Saturday, June 28, 2025
22.2 C
Beni
22.2 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 695

धौलागिरीका यूवालाई ग्यावीयन बुन्ने तालिम

म्याग्दीको धवलागिरी गाउँपालिकाले ३० जना युवाहरुलाई ग्यावीयन जाली बुन्ने तालिम दिएको छ । पहिरो, नदी कटान, भू–क्षय रोकथाम र सडक आयोजनामा प्रयोग हुने ग्यावीयन जाली बुन्ने काममा स्थानीय युवाहरुलाई परिचालन गर्न तालिम दिइएको हो । १५ दिनसम्म सञ्चालन भएको तालिम बुधबार सकिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले रोजगारी सिर्जना र सिपको विकास गर्ने उद्देश्यले ग्यावीयन जाली बुन्ने तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“ग्यावीयन बुन्ने तार र आवश्यक औजार गाउँपालिकाले खरिद गरेको छ,” उहाँले भन्नुभयो “दश÷दश जनाको तीन वटा समूह बनाएर जाली बुन्ने काममा लगाइएको छ ।” खानेबस्ने र पारिश्रमिक सहित पालिकाका सबै वडाका ३० जनालाई ग्यावीयन जाली बुन्ने काममा लगाइएको हो ।

जाली बुन्ने सिप सिकाउन दुई जना प्रशिक्षकको व्यवस्था गरिएको उपाध्यक्ष पुनले बताउनुभयो । ग्यावीयन जाली बुन्ने तालिम सञ्चालन र सामग्री खरिदका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. दश लाख बिनियोजन गरेको थियो ।

स्थानीय स्तरमा सिपयुक्त जनशक्ति र जाली उत्पादन गर्दा सस्तो र भनेको समयमा पर्याप्त तारजाली उपलब्ध गराउन सकिने गाउँपालिकाका रोजगार संयोजक देविन्द्र पुनले बताउनुभयो । सडक विस्तार, नदी र पहिरो नियन्त्रण योजनाका लागि ठूलो मात्रामा ग्यावीयन जाली खपत हुने गरेको छ ।

हल पोखरा, चितवन लगायत ठाउँबाट खरिद गरेर ग्यावीयन जाली ल्याउने गरिएको छ । मेसिनले बुनेको जाली प्रयोग हुने गरेको छ । स्थानीय स्तरमा जाली बुन्ने जनशक्ति कम छन् । भारतीय मजदुरहरुले जाली बुन्ने गरेका छन् ।

जिल्ला समन्वय समिति म्याग्दीको आठौँ जिल्ला सभा सुरु

जिल्ला समन्वय समिति म्याग्दीको आठौँ जिल्ला सभा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको आठौँ सभामा बोल्ने बक्ताहरुले म्याग्दीको विकास निर्माणको क्षेत्रमा अधुरा रहेका योजनाहरुलाई गति दिन सम्वन्धीत सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जिल्ला भित्रिएका ठुला विकास निर्माणका योजनाहरुको कार्यान्वयन पक्ष फितलो बनेको तर्फ चिन्ता ब्यक्त गर्दै विकास निर्माणको क्षेत्रमा राजनीतिक दलहरुले सहमति र सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा निर्वतमान प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, संविधान सभा सदस्यद्वय नवराज शर्मा र गोविन्द्र पौडेलले संघ र प्रदेशका योजना छनोट गर्दा जिल्लाको प्राथमिकतालाई ध्यानमा राख्न आग्रह गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुन, नवनिर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरीबहादुर भण्डारी र विमला गौचनले संघियताको प्रभावकारी कार्यान्वयनमा अधिकार क्षेत्रको स्पष्टता आवश्यकता औल्याउदै जिल्ला विकास निर्माणमा जनप्रतिनिधि र राजनीतिक दल कर्मचारी र सरोकारवाहरुलले समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति हरिकुमार श्रेष्ठ, एमालेका उपाध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष वीरबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष गणेश महत, जिल्ला न्याधिश कृष्णप्रसाद नेपाल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरीकृष्ण गौतमले मन्तव्य राख्नुभएको थियो ।

सभामा शनिबारसम्म जिल्लास्थित संघीय तथा प्रदेशका विषयगत कार्यालयहरुको र स्थानीय तहको बार्षिक प्रगति प्रस्तुत गर्ने छन् । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख डिलकुमारी खत्री, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेलले कार्यक्रमम उद्देश्य र अधिकृत साधनाकुमारी श्रेष्ठको संचालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो । उद्घाटन सत्रपछि विषयगत कार्यालहरुको प्रस्तुतीको रहेको छ ।

पन्ध्र वर्ष कतारमा बिताएपछि अहिले आफ्नै गाउँमा कागती खेतीबाट लाखाैँ आम्दानी

पन्ध्र वर्षसम्म कतारमा गाडी चालककाे रूपमा काम गर्नुभएका निसीखोला गाउँपालिका–४ झिम्पाका ३७ वर्षीय रेमबहादुर क्षेत्रीलाई कतारको लोभलाग्दो जागिरलाई छुटाएर गाउँ फर्कायो ।

पछिल्लो समय बागलुङमा व्यावसायिक कागती खेती गर्ने क्रम बढिरहेको छ । बागलुङ र गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा कागतीको खेती थालिएको छ । जिल्लाको निसीखोला गाउँपालिकाका क्षेत्रीसहितका केही किसानले भने कागती खेतीको व्यावसायिक बिक्री–वितरण थालिसकेका छन् । अगुवा कागती किसान रिमबहादुर क्षेत्री, निमलाल पौडेल र धरमराज पोख्रेलले उत्पादन गरेको कागतीले राम्रो बजार पाउन सफल भएको छ ।

नौ वर्षअघि १० बोटबाट कागती खेती थाल्नुभएको रेमबहादुर क्षेत्रीको फार्ममा अहिले चार सय कागतीका बोट छन् । अहिले चार सय बोटमध्ये एक सय ५० बोटले कागती उत्पादन दिइराखेको छ । उहाँले गएकाे वर्षमात्रै कागती बिक्रीबाट दुई लाख रुपैयाँ आम्दानी गर्नुभएको र यस वर्ष आम्दानी बढेर तीन लाख ५० हजार रुपैयाँ पुग्ने बताउँदै कागतीको माग राम्रो भएको बताउनुभयो ।

“कागतीको राम्रो सम्भावना देखेरै कागतीका बिरुवा रोपेको थिए, नियमित हेरचाह गर्न नपर्ने खेती भएकाले बिरुवा थप्दै विदेश जाँदै गरे, जब उत्पादन थाल्यो त्यसपछि विदेशलाई बिट मारेर यही व्यवसायमा लागे”, उहाँले भन्नुभयो, “अहिले यहाँको कागती बुर्तिवाङ बजार, बुटवल, पोखरा र काठमाडौँ पुग्छ, यो वर्ष १६ क्विन्टल बिक्री गरिसके बगैँचामा अझै १० क्विन्टल बिक्री गर्न बाँकी छ, होलसेलमा प्रतिकेजी एक सयमा बिक्री गरिरहेको छु, यो वर्षमात्रै तीन लाख रुपैयाँ आम्दानी हुनेछ ।”

किसान क्षेत्रीले बजारको माग राम्रो भएकाले थप २० रोपनी जग्गामा कागती र टिमुर खेती गर्ने योजनामा रहेको बताउँदै कागतीको बजार राम्रो भएकाले निसिखोलाका कृषक कागती खेतीप्रति जागरुक भएको बताउनुभयो ।

सैतीस वर्षीय क्षेत्रीले निसीखोला गाउँपालिका–४ छिम्पामा जीवन पोल्टी फार्म तथा विविध कृषि केन्द्र स्थापना गरी विसं २०७४ देखि फार्म दर्ता गरेर आफ्नै १५ रोपनी जग्गामा कागती खेती गर्दै आउनुभएको छ ।  क्षेत्रीले विदेश गएर कमाएको रकमले फार्म व्यवस्थापन गरेको श्रीमती लीला पौडेलले फार्ममा सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँको फार्ममा कागती खेतीसँगै १० घार मौरी र २०–२० बोटबाट हलुवावेद र अमिलोसमेत उत्पादन भइरहेको छ । अहिले कागतीको माग धान्नै धौ धौ भएको क्षेत्रीको भनाइ छ । कागतीको दानासँगै चुक र अचारसमेत बिक्री गर्न सकिने उहाँको भनाइ छ । क्षेत्रीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्ने योजनाका साथ कागती खेती विस्तारमा लागेको बताउनुभयो । यस्तै निसीखोला गाउँपालिका–४ बडाचौरका निमलाल पौडेलले यस वर्ष ३० क्विन्टल कागती बिक्री गरिसक्नुभयो ।

छब्बीस रोपनी जग्गामा उहाँका नयाँ तथा पुराना बिरुवा गरी चार सय ५० बोट छन् । अहिले उहाँको कागती बगानमा झण्डै ३० क्विन्टल कागती अझै बिक्री गर्न बाँकी छ । पौडेलले विसं २०५५ मा एक सय बोटबाट सुरु गरेको कागती खेतीलाई क्रमशः व्यावसायिक बनाउँदै आउनुभएको छ । उहाँले उत्पादन भइरहेको कागतीलाई बुटवल, काठमाडाँै र पोखरालगायतका क्षेत्रमा बिक्री हुने गरेको बताउनुभयो ।

“सुन्तला तत्कालै बिक्री नगरे बिग्रन्छ, तर कागतीको दाना एक महिना केही हुँदैन, बिक्री नभए चुक बनाएर वर्षौँ टिकाउन सकिन्छ भनेर कागती खेती थालेको थिए, अहिले त बिक्री राम्रो छ, चुक बनाउनै पर्दैन”, पौडेलले भन्नुभयो, “अहिलेको बजार हेर्दा कागती खेतीलाई अझै विस्तार गर्न आवश्यक छ, निसीखोलामा कागतीको राम्रो खेती भएको पाएका छौँ, यहाँका धेरै कागती खेती गर्ने किसानहरू मिलेर  एकमुष्ट बजारीकरण गर्दै आएका छौँ”, पौडेलले कागतीलाई प्रतिकेजी एक सय ५० देखि एक सयसम्म बिक्री गर्ने बताउनुभयो ।

केही फलफूल व्यापारी गाडी लिएर कागती लिन आउँछन्, कहिले आफैँ लगेर बिक्री गर्ने गरिने पौडेलको भनाइ छ ।  उहाँले सृष्टि कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक कागती खेती गर्दै आउनुभएको छ ।

यस्तै निसीखोला गाउँपालिका–५ का धर्मराज पोख्रेलले समेत व्यावसायिकरूपमा कागती खेती उत्पादन गर्दै आउनुभएको छ । पोख्रेलको कागती बगानमा अहिले चार सय बोट हुर्किरहेका छन् । कागतीका लागि उपयुक्त भूगोल भएकाले निसीखोलाका किसान त्यसतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । उहाँले त्यस क्षेत्रमा कागती नर्सरी निर्माणका लागि ज्ञान केन्द्रले अनुदान दिने बताउनुभयो ।

कुमारले बनाए कालिगण्डकीमा साँघु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारका युवाले कालिगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जानका लागि नदीमा काठको अस्थायी पुल (साँघु) निर्माण गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीदेखि पारी पाउद्धारको पुछारमा रहेको तातोपानी कुण्डमा स्नान गर्न जाने पर्यटक र बिरामीको सुविधाका लागि स्थानीय कुमार तिलिजा पुनले व्यक्तिगत रुपमा एक लाख रुपियाँ खर्चिएर काठको अस्थायी पुल निर्माण गरेका हुन् ।

पुल बनाउन तिलिजाले काठका फ्ल्याक, बाँस र ग्याबियन झाली प्रयोग गरेका छन् । काठको पुल बनेपछि तातोपानी कुण्ड जाने बिरामी, पर्यटक र कुण्ड आसपासका सर्वसाधारण त्यही पुलबाट वारपार गर्ने गरेका छन् ।

कालिगण्डकी नदीमा पुल नहुँदा कुण्डमा स्नान गर्न आउने पर्यटक र बिराम नारच्याङको पुल तरेर घुमाउरो बाटो प्रयोग गरेर आउनुपर्ने बाध्यता थियो ।

यो पुल बनेपछि करिब एक घन्टाको बाटो ५ मिनेटमा छोटिएको तातोपानी कुण्ड स्नान गर्न पुगेकी रघुगंगा गाउँपालिका १ तिप्ल्याङकी लीला गुरुङले बताइन् । उनले भनिन्, ‘भाइले यहाँ आफ्नै पैसा खर्च गरेर काठेपुल बनाउनुभएको रहेछ, यसले हामी जस्ता बिरामी घुमाउरो बाटो आउनुपर्ने बाध्यता हटेको छ ।’

यो पुलले तातोपानी स्नान गर्न जाने पर्यटक तथा बिरामीलाई मात्र नभएर कुण्डवरपर बसोबास गर्ने स्थानीयलाई समेत सहज भएको छ । पुल जेठको १५ गतेसम्म नदिको पानीको बहाब बढी नहुँदासम्म रहनेछ । नदीमा पानीको सतह बढेपछि पुुल झिकेर राखिने तिलिजाले बताए ।

पुल बनाउन तिलिजासँगै दैनिक रुपमा ७ जनाले एक महिना काम गरेका थिए । मजदुरलाई ज्याला, पुल बनाउन प्रयोग भएका काठ, बाँस र ग्याबियन झालीसहित करिब १ लाख रुपियाँ खर्च भएको तिलिजाको भनाइ छ । पुल बनाउने खर्च गाउँपालिकाले दिने आश्वासन पाएप नि अहिलेसम्म रकम नपाएको उनको भनाइ छ ।

कुण्डको व्यवस्थापनको जिम्मासमेत लिएका तिलिजाले रोग निको बनाउन कुण्डमा स्नान गर्न आउने वृद्धवृद्धा घुमाउरो बाटो हिडेर आउन असहज हुने गरेको बताए । पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त स्थानमा पुल बनाउनका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाएको छ ।

झोलुंगे पुल नहुँदा यहाँ हिँउदको समयमा कालिगण्डकी नदी वारपार गर्न काठेपुलको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय कुण्डमा बिरामी र पर्यटक गरेर दैनिक रुपमा ४० जनासम्म आउने गरेको पुनले बताए ।

गाउँपालिकाबाट करिब १३ लाखमा ठेक्कामार्फत कुण्डको जिल्मा लिएका तिलिजाले पालिकाले कुण्ड क्षेत्रमा पूर्वधार निर्माण पनि जोड दिन आग्रह गरेका छन् ।

सुन्तला खेतीले फेरियो बास्कुनाका स्थानीयको जीवनस्तर

बेनी, ७ पुस । बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागतरुपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिकरुपमा सुन्तला खेती गरेका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । बास्कुना र सुर्केमलामा गरी करिब ७ सय सुन्तलाका बोट रोपेका खत्रीको बगैंचामा यतिबेला सुन्तला टिप्ने चटारो छ ।

दुई ठाउँमा सुन्तला खेती गरेका खत्रीको एउटा  बगैँचाबाट मात्रै ७ लाख ९० हजारमा सुन्तला बिक्री भएको छ । “गत वर्ष ७ लाखको सुन्तला बिक्री गरेको थिएँ, यस वर्ष दुई वटा बगैँचामा गरेर १० लाख बढीको बिक्री भएको छ, ठेकेदारले बोटमै आएर सुन्तला किनेर लैजाने गरेका छन्”, उनले भने ।

खाद्यबाली लगाउँदा नियमित सिँचाइको अभावसँगै खेतीबाली लगाउने र गोडमेलमा लाग्ने कामदारको लगानीअनुसारको प्रतिफल नआउने भए पनि सुन्तला खेतीबाट सन्तुष्ट बनेको खत्रीले बताए ।

बास्कुनाकै देवी हुमेन क्षेत्रीको फूलबारीमा पनि यतिबेला सुन्तला टिप्ने चटारो छ । उनको घरपरिवारमा करिब ८ सय सुन्तलाका बोट छन् । गत असोजमै नवलपरासीका व्यवसायीले घरमै पुगेर सुन्तलाको पेस्की रकम दिएर बोटबाटै सुन्तला खरिद गर्ने टुङ्गो लगाएका थिए ।

क्षेत्रीको मात्रै होइन बास्कुना र सुर्केमेलाका करिब दुई दर्जन घरधुरीमा व्यवसायीले फल नलाग्दै पेस्की दिएर सुन्तलाबोट बाटै खरिद गर्ने गरेका छन् । “यो वर्ष करिब ८ लाखको सुन्तला बिक्री हुने भएको छ, सबै सुन्तला ठेकेदारले नै लैजाने समझदारी भएको छ, बजार खोज्न भौतारिनुपर्ने झण्झट भएको छैन, सुन्तलाखेतीप्रति उत्साहित नै छौँ”, क्षेत्रीले भने । उनको घरपरिवारले करिब २० रोपनी खेतबारी सबैमा सुन्तला खेती गरेको छ ।

बास्कुनामा रहेका करिब दुई दर्जन घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् । सुन्तलाबाट आकर्षक आम्दानी हुने, बजार सजिलै पाइने भएपछि गाउँमा सुन्तला खेती गर्ने लहर नै चलेको स्थानीय सुन्तला खेती गर्ने कृषक तिलकुमारी गुरुङले जानकारी दिइन् ।

“यहाँ उत्पादन भएको सुन्तला रसिलो र गुलियो हुने भएकाले बोटमा दाना नलाग्दै व्यापारी पेस्की लगाउन आइपुग्छन्, अधिकांश व्यवसायीले पोखरा, काठमाडौँ र चितवनसम्म यहाँको सुन्तला लैजाने गरेका छन्, सुन्तला फलाउनेले बजारको खोजी अहिलेसम्म गर्नुपरेको छैन”, गुरुङले भनिन् ।

यस वर्ष बास्कुनामा सबैभन्दा थोरै बिक्री गर्नेले १ लाख र बढी बिक्री गर्नेले १० लाखसम्म सुन्तलाबाट आम्दानी गरेका छन् । बास्कुनासँगै जोडिएको बेनी नगरपालिका–३ भकिम्लीको राखु गाउँका कृषकलाई पनि यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याइ भएको छ । करिब ५० घरधुरीको बसोबास रहेको राखु गाउँमा सबैजसोले सुन्तला खेती गरेका छन् । कोदो, मकै, गहुँलगायत अन्नबालीको विकल्पमा सुन्तला खेती गरेका गरेका स्थानीयवासीले बजारको अभाव झेलेका छैनन् ।

अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र खरिद गर्नका लागि काठमाडौंलगायतका ठाउँबाट व्यापारी बगैँचामै आइपुगेको स्थानीय कृषक रामबहादुर घर्तीमगरले जानकारी दिए । अघिल्लो वर्ष ७० लाख बराबरको सुन्तला निकासी भएको राखुबाट यस वर्ष उत्पादन बढेकाले एक करोड बराबरको सुन्तला बिक्री हुने स्थानीयको अपेक्षा छ । यस गाउँमा न्यूनतम ५० हजारदेखि ७ लाखसम्म वार्षिकरुपमा हरेक घरले सुन्तला बिक्रीबाट आम्दानी गर्छन् ।

म्याग्दीमा पछिल्लो समय सुन्तला खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नगदे बाली भएकाले आम्दानी हुने र खेती गर्न अन्य बालीको तुलनामा झण्झट र लगानी धेरै नहुने भएकाले जिल्लामा सुन्तला खेतीको लहर चलेको हो । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लका स्थानीयवासीले समेत गाउँलाई सुन्तला गाउँको रुपमा विकास गरेका छन् ।

करिब ५० घरधुरीको बसोबास रहेको यहाँका सबै घरधुरीमाव्यावसायिक सुन्तला खेती गरिएको छ । परम्परागत मकै, गहुँ, कोदो खेती छाडेर यहाँका स्थानीय सुन्तला खेतीमा लागेका हुन् । एक दशकयता यहाँका खेतीयोग्य जमिन र खेती गर्न छाडेर बाँझो रहेको जमिनमा समेत सुन्तला  रोप्न थालिएको र सुन्तलाको उत्पादन भएमा बजारीकरणको समस्या नभएको स्थानीय कृष्ण पुनले जानकारी दिनुभयो ।

म्याग्दीमा बेनी नगरपालिकासहित बरङ्जा, अर्मन, ओखरबोट, देवीस्थान, बिम, ताकम, मराङ, भगवती, पिप्ले, बेग, भुरुङ तातोपानी, दोबा, हिस्तान, घार, दाना, नारच्याङलगायतका क्षेत्र सुन्तला खेतीका लागि पकेट क्षेत्र मान्छिन् । गाउँमा अन्न बालीको लागि काम गर्ने मानिसको अभावमा बाँझिने समस्या बढिरहेको समयमा सुन्तला खेतीतर्फ बढ्दो आकर्षणले जमिनको सही उपयोगसँगै स्थानीयलाई आयआर्जनमा समेत सघाउ पु¥याएको छ ।

जिल्लाको ग्रामीण भेगसम्म सडक सञ्जालको पहुँच विस्तार भएसँगै उत्पादन भएका सुन्तलाको बजारीकरणमा सहज भएपछि किसान सुन्तलाको व्यावसायिकतर्फ उत्साहित भएर लागेका हुन् । पछिल्लो समय सुन्तला खेती गर्ने किसानलाई स्थानीय तह र कृषि ज्ञान केन्द्रलगायतका निकायबाट समेत बिरुवा खरिदमा अनुदानसँगै रोग कीरा व्यवस्थापनमा औषधिसँगै तालिमसमेत उपलब्ध भएपछि सुन्तलाको व्यावसायिकताले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउनथालेको छ ।

बागलुङबाट संघिय संसद र प्रदेशसभामा १४ सांसद

राजनीतिक दलले समानुपातिक सूचि बुझाएपछि बागलुङबाट संघिय संसद र प्रदेशसभामा गरी १४ जना निर्वाचित भएका छन् । तीमध्ये ३ जना मात्रैले यसअघि पनि संसदीय यात्रा गरेका छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको तेस्रो पटक संसद यात्रा हो । उनी २०५६ र २०६४ सालमा पनि बागलुङबाट निर्वाचित थिए । दुइ पटक राजमोले एमालेको सहकार्यमा निर्वाचन जितेको थियो । यो पटक कांग्रेसको सहकार्यमा चुनावमा होमिएर केसी संसद पुगेका हुन् ।

दोश्रो पटक संसद पुग्ने माओवादी नेता देबेन्द्र पौडेल हुन् । २०७४ को निर्वाचनमा एमाले, माओवादी र राजमोको बाम गठबन्धनबाट पौडेल निर्वाचित थिए । पहिलो पटक संसद छिर्दा मन्त्री नपाएका पौडेलले नेकपा टुक्रा परेपछि कांग्रेसको सहकार्यमा बनेको गठबन्धन सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए । यो पटक उनी दोश्रो पटक संसद पुग्दैछन् ।

संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री भैसकेकी चम्पादेवी खड्का यो पटक प्रदेशसभामा पुगेकी छिन् । कांग्रेसको समानुपातिक सूचिबाट उनी प्रदेशसभा पुगेकी हुन् । उनको यो दोश्रो यात्रा हो । यद्यपी उनको भूमिका यसअघिको संसदमा संविधानसभा सदस्यको रुपमा थियो । यो पटक प्रदेशसभामा हुनेछ । अन्य ११ जना भने संसदीय यात्रामा नयाँ हुन् ।

संघिय संसदको २ निर्वाचन क्षेत्र रहेको बागलुङ क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र नं. २ बाट माओवादीका नेता देबेन्द्र पौडेल निर्वाचित भएका थिए । मंसिर ४ गतेको निर्वाचनमा केसीले एमालेका सूर्य पाठक र पौडेलले मञ्जु शर्मा चालिसेलाई हराएर निर्वाचित भएका थिए । एमालेले संघिय संसदमा बागलुङका देवीप्रकाश भट्टचनलाई चयन गरेको छ । उनी जनजातीतर्फ पहिलो नम्बरको सूचिमा थिए ।

प्रदेशसभातर्फ कांग्रेसले ४ वटै क्षेत्र जितेको थियो । क्षेत्र नं. १ को १ मा कांग्रेसका दिपेन्द्र थापा निर्वाचित भए । उनले एमालेका हिराबहादुर केसीलाई पराजित गरेका थिए । १ को २ मा कांग्रेसका डिल्लीराम सुवेदीले जित्दा एमालेका नवराज पौडेल पराजित भए । क्षेत्र २ मा कांग्रेस सभापति जित शेरचन बिजयी भए । उनले स्वतन्त्र प्रकाश घर्तीलाई पराजित गरे । २ को २ मा कांग्रेसका द्रोण कुँवरले जितेका थिए । उनले एमालेका लक्ष्मण पुनलाई हराउन सफल भएका थिए ।

समानूपातिक सूचिमा भने बागलुङमा एमालेका सबैभन्दा धेरै निर्वाचित भए । एमालेका कृष्ण पाठक, लीलाबहादुर थापा, गोबिन्द नेपाली र बिना थापा गण्डकी प्रदेशसभामा पुगेका हुन् । नेपाली कांग्रेसबाट पूर्व राज्यमन्त्री चम्पादेवी खड्का र दिलमाया पौवी निर्वाचित भएका छन् । माओवादीबाट कुशुम बुढा पनि गण्डकी प्रदेशसभामा प्रवेश गरेकी छिन् ।

दुई पटकसम्म हारेका शेरचन तेस्रो पटकमा जित निकाल्न सफल भएका हुन् । थापा पनि यसअघि एमालेका इन्द्रलाल सापकोटासँग पराजित थिए । एमालेका केसी २०७० को संविधानसभामा कांग्रेसका हरि खड्कासँग पराजित भएका थिए । एमालेका सांसद बनेका लीला बहादुर थापा २०६४ र ०७० मा संविधानसभामा पराजित उमेदवार हुन् । त्यतिबेला उनी परि थापा नेतृत्वको नेकपा एकीकृतमा थिए । dhorpatannews.com

 

बेलायतमा तीन सातादेखि हराए पूर्व गोर्खाका एक्लो छोरा, खोजी गरिदिन अपिल

भूतपूर्व ब्रिटिश गोर्खाका एकमात्र छोरा किरण पुन तीन सातादेखि सम्पर्कमा नआएपछि उनको परिवारले खोजी गरिदिन अपिल गरेको छ ।बेलायतको एम्सबरी घर भएका ३६ वर्षीय किरण गत १ डिसेम्बर बिहीबारदेखि बेपत्ता भएका हुन् ।

दुध फ्रयाक्ट्रीमा काम गर्ने उनी त्यही दिनदेखि तीन दिन बिदामा थिए । काममा बिदा भएपछि उनले आफ्नो बाबु भूतपूर्व गोर्खा तीर्थबहादुर पुनलाई एण्डोभर ट्रेन स्टेसनसम्म छोडिदिन भनेका थिए । बाबु छोरा निस्किएपछि बुबाले बाटोमा इन्धन हाल्न कार रोके । छोराले फूल टयांक इन्धन हालेको पैसा पनि तिरिदिएका थिए ।

छोरालाई स्टेशन छाडेर बाबु फर्किए तर छोरा त्यसदिनदेखि बेखवर छन् । उनको फोन ‘स्वीच अफ’ छ ।

सेल्सबरी प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले किरण फार्नबोरो ट्रेन स्टेसन (मेन) मा झरेको देखे पनि थप जानकारी पाएको छैन् ।

प्रहरीले घट्नालाई ‘हाइ रिस्क’ मा राखेर प्राथमिकताका साथ खोजिरहेको पारिवारिक श्रोतको भनाइ छ । पुन बेपत्ता भएपछि परिवार एकदम चिन्तित छ ।

एनआरएनए यूकेले आफ्ना पञ्जीकृत सदस्य किरण पुनको खोजी गरिदिन सबैमा आव्हान गरेको छ ।

पुनको परिवार र प्रहरीको आग्रह बमोजिम एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उनको जीवन रक्षा र खोजी गरिदिन बेलायती समुदायमा अपिल गरेका हुन् । उनीबारे केही जानकारी भए स्थानीय प्रहरी, आफू र परिवारजनलाई सम्पर्क गरिदिन गाहामगरको आग्रह छ ।पोखरा स्थायी घर भएका किरण कला क्षेत्रमा समेत रुची राख्थे । Souirce:-www.nepalilink.com

सम्पर्क विवरणः

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर- 07833507666
बहिनी देवी पुन- 07846445488

दरबाङ बजार अनुगमन

????????????????????????????????????

म्याग्दीको मालिका गाउँपालिका-६,स्थित दरबाङ बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बुधबार बजार अनुगमन गरेको हो । कार्यालयले दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य,म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेको पाइएको छ ।

????????????????????????????????????

होटल ,खाद्य पसल अनुगमनका क्रममा भेटिएका खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेका खाद्य उद्योगहरुलाई तत्काल अनुज्ञा पत्र लिन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक प्रेम अर्यालले बताउनुभयो । यसैगरी विभिन्न पसलबाट करिब दश हजार रुपैयाँ मुल्य बराबरको पेयपदार्थ विस्कृट लगायत खाद्य सामाग्रीहरु उपभोग्य अवधी समाप्त भएकोले जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो ।

????????????????????????????????????

बुधबार १५ वटा खाद्य व्यवसाय (किराना,होटल र उद्योग) अनुगमन गरिएको छ भने नमुना संकलन समेत गरिएको छ । ‘खाद्य ऐन २०२३ को दफा ४ (ख) तथा खाद्य नियमावली २०२७ को नियम २३ को उपनियम ३,४ र ५ बमोजिम खाद्य अनुज्ञा पत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको छ ,’ उहाँले भन्नुभयो ।

????????????????????????????????????

अनुगमनमा खाद्य निरिक्षक अर्यालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका सहन्सा मेहता,मालिका गाउँपालिकाबाट राजेश थापा मगर ,शिक्षित पराजुली ,असुन रिजाल,म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईका उपाध्यक्ष खड्क छन्त्याल र सचिव अमृत सापकोटा ,जिल्ला प्रशासन कार्याल म्याग्दीबाट लिलाबहादुर चोखाल ,पर्यटन तथा उद्योग कार्यालय म्याग्दीबाट सन्तोष ढुङ्गाना ,मालिका गाउँपालिकाबाट शिक्षित पराजुली,इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी सहायक निरिक्षक बलबहादुर खड्का लगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।

????????????????????????????????????

यसअघि पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र तत्कालिन घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले अनुगमन गरेको थियो ।

महान मेस्सी : मित्र कि शत्रु ?

* विनय श्रेष्ठ
अन्ततः फुटबलको कुम्भमेला फिफा विश्वकप सकिएको छ । फ्रान्ससंग निर्धारित नब्बे मिनेटमा दुई गोलको बराबरी, थपिएको तीस मिनटमा एक गोलको बराबरी भएपनि पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले दुईका विरुद्ध चार गोलको सानदार गोल निकाल्दै अर्जेन्टिनाको मात्र होइन, मेस्सीको मात्र होईन अर्जेन्टिना अनि मेस्सीले बिश्व कप ट्रफी उचालेको हेर्ने चाहने सम्पूर्ण फ्यानहरुको जित भएको छ । विश्वकप ट्रफि बाहेक सबै व्यक्तिगत र सामुहिक उपाधि जितेका मेस्सीले आलोचकहरुको बोल्ति बन्द गरिदिएका छन् ।

अर्जेन्टिना देशको नाम आउने बित्तिकै मुलतः दुईवटा प्रसंगले स्थान पाउँछन् । एकः फोकल्याण्ड युद्ध र अर्को फुटबल ।
पहिले फोकल्याण्ड युद्धको चर्चा गरौं । अर्जेन्टिना र ईण्ल्याण्ड बीच फोकल्याण्डको टापुको लागि युद्ध भएको थियो जसमा अर्जेन्टिनाले पराजय बेहोरेको थियो । अर्जेन्टिनाले पराजयको मुख्य कारण वीर गोर्खालीलाई मान्दछन् । वीर गोर्खालीले बेलायत सैनिकमा भर्ति भै ईङ्ल्याण्डको तर्फबाट वीरता प्रदर्शन गरि अर्जेन्टिना माथि ईल्याङ्ण्डलाई विजयी गराउन साहसिक युद्ध लडेका थिए ।

सन १९८६ को क्वाटरफाइनलमा फुटबलका जादुगर डियगो म्याराडोनाले हाते गोल गर्दै ईङ्ल्याण्डलाई पराजित गरेपछि भनेका थिए कि–“आज हामीले जित्यौं किनकि त्यहाँ वीर गोर्खाली मैदानमा थिएनन् ।“ म्याराडोनाको यस तर्कले युद्धमा गोर्खालीको उपस्थिति कति गौण रहेछ भनेर पुष्टि हुन्छ । साथमा अर्जेन्टिनाले हरेक वर्ष ईङ्ल्याण्डको झण्डाको साथमा नेपालको झण्डा जलाउँदछन् त्यसकारण अर्जेन्टिनाको सपोर्ट गर्नुहुँदैन भन्नेको पक्षमा पनि ठुला जमात रहेको छ । यद्यपि नेपालको झण्डा वर्षेनी जलाउदछन् भन्ने कुराको कसैबाट प्रमाणित पुष्टि भने भएको छैन ।
रहयो अब फुटबल ।

जब नेपालमा श्यामस्वेत टेलिभिजनको प्रवेश भयो त्यसबेला फुटबल जगतमा अर्जेन्टिनाका फुटबल जादुगर डियगो म्याराडोनाले एकछत्र राज गरिरहेका थिए । सन् १९८६ मा जादु देखाउदै उनले विश्वकप ट्रफि उचाले अनि नेपाली खेलप्रेमीको मनमनमा राज गरे । गोलरक्षक गोयाकोचियाले थप सहयोगीको भुमिका खेले । म्याराडोनाका फ्यानले माथिका सबै कुरा बिर्सिएर अर्जेन्टिना – अर्जेन्टिना , म्याराडोना–म्याराडोनाको जप लगाउन थाले । कसैले मेटेर नमेटिने छाप म्याराडोनाले छोड्न सफल भए । त्यसपछि ग्यावियल बेटुस्टिटा, मेस्सी, टेभेज, डिमारिया, एगुरो, डिभाला, मार्टिनेजले निरन्तरता दिदै गए ।

राष्ट्रियता सबैभन्दा माथि हुनुपर्छ । यसमा दुईमत छैन । फोकल्याण्ड युद्धमा नेपालीहरुले बेलायतको लागि वीरता प्रदर्शन गर्नु नुनका सोझो गरेका हुन् भने अर्जेन्टिनाले हारको कारण वीर गोर्खालीलाई मान्नु नेपाली प्रतिको उच्च सम्मान हो । यदि अर्जेन्टिनामा ईङ्ल्याण्डको झण्डाको साथमा नेपालको झण्डा जलाउँदछन् भन्ने कुरा सत्य हो भने त्यो कुनै पनि बाहानमा क्षमायोग्य हुदैन ।

तरपनि खेलकुद र कलाक्षेत्रले कहिलेकाही राष्ट्रियता लाई बिर्साइदिन्छ । एकआपसमा टुक्रिएका र अहिले पनि काश्मिरकालागि युद्धरत भारत र पाकिस्तानका थुप्रै खेलाडी कलाकारहरु आपसी बिबाह बन्धनमा बाधिएका छन् । नेपालीले छिमेकी भारतलाई जति गाली गलौज गरेपनि सचिन देखि सलमानसम्मका खेलाडी कलाकारहरुले मनमुटुमा स्थान बनाएका छन् । मेस्सीले कोपा कपमा चिली विरुद्ध पेनाल्टी मिस गरेर हारको कारण मान्दै सन्यास घोषणा गर्दा अर्जेन्टिनाका राष्ट्रपति मात्र होईन, म्याराडोना मात्र होईन संसारका सबैले खेल जीजनमा फर्कन अनुरोध गरे, प्रार्थना गरे ।

खेलमा इटलीलाई ध्वस्त बनाउने म्याराडोनाले बार्सिलोनाबाट नेपोली गएर इटलियनलाई सबै उपाधि सहित खुशी दिएर मुर्ति नै खडा गराउन बाध्य गराए । सन् १९९८ का फाईनलिष्ट ब्राजिलका रोनाल्डो र फ्रान्स का जिदानेले रियल म्याड्रिडका कालागि संगै खेल्दै सबै प्रकारको उपाधि हासिल गरे । ईङ्ल्याण्डका खेल सुपर स्टार डेविट बेक्याम मेस्सीले ट्रफि उचालेको हेर्न चाहे । ब्राजिलियन सुपरस्टार रोनाल्डिनोले मेस्सीलाई हौसला दिईरहे । कोपा फाईनल हारेका नेमार सबैभन्दा पहिले मेस्सीलाई अंगालो हाल्दै बधाई दिए ।

फ्रान्सलाई विजेता बनाएका हेनरी बेल्जियमको कोच टिममा छन् । सेमिफाइनलमा पराजय भोगेको क्रोयसियाका मोड्रिटलाई सबैभन्दा पहिला अर्जेन्टिनाका डि मारियाले सान्वना दिए । मेस्सीलाई सबैभन्दा बढि ट्याकल गर्ने स्पेनका सर्जियो रामोस रियल मेड्रिडबाट पिएसजि गएपछि बार्सिलोनाबाट पिएसजि मेस्सी आउदा स्वागत गर्दै घर खरिद प्रक्रिया पूरा नहुन्जेल आफ्नै घरमा बस्नलाई निम्ता गरे ।

एक आपसमा कडा प्रतिष्पर्धि बनेर चुनौति बनेका मेस्सी र फ्रान्सका एम्बाब्बे खेल अघि अंगालो मारेर शुभकामना साटासाट गरे भने खेलपछि एकै मञ्चमा उपस्थित भएर गोल्डेन बल र गोल्डेन बुट सहित खुशी साटासाट गरे । माथिका उदाहरणले खेलकुदले मानिसलाई राष्ट्रियता भन्दा माथि उठाएका भान हुन्छ । तर राष्ट्रियता भनेको राष्ट्रियता नै हो । मेस्सीलाई मेस्सी बनाएको स्पेन अनि बार्सिलोनालाई चटक्कै माया मारेर मेस्सी अर्जेन्टिनाका लागि सवथोक जित्न चाहन्छन् । पहिलो पटक अफ्रिकी मुलुकलाई सेमिफाइनलमा पु¥याएका मोरोक्कोका हाकिमीले पनि स्पेनलाई माया मारेमा हुन । जर्मनी लाई बिश्वकप जिताउदा ओजिल हाईहाई भए भने हार्दा प्रवासीको बिल्ला भिडाइदिए ।

यहाँ तर्कवितर्क जति गरेपनि सबैभन्दा पहिले हामी नेपाली हौ । हाम्रो मनमुटुमा नेपाल रहनु पर्दछ । अरु देश र खेलाडीको लागि विभाजित हुनु आवश्यक छैन तर पनि समयले त्यही मार्गमा दोहो¥याउदछ । अर्जेन्टिना, म्याराडोना र मेस्सीको पक्ष र विपक्षमा जति तर्क वितर्क गरेपनि त्यो देश र त्यस देशका खेलाडीहरु नेपालीका मित्र हुन कि शत्रु ? यो अनुत्तरित प्रश्न हो । जेसुकै होस् मेस्सी खेल जीवनको उत्तरार्धमा अर्जेन्टिनालाई विश्वकप ट्रफि चुमाएर आफुलाई महान सावित गर्दै पेले र म्याराडोनासंग उभ्याएका छन् । तर नेपालीका लागि महान मेस्सी मित्र हुन् कि शत्रु ? यसको उत्तर भने खोजिरहने छौं ।
जय राष्ट्रियता ! जय फुटबल ! !

धार्मिकस्थल गलेश्वरको प्रवेशद्धारमा ४० कोठे सुविधासम्पन्न होटल बन्दै

म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरको प्रवेशद्वारमा एकबर्षभित्र १२ करोडको लागतमा अपाङ्गमैत्री होटल तयार हुने भएको छ । करिब एक दशकदेखि सदरमुकाम बेनीमा सञ्चालनमा रहेको होटल याक एण्ड रेष्टुरेन्टले करिब २ रोपनी क्षेत्रफलमा ५ तलाको भवन निर्माण भइरहेको छ ।

 

बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तरगत गलेश्वर बजारको प्रवेशद्धारमा अपाङ्गमैत्री शौचालय सहितको संरचनामा एट्याज रूमसहित ४० कोठा, एउटा सभाहल र सडककोद दुबैतर्फ पर्याप्त पार्किङको सुविधा रहेको होटलको निर्माणकार्य तिब्ररुपमा अगाडी बढेको सञ्चालक ताराप्रसाद आचार्य ‘बाबुराम’ले बताए ।

‘गलेश्वर दशकै ठूलो धार्मिक गन्तब्य हो,‘मुस्ताङ पुग्ने पर्यटकलाई समेत सहज हुन्छ’ सञ्चालक आचार्यले भने । उत्तरी म्याग्दी सहित मुस्ताङ आवतजावत गर्ने पर्यकका साथै गलेश्वर दर्शनका लाागि आउने धार्मिक पर्यटक र सदरमुकाम बेनी नजिकै भएकाले अन्य क्षेत्रमा जानेलाई समेत सहज हुने सञ्चालक आचार्यको भनाई छ ।

उनले निर्माणधिन होटलमा स्वदेशी तथा भारतीयसँगै तेस्रो मुलुकका पर्यटक लक्ष्य गरिएकाले सबै किसिमका पाहुनालाई सहज हुने गरी निर्माण गरिएको बताए। म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष समेत आचार्यले पर्यटकको चहलपहल र मार्ग आसपासमा धमाधम बन्दै गरेका होटलले पर्यटकलाई सहज भएको बताए ।

पोखरादेखि कुस्मा, बेनी हुँदै मुस्ताङ जाने एकमात्रै सडक बेनी–जोमसोम–कोरला सडकअन्तर्गत रहेको यस होटल सञ्चालन भएमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउन टेवा पु¥याउने पर्यटन ब्यवसायीको भनाई छ। म्याग्दीमा भित्रिने करिब ७० प्रतिशतभन्दा बढी पर्यटक उत्तरी म्याग्दीमा रहेका पर्यटकीयस्थल तथा छिमेकी मुस्ताङ जाने गर्दछन् । विदेशी सहित आन्तरिक पर्यटकको प्रमुख रोजाइ समेत मुस्ताङ नै भएकाले उत्तरी क्षेत्रका होटलहरु सिजनमा भिडभाड हुन्छ ।