Friday, June 27, 2025
26.3 C
Beni
26.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 693

म्याग्दी महोत्सवको प्रचार-प्रसार तिब्र

आगामी पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने सातौ म्याग्दी महोत्सवको तयारी तिब्र पारिएको छ। म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाका लागि काठमाण्डौमा पर्यटनसँग सम्बन्धित निकायहरु, बैंक तथा वित्तिय संस्थाका साथै विभिन्न सरोकारवालासँग भेटघाट गरिएको छ ।

संघका अध्यक्ष बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, द्धितिय उपाध्यक्ष राजेश शाक्य, कोषाध्यक्ष अमित बानियाँ सहितको टोलीले आर्थिक सहयोग तथा लगानीका लागि वित्तिय संस्थासँग समेत जिल्लाभित्र आर्थिक लगानी सहित महोत्सवका बारेमा छलफल गरेको अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘महोत्सवलाई लक्षित गरी भेटघाट जारी छ, यसपटकको महोत्सवलाई थप ब्यवस्थित बनाउनेछौ’ अध्यक्ष कुटवालले भने ।

महोत्सव सफल बनाउन ३९ वटा उपसमिति गठन गरेर महोत्सवको तयारी तीव्र बनाएको छ । महोत्सव २०७७ र २०७८ मा कोरोना महामारीका कारण हुन नसकेको अवस्थामा यसपटक दर्शकको उत्साहजनक उपस्थिती हुने बताइएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्राएको र व्यापारिक ज्ञान सीप, पुजी र प्रविधि भित्राउन उद्देश्यले महोत्सवको आयोजना गरिएको छ ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने र करिब दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । दुई हजार, पाँच सय र एक सय रुपैयाँ दरका टिकट बिक्री गरिनेछ । महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ । बाल उद्यान, मिनी चिडियाघर, छेलो, अन्ध निशान, झाँकी र भेषभुषाको प्रर्दशनी हुनेछ । एक करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी, एक करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च र नौ लाख नौ हजार ७८९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।

पर्वतमा बाँदर आतङ्क, किसानले हिउँदे बाली लाउनै छोडे

पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ ।

जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको बताए ।

विगतमा मङ्सिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने पुनाखर यतिबेला फुर्सदिलो बनेका छन् ।

बाँदर आतङ्क बढ्दै गएपछि पुनाखरको सँगै जोडिएको विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छाडेका छन् ।

उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोडेका छन् । ‘धान जेनतेन थन्क्याउन सकिन्छ’, टीकारामले भने, ‘हिउँदेखेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भइयो, लगाउनै छोडियो ।’

त्यसैगरी फलेवास–४ का रामप्रसाद गौडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हुल बाँदर पसेर सर्वनास पारिदियो ।

बिहादी गाउँपालिका–३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलुखेती गर्दै आएका थिए । तर बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो तीन वर्षयता आलु रोप्नै छाडेको बताए ।

‘एकपटक पल्केपछि खेती सखाप नपारेसम्म नछोड्ने रहेछ’, उनले बाँदरको हैरानीबारे भने, ‘हजारौं खर्च गरेर महिना दिनसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भए । अहिले जति नै प्रयास गर्दा पनि आलुको व्यावसायिक खेती गर्न सकिएन ।’ बाँदरको हैरानी खेप्न नसकेका उनले दुई वर्षयता बाँदरबाट जोगिने बेसार, अदुवा, तोरीलगायत वैकल्पिक खेतीतर्फ लागेको बताए ।

अहिले जिल्लाभर बाँदरको आतङ्क फैलिएको छ । जिल्लाका ६१ वडामै बाँदरको समस्या नभएको कुनै वडा छैन ।

कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्नुपरेको छ । बाँदर आतङ्क किसानका लागि टाउको दुखाइको विषय बनेको सरोकारवालाको भनाइ छ ।

बाँदर धपाउन समूह बनाएर बस्दा पनि समाधान नभएको स्थानीय गुनासो गर्छन् । मोदी–२ का गुरुदत्त चापागाईँले भने, ‘पहिला कुकुर भुक्दा भाग्थ्यो, अहिले कुकुरलाई नै झम्टिन आउँछ ।’

जलजला–५ की पार्वती खत्रीले रोपेको २५ केजी आलु बाँदर पसेपछि दुई सय बोट पनि बाँकी नराखेर उखेलेको गुनासो गरिन् ।

जिल्लामा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत वडामा आलुखेतीमा पनि बाँदर मुख्य समस्या रहेको भन्दै किसान चिन्तित बनेका छन् । ‘अहिले आलुमात्रै नभएर सुन्तला पनि खान थालेको छ’, बाँसखर्कका समुद्र खत्रीले भने, ‘पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले मान्छेलाई नै झम्टिन आउँछ ।’

जिल्लाका उच्च भेगमा पर्ने गाउँको मुख्य बाली आलुखेती हो । हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको हैरानीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाएको किसानको गुनासो छ ।

दशकअघिसम्म पर्वतबाट अन्य जिल्लामा गहुँ र गहुँको बीउसमेत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गहुँ र गहुँको पिठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

जिल्लाको फलेवास नगरपालिकाले चालु वर्ष किसानलाई आलु र गहुँको बीउ निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको भए पनि अपेक्षित माग नआएको जनाएको छ । ‘फाट्टफुट्ट माग आएको थियो’, कृषि शाखा प्रमुख केदार सापकोटाले भने, ‘बीउ माग गर्ने किसानले बाँदर जोगाइदिने भए लैजान्छौं, नत्र लैजाँदैनौँ भनेका छन् ।’

महाशिला र पैयुँ गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन नसकेपछि अहिले त्यस क्षेत्रमा समेत कृषकहरू हिउँदे खेतीप्रति रुचि देखाउन छाडेका छन् ।

म्याग्दीको तातोपानी कुण्डमा पाँचहजार बढी बिरामी

प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको बेनी नगरपालीका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधीमा पाँच हजार भन्दा बढी विरामीले उपचार सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७९÷०८० को साउन देखि मंसिर मसान्तसम्म पाँच हजार चार सय ३८ जना विरामीहरुले तातोपानी कुण्डमा एक हप्तादेखि १० दिनसम्म डुवेर उपचार सेवा लिएका तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो ।

सचिव केसीले दिएको जानकारी अनुसार साउनमा दुई सय ६४, भदौमा चार सय ११, असोजमा एक हजार नौ सय दुई, कात्तिकमा एक हजार पाँच सय ४८ र मङ्सिरमा एक हजार तीन सय १३ जनाले तातोपानी कुण्डमा स्नान गरेका छन् । त्यसैगरी पुस महिना सुरु भएदेखि तातोपानी स्नान गर्नेको दैनिक तीन सय जनाको हाराहारीमा रहेको छ ।
विरामीहरुको चाप बढेपछि दैनिक दुई÷दुई घण्टाका दरले पुरुष र महिलालाई दुई÷दुई वटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको समितिका सचिव केसीले बताउनुभयो ।

मंसिर महिनामा मात्र नेपालका विभिन्न ३३ जिल्ला र भारतका गरी १ हजार ३ सय १३ जना विरामीहर यहाँ आएका तातोपानी कुण्ड व्यवस्थापन समितिको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कमा उल्लेख भए अनुसार मंसिर महिनामा म्याग्दीबाट ३ं९५,बाग्लुङ ३३५, कास्की १४०, काठमाडौ १०३, रुपन्देही ६९, पर्बत ६३, नवलपरासी २९, मुस्ताङ २७,चितवन २५,तनहुँ १९, कपिलबस्तु १४, नुवाकोट १२, मोरङ १० बाँरा ९, डोल्पा ७, रोल्पा ६, स्याङजा ५, गोर्खा ५,गुल्मी ५,बर्दिया ४, रुकुम ४, उदयपुर ३, कैलाली ३, बाँके ३, झापा ३,धादिङ ३, रसुवा २, दोलखा २, दाङ २, पाल्पा १, प्यूठान १, मकवानपुर १, अर्घखाची बाट १ र भारतबाट २ जना गरी जम्मा १हजार ३ सय १३ जना विरामीहरुले यहाँबाट उपचार सेवा लिएका छन् ।
मंसिर महिनामा उपचारका लागि आउनेहरुमा महिलाको संख्या ८ सय ४५, पुरुष ४ सय ६८ जना रहेका समितिको तथ्याङ्कमा उल्लेख छ ।

चिसो बढेसँगै तातोपानी स्नानका लागि आउने बिरामीको अतिरिक्त पर्यटकको पनि चाप बढेको समितका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो । सहजरूपमा स्नानको व्यवस्थाका लागि महिला र पुरुषलाई स्नान गर्ने फरक–फरक समयतालिका उहाँले जानकारी दिनुभयो । वीरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सयले स्नान गर्नसक्ने क्षमता छ । छोटो समयका लागि स्नान गर्नेलाई छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एक पटकका लागि प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।

एक दिनमा दुई पटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, कम्बल, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कदासम्म विश्राम गरिन्छ ।सात दिन स्नानका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क तोकिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।

 

रघुगङ्गा गाउँपालिकाले गर्‍यो एक करोड ८५ लाख बजेट विनियोजन

????????????????????????????????????

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ योजनामा रु एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिए ।

गाउँसभाले बृहत् घोप्टेखोला र बृहत् चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको एक प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णयसमेत गरेको छ । सङ्घीय सरकारमार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगङ्गा गाउँपालिको वडा नं २ भगवती, ३ पिप्ले र ७ चिमखोलालाई समेटने बृहत् चिमखोला–पिप्ले भगवती खानेपानी आयोजना र वडा नं ५ झिँ र ६ पाखापानीलाई समेट्ने बृहत् घोप्टेखोला खानेपानी योजना सम्झौताका लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ

त्यसैगरी वडा नं ५ झिँको वडा कार्यालय भवनका लागि थप रु २५ लाख बजेट विनियोजन भएको छ । सभाले प्रदेश र सङ्घीय सरकार विशेष र समपूरक योजनासमेत माग गर्ने निर्णय गरेको छ । प्रदेश समपूरकअन्तर्गत पाखापानी–कोटगाउँ–रायखोर–घ्यासीखर्क सडकलाई रु ५० लाख, सङ्घीय समपूरक कोषअन्तर्गत  झिँ वडा कार्यालयलाई थप रु ३० लाख, सङ्घीय समपूरकअन्तर्गत मुक्तिधाम मावि प्राविधिक धारको भवन निर्माण गर्न रु एक करोड ५० लाख बजेट माग गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी सङ्घीय विशेष अनुदानअन्तर्गत वडा नं १ बेगको भुँइपाइले फुटबल खेलमैदान, वडा नं २ को बैँसेरी–साझापानी लिफ्ट सिँचाइ योजना, वडा नं ४ को शिव आधारभूत विद्यालय पुनःनिर्माण, वडा नं ५ को उच्च उचै खेलमैदान र वडा नं ३ को रघुगङ्गा माविको खेलमैदान निर्माणका लागि बजेट माग गरिएको छ भने प्रदेश विशेष अनुदानमा वडा नं ५ को गौरव आधारभूत विद्यालयको पूर्वाधार निर्माणको योजना माग गर्नुका साथै विभिन्न खोलामा वारपारका लागि झोलुङ्गे पुलसमेत माग गर्ने निर्णय गरिएको छ ।

सभाले जग्गा वर्गीकरणका लागि स्थानीय जग्गा वर्गीकरण कार्यान्वयन समिति गठन गरी समितिमार्फत नै आवश्यक कार्य अघि बढाउने निर्णय गरेको छ । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक वर्षमा निर्वाचनलगायतका कारण योजना कार्यान्वयनमा ढिलाइ भएको बताउँदै योजनालाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धित वडा र उपभोक्ताले तत्परता देखाउनुपर्नेमा जोड दिए ।

उनले सीमित स्रोत र साधनका बीच गाउँपालिकाले अत्यावश्यक आवश्यकतालाई प्राथमिकतमा राखेर योजना छनोट र बजेट विनियोजन गरेको बताउँदै पालिकाको स्रोत र साधनले नभ्याउने योजनाका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिने बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले निर्वाचनपछि पालिकामार्फत सञ्चालन हुने योजना कार्यान्वयनको गति बढेको बताउँदै पालिकामार्फत सम्पादित प्रगतिबारे जानकारी गराए । रासस

स्वर्गीय मातापिताको सम्झनामा १० लाखको अक्षय कोष

म्याग्दीको मंगला गाउँपालिका-१,कुहुँस्थित एक विद्यालयमा शैक्षिक तथा खेलकुद गतिविधि सञ्चालन गर्ने गरी स्वर्गीय आमाबुबाको नाममा छोराले अक्षय कोष स्थापना गरेका छन । समाजसेवी स्वर्गीय गणेशबहादुर र पोविसरा रोकाको स्मृतिमा छोरा मुक्ति रोकाले स्थापना गरेको गणेश पोविसरा स्मृति कोषले दिपशिखा माविमा १० लाखको अक्षय कोष स्थापना गरेको हो ।

कुहुँ तुसारेपानी घरभई हाल अष्ट्रिलियामा बस्ने रोकाले स्वर्गीय बुबाआमाको स्मृतिमा स्थापना गरेको कोषमार्फत खेलुकद सहितका शैक्षिक गतिविधिलाई थप सहज बनाउन कोष बृद्धि गरी १० लाख पु¥याएको विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बताउनुभयो । ‘विद्यालयको शैक्षिक विकासमा रोका परिवारको ठूलो योगदान छ,‘कोषमार्फत हरेक बर्ष विविधि कार्यक्रम हुन्छ’ प्रअ खत्रीले भन्नुभयो ।

स्मृति कोषमा रहेको४ लाख ६० हजारलाई बढाएर कोष र विद्यालयको नामबाट खाता सञ्चालन गर्ने गरी १० लाख पु¥याइएको प्रअ खत्रीको भनाई छ ।उहाँका अनुसार पोविसराले कहालीलाग्दो दुर्घटनामा ज्यान गुमाएपछि श्रीमान बि.स २०६३ सालमा तत्कालिन कुहूँ गाविसका सचिव गणेशबहादुर रोकाले दीपशिखा माविमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक पुरस्कार वितरण सुरु गर्नुभएको थियो । समाजसेवी रोकाको कोरोना संक्रमणको कारण निधन भएपछि कोषको नाम गणेशबहादुर र पोविसरा रोकाको स्मृति नामाकरण गरिएको थियो ।

कोषका संरक्षक मुक्ती रोकाले मातापिताको समाजसेवाको यात्रालाई निरन्तरता दिन कोषमार्फत शैक्षिक तथा खेलकुद गतिविधि अगाडी बढाएको बताउनुभयो ।  ‘विपन्न विद्यार्थीको पठनपाठनमा कोषले सहयोगी भूमिका खेल्ने छ,‘समुदायको साथ र मायाँले उत्साहित छु‘ रोकाले भन्नुभयो । कोषमार्फत शैक्षिक, खेलकुद बाहेक स्वास्थ्य शिविर सहित आर्थिक अभावका कारण समस्यामा परेकाको उपचारमा समेत सहयोग गर्ने गरिएको छ । कोषको वार्षिक ब्याजबाट शैक्षिक र खेलकुद गतिविधि सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

कोषबाट आयोजना हुने मंगला गाउँपालिकाभित्रका माविस्तरीय गणेश–पोविसरा स्मृति तथा दीपशिखा कपमा गापभित्रका ५ वटै वडाका विद्यालयले प्रतिस्पर्धा गर्ने गरेका छन् ।

यसैबीच कोषको आर्थिक सहयोगमा सोमबारदेखि सुरु भएको भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रतियोगितामा छात्रातर्फ ५ र छात्रतर्फ ६ टिमको सहभागिता रहेको छ । सोही अवसरमा कोषलेदीपशिखा माविलाई २ थान भलिबल, १ थान जाली, १ थान स्कोर बोर्ड, १६ थान खेलाडीको पोशाक हस्तान्तरण गरिएको थियो । विद्यालयस्तरीय प्रतियोगिता भएकाले खेलाडीको पहिचानमा समेत सहज हुने विद्यालयले जनाएको छ ।

 

उत्साही कपको उपाधी रिभरसाइडलाई

बेनी नगरपालिका–२ बगरफाँटको रिभरसाइड युवा क्लव बेनीमासम्पन्न चौथो नव उत्साही सेभेन ए साइड फुटबल प्रतियोगितामा बिजयी भएको छ ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको फाइनलमा आयोजक नव उत्साही समूह पर्वत वेनीलाई पराजित गर्दै रिभरसाइड च्याम्पीयन बनेको हो । निर्धारित ४०÷४० मिनेटको खेलमा दुवैपक्षबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा ढकेलिएको थियो । ट्राइवेकरमा रिभरसाइटले ३ र नवउत्साहीले २ गोल गरेका थिए । २५ टिम सहभागी प्रतियोगिता पुष ६ गतेदेखि शुरु भएको नवउत्साही समूहका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

एक वटा टिममा ७÷७ जना खेलाडी सहभागि थिए । प्रतियोगितामा विजेता र उपविजेताले ट्रफि मेडल र प्रमाणपत्र सहित रु. ८८ हजार ८८८ र ४४ हजार ४४४ पुरस्कार पाएका छन् । बेनी नगरपालिकाका प्रमुख सुरत केसी, कार्यपालिकाका प्रवत्ता तथा ७ नम्बर वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, क्लवका अध्यक्ष श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभयो ।

अनुसाषित टिमको उपाधी सहित कुश्मा फुटबल क्लवले आठ हजार पुरस्कार जितेको छ । रिभरसाइडका अमित लामा उत्कृष्ट खेलाडी र गोलरक्षक इश्वर गुरुङ भए । उत्साहीका संगम ठकुरी उत्कृष्ट डिफेण्डरको उपाधी पाउँदा ३ गोल गरेका मनसुन युवा क्लव चुत्रेनीका आसिस केसी सर्वाधिक गोलकर्ता बने ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, डिफेण्डर र गोलरक्षकलाई रु. दुई हजार दुई सयका दरले पुरस्कृत गरिएको थियो । सेमी फाइनलमा नवउत्साहीले कुश्मा एफसीलाई शून्यका विरुद्ध १ गोल गरेको थियो । रिभरसाइटले विक्कु फ्यामीलीलाई ट्राइव्रेकरमा पराजित गरेर फाइनल प्रवेश गरेको थियो ।

रेडक्रस सोसाईटी म्याग्दीको सभापतिमा अमर बानियाँ निर्वाचित

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ३० औं बार्षिक साधारण सभा तथा अधिबेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सोमबार जिससको सभाहलमा आयोजित साधारणसभा तथा अधिवेशनबाट उपसभापतिमा विष्णुकुमारी रोका, कासीराम रेग्मी, मन्त्रीमा यामबहादुर चोखाल, कोषाध्यक्ष नवराज पौडेल, उपमन्त्री मोतिराज गौतम, उपकोषाध्यक्षमा शिब बानियाँ रहनुभएको छ ।

त्यसैगरी महिला सदस्यहरूमा दविना रोका, निलकुमारी भण्डारी, टिका घताने, सुरत केसी राजेन्द्र आचार्य, मुक्तीप्रसाद ढुंगाना, हिराबहादुर पुन, तारानाथ शर्मा, हरिप्रसाद सुबेदी र रेशमबहादुर बानियाँ रहनुभएको छ ।

बेनीलाई कालिगण्डकी कटानबाट जोगाउन थप पक्की पर्खाल निर्माण सुरु

कालिगण्डकी नदीले कटान गर्ने म्याग्दीको सदरमुकाम बेनीको उच्च जोखिम क्षेत्रमा पक्की आरसीसी पर्खाल निर्माण सुरु गरिएको छ । दुई वर्षअघि कालिगण्डकीमा आएको बाढीका कारण कटान गरेको क्षेत्र म्याग्दी जेसिजको भवन देखि म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडीको भागसम्म कालिगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालिएको हो । बजारको यो किनार नदी कटानबाट उच्च जोखिममा छ ।
कालिगण्डकी नदी कटानको उच्च जोखिममा रहेको कालिपुल वसपार्क र जेसिज भवन रहेको भागमा पक्की पर्खाल लगाउन गत वर्ष रुपताल संरक्षण एकिकृत विकास परियोजनाले ९ करोड ४५ लाख रुपियाँमा रौताहट–विएनबी कन्ट्रक्शन जेभीसँग ठेक्का सम्झौता गरेको परियोजनाका इन्जिनियर कृष्णबहादुर विकले जानकारी दिनुभयो । परियोजनाका अनुसार २२ महिना भित्र योजना सम्पन्न गर्ने गरी गत वर्ष पुसको दोस्रा हप्ता ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार गत वर्ष कालिपुल वसपार्क स्थित कालिगण्डकी नदीले कटान गरेको क्षेत्रमा ८० मिटर पक्की पर्खाल निर्माण सम्पन्न गरिएको छ । चालु आर्थिक वर्षको जेठ महिना भित्र जेसिज भवन देखि उद्योग वाणिज्य संघको कार्यालय पछाडी सम्मको एकसय ३५ मिटर पक्की पर्खाल निर्माण सक्ने गरी काम थालिएको उहाँले बताउनुभयो ।

रौताह–बिएनबी कन्ट्रक्शन जेभीको सहायक निर्माण कम्पनी माउन्ट धवलागिरि कन्ट्रक्सनका प्रतिनिधि विक्रम हमालले नदी किनारमा पक्की पर्खाल निर्माण गर्न जग खन्न थालेको बताउनुभयो । एक्साभेटरको प्रयोग गरेर काम थालिएको उहाँले बताउनुभयो । तोकिएको समयअवधि भित्र निर्माण सम्पन्न गर्न दुईचरणमा दिन र रातमा गरी काम थालिएको उहाँले बताउनुभयो ।

नदी किनारमा चौध मिटर फराकिलो जग ढलान गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र ८ मिटर अग्लो आरसिसी पर्खाल निर्माण गर्ने योजनामा उल्लेख छ । दुईवर्ष अघि कालीगण्डकीमा आएको बाढीले बेनीको संगमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो । वर्षातका समयमा नदी कटानबाट बजारलाई जोगाउन पक्की पर्खाल लगाउन थालिएको बेनी नगरपालिका ७ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनुभयो । कालिगण्डकी नदीले कटान गर्ने उच्च जोखिम क्षेत्रमा वर्षातका समयअघि नै योजना सम्पन्न गर्न वडाले सहजीकरण गरेको उहाँले बताउनुभयो ।

परियोजनाले यसअघि म्याग्दी बेनीतर्फ तीन करोड तथा पर्वत बेनीतर्फ दुई करोड बराबरको नदी नियन्त्रणको काम सम्पन्न गरिसकेको छ । म्याग्दी खोला तर्फ मंगलाघाट देखि बेनी नगरपालिकाको कार्यालय सम्मको भागमा पक्की पर्खाल लगाउन ठेक्काको प्रक्रिया थालिएको परियोजनाले जनाएको छ ।

कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनीबजारलाई संरक्षण गर्न करिब ५३ करोड बराबरको लागत अनुमान गरिएको गुरुयोजना तयार गरी पक्की पर्खाल लगाउन थालिएको हो । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलिङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बेनी नगरपालिकाले बनाएको छ । साभार ः गोरखापत्र दैनिकबाट

लोकदिप सहकारीले बनायो चार वर्षिय रणनीतिक योजना

म्याग्दीको सदरमुकाम बेनीस्थित लोकदिप बचत तथा तथा ऋण सहकारी संस्था ९साकोस)ले चार वर्षिय रणनीतिक योजना तयार गरेको छ । जिल्लाको पर्यटकीयस्थल टोड्केमा शनिबार र आइतबार गरी दुईदिनसम्म आयोजित रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीले आगामी ४ वर्षको लागि लक्ष्य,रणनीति, बजेट र योजना निर्माण कार्य सम्पन्न गरेको हो ।

आगामी चारवर्षमा संस्थालाई कुन स्थानमा पुर्याउने र के कस्ता काम गर्ने भन्ने विषयमा राष्ट्रियसहकारी बैंकका तालिम शाखाका प्रशिक्षक नवकुमार अधिकारीले सहजीकरण गर्नुभएको थियो।

गोष्ठीमा संस्थालाई आवश्यक पर्ने थप नयाँ कार्यविधि, नियमावली तथा सेयर सदस्य अनुकुलका योजना, संस्थाको सदस्यता विस्तार, सेयर बृद्धि, बचत बृद्धि, सदस्यहरुमा सहकारी तालिम र सहकारी शिक्षा लगायत विविध विषयमा केन्द्रित भएर रणनीति बनाइएको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

संस्थाले आधुनिक प्रविधिको प्रयोगलाई जोड दिदैं मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवालाई यसै आर्थिकबर्षदेखि सुरुवात गर्ने प्रतिबद्धता जनाएको छ । गोष्ठीमा संस्थाका पदाधिकारी, लेखा समिति, सबै उपसमिति र कर्मचारी गरी २१ जनाको सहभागी रहेको थियो ।

राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको गोष्ठीको अध्यक्षता संस्थाका अध्यक्ष हरिकृष्ण गौतम, र समापन कार्यक्रमको अवसरमा उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठले स्वागत तथा सञ्चालन सचिव ओमप्रसाद शर्माले गर्नुभएको थियो ,। संस्थाले ‘सहज पहुँच सहित बिश्वनीय सहकारी’भन्ने भिजन पारित गरेको छ । लोकदिप राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)मा आवद्ध रहेर कारोबार गरिरहेको छ ।

 

 

म्याग्दी समाज फकुओका जापान गठन, अध्यक्षमा कुशल कार्की

म्याग्दी समाज फकुओका जापान गठन भएको छ । फकुओकामा रहेका म्याग्देलीको एकता र सहकार्यका लागि कुशल कार्कीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन भएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रोमी गुरुङ, विकल कार्की, सचिव सविना पाईजा, सहसचिव निश्चल खड्का, कोषाध्यक्ष विजुन खत्री, सहकोषाध्यक्ष खड्क मगर, सहसचिव सफल कार्की रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा सविन क्षेत्री, सन्दिप चोखाल, प्रदिप केसी, उजित खड्का, विवेक खड्का, रोहन मगर, अर्जुन खत्री, श्रीया केसी, सोनी केसी, मन्जु चोखाल, अस्मिता बानियाँ, मञ्जु कार्की, अञ्जना खत्री र रुपेश छन्त्याल रहेका छन् । समाजका अध्यक्ष कार्कीले फकुओकामा रहेका म्याग्देलीसँग नियमित कार्यक्रम तथा समस्यामा परेकालाई सामुहिक प्रयासबाट सघाउने उदेश्यले संस्थाको स्थापना गरेको बताए । पछिल्लो समय अध्ययनका लागि जाने म्याग्देली विद्यार्थीको समस्या समाधानका साथै रोजगार लगायत अन्य सेवाहरुमा समेत काम गर्न सकिने समाजले जनाएको छ ।