेत्रमा जान नसकेको हुनसक्ने अनुमान स्थानीयको छ । समुन्द्री सतहको ३ हजारदेखि ५ हजार मिटरको अग्लो उचाइको क्षेत्र हिउँ चितुवाको मुख्य वासस्थान भएपनि बेलाबोलमा बस्ती आसपासमा आउने गरेको छ ।

रत्नेचौरमा वालमैत्री स्थानिय शासन सम्बन्धि तालिम

0

बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दी र संगम म्याग्दीको संयुक्त आयोजनामा वडा कार्यालयको भवनमा वालमैत्रि स्थानिय शासन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

वडाका निर्वाचितजन प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक एंव शिक्षकहरु, विभिन्न राजनैतिक दलका प्रमुख एंव प्रतिनिधिहरु, आमा समुह, युवा क्लवका सदस्य, विभिन्न आमा समुहका सदस्यहरु सहित ६३ जनाको उपस्थितीमा वालमैत्रि स्थानिय शासन सम्वन्धि अभिमुखिकरण सम्पन्न भएको हो उत्त कार्यक्रममा संगम म्याग्दीका शिक्षा तथा संरक्षण अधिकृत विश्वनाथ आचार्य र संगम म्याग्दीका कार्यकारी निर्देशक दीपक पौडेलले सहजीकरण गर्नुभएको हो ।बालअधिकारका चार पक्षर संस्थागत व्यवस्था गरी पाँच क्षेत्रका कुल ५१ सूचकका वारेमा छलफल गरिएको थियो ।

बालबालिकाको संरक्षणको सुनिश्चितता र स्थानीय तवरमा बालअधिकारको सुनिश्चितताका,बालबालिकाका विशेष आवश्यकता र अवस्थाको सम्बोधन, बालबालिकाको दृष्टिकोणबाट निर्णय प्रक्रिया अघि बढाउन, बालकेन्द्रित ऐन कानुन, नीति, कार्यक्रम, योजनालाई स्थानीय आवश्यकता अनुसार परिमार्जन गर्नको यो अभिमुखिकरण कार्यक्रमले सहज भएको टेक वहादुर थापाले वताउनुभयो ।

सोही कार्यक्रममा वडा अध्यक्ष टेक वहादुर थापाको अध्यक्षतामा १४ सदस्यिय बालमैत्री स्थानिय शासन वडा समिति पनि गठन गरिएको थियो ।

बेनी सामुदायिक डिजिटल अभियानमा ३ वटा प्रोजेक्टर सहयोग

0

म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यामिक विद्यालयलाई डिजिटल विद्यालय बनाउने अभियानमा करिब २ लाख बराबरको प्रोजेक्टर सहयोग गरिएको छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्धार हाल यूकेमा बस्ने पूर्व सिङ्गापुरे र ब्रिटिस लाहुरे कृष्ण बहादुर तिलिजा पुन मगर, तुलचद्र तिलिजा पुन मगर र हाल पोखरामा बस्ने सुरेश कुमार तिलिजा पुनमगरले प्रति प्रोजेक्टर ६५ हजारको दरले १ लाख ९५ हजार बराबरको तीन थान प्रोजेक्टर सहयोग गर्नुभएको हो ।

सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सम्मरबहादुर थापा, प्रअ दिपक श्रेष्ठ, सहायक प्रअ काशिराम रेग्मी, भिम घर्तीमगर, शिक्षक अभिावक संघकी अध्यक्ष बलादेवी राईलाई सहयोगदाताको तर्फबाट पूर्व सिङ्गापुरे आर्मी सुरेशकुमार तिलिजा पुनले हस्तान्तरण गर्नुभएको थियो ।

विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले कक्षा कोठाका लागि आवश्यक सबै डिजिटल प्रविधिको प्रयोग गरी पठनपाठन गर्ने अभियानका बारेमा जानकराी गराएपछि उक्त सहयोग गरिएको सहयोगदाताको तर्फबाट सुरेशकुमारले बताउनुभयो । ‘हामीले शैक्षिक अभियानमा निरन्तर सहयोग गर्ने गरेका छौ,यो विद्यालयले म्याग्दी जिल्लाकै गरिमा बढाएको छ’ सरेशकुमारले भन्नुभयो। सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रममा विद्यालयले सहयोगदातालाई कदरपत्रले सम्मान गरेको थियो ।

बेनी सामुदायिक डिजिटल अभियान अन्तरगत २३ वटा कक्षाकोठामा प्रोजेक्टर प्रयोग गरी इन्टरनेटका माध्यमबाट पढाउने, शिक्षक, विद्यार्थी र अभिभावकलाई समेत सूचना प्रविधिमैत्री तालिम सञ्चालन गरिने, विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा पठनपाठन सहितको योजना बनाएर बेनी सामुदायिक डिजिलट विद्यालय अभियान सुरु गरिएको विद्यालयका प्रअ श्रेष्ठले बताउनुभयो ।

हाल विद्यालयमा ५ वटा कक्षाकोठामा प्रोजक्टर जडान गरी पठनपाठन भइरहेको छ ।यसअगाडी समेत विद्यालयकै प्रअ श्रेष्ठको पहलमा बेनपा–५ पूलाचौरको दलित बस्ती पुरुन्नेमा यूके निवासी तुलचन्द्र तिलिजाको अगुवाईमा भौतिक पूर्वाधार बनाउन २ लाख ४० हजार नगद सहयोग गर्नुभएको थियो।

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्री रविले गरे ३ बुँदे निर्णय

0

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन्।

अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठ्ने गरेका घटना न्यूनीकरणका लागि गर्न तीन बुँदे निर्देशन जारी गरेको हो।

अस्पताल भर्ना हुने शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तै: उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल लग्नुपर्ने, अस्पताल लग्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने/नपर्ने सम्बन्धमा निर्णय गर्न निर्देशन दिएका छन्।

अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने निर्देशनमा उल्लेख छ। प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलब्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको थियो।

काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले ३ बुँदे निर्णय गरेको हो। गृहको आग्रहअनुसार अध्ययन गर्न काउन्सिलले सदस्य डा। विश्वराज दवाडीको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको थियो।

गृहले ३ बुँदे निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकेको छ। पहुँचका आधारमा हिरासत छल्ल स्वास्थ्यलाई बहाना बनाउने घटना यदाकदा देखिएको भन्दै पदभार ग्रहण लगत्तै मन्त्री लामिछानेले यसबारे चासो लिएर छलफल सुरु गरेका थिए।

उनले भने, ‘आवश्यक पर्दा उपचार पाउनु सबैको हक हो । राज्यले त्यो हक सुरक्षित गर्छ नै। तर, कतिपय घटनामा हिरासत छल्न नै अस्पताल जाने प्रवृत्ति पनि देखिएकाले सबैलाई समान व्यवस्था र व्यवहार होस् भनेर केही ‘क्लज’ राख्ने निर्णय भएको हो।’

आँगनमा धारा छ, पानी छैन

0

म्याग्दीको बेनी नगरपालिका-६,छाप गाउँकी ७६ बर्षिया देवकुमारी बानियाँलाई जहिल्यै पानीको चिन्ता हुन्छ ।आँगनमै धारा जडान गरेपछि लामो समयदेखिको पानीको समस्या समाधान हुन्छ कि भन्नेमा आशा पलाएकी उनी धारा जडान भएको दुई बर्ष वितिसक्दा पानी नआएपछि अहिले निराश छिन् । देवकुमारी जस्तै ६८ बर्षिया कोपिला बानियाँले घरकै छेउमो धारा बनेपछि पानीका लागि दुःखका दिन अन्त्य भएको महसुस गर्न पाएकी छैनन् ।

खानेपानी,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयबाट तीनबर्ष अगाडी सुरू भएको काउँले खानेपानी आयोजना प्रयाप्त बजेटको अभावका कारण तीनबर्षसम्म पूर्णता पाएको छैन। आयोजना निर्माणमा भएको ढिलाइले घर–घरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका छापाबासी निरास बनेका छन् ।’धारामा पानी आउँछ भनेर कुर्न थालेको पनि धेरै भइसक्यो’ स्थानीय लक्ष्मी केसीले भनिन् ।

उनले पानी नआउँदै धारा पुरानो र भत्किने अवस्थामा पुगेको बताइन् । ‘गाग्री, ग्यालीन, बाल्टिनमा भरेर राखेको पानीले नै खाने, नुहाउने, गाइवस्तुलाई खुवाउने, शौचालयमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय पूर्णकुमारी बानियाँको भनाई छ । ‘दुईचार महिनामा नै आउँछ भनेको पानी दुईबर्ष बित्दा पनि आउने सुरसारै छैन’ पूर्णकुमारीले भनिन् । धारामा पानी छिट्टै आउने आश्वासन मात्रै दिइरहेको बताइन् ।

अहिले गाउँमा भएको पुरानो धाराबाट पनि निकै कम पानी आउने भएकाले स्थानीयले घर–घरमा जडान गरेको धारामा खानेपानीको आपूर्तीका लागि अनुगमनमा पुगेको टोलीलाई पटक–पटक माग गरेका छन् ।एक घर एक धारा आयोजनामा पानी मिटर जडान समेत गरिने छ । काउँले खानेपानी उपभोक्ता समितिले खोरगैरामा ४४ घरधुरीलाई खानेपानी वितरण गरेको छ ।’अहिले गाउँमा नयाँ धारा छन् तर पानी आउँदैन’, अध्यक्ष कृष्णसिङ बानियाँले भने।

’खाना पकाउनका लागि पनि प्रयाप्त पानी छैन, क्रमागत बजेटको नाममा कनिका छर्केजस्तै बजेट दिएर स्थानीयलाई सास्ती दिने काम भइरहेको छ’ वडा अध्यक्ष बानियाँले भने ।उनले समुदायमै खानेपानीको हाहाकार हुदाँ समेत बार्षिक न्यून बजेटले समस्या भएको बताए । २० हजार घनमिटरको १ वटा र ५ हजार घनमिटरको २ वटा ट्याङ्की सहित धारा निर्माण गरिएपनि पाइप लाइन धारमा जडान र गाड्ने काम बाँकी छ।

कार्यालय प्रमु्ख इन्जिनियर झलकमोहन ओझाले क्रमागत बजेटका कारण खानेपानी आयोजनाले पूर्णता पाउन नसकेको बताए ।‘टुक्रे योजनाले समस्या भएको छ,‘खानेपानीको बाँकी कामलाई समयै सम्पन्न गर्न ताकेता गर्छु’ कार्यालय प्रमुख ओझाले भने ।गत आवमा ८ लाख र चालु आवमा उक्त खानेपानीका लागि १० लाख विनियोजन भएको छ ।

हालसम्म २५ लाख खर्च भएको आयोजनामा मुलबाट ट्याङ्कीसम्मको दूरी १५ सय मिटर छ। अहिलेसम्म १६ घरधुरीमा धारा समेत बनेको छैन । बेनपा–६,पुलाचौरको न्यारी खर्क लगायत ४ वटा मुललाई रिजर्भ ट्याङ्कीमा संकलन गरी वितरण गर्ने लक्ष्य रहेपनि मुहानमा विवाद, पहिरो र पानी सुक्दै जाँदा समस्या भएको कार्यालयले जनाएको छ ।

काँउले–१ मुहान सुकेको छ भने अर्कोमा पहिरो छ । काउले खानेपानी उपभोक्ता संस्थाले कुल ८४ घरधुरीमध्ये अहिलेसम्म १६ घरमा धारा बनाउन बाँकी रहेको छ । यता खानेपानी उपभोक्ता समितिका अध्यक्ष मनोज कार्कीले प्रयाप्त बजेट उपलब्ध गराए ६ महिनाभित्र नै आयोजना सम्पन्न गर्ने दाबी समेत गरे । उनले खानेपानीको बाँकी रहेको काम सकेर छिट्टै धारामा पानी आउने बताए ।