Friday, June 27, 2025
24.6 C
Beni
24.6 C
Beni
Friday, June 27, 2025
Home Blog Page 694

नारी जागृति सहकारीको २३औं वार्षिक साधारणसभा

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको आज (आइतबार) २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०७९÷०८० सम्म कुल ५ सय ५ जना शेयर सदस्य रहेको सहकारीको ९१ लाख ६२ हजार तीनसय रुपैयाँ शेयर पुँजी रहेको छ ।

यसैगरी सहकारी संस्थामा जगेडा कोषतर्फ पाँचलाख ५९ हजार आठसय ३९ रुपैयाँ, अन्य कोष एकलाख १९ हजार सातसय ९६, बचततर्फ एक करोड ४५ लाख ८९ हजार छ सय १७, ऋण लगानी एक करोड ७४ लाख ८३ हजार छ सय ८७, शेयर राहत (बचत) कोष ६७ हजार पाँचसय ८४ र तरलता २८ लाख ६२ हजार चारसय ८९ रुपैयाँ रहेको सहकारीले जनाएको छ।

साधारणसभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष चिना बानियाँले संस्थागत, सचिव दुर्गा केसीले प्रगति र कोषाध्यक्ष कमला अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा सहकारीले विभिन्न विधातर्फ सम्मान गरेको छ । सम्मानित हुनेहरुमा दैनिक बचततर्फ ओसिन श्रेष्ठ, मासिक बचतमा धनकुमारी शेरचन र मना गिरी, आवधिक बचततर्फ चन्द्रकुमारी खत्री, रामकुमारी गौचन, उत्कृष्ट कारोबारकर्ता देवी सार्की र लगानीतर्फ उमादेवी पुन रहनुभएको छ । उहाँहरुलाई मायाको चिनो कप उपहार दिएर सम्मान गरिएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले सहकारी संस्थामार्फत ठूलो मात्रामा लगानी गरेर उत्पादन र निर्माण गर्न नसके पनि महिलाहरुको सशक्तिकरण भएको बताउनुभयो । उहाँले सहकारी सघसंस्थाहरुले आर्थिक कारोबार गर्ने मात्र नभई उत्पादन र व्यावसायिकमूलक क्षेत्रमा लगानी वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।

बेनी नगरपालिकाले सहकारीको नियमन गर्नका लागि आवश्यक कार्यविधि बनाएर पारित गरेको हुँदा नगर क्षेत्रमा सञ्चालित सहकारी संघसंस्थाहरुको अनुगमन गरिने उहाँले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले सहकारी संस्थाले समुदायस्तरमा छरिएर रहेका पुँजीहरुलाई एकीकृत गरेर ठूलो मात्रामा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले अब घरका दराजहरुमा हङकङ र सिङ्गापुरका डलर तथा साडी पट्याएर राख्ने समय परिवर्तन भएको बताउँदै दराजभित्र जीवनपयोगी सिपमूलक पुस्तकहरुको संग्रह गरी ज्ञान आर्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाको उद्घाटनसत्रमा सहकारीका पूर्व अध्यक्ष देवी केसी र सल्लाहकार जमुना आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष चिना बानियाँको अध्यक्षता, उपाध्यक्ष दिलमाया बिटालुको स्वागत र सचिव दुर्गा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभाको अवसरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो । रोजगारी र समृद्धिका लागि महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रमको इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो ।

गीतः अघि बढौं उद्यमी बन्नलाई…

‘भुइँमा धुलो छ, संसारमा के छ र सिपै ठूलो छ’
बजेट पार्ने संस्थालाई सम्मान
सर्वप्रथम सबैलाई नमन ।
भुइँमा धुलो छ…
संघसंस्थाले दिनु है हाम्लाई साथ
तालिम दिने सर, मिसलाई धन्यवाद ।
भुइँमा धुलो छ…
दुःख, सुख लाइया छ, खाइया छ
हामीलाई साथ वडाको चाहिया छ ।
भुइँमा धुलो छ…
आशा बोकी पालिका झर्नेछौं
सहयोग गर्नुस्, व्यवसाय गर्नेछौं ।
भुइँमा धुलो छ…
अब छोडौं कोदाली खन्नलाई
अघि बढौं उद्यमी बन्नलाई ।
भुइँमा धुलो छ…
यो गीत अन्नपूर्ण गाउँपालिका–६, घार, म्याग्दीमा आयोजित सर्वोत्तम पीठो उत्पादन तालिम समापनमा सहभागी महिलाहरुले प्रस्तुत गरेका थिए ।

प्रकाश माविले विविध कार्यक्रमसहित ७०औं वार्षिकोत्सव मनायो (फोटोफिचर)

प्रताप बानियाँ
म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले विविध कार्यक्रमसहित ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा पूर्व विद्यार्थी तथा जनप्रतिधि, शिक्षक–विद्यार्थी सम्मान, विज्ञान प्रदर्शनी, प्रकाशपुञ्ज बिमोचनलगायत कार्यक्रमहरु गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले विभिन्न विधातर्फ सम्मान गरेको जनाएको छ ।

सम्मानित हुनेहरुमा पूर्व विद्यार्थीहरुतर्फ गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला समन्वय समितिका सदस्य जानकी विश्वकर्मा, बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ, ६ नम्बर वडाध्यक्ष कृष्णसिं बानियाँ, बेनी नगरपालिकाको कार्यपालिका सदस्यहरु सृजना श्रेष्ठ, कृष्णकुमार विश्वकर्मा, किसान विश्वकर्मा, वडा सदस्यद्वय रमेश फगामी, हिरा पुन, एसएलसी व्याच २०४१ का संयोजक राजेन्द्रकुमार श्रेष्ठ र म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा रहनुभएको छ । उहाँहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

यसैगरी विद्यालयको सर्वाेकृष्ट शिक्षकतर्फ खगेश्वर रिजाल, उत्कृष्ट अतिरिक्त क्रियाकलाप संयोजन डिलप्रसाद श्रेष्ठ, उत्कृष्ट कक्षा शिक्षक नारायणप्रसाद ढुङ्गाना, उत्कृष्ट संयोजक कविराम थापा, लगनशील कर्मचारी भगवान रिजाल, उत्कृष्ट अभिभावक भूपेन्द्र बुढाथोकी, उत्कृष्ट विद्यार्थीद्वय समिर सुवेदी (बालविकास–१०), समुन्द्र भण्डारी (११–१२), प्रशिक्षकतर्फ भलिबलका कुमार किसान, फुटबलका स्वदेश श्रेष्ठ र बास्केटबलका देव मल्ललाई पनि सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो ।

वार्षिकोत्सवको अवसर पारेर युवा रेडक्रस सर्कलद्वारा प्रकाशित प्रकाश माविको साहित्यिक कोसेली ‘प्रकाशपुञ्ज वर्ष–१७ अङ्क १’ विमोचन गरिएको थियो । कार्यक्रममा शुक्रवार गरिएको विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने विद्यालयहरु बेनी बोर्डिङ आवासीय मावि पं्रथम, आयोजक प्रकाश मावि द्वितीय, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र बेनी सामुदायिक मावि तृतीय तथा फर्से धाईरिङ मावि सान्त्वना भएकोमा उनीहरुलाई क्रमशः नगद सातहजार, पाँचहजार, तीनहजार र एकहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको सहायक प्रअ श्रेष्ठले बताउनुभयो ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले विद्यार्थीहरुलाई समयसापेक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । विद्यालयको पूर्व विद्यार्थी एवं आजीवन संरक्षक समेत रहनुभएकी प्रदेश सभा सदस्य गौचनले राज्यले शैक्षिक क्षेत्रमा वर्षेनी बजेट विनियोजन गर्दा प्राथमिकता दिएको भए पनि त्यो पर्याप्त नभएको भन्दै आफूले प्रदेश सरकारमार्फत जिल्लाको शैक्षिक विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, विद्यालयका पूर्व प्रअ हरिकृष्ण सुवेदी, पूर्व विद्यार्थी राजेन्द्रकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका कार्यवाहक सभापति अमर बानियाँ र म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनकुमार श्रेष्ठको अध्यक्षता, सदस्य हरिकृष्ण श्रेष्ठ र विद्यार्थी समिर सुवेदीको स्वागत तथा प्रधानाध्यापक लेखबहादुर हमालले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम सहायक प्रअ विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कालिपुल देखि बगरफाँट जोड्न कालिगण्डकीमा बेलिब्रिज बन्ने

बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटवासीको मागलाई सम्बोधन गर्न बेनीको कालिपुल स्थित कालीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण हुने भएको छ । पर्वत बेनी देखि बगरफाँट जोड्ने सडक कालिगण्डकी नदीले कटान गरेपछि यो वस्ती सडक सुविधाबाट बञ्चित हुँदै आएको छ ।

बेनी नगरपालिका ८ स्थित कालिपुल बजार देखि जलजला गाउँपालिका ३ बगरफाँट वस्तीलाई जोड्ने गरी बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम – कोरला सडक आयोजनाले दुईकरोड रुपियाँ लागत अनुमान सहित टेण्डरका लागि सूचना प्रकाशित गरेको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो ।
बेनी जोमसोम सडक अन्तर्गत पोखरेबगर स्थित कालिगण्डकी नदीमा हाल प्रयोगविहिन अवस्थामा रहेको बेलिब्रिजलाई कालिपुलमा जडान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार आगमी असार महिना भित्रै बेलिब्रिज निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।

बगरफाँट जोड्ने सडक कालिगण्डकीमा आएको बाढीले बगाएपछि दुईवर्ष देखि बगरफाँटवासी सडक सुविधाबाट बञ्चित हुँदै आएका छन् । सडक सुविधाबाट बञ्चित भएका बगरफाँटवासीहरुले कालिपुल देखि बगरफाँट जोड्नका लागि पुल निर्माणको माग गर्दै विभिन्न समयमा आन्दोलन समेत गर्दै आएका थिए ।

कालिगण्डकी नदीमा पुल निर्माणमा पहल गर्ने प्रतिवद्धता नजनाएसम्म गत मङ्सिरको निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारहरुले बगरफाँट पुगेर पुल निर्माण गर्न पहल गर्ने प्रतिवद्धता जनाएका थिए । निर्वाचित भएसँगै पर्वतका सांसद पदम गिरी बगरफाँटवासी समक्ष गरेको प्रतिवद्धता पुरा गर्न काठमाण्डौं स्थित सडक विभागमा पुगेर विभागका डिजी अर्जुनजंग थापासँग छलफल गर्नुभएको थियो ।

निर्वाचनका समयमा नेताहरुले जनाएको प्रतिवद्धता पुरा हुनेभएको छ जलजला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश जिसीले भन्नुभयो ‘म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको भएपनि कालिगण्डकीमा पुल नहुँदा दुर्गम जस्तै छ ।

दैनिक उपभोग्य वस्तु,विकास निर्माणका सामग्री,निजी आवास निर्माण लगायतका सामानहरु ढुवानी गर्दा आठ किलोमिटर दुरीको घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता छ । अहिले बगरफाँटवासीको मागको सुनुवाई भएकोमा खुसी लागेको छ ।’ नदीले कटान गरेको सडक बनाउन संंभव नभएकाले पुल हाल्नुको विकल्प नभएको उहाँले बताउनुभयो । बेलिब्रिज निर्माण भएपछि बेनी सँग बगरफाँट सिधा यातायातमा जोडिने छ ।
करिब तिनसय घरधुरीको बसोवास रहेको बगरफाँटवासीले दैनिक उपभोग्य वस्तुहरु भरियालाई रकम तिरर झोलुङे पुलबाट बगरफाँट पु¥याउँदा सामानको मुल्य महङ्गो पर्नेगरेको वडा अध्यक्ष जिसीले बताउनुभयो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र प्रतिनिधिसभामा पर्वतबाट निर्वाचत सांसद गिरीले कालिगण्डकी नदीमा बेलिब्रीज निर्माणका लागि यसअघि गरेको पहलले सार्थकता पाएको भन्दै बगरफाँटवासीहरु उत्साहित बनेका छन् ।

हिउँदमा सडक बनाउने र बर्खायाममा नदीमा पानीको सतह बढेसँगै बगाउने गरेको थियो । बगरफाँटका बासिन्दा म्याग्दी आवत जावत गर्ने कालीपुल जोड्ने झोलुङ्गे पुलको पनि लठ्ठा खिया लागेर छिन्ने अवस्थामा पुगेको छ । बगरफाँटमा बसोबास गर्ने विद्यार्थी,शिक्षक,कर्मचारी लगायतका सर्वसाधरणहरु म्याग्दी बेनी आवतजावत गर्न निकै समस्या हुनेगरेको छ । bikalpa news

घारका महिलालाई सर्वोत्तम पीठो उत्पादनको तालिम, उद्योग सञ्चालनको आवश्यक सामग्री हस्तान्तरण

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो ।     

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र अन्नपूर्ण गाउँपालिका म्याग्दीको आर्थिक सहयोग एवं सुआहारा कार्यक्रमको प्राविधिक सहयोग रहेको तालिम मिलन म्याग्दीको आयोजना र अन्नपूर्ण–६, घारको वडा कार्यालयको सहकार्यमा सञ्चालन गरिएको थियो । ७ दिनसम्म चलेको तालिममा घारका आमा समूह र कृषक समूहमा आबद्ध ३३ जना महिलाहरुले सहभागिता जनाएका थिए ।

यही पुस महिनाको १ गतेबाट सुरु भई हिँजो (बिहीबार) सकिएको तालिमको सुआहारा कार्यक्रमका पोषण विज्ञद्वय राजेन्द्र अधिकारी, बालकुमारी पुन, कृषि तथा वन विज्ञान विश्वविद्यालय पोखराका सहायक प्राध्यापक अर्जुन सुवेदी र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्मालगायत सरोकारवाला निकाय कार्यालयबाट सहजीकरण गरिएको थियो ।

तालिममा प्रशिक्षकहरुले सर्वोत्तम पीठो उत्पादनको तरिका, बनाउने विधि, समावेश गर्नुपर्ने कच्चापदार्थ र बजारीकरणलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । यसैगरी प्रशिक्षकहरुले उद्योग दर्ता र सञ्चालन प्रक्रिया, जाम निर्माण, उत्पादित तरकारीको सुकुटी बनाउने तरिका, कुकिज तथा लड्डु बनाउने विधिलगायत विषयमा पनि सहजीकरण गर्नुभएको थियो ।

तालिमको अवसरमा स्थानीयस्तरमा उपलब्ध मकै, गहुँ र भटमासको सम्मिश्रण गरेर सर्वोत्तम पीठो बनाई कुकिज र लड्डु समेत बनाएर प्रदर्शन गर्नुका साथै मुक्तिमार्ग माध्यमिक विद्यालय घारका बालबालिकाहरुलाई खुवाइएको थियो । उक्त तालिम समापनको अवसर पारेर सुनौलो हजार दिनका महिलाहरुलाई सर्वोत्तम पीठो वितरण गरिएको थियो ।

उक्त कार्यक्रमको अवसरमा उद्योग स्थापना र सञ्चालन गर्नका लागि पशुुपति बरुवालको अध्यक्षतामा तदर्थ समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा नानीमाया बरुवाल, सचिवमा सुशीला कार्की, कोषाध्यक्षमा शर्मिला खड्का, सहसचिवमा विष्णु बरुवाल, सदस्यहरुमा ज्ञानु बरुवाल, सपना बरुवाल, यमुना बरुवाल, सरस्वती बरुवाल, रिता बरुवाल, शान्ति बरुवाल, विना विश्वकर्मा र जानकी बरुवाल रहनुभएको छ ।

सोही अवसरमा घारमा सर्वोत्तम पीठो उत्पादन गर्नका लागि उद्योग स्थापना र सञ्चालनमा आवश्यक पर्ने तौल तथा सिलप्याक मेसिन, ड्रम, टिनको बाकस, कराई, बाल्टिन, स्टिल चम्चा, चाल्ने भाँडो, त्रिपाल, प्याकिङ प्लाष्टिकलगायत औजार सामग्रीहरु कार्यक्रमबाट हस्तान्तरण गरिएको थियो भने गाउँपालिकाले कुटानी गर्ने विद्युतीय मिल उपलब्ध गराएको छ ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दैै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाहरु व्यावसायिक रुपमा उद्यमी बन्नुपर्ने र यसका लागि पालिकामार्फत आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो । सुआहारा कार्यक्रमका निर्देशक ब्रह्मध्वज गुरुङले तालिमबाट सहभागीहरुले आफ्नो दक्षता हासिल गर्नुपर्ने बताउँदै सहयोग गर्ने सम्पूर्ण निकायहरुलाई धन्यवाद दिनुभयो । सुआहाराका पोषण विज्ञ राजेन्द्र अधिकारीले तालिम अवधिभरमा सिकाइएको ज्ञान, सिपलाई आगामी दिनमा व्यवहारमा उतारेर सफल उद्यमी बन्नुपर्नेमा जोाड दिनुभयो ।

घारका वडा अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्यद्वय चिनबहादुर पुन र क्षेत्रबहादुर बरुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागी जानकी बरुवालले अनुभव सुनाउनुभयो । कार्यक्रमको अवसरमा निर्देशक गुरुङको एक टोलीले अन्नपूर्णको दाना र घारमा सुआहाराद्वारा प्रवद्र्धन गरिएका स्थानीय स्रोतव्यक्तिले गरेको कुखुरापालन व्यवसाय र तरकारी खेतीको स्थलगत अनुगमन समेत गरेको थियो ।

बहुक्षेत्रीय पोषण योजनाको लक्ष्य हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले स्थानीय आमा एवं महिला कृषक समूहहरुलाई बालबालिका, किशोरकिशोरी र समग्र समुदायको पोषण अवस्था सुधार गर्न तालिम सञ्चालन गरिएको आयोजक संस्था मिलन म्याग्दीले जनाएको छ । साथै स्थानीयस्तरमा उपलब्ध विभिन्न अन्न, गेडागुडीबाट सर्वोत्तम पीठो तयार गरी यसबाट विभिन्न स्वादका पोषिलो लड्डु, कुकिज, नमकिन बनाएर विद्यालयको दिवा खाजालगायत समुदायमा व्याप्त बजारिया खाजाको प्रतिस्थापन गर्ने लक्ष्य लिइएको छ ।

सर्वोत्तम पीठोबाट बन्ने परिकारको प्रयोग गर्न साथै घरेलु उद्योगको रुपमा विकास गरी स्थानीय महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउँदै समुदायमा रैथाने बालीको संरक्षण गर्न तथा दीगोपना दिनका लागि यो तालिमले सहयोगी भूमिका खेल्ने अपेक्षा पनि गरिएको छ ।

एउटै वडाबाट १ करोडको सुन्तला उत्पादन

म्याग्दीको बेनी नगरपालिका-४, बास्कुनाकी गौमती खत्रीले यसबर्ष साढे चार लाखको सुन्तला बिक्री गर्नुभयो । विगत तीनबर्षदेखि लगातार सुन्तला बिक्री गर्नु गरेका भएकी खत्रीले गएको बर्ष २ लाख ५५ हजारको सुन्तला बिक्री गर्नुभएकी खत्रीले यसबर्ष उत्पादन बढेपछि दोब्बर आम्दानी गर्नुभएको छ ।

खत्रीको बगानका पाँच सयभन्दा बढी बोटमा फल लागेकाले यसबर्ष उत्साहित हुनुहुन्छ ।कृषक खत्रीजस्तै बास्कुनाबाट यसबर्ष ५५ लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ।

यसपटक सुन्तलाले दाना राम्रो हालेको र ब्यापारीको समेत रोजाईमा परेपछि बेनपा वडा नं ४ अन्तरगत पर्ने सुर्केमेला, बास्कुना र थामडाँडाबाट मात्रै १ करोडको सुन्तला निर्यात हुने वडा अध्यक्ष अणबहादुर खड्का (भगवान०) ले बताउनुभयो। ‘अहिलेसम्मकै धेरै सुन्तला बिक्री भएको छ,‘अर्को बर्ष वडाभित्रको सुन्तला प्रर्वधनमा नयाँ योजना ल्याउँदै छौ’ वडा अध्यक्ष खड्काले भन्नुभयो ।

सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिने बास्कुना बाहेक वडाभित्र सुर्केमेला र थामडाँडाका किसानले समेत सुन्तला खेतीमा आर्कषित भएपछि यसबर्ष विगतको तुलनामा दोब्बर आम्दानी भएको स्थानीय कृषक सन्दिप केसीले बताउनुभयो ।

गाउँमा आएका ब्यापारीहरुले बोटै खरिद गरी टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने आवश्यक सवारीसाधन समेत ल्याउन थालेपछि अहिले चहलपहल भएको छ ।

‘ब्यापारीले सुन्तला टिप्दैछन्,‘अर्को सातासम्म सकिन्छ’ वडा सदस्य समेत रहनुभएका कृषक केसीले भन्नुभयो । सुन्तलाको गोडमेल, मल तथा स्याहारसुसारमा कृषकहरुले ध्यान दिने गरेकाले सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले काठमाडौं, पोखरा लगायतका ठाउँबाट ब्यापारी नै आउने गरेका छन् । यसबर्ष म्याग्दीमा सुन्तला उत्पादन ह्वात्तै बढेको छ।

 

 

 

प्रकाश माविको विज्ञान प्रदर्शनीमा बेनी बाेर्डिङ प्रथम

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज (शुक्रवार) विज्ञान प्रदर्शनी भएको छ । ‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी गरिएको हो ।

जिल्लाकै पुरानो तथा एक मात्र विज्ञान विषयको कक्षा सञ्चालन गरेको प्रकाश माविद्वारा ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित अन्तरमाविस्तरीय विज्ञान प्रदर्शनीको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले उद्घाटन गर्नुभयो ।

विज्ञान प्रदर्शनीमा आयोजक प्रकाश माविसहित बेनी सामुदायिक मावि, बेनी बोर्डिङ आवासीय मावि, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि, फर्से धाईरिङ मावि, माउण्ट एभरेष्ट आवासीय मावि, लिटिल गार्डेन एकेडेमी, बालमन्दिर आधारभूत विद्यालय र ज्ञानप्रकाश मावि दाना सहभागी भएका थिए ।

विज्ञान प्रदर्शनीमा सहभागीमध्ये बेनी बोर्डिङ प्रथम , आयोजक प्रकाश मावि द्वितीय, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र बेनी सामुदायिक मावि तृतीय तथा फर्से धाईरिङ मावि सान्त्वना भएको विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो । उत्कृष्ट विद्यालयहरुलाई क्रमशः नगद सातहजार, पाँचहजार, तीनहजार र एकहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिने उहाँले बताउनुभयो ।

जिल्लाका विभिन्न ९ वटा विद्यालयहरुले सहभागिता जनाएको विज्ञान प्रदर्शनीको इकाई प्रमुख थापा, विद्यालयका पूर्व प्रधानाध्यापक तथा विज्ञान विषय शिक्षक हरिकृष्ण सुवेदी र धवलागिरि माविका पूर्व प्रधानाध्यापक तथा वर्तमान विज्ञान शिक्षक डण्डपाणि सापकोटाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

किताबी ज्ञानलाई व्यवहारमा परिवर्तन गर्न र विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित क्षमतालाई प्रष्फुटन गराउने उद्देश्यसहित विज्ञान प्रदर्शनी आयोजना गरिएको प्रकाश माविका सहायक प्रअ टेकप्रसाद सुवेदीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनकुमार श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालको स्वागत र सहायक प्रअ विनय श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विज्ञान प्रदर्शनीमा सहभागी विद्यालयका विद्यार्थीहरुद्वारा हस्तकलाको प्रयोगमा निर्माण गरिएका सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

 

मैले देखेको, बुझेको म्याग्दीवासी मगरहरु र इतिहासको नालीबेली

म म्याग्दी जिल्लालाई नजिकबाट चिन्छु । म्याग्दी मगर जातीको बाहुल्य रहेको जिल्ला हो । उहिले करिब १३ महिना जति सिंगातातोपानी बजारमा बस्ने अवसर जुरेको थियो ! त्यस अवधिमा म्याग्दीका थुप्रै गाउँहरुमा पुगेको छु । म स्पष्ट पार्न चाहान्छु कि म कुनै इतिहास विज्ञ होइन । कुनै ठुलै सामाजिक बिश्लेषक पनि होइन । एक मामुली नेपाली हुँ, मगर हुँ । आफ्नै बनिबुताे र मजदुरी गरेर आफु र आफ्नो परिवारको ज्यान पालिरहेको छु । त्यसकारण मेरा लेख र बुझाइहरुमा तपाईंका असहमती हुन सक्छन् । त्रुटीहरु हुन सक्छन् त्यसको खण्डन गर्ने अधिकार तपाईंलाई सुरक्षित रहेको अग्रिम जानकारी दिँदै लेख आरम्भ गर्दछु ।

खास गरी बेनी देखी कालीगण्डकी तर्फ छाडेर म्याग्दीखोला तर्फ अर्थात पश्चिम म्याग्दी तर्फका गाउँहरु – सिंगातातोपानी, बरङ्जा, दरुवा, बावियाचौर, ताराखेत, रातेढुङ्गा, दर्बाङ्, फुलबारी, निस्कोट, रुम, डाँडागाउँ, चिउरीबोट, महभिर, सिस्नेरी, देविस्थान, जुक्जा, पोन्थोक, घर्तिथोक, धारपानी, मुना, ताकम्, लम्सुङ्, मुरेनी, गुर्जा यि सबै गाउँमा पुगेको छु । धौलागीरीको काखमा रहेको गुर्जा र लुलाङमा छन्त्याल समुदायको बाहुल्यता रहेछ भने अन्य धेरै जसो गाउँहरुमा मगर समुदायको बाहुल्यता भेटिन्छ ।

Local women of Chimkhola, Myagdi district clad in traditional magar attires performing their cultural dance on Monday, March 21, 2016. Photo: RSS

म्याग्दीको पुर्वी गाउँहरु भने घुम्ने अवसर जुरेन त्यो बेला । शेख, पाउद्वार, खिबाङ्, मराङ्, घोडेपानी, नागी लगायतका गाउँहरु जान पाइएन । पछिल्लो समय आएर थाहा भयो नागी गाउँ आदरणीय चर्चित व्यक्तित्व महाविर पुन दाइको जन्मगाउँ रहेछ । बेनी देखी ठाडै उकालो यात्रा गरेर गलेश्वर सम्म भने पुगेको छु ।

Artists perform tradition Sorathi dance in Beni of Myagdi district, on Tuesday, February 12, 2019. A tradition Sorathi dance is performed by ethnic Magar community in Nepal. Photo: RSS

यसक्रममा यस जिल्लाका मानिसहरुसंग मात्रै हैन यहाँको सुन्दर भौगोलिक पदयात्रासंग नजिक भएँ, यहाँका भाषा, संस्कार र रितिथितिहरु नियाल्ने मौका पाएँ ! ताकम् गाउँका एकजना पुन मगर बुवासंग एक दिन समय बिताएर गफिएका थियौँ । म रुकुमको मैकोट गाउँबाट आएको भन्ने मेरो परिचय पाएपछि उहाँ बुवाले म संग आफ्ना अन्तरङ्गका कुराहरु आदानप्रदान गर्न हौसिनु भएको थियो ।म्याग्दीका पुन मगरहरु पनि उतै रुकुमको हुकाम मैकोटबाट आएका हौँ । पुर्खाहरु उत्पति भएको त्यो भूमी, त्यो गाउँ र समाजमा एकपटक भएपनि ज्युँदो छँदै पुग्न पाए हुन्थ्यो भन्ने उत्कट चाहना छ, उहाँले निकै भावविभोर मुद्रामा भन्नुभएको थियो ।

उहाँका अनुसार म्याग्दीमा भएका थरहरु पाइजा, गर्वुजा, शेर्पुंजा, पुर्जा, पहरे लगायतका सबै थर पुन थर भित्रकै उपथरहरु हुन् । भाषा कसरी हरायो भन्ने सन्दर्भमा उहाँले भन्नु हुन्थ्यो- ”देविस्थान गाउँ भन्दा केही माथी पुस्तौँ पुरानो दरबारको भग्नावशेष छ । जुन अहिले माटोले पुरिएर निशानी मात्रै बाँकी छ । र त्यो दरबार त्यस क्षेत्रको मगर राजाको दरबार थियो । जतिबेला सम्म यस क्षेत्रका मगरहरु मगर भाषा बोल्दथे । करिब पन्ध्रौँ शताब्दीतिर (आज भन्दा ६ युग अगाडी) ति मगर राजालाई जितेर एकजना मल्ल राजाले शासन शुरु गरे । जब मल्ल राजाको शासन शुरु भयो तब दरबारमा काम गर्दै आएका मगर भाषिक मान्छेहरुले आफु आफुमा बोलेको मगर भाषा उनले बुझेनन् र तत्काल उनले उर्दि गरे अब उप्रान्त दरबारमा मगर भाषा बोल्न पाइने छैन !

मल्ल राजाले दरबारमा मात्रै हैन बिस्तारै सम्पुर्ण राजकाजका काममा मगर भाषा प्रयोग गर्न नपाईने र प्रयोग गरेको पाएमा जिब्रो काट्ने कानुन् जारी गरीदिए !” ति बुबाको मौखिक इतिहास आधार मान्दा मल्ल राजाले मगरहरुको भाषामाथी कानुनी प्रतिबन्ध लगाएकै प्रभावले म्याग्दी क्षेत्रका मगरहरुको भाषा एकपछि अर्को लोप हुँदै खसभाषाको बिजारोपण भएको बुझिन्छ । र मलाई लाग्छ बुबाको इतिहास प्रतिको मौखिक चित्रणमा धेरै हदसम्म सत्यता छ । करिब ६ सय बर्ष अघि नै प्रतिबन्धमा परेको मगर भाषा आजपर्यन्त कसरी रहन सक्छ ? ६ सय बर्ष भनेको करिब १० पुस्ता हो ।

अर्को कुरा यही म्याग्दी जिल्लाबाट २०६८ सालतिर ‘कर्पाकेली अनुसन्धान परिवार’ नामको अभियान टोली रुकुम पुर्वको मैकोट गाउँ पुगेको थियो । जुन गाउँलाई मगरहरुको उद्गम थलोको रुपमा चिनिन्छ । र ति कर्पाकेली टीमले पनि भनेका थिए – ‘हाम्रो पुर्खाहरु यतैबाट म्याग्दीतिर लागेको किंवदन्ती छ यसकारण एकचोटी के कसो रहेछ बुझौँ चिनजान गरौँ भनेर मैकोट आएका हौँ !’

त्यसबेला ठ्याक्कै हाम्रो मैकोटीहरुको ठुलो पर्व मंसिरे संक्रान्ति मेला थियो । म त्यो मेला सँगै आयोजना गरिएको पुपाल युवाक्लबको बार्षिकोत्सवको विभिन्न कार्यक्रममा समय दिनु परेकोले कर्पाकेलीका ति पाहुनाहरुसंग लामो भलाकुसारी गरेर संगै समय बिताउँने अवसर पाएनँ । त्यसकारण त्यसबखत उहाँहरुले मैकोटबाट के के सिकेर, सुनेर र जानेर फर्कनु भयो म पूर्ण जानकार छैन ।

तर समग्रमा उहाँहरुले आफ्नो इतिहास खोज्दै मैकोट पुगेको कुरा भने सत्य हो । त्यसकारण चाहे ताकम गाउँमा मैले भलाकुसारी गरेको बुवाको कुरा भनौँ चाहे कर्पाकेली परिवारले मैकोटसम्म पुगेर खोज्न गएको इतिहास भनौँ यो दुवैको अर्थ हो म्याग्दीबासी मगरहरुको पुर्खा रुकुम पूर्वको हुकाम मैकोट बाटै आएको हो भन्नेमा दुईमत छैन । किन की हुँदैनभएको कुरा मौखिक इतिहासमा भए पनि भेटिँदैन ।

Artists perform tradition Sorathi dance in Beni of Myagdi district, on Tuesday, February 12, 2019. A tradition Sorathi dance is performed by ethnic Magar community in Nepal. Photo: RSS

हाम्रो इतिहास लिखित अभिलेखिकरण हुन नसके पनि मौखिक रुपमा बुवाले छोरालाई छोराले नातीलाई सुनाउँदै सुनाउँदै पुस्तान्त्रण हुँदै आउँदा पुस्तौँ पुस्तापछि आज आएर केही यथार्थहरु बाँङ्गिएर, अपभ्रंश भएर आउन सक्छ त्यो मान्न सकिन्छ तर त्यसको मत्लब यो मौखिक इतिहास वाहियात हो भन्ने हुनै सक्दैन । त्यसभित्र ठुलो यथार्थता छ । त्यसकारण म्याग्दिवासी मगरहरुको यो मौखिक इतिहास पनि धेरै हदसम्म सत्य छ ।

Members of the Magar community perform a traditional dance during a Deusi Bhailo programme for celebrations of the five-day Tihar festival, in Beni of Myagdi district, on Saturday, October 29, 2016. Photo: RSS

यसरी हेर्दा पनि म्याग्दीका केही पुन मगरहरुको ‘हामी मगर होइनौँ’ भन्ने तर्क निकै नै कपोलकल्पित र निराधार बन्छ । कर्पाकेली परिवार जो आफै आफ्नो इतिहास खोज्न मगर खाम भाषिक पुन मगरहरुको बाहुल्यता रहेको मैकोट पुगेको थियो उनै कर्पाकेलीले अहिले – ‘हामी पुनहरु म्याग्दीको यही काफलडाँडामा उत्पति भएर जताततै छरिएका हौँ भन्ने कुप्रचार गर्दै बसेको छ ।

ठिक छ एउटा कालखण्डमा काफलडाँडा क्षेत्रमा कर्पाकेली नामका एक शक्तिशाली र अद्घुत क्षेमताका पुन मगर झाँक्रीको जन्म भयो होला त्यसकारण आज उक्त कर्पाकेली पितृको नाममा काफल डाँडामा कर्पाकेली झाँक्री खलकका पुन मगरहरुले कुल पुजा गर्नु, कुल पितृघर निर्माण गर्नु राम्रो कुरा हो गर्वको कुरा हो ।

जुन हामीले पनि गर्ने गर्छौँ मैकोटमा । तर त्यसको मत्लब पुनहरु त्यै काफलडाँडामै उम्रेको झैँ गरी ब्याख्या गर्नु, अझ मगरै होइनौँ भनेर भ्रम पैदा गर्नु जतिको ऐतिहासिक बेइमानी अरु के हुन सक्छ ? इतिहासकाे सच्चाई माथीको ठुलो घात हो यो । स्मरण रहोस् मगर समुदायमा कुलपुजा सम्बन्धीत कुलबाट बढेका जन्मेका कुलभित्रकाहरुले मात्रै गर्ने हो । आज मगर भित्र अनगिन्ती कुलहरु छन् । मगर भित्र मात्रै हैन मगर भित्रका थर उपथरको समेत कयौँ कुल निर्माण भएको छ ।

त्यै अन्तरगत पुन मगर भित्रको त्यसमा पनि म्याग्दीको पुन मगरहरु मध्यको काफलडाँडाको कर्पाकेली एउटा कुल हो अर्थात खलक हो । अनि एउटा कुलको अर्थात खलकको केही सय वा हजारको संख्यामा फैलिएको पुनहरुले लाखौँको संख्यामा रहेका पुनहरुलाई समेत आफ्नै चिहानमा भासेर मगर हैनौँ भन्न मिल्छ ? यो कस्तो खालको चेतना हो ? केही दिन अघि म राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख आदरणिय महाविर पुन मगर दाइलाई यही कुरा बारे जिज्ञासा राख्दै भनेको थिएँ – ”तपाईंको गाउँलेहरुले त हामी मगर हैनौँ भनेर उधुम गर्नु भएको छ यसबारे दुई चार शब्द भन्नु पर्यो दाइ के छ तपाईको बुझाई र सुझाव ?” जवाफमा भन्नु भयो – ”यो छोटो र अबुझहरुको काम हो भाइ । १५/२० बर्ष चल्छ त्यसपछी आफै हराउँछन् ।” दाइको जवाफ पछि मैले अर्को प्रश्न गरिनँ ।

आज म अरुले भन्ने गरेको – ”केही सिमित मानिसले लाहुरे हुन हाम्रो जात र थर चोरे अनि आज आफ्नो औकात देखाउँदै छन्” भन्ने आरोप उहाँहरुलाई लगाउँन चाहान्न । हो मगरको जात चोरेर लाहुरे बनेका कयौँ ताजा उदाहरण छन् । तर कम्तिमा कर्पाकेली खलकका यि पुन मगर दाजुभाइहरुको हकमा यो आरोप ठिक होइन भन्ने मान्छु म । उहाँहरु सच्चा पुन मगरका सन्तान नै हुन भन्ने मेरो दाबी छ । उहाँहरुले कुल्चन र पुरन्चन पितृलाई मान्नु, हाँस्या गोर्या भेडाको साँढ र कुखुरा भाले पुजा गर्नु यि ठ्याक्कै हाम्रो रुकुमको मैकोटको संस्कार सँग धेरै भाग मेल खान्छ ।

हाम्रोमा रम्मा कुल्चन र पुरन्चन भनेर झाँक्रीहरुले आफ्ना स्लोक खेतीमा सुनाउँने गर्छन् (मैकोटको मगर खामभाषामा ‘रम्मा / र्मा’ भनेको झाँक्री भनेको हो)। यसर्थ कुल्चन र पुरन्चन मगर सभ्यता सँग जोडिएका पुर्खाका दुई पात्रहरु हुन् र उनिहरु त्यो एउटा कालखण्डका विद्धान झाँक्री थिए भनेर सहजै बुझ्न सकिन्छ । अनि यो इतिहाससंग जोडिएकाहरु, आफ्ना पुर्खाको लहरा रुकुमको मैकोट सम्म जोडिएकाहरु कसरी गैरमगर हुन सक्छन ? लाहुरे बन्नको लागी पुन मगर बनेको अथवा मगरै नरहेको कसरी हुन सक्छ ? यो कुरा सँग म असहमत छु । उहाँहरु असलि पुन मगर नै हुन् ।

केही समय अघिको ईन्द्रेणी परिवारको भिडिओमा भनिएको थियो अरु मगरहरुले सुंगुरको पुजा गर्छन् हामीले त पुजा त के सुंगुर छोइयो भने पनि चोखिएर घरभित्र छिर्नु पर्छ भनेर । म स्मरण गराउँन चाहान्छु तपाइहरुको पुर्खाको भूमी रुकुमको मैकोटमा त झन युगौँ देखि सुंगुर पाल्न समेत प्रतिबन्धित थियो । मैकोटको भूमीले सुंगुर सहँदैन, यहाँका सिमिभूमी र देउपित्रले स्विकार्दैनन्, सिद्धमस्ता रिसाउँछन् बाढी पहिरो जान्छ भन्ने कथन थियो, मानवविश्वास थियो । तर जब दशबर्षे जनयुद्ध शुरु भयो मानिसहरुमा ह्वात्तै आधुनिक चेतनाको विकास भयो । अन्धविश्वासहरुको भण्डाफोर गर्दै क्रान्तिकारी विचारको विजारोपण भयो ।

अहिले दशकौँ बर्ष भयो मैकोटमा सुंगुर त थाहा भएन तर बङ्गुर पालन मज्जाले चलेको छ । तर सुंगुर मैकोटका मगरहरुको पुजामा त के कुनै पनि संस्कार सँग जोडिँदैन । जन्मिँदा, छुटिँदा, विहे गर्दा, मर्दा र पुजा आजा गर्दा कुनै पनि बेला सुंगुर प्रयोग हुँदैन । भेडा, भेडा पाठा, बाख्रा, बोका, कुखुरा भाले यि मात्रै प्रयोग हुन्छन् । यसकारण यो सुंगुर प्रथाले पनि तपाई म्याग्दीको कर्पाकेली खलकहरुको पुर्खा मैकोटसम्म जोडिएको प्रमाणित गर्छ । अनि तपाईहरू आफुलाई मगर हैन भनेर कसरी भन्न सक्नु हुन्छ ? जहाँसम्म भिडिओमा अरु मगरहरुले सुंगुर पुजा गर्छन भन्ने आरोप छ त्यो मगर भित्रको विविधता हो । हो अधिकांश मगरहरुले सुंगुर खान्छन् बिहे तथा भोज भतेर सम्ममा सुंगुर काट्छन् । पाहुना आउँदा पनि सुंगुर काट्छन् !

एकाध पुजामा सुंगुर पनि चढाउँछन होला । यद्धपी मैले सुंगुर पितृथानै पुजा गरेको चैँ देखेको छैन । यदि कतै मैले नजानेको वा थाहा नपाएको ठाउँमा गर्दै रहेछन् भने त्यो अपवाद मान्ने छु । अन्यथा यो सुंगुर पुजा गर्छन् भनेर अन्य मगरलाई अलग देख्नु वा आफुहरु मगर भन्दा अलग हौँ भन्नु समग्र मगर संसार नचिहाएरऽ नबुझेर अपरिपक्व रुपमा गरिएको तर्क हो । जसले मगर एकतालाई खलल् पार्ने काम गर्दछ ।

यत्तिका हजारौँ बर्षको इतिहास बोकेको नेपाल अधिराज्यभरी छरिएर बसेका मगरहरु, केही पुस्ता अघिबाट सृजेको छुटेको एउटा कुल र खलकको जस्तो सबै सबै परम्परा १००% मिल्ने दुरुस्तै उस्तै हुनुपर्ने कुरा सोँच्नु आफैमा अधकल्चो सोँच हुन जान्छ । यत्रो लामो समयको प्रकारान्तरमा कतिपयले भाषा बिर्स्यौँ, कतिपयले संस्कार बिर्स्यौँ, कतिपयले इतहासै बिर्स्यौँ जस्ले गर्दा एउटै मगरहरुको भाषा बाँडियो, परम्परा र संस्कार बाँडियो नयाँ र परिमार्जित तथा अपभ्रमित रितिरिवाजहरुको पैदा भए त्यसकै निरन्तरतामा पुस्तौँ पुस्ता बित्दै चल्दै आज हामी एक्काइसौँ शताब्दीमा आईपुगेका छौँ । यो उस्तै र दुरुस्तै कसरी हुन सक्छ ? तर जो जहाँ रहेर जसरी जुन तरिकाबाट भएपनि पुर्खा र देउपित्रको सम्मान, सम्झना र पुजाआजा गरेकै छौँ ।

यसलाई हामीले मगर भित्रको साँस्कृतिक र भाषिक विविधता भनेर गर्वका साथ एकअर्कालाई स्विकार्दै राज्यको अगाडी बलियो मगर एकता र इतिहास प्रस्तुत गर्नु, दर्ज गर्नु ठुलो कुरा हो, आजको आवश्यकता हो ! तर यसको विपरित एकअर्काको घोँचपेच गर्ने, आफुले गरिरहेको र मानिरहेको धर्म रितिथिति मात्रै राम्रो अरुको नराम्रो भन्ने, आफुले बोल्ने भाषा चैँ मगर भाषा अरुले बोलेको चैँ अमगर भाषा ठान्ने ।

त्यै विभेदको दृष्टिबाट विभेदकारी सोँच पैदा गरेर म मात्र मगर हुँ भन्ने अथवा म मगरै हैन भन्ने । यस्ता काइते र गोज्याङ्ग्रो बुद्धि काँ बाट आउँछ हामीलाई ? एकता जस्तो सर्वशक्तिमान चिज अरु केही हुँदैन भन्ने कुरा नबिर्सन सबै सबै मगर आमाबुवा, दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अपिल गर्दै यत्रो लामो लेख ध्यान दिएर पढिदिनुभएकोमा हजुरलाई पनि बिशेष आभार प्रकट गर्दै विदा चाहान्छु । धन्यवाद ! जदाै, झोर्ले, सिंमेपाउ !! Source:-kakhara.com

घारखोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुर्याइएको छ । आगामी वैशाखदेखि व्यावसायिक उत्पादन थाल्ने तयारीका साथ आयोजनाको निर्माणलाई यतिखेर तीव्रता दिइएको हो । आयोजनाको सिभिल र इलेक्ट्रोमेकानिकल तर्फका कामहरू अन्तिम चरणमा पुगेका छन् ।

१५ महिना अघि ३ हजार ५ मिटर सुरुङ मार्गको ब्रेक थ्रु भएको आयोजनाको सुरुङ भित्र ढलानको काम सकेर पाइप राख्ने काम थालिएको छ । आयोजनाले पोखरेबगरमा निर्माण गर्न लागेको विद्युतगृहको संरचना निर्माण सकेर अन्तिम फिनिसिङको काम भइरहेको छ ।

आयोजना निर्माण करिब अन्तिम चरणमा आइपुगेको छ आयोजनाका इन्जिनियर जोसेफलाल बज्राचार्यले भन्नुभयो ‘जेनरेटरका पार्टहरू एसम्ली गरिएको छ । ट्रवाइन र  ट्रान्सफर आइपुगेको छ । उत्पादित विद्युतलाई दाना सबस्टेशनमा जोड्ने प्रसारण लाइन निर्माण माघको पहिलो हप्ता सक्ने लक्ष्य छ । विद्युत् गृहको सिभिलको काम माघ महिनाभित्र सक्ने तयारी छ ।’ कतिपय सामानहरू भन्सारमा आइपुगेको र एक हप्ताभित्र आयोजना स्थलमा आइपुग्ने र जडानको काम थाल्ने उहाँले बताउनुभयो । अव करिब करिब आयोजना निर्माण अन्तिम चरणमा प्रवेश गरेकाे छ आयोजनाका इन्जिनियर बज्राचार्यले भन्नुभयो ‘नयाँ वर्षदेखि व्यावसायिक उत्पादन थाल्नेछौँ ।’

अन्नपूर्ण गाउँपालिका–५ सिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण गरिएको छ । आयोजनाले हेडबक्सका संरचनाहरूमा पानी भरेर परीक्षण गर्ने काम सकिएको इन्जिनियर बज्राचार्यलेले बताउनुभयो । पोखरेबगरस्थित गोजेखोल्सीमा पहाड काटेर तयार पारेको जग्गामा विद्युत् गृह निर्माण गरिएको छ  ।  अमिलाकाफलमा रहेको आउट लेटदेखि विद्युतगृहसम्म १२ सय २०  मिटर पेनस्टक पाइप जडान सकिएको छ ।

फागुन मसान्तसम्म इलेक्ट्रोमेकानिकल जडान गर्नेलगायतका सम्पूर्ण काम सकेर चैत १५ पछि परीक्षण उत्पादन थाल्ने उहाँले बताउनुभयो ।  आयोजनाको  हेड ४ सय ८० मिटर छ । आयोजनाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.लि इन्डिया र हाइड्रो मेकानिकल ठेकेदार सिई हाइड्रो मेकानिकल वर्क प्रा.लि.ले उपकरण तयार पारेको उहाँले बताउनुभयो ।

पोखरेबगरदेखि २२० केभिए क्षमताको दाना सब स्टेसनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजना २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु भएको थियो । दुई अर्ब ४२ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैङ्कको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।

पहिरोले बगाएको घरजग्गाको कर

म्याग्दीको रघुगंगा गाउँपालिका-६,स्थित रायखोरका लिलबहादुर पुनले पहिरोले बगाएको घरखेतको कर तिरिरहेका छन् ।
डेढ दशक अगाडी बस्तीमाथिबाट खसेको पहिरोले विस्थापित भएका पुनले समेत पूरै जग्गाको मालपोत कर तिर्दै आएका छन् । तल्लो र माथिल्लो रायखोर गाउँ र आसपासको खेतीयोग्य जमिनको नाम–निसाना मेटिने गरी ३० घरपरिवार विस्थापित भएका थिए ।

बस्ती, खेतबारी गरी सयौं रोपनी जमिनको लालपुर्जामा पहिरो चलेपनि नियमित कर तिर्न वाध्य भएको स्थानीयको गुनासो छ। ‘घरसँगै खेतीयोग्य जमिनमा अहिले पहिरो छ,‘विस्थापित हुदाँ सुविधा समेत पाइएन्,अहिले नियमित कर तिर्नुपरेको छ’स्थानीय पूर्व वडा सदस्य लिलबहादुरले भने ।

उनले पहिरोस्थलको जग्गाको समेत जग्गाधनी पूर्जा कामयमै रहेकोेले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्नु परेको बताए । रायखोर पहिरो आसपासमा पशुचौपायाको चरन क्षेत्रको रुपमा समेत प्रयोग गर्न नमिल्ने अवस्था रहेको जग्गा सार्वजनिक गरी तिरो नतिर्ने सुविधा दिन स्थानीयको माग छ ।  पहिरोले बगाएको जग्गाको कर तिरेर स्थानीय आजित भएको बताउँदै समस्याको समाधान गर्न समेत माग गरेका छन् ।

कमजोर भौगर्भिक अवस्थाका कारण वडाभित्र हरेक बर्ष खेतीयोग्य जमिन बगरमा बनिरहेको छ । खेतबारी नै बगर र पहिरोले लगेपछि कृषिजन्य उत्पादन समेत आयात गर्नुपर्ने बाध्यता रहेको छ ।रायखोरको पहिरो जिल्लाको ठूलो पहिरोमध्येमा पर्छ ।

यता वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताएले जग्गा नभए पनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएको अवस्थामा सामुदायिक बनलाई हस्तान्तरण गरेमा सहज हुने बताए । उनले प्रयोगविहिन जग्गालाई पालिकाले कर छुट गरेको बताउँदै जग्गालाई सार्वजनिक जग्गामा दर्तागरी मालपोत कर कट्टा गर्न सकिने बताए । समुदायमा हुँदै नभएको जग्गा र उपभोग गर्नै नमिल्ने जमिनको कर तिर्न वाध्य भएका स्थानीयलाई मालपोत कार्यालयसँग समन्वय गरी सहज बनाउने गरिएको गाउँपालिकाले जनाएको छ ।

आफ्नो जमिनलाई सार्वजनिक गर्दा भविस्यमा हुने असर तथा बाढीपहिरोस्थलमा समेत उक्सिने र पुनः खेती गर्न पाइने आशमा धेरैले बषौंदेखि कर तिर्ने गरेको मालपोत कार्यालयले जनाएको छ । प्रयोगविहिन जमिनको लगत कट्टा गरी स्वामित्व हस्तान्तरणमा झन्झट नभएपनि प्रयाप्त जानकारीको अभावका कारण स्थानीयले करको बोझ बोक्नुपरेको छ । जिल्लाभर हजारौं हेक्टर जमिनमा बाढीपहिरो, खोलानाला बग्ने भएपनि आर्थिक अवस्था कमजोर भएकाले समेत कर तिर्दै आएका छन्।