Saturday, June 28, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 696

धवलागिरी गाउँपालिकामा वडामै पुगेर योजना सम्झौता

भौगोलिक रूपमा दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।

गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ६ मराङ र ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्षित गरेर घुम्ती शिविर सञ्चालन गरेको छ । मराङमा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका १८ वटा योजनाको वडा कार्यालयमा सम्झौता गरिएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

मङ्गलबार मल्कवाङको वडा कार्यालयमा घुम्ती शिविर सञ्चालन गरेर योजना सम्झौता गरिने भएको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधिकारीलाई पालिकामा जाने आउने समय, झन्झट हट्नुका साथै व्ययभार घटेको अर्वाङ–थापाघडेरी मोटरबाटो निर्माण समितिका अध्यक्ष पदमबहादुर गर्बुजाले बताए ।

“मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा दुई दिन लाग्ने गर्छ”, उनले भने, “वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको छ ।” मराङ र मल्कवाङका बासिन्दालाई धवलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ ।

पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झञ्झटपूर्ण उल्टो यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ ।

मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । प्रमुख प्रशासकीय अधिकृत धुव्र रिजालको नेतृत्वमा योजना शाखाका रमेश पौडेल, लेखा शाखाका तिलक पौडेल, पूर्वाधार शाखाका लोकेन्द्र रावल, जनक धानुकको टोली घुम्ती शिविर लिएर मराङ पुगेको हो ।

वडाका जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गर्नुभएको छ । प्राविधिक टोलीले यसअघि नै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरी पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विषयमा परामर्श पनि दिइएको प्रशासकीय अधिकृत रिजालले बताए । आवश्यकता र मागका आधारमा अन्य वडामा पनि योजना सम्झौता गर्न जान सकिने प्रशासकीय अधिकृत रिजालले बताउनुभयो । ठूला योजना ठेक्का प्रक्रिया अघि बढाउन र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना सम्झौतामा तीव्रता दिइएको छ । चालु आर्थिक वर्षमा एक सय २० वटा पूर्वाधारसम्बन्धी योजना छनोट गरेको धवलागिरि गाउँपालिकाले चारवटा ठेक्का सम्झौता गरेको छ ।

 

म्याग्दीका सुजन बरुवालको कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी

म्याग्दीका युवा सुजन बरुवालको नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । सन २०२३ का लागी हुन लागेको निर्वाचनमा म्याग्दीबाट बरुवालले राष्ट्रिय राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिनुभएका हो । सन २०२१ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष समेत भैसक्नुभएका बरुवालले यस बर्ष पुस ७ देखि १० गतेसम्म बिरगंजमा हुन लागेको ४९ औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गरिसक्नुभएको छ ।

बरुवाल उम्मेदवार बन्नुभएको कार्यकारिणी उपाध्यक्षमा ४ जनाको पदमा ११ जनाले मनोनयन दर्ता गराएका छन् । सन २०१४ मा प्रस्तावित सदस्यको रुपमा म्याग्दी जेसीजमा आबद्ध हुनुभएका बरुवाल सन २०१५ मा साधारण सदस्य, सन २०१७ मा शाखाको उपाध्यक्ष, २०१८ मा कोषाध्यक्ष, २०१९ मा कार्यकारिणी उपाध्यक्ष र २०२० मा म्याग्दी जेसीजको शाखा अध्यक्ष भएर नेतृत्व सम्हाल्नुभएको थियो । उहाँले सन २०२२ मा म्याग्दी शाखाको कानुनी सल्लाहकार भएर समेत काम गर्नुभएको छ ।

कार्यक्रम संयोजक लगायतका जेसीज गतिविधिमा संलग्न भएर थुप्रै राष्ट्रिय अवार्डहरु समेत प्राप्त गरिसक्नुभएका बरुवालले युवाहरुको नेतृत्व, व्यत्तित्व र क्षमता विकासको क्षेत्रमा थप रचनात्मक कार्यहरु गर्नको लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवार बनेको बताउनुभयो ।

नेपाल जेसीजमा यस अघि सन २०१५ मा म्याग्दीबाट धनञ्जयकुमार श्रेष्ठले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवार बनेर बिजय हाँसील गर्नुभएको थियो । नेपाल जेसीजमा १ अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष पदका लागि निर्वाचन हुने गर्छ । हरेक बर्ष नेतृत्व हस्तान्तरण हुने जेसीजमा एक व्यक्ति एक पदमा एक पटक मात्रै रहन पाउने प्रावधान रहेको छ ।

काठमाण्डौमा म्याग्दी महोत्सवको प्रचारप्रसार तिब्र

आगामी पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने सातौ म्याग्दी महोत्सवको प्रचारप्रसार र भेटघाटलाई तिब्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाका लागि काठमाण्डौमा पर्यटनसँग सम्बन्धित निकायहरु, बैंक तथा वित्तिय संस्थाका साथै विभिन्न सरोकारवालासँग भेटघाट गरिएको छ ।

संघका अध्यक्ष बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, द्धितिय उपाध्यक्ष राजेश शाक्य, कोषाध्यक्ष अमित बानियाँ सहितको टोलीले आर्थिक सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, प्रभु बैंक, सेन्चुरी बैंक, माछापुच्छे बैंक, ग्लोवल आइएई बैंक लगायतका वित्तिय संस्थासँग समेत जिल्लाभित्र आर्थिक लगानी सहित महोत्सवका बारेमा छलफल गरेको द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

सोही अवसरमा पर्यटनको क्षेत्रमा म्याग्दीलाई प्राथमिकता दिन र विभिन्न पर्यटन सम्बन्धित गतिविधिका लागि समेत ब्यवसायीसँग भेटघाट गरिएको शाक्यले बताउनुभयो । यसैबीच महोत्सवलाई नै लक्षित गरी प्रधानमन्त्री कृषि परियोजना, पर्यटन प्रर्बधन केन्द्र र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी सहितसँग भेटघाट गरेको अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । ‘महोत्सवलाई लक्षित गरी भेटघाट जारी छ, यसपटकको महोत्सवलाई थप ब्यवस्थित बनाउनेछौ’ अध्यक्ष कुटवालले भन्नुभयो ।

महोत्सव सफल बनाउन ३९ वटा उपसमिति गठन गरेर महोत्सवको तयारी तीव्र बनाएको छ । महोत्सव २०७७ र २०७८ मा कोरोना महामारीका कारण हुन नसकेको अवस्थामा यसपटक दर्शकको उत्साहजनक उपस्थिती हुने बताइएको छ ।

स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र व्यापारिक ज्ञान सीप, पुजी र प्रविधि भित्राउन उद्देश्यले महोत्सवको आयोजना गरिएको छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने र करिब दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । दुई हजार, पाँच सय र एक सय रुपैयाँ दरका टिकट बिक्री गरिनेछ ।

महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।

बाल उद्यान, मिनी चिडियाघर, छेलो, अन्ध निशान, झाँकी र भेषभुषाको प्रर्दशनी हुनेछ । एक करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी, एक करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च र नौ लाख नौ हजार ७८९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।

जन्मगाउँको सामाजिक क्षेत्रमा शिला थापाद्धारा रु ११ लाख बढी सहयोग

म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएकी शिला थापाले जन्मगाउँको पूर्वाधार विकास र सामाजिक क्षेत्रमा रु ११ लाख बढी सहयोग गर्नुभएको छ । आफ्नै व्यक्तिगत लगानीमा निर्माण भएको धुले मेला लगाउने उलेना खेलमैदानको स्टेज भवनको उद्घाटन गर्न आउनुभएकी थापाले गाउँको सामाजिक क्षेत्रमा रु ११ लाख २५ हजार ६३० बराबरको सहयोग गर्नुभएको हो ।

भवनको उद्घाटनको अवसरमा सहयोगदाता थापाले सोही खेलमैदान परिसरमा शौचालय निर्माणको लागि समेत रु २ लाख ५० हजार सहयोग हस्तान्तरण गर्नुभएको छ । धुले मेला संरक्षण समितिका अध्यक्ष रनबहादुर रोकालाई थापाले उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।


सहयोगदाता थापाले स्थानीय खानीगाउँमा रहेको मण्डली आधारभुत विद्यालयलाई रु १ लाख ५ हजार बराबरको एक थान ल्यापटप र नगद रु १६ हजार सहयोग प्रदान गर्नुभएको छ । त्यसैगरि अरनीको आधारभूत, जनप्रिय आधारभूत बुकेनी, शिवालय आधारभूत, जनता आधारभूत, दुर्गा आधारभूत र पखेर आधारभूत विद्यालयलाई नगद रु ५० हजार १०५ का दरले सहयोग हस्तान्तरण गर्नुभएको छ ।


उक्त अवसरमा थापाले बरंजामा रहेका ९ वटा आमा समूहलाई नगद रु ९० हजार, जनप्रिय आधारभुत विद्यालयलाई रु १० हजार,न्यू स्टार युवा क्लबलाई रु १० हजार, गिरी स्मृति युवा क्लबलाई रु १० हजार, तीन वटा नौमती बाजा समूहलाई रु ३५ हजार, आलडाँडा सामुदायिक वनलाई रु १० हजार, वाखु–आल्डा बिजुली समितिलाई रु १० हजार, खर्कको भजन मण्डलीलाई रु १० हजार, खुर्रखुरे सेवा समाजलाई रु १० हजार नगद सहयोग गर्नुभएको थियो ।


समाजसेवी आमा समूहलाई रु २५ हजार बराबरको भाँडा सहयोग गर्नुभएकी समाजसेवी थापाले स्थानीय हिमाली आमा समूहका ३० जना, चीनाकोट आमा समूहका १०० जना र समाजसेवी आमा समूहका ७६ जना गरि २०५ जनालाई पोशाक समेत वितरण गर्नुभएको छ । कार्यक्रममा सहयोगदाता थापा र उहाँकी आमा मंगली पुन र छोरीहरु प्रमिना र विपसालाई स्थानीयबासीले भव्य स्वागत तथा सम्मान समेत गरेका थिए ।


कार्यक्रममा बोल्दै सहयोगदाता थापाले कर्मथलो बेलायत रहेपनि आफु जन्मेको हुर्केको ठाउँको सामाजिक कार्यमा संधै सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा अरनीको आविका प्रअ फुलमायाँ विक, जनप्रिय आधारभुतका प्रअ शंखलाल रोका, शिवालय आधारभूतका प्रअ टिक प्रसाद रोका र जनता आधारभूतका प्रअ सिता सापकोटाले सहयोगदाता थापालाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

धुलेमेला संरक्षण समितिका अध्यक्ष रनबहादुर रोकाको अध्यक्षता, कृष्णप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सहयोगदाता थापामी आमा मगली पुन, छोरीहरु प्रमिना थापा, विपना थापा लगायतले समेत मन्तव्य राख्नुभएको थियो । सहयोगदाता थापाले बरंजामा पाँच दिने गणेश पुराण समेत लगाउनुभएको थियो ।

म्याग्दी पुस्तकालयको सराहनीय अभ्यास !

आफ्ने तथा परिवारको सुरक्षित र समृद्ध भविष्यको लागि वैदेशिक रोजगारीमा विभिन्न देशमा गएका म्याग्देलीहरु समस्यामा छन् ।उनीहरुले सुरक्षाको प्रत्याभुति गर्न सकिरहेका छैनन् । बैदेशिक रोजगारमा जाने बढ्दो क्रममा कतिपयः गाउँबस्तीहरु युवाविहीन भएका छन् ।

कर्मठ र उर्जाशील पाखुरीको अभाव गाउँघरमा देखिएको छ भने परिवारको सुखीका लागि गएक आफ्नै अभिभावक रोजगारीका लागि विदेशमा पुगेर पनि अलपत्र परेको घटनाले विद्यार्थी मानसिक तनावमा समेत हुन्छन् । सीप र सूचना नलिई वैदेशिक रोजगारीमा गएका कारण धेरै म्याग्देली अलपत्र परेको तितो यथार्थ हाम्रो सामु जगजाहेर छ ।

धन कमाउन विदेशमा पुगेका अभिभावकले झेल्दै आएको समस्या समाधान हुने गरी म्याग्दी सामुदायिक पुस्तकालयले सुरू गरेको वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानित र व्यवस्थित बनाउने अभियान अत्यन्त सन्देशमुलक र प्रभावकारी छ ।

म्याग्दी पुस्तकालयले आफ्ना अभिभावकको बैदेशिक यात्रा कसरी सुरक्षित बनाउने ? भन्दै वैदेशिक रोजगारीलाई व्यवस्थित, भरपर्दो, सुरक्षित बनाउन वैदेशिक रोजगारीलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विद्यार्थीसँग गरिएको कार्यक्रममा आफ्नो अभिभावकको बैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद बनाउन विद्यार्थीले चासो देखाएका छन् ।

रिड नेपालको आर्थिक सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले सञ्चालन गरिरहेको सुरक्षित स्थान्तरण दियो परियोजना अन्तरगत सुरक्षित आप्रवासन सम्बन्धि सचेतना कार्यक्रममा हतारमा विदेश जाने योजना बनाउँदा दलालको फन्दामा परेर ठगिने सम्भावनाका बारेमा विद्यार्थीको चासोले कार्यक्रमलाई विद्यालयले समेत समय ब्यवस्थापन गरेर नयाँ सन्देश प्रवाह गरेको छ ।

पुस्तकालयमार्फत सुरु भएको यो अभियानमा आफ्ना अभिभाबकले भोगेको समस्याका बारेमा समेत खुलेर बहस गरेको देखिन्छ । दक्ष, सीपयुक्त र उत्पादनमूलक क्षेत्रका बारेमा विद्यार्थीमा देखिएको चासोले पनि अव बैदेशिक रोजगारीमा जाने अभिभावकलाई दक्ष र सिपमुलक बनाउन सघाउने छ ।

पुस्तकालयमार्फत करिब २ सय विद्यार्थीलाई वैदेशिक रोजगारमा जाँदा कसरी सुरक्षित हुने ?, बैदेशिक रोजगारको सिलसिलामा कुनै बाधा अड्चन आयो भने क्षतिपुर्ति सहित कसरी सुरक्षित फिर्ता हुन सकिन्छ ? कानुन बिपरीत दलालको फन्दाबाट कसरी जोगिने ? लगायत विविध विषयमा जानकारी समेत गराइएको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा श्रीमानहरू विदेशी भूमिमा कठिन परिश्रम गरी नेपालमा पैसा पठाइरहेको अवस्थामा दुरुपयोग गर्ने र बैदेशिक रोजगारीकै कारण घट्ने डरलाग्दो सामाजिक तथा अपराधिक घटनाहरूहरु न्यूनिकरणमा समेत विद्यार्थीमार्फत समुदायमा समेत पहल हुने देखिन्छ।

परियोजना अन्तरगत हालसम्म बैदेशिक रोजागरीमा जाने तयारीमा रहेका, फर्किएर गाउँमै सिप मुलक कार्यहरु गरेका, समुदायमा फरक पेशामा आवद्ध भएका लगायत परियोजनाले लक्षित गरेको क्षेत्रमा कार्यक्रम गरिएको छ । बैदेशिक रोगजारीमा गएकाहरुले अनेक समस्याहरुसँग जुझ्दै नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएका छन् । तिनै आप्रवासी नेपाली कामदारहरुले पठाएको पैसाले के गाउँ, के सहर राष्ट्र कै अर्थतन्त्र चलायमान भएको छ ।

वैदेशिक रोजगारीले ल्याएको समस्या उनीहरुको मात्र नभईसमाज कै समस्या हो। सुरक्षित बैदेशिक रोजगारीका लागि सर्वसाधारण सबैको चेतना अभिवुद्धि गर्न आवश्यक छ । विदेशमा न्युनतम मापदण्दसहितको श्रम सम्झौताको व्यवस्था, महिलाको प्रजनन् स्वास्थ्यमाथिको अधिकार, कामबाट जबरजस्ती निश्काशन बन्द गरिनु पर्ने, आप्रवासी कामदारको सुरक्षित जीवनको अधिकार, सुरक्षित र सुलभ बैदेशिक रोजगार मुख्य मागहरु देखिन्छ ।

अर्कोतर्फ युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर छैनन् भन्ने मनोभावनाबाट मुक्त गर्नु आजको प्रमुख चुनौति हो । म्याग्दीमा बैदेशिक रोजगारीमा जानेहरुबाट बार्षिक ४ अर्वभन्दा बढी रेमिट्यान्स भित्रिने गरेपनि बैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाउने र बैदेशिक रोजगारीले घरबार समेत टुट्ने घटना सार्वजनिक हुने अवस्थाहरुलाई यस्तै कार्यक्रमले पक्कै न्यूनिकरणमा सघाउँछ ।

बैदेशिक रोजगारको लागि विदेश जानु अघि, विदेशमा रहँदाको समय र स्वदेश फर्किए पछिका सबै चरणहरुमा देखिएका समस्यहरुलाई सम्बोधन गर्दै बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला सबैको ऐक्यवद्धता जरुरी छ । म्याग्दी पुस्तकालयबाट सुरु भएको यो अभियानलाई अब जिल्लाका सबै पालिकाहरुले समेत आफ्नो प्राथमिकतामा राखेर काम पर्नुपर्ने देखिन्छ ।

छोराका लागि जीवनको भिख मागिरहेकी मनदेवी

काठमाण्डौको टिचिङ अस्पतालको बाल कक्षको बेड नं ८७९ मा करिब दुई साता बसेका ९ महिने शिशु आरभ सिर्पालीको टाउकोको तेस्रो शल्यक्रिया पछि घर फर्किएका छन् । जन्मिएको केहीदिनमा अस्वभाविक रुपमा टाउको फुलेपछि आमाको काखमा छटपटाइरहेको अवस्थामा विभिन्न माध्यमबाट प्राप्त सहयोगले केही राहत भएपनि नियमित चेकजाँच र औषधी उपचारका लागि चिकित्सकल दिएको तालिकाले मनदेवी घर्ती छटपटाइरहेकी छन् ।

गएको जेठ महिनायता २ पटक टाउकोको शल्यक्रिया गरिएपनि निको नभएपछि चिकित्सकको सल्लाह अनुसार तेस्रो शल्यक्रियाका लागि अस्पतालमा पुगेकी म्याग्दी धवलागिरी गाउँपालिका वडा नं ४ मुदीको खिवाङकी मनदेवी अहिले अस्पतालबाट फर्किएपनि थप उपचारका लागि अझै लाग्ने खर्च जुटाउन हम्मेहम्मे परेको छ ।

तेस्रो शल्यक्रियापछि चिकित्सकले थप तयारी गर्नुपर्ने संकेत देखाएपछि अस्पतालमै भक्कानिएकी मनदेवीसँग अवछोराको उपचारमा आवश्यक पर्ने आर्थिक छैन् । जीवनमरणको दोसाँधमा रहेका छोरालाई मनदेवीले करिब १० लाखभन्दा बढी खर्च गरेकी छन् ।

असह्य पीडाले काखमा रुँद छटपटाइरहेको छोराको उपचारमा जुटाएको आर्थिक सकिएपछि अस्पतालबाट भक्कानिदैं पोखरामा रहेको कोठामा आइपुगेकी मनदेवीले सहयोगीदातासँग पुनःसहयोगको याचना गरेकी छन् । छोराको उपचारलाई केही सहज बनाउन र घरखर्च चलाउन भन्दै तीन महिना अगाडी मलेसिया गएका श्रीमान राम सुनारले समेत खर्च पठाउन सकेका छैनन् ।

पटक–पटक औषधी उपचारका लागि अस्पतालमा जानुपर्ने,शल्यक्रिया सहित नियमित औषधी सेवनमा लाग्ने खर्च जुटाउन नसकेपछि मनदेवीले छोरोको उपचारका लागि जीवनको भिख मागिरहेकी छिन् शिशुलाई चिकित्सकले सिफारिस गरेको पोषण लगायतको खानेकुरा समेत खुवाउन समस्या भइरहेको छ ।  ‘विष खाएर मरौँ भने छोराकोमाया लाग्छ । उपचार गरौँ भने पैसा छैन ।’ चिकित्सकले नियमित उपचारमा अझै आर्थिक सकिने बताएपछि उनले सबैसँग आर्थिक सहयोगको याचना गरिरहेकी छिन् ।

छोराको उपचारका लागि मात्रै नभई सामान्य खर्च गर्ने पैसाको जोहो गर्न नसक्ने अवस्था भएपछि मनदेवीले अस्पतालको शैयाबाटै सहयोगको याचना गरेकी छन् । ‘तेस्रो अप्रेसन सकियो, केहीदिनका लागि घरमा जानु भनेको छ,भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले थप पीडा दिएको छ’ उनले भनिन् ।  ‘अहिले थोरैथोरै सहयोग जुटेको छ, अझै धेरै खर्च लाग्छ’मनदेवीले भनिन् ।

यसैबीच शिशुको थप उपचारका लागि आर्थिक संकलन अभियान समेत सुरु गरिएको आशिष परियारले बताए । उनका अनुसार आर्थिक सहयोगसँगै काठमाण्डौमा भएकालाई अस्पतालमा पुगेर समेत सहयोग गर्न अपिल गरेका छन् । शिशुको नयाँ जीवनको आशामा हालसम्म संकलन भएको आर्थिक हस्तान्तरण गरिएको र सहयोगका लागि सबैसामु अपिल गरेको उनले बताए ।

 

गरिबी झल्दै आएका बालबालिकालाई उच्च शिक्षामा सघाउँदै थापा दम्पत्ती

चरम गरिबीकै कारण आमाले आत्महत्या गरेपछि विचल्लिमा परेमा परेकी बेनी नगरपालिका-२ हाडेभिरकी बालिका अमृता किसानलाई समाजसेवी सवी थापाले निजी विद्यालयमा आवासीय सुविधासहित उच्च शिक्षा पढ्न आवश्यक सबै खर्चको घोषणा गरिन् ।  विगत ४ बर्षदेखि समाजसेवी थापाले बार्षिक ६० हजार खर्च सहित शैक्षिक साम्रागी, पोशाक लगायतको खर्च गरेकी छन् ।

बेनी नगरपालिका–४,थामडाँडा घर भई हाल अमेरिकामा रहेकी समाजसेवी सवी थापा र इन्द्र थापा दम्पत्तीले अभिभावकत्व ग्रहण गरेपछि अमृता लगातार विद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याएकी छन् । आर्थिक अभावकै कारण विद्यालय प्रवेश गर्न नपाएकी अमृताजस्तै अभिभावक विहिन दुई बालबालिकालाई उच्च शिक्षा र एक छात्रलाई स्नातक तहमा लाग्ने सबै खर्च समाजसेवी थापाले नै जिम्मा लिएकी छन् ।

अभिभावकविहिन बालबालिकालाई आर्थिक तथा उच्च शिक्षासम्मको यात्रामा नियमित सहयोग गदैं आएकी थापाले स्थापना गरेको इशा फाउण्डेशनमार्फत बेनी नगरपालिका–१,रत्नेचौरमा रहेको भानु मावि, बेनपा–४, थामडाँडाको भृकुटी आधारभुत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई छात्रबृद्धि सहितको सहयोगका लागि २ लाखको अक्षय कोष स्थापना गरिएको छ।

केहीदिन अगाडी आफुँले विद्यालयतहको शिक्षा प्राप्त गरेको धौलागिरी माविको बहिरा स्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी २ लाखको कोष स्थपाना गरेको समाजसेवी थापाले बताईन् । ‘जन्मदिने आमाबुबा नभएका धेरै बालबालिकालाई सहयोग गरेको छु,‘मानवीय सेवामा बाँचुन्जेल सहयोग गर्ने चाहना छ’ समाजसेवी थापाले भनिन् ।उनले गरिबीकै कारण विद्यार्थीले भोग्नु परेको समस्या सुन्दा आँशु थाम्नै नसक्ने बताईन् ।

समाजसेवी थापाले गरिबीकै कारण शिक्षा, स्वास्थ्योपचार, लालनपालन लगायतको आवश्यक खर्चको अभावले कष्टकर जीवन विताउन बाध्य भएकालाई सहयोग तथा मुटुरोग शिविर सहित विभिन्न अभियानमा समेत सहयोग गरेको इशा फाउण्डेशन म्याग्दीकी प्रतिनिधि चन्द्रा घलेले बताईन् ।

उनले समाजसेवी थापाले १७ जनाभन्दा धेरै बालबालिकालाई बार्षिक पोशाक, स्टेशनरी सहितका साम्रागी सहयोग गर्ने गरेको जानकारी दिईन् । लगनशील, मिहनेती तथा अनुशासित विद्यार्थीले आर्थिक अभावकै कारण आधारभुत तहदेखि उच्च शिक्षासम्मको पढाई रोकेर घरमै बस्ने गरेकालाई म्याग्दी जिल्ला बाहिर समेत धेरै सहयोग गरेको इशा फाउण्डेशनले जनाएको छ ।

 

रघुगंगा गाउँपालिकाद्धारा ४० जनालाई ४५ दिने निशुल्क कुक तालिम

म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नं.१ तिप्ल्याङमा ४५ दिने निशुल्क कुक तालिम सुरु गरेको छ । मंगलबारदेखि तिप्लायङमा ‘गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम’ अन्र्तरगत ४५ दिने व्यवासायिक कुक तालिमको शुभारम्भ गरिएको हो । ४५ दिन सम्म सञ्चालन हुने तालिममा गाउँपालिका भित्रका ४० जनाको सहभागिता रहेको छ ।

तालिममा तिप्याङका २५ जना र प्रत्येक वडामा सञ्चालन भएका होमस्टेबाट दुई÷दुई जना गरि ४० जनालाई तालिम दिईने गाउँपालिले जनाएको छ । तालिममा सहभागीलाई काठमाडौा एसिएन हस्पीलाटी एकेडेमीका रविन घले र अविसेक दियालीले प्रशिक्षण दिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुबेदीले बताउनुभयो ।

तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले सिपमुलक तालिम मार्फत युवाहरुलाई आर्थिक आयआर्जन संग जोड्न तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले यो आर्थिक बर्ष विभिन्न कार्यक्रम अन्तरगत करिब एक हजार जनालाई सिपमुलक तालिम दिईने बताउनुभयो । ‘हामीले विशेष युवाहरु लक्षित तालिमको आयोजना गरेका छौँ,यसले युवाहरुले रोजगारीको अवसर पाउछन् ।’ तालिममा सहभागीलाई नेपाली, इन्डेन, चाइनिज, कन्टीडेन्टल लगायतका खानाका परिकार बनाउन सिकाईने प्रशिक्षक घलेले बताउनुभयो । तालिमको उद्घाटन कार्यक्रम वडा सदस्य बलमान गौचनको अध्यक्षता, सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

म्याग्दी जेसीजद्वारा हिमालय आधारभुत विद्यालयमा न्यानो कपडा वितरण

????????????????????????????????????

म्याग्दी जेसीजले रघुगंगा गाउँपालिका–३ मा रहेको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंगलवार विद्यालयमा आयोजिक एक कार्यक्रमका बिच म्याग्दी जेसीजले सञ्चालन गरेको ‘न्यानो माया’ कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २६ जना बालबालिकाहरुलाई विद्यालय पोशाकको स्विटर वितरण गरेको हो ।

????????????????????????????????????

कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री र रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले विद्यार्थीहरुलाई जाडो मौसममा विद्यालयमा आउँदा लगाउनका लागि विद्यार्थीहरुलाई स्विटर वितरण गर्नुभएको थियो । छाडो याममा बालबालिकाहरुलाई न्यानोको प्रत्याभूति दिलाउन अर्जन सपिङ सेन्टरको सहयोगमा संस्थाले बालबालिकाहरुलाई स्विटर उपलब्ध गराएको शाखा अध्यक्ष खत्रीले बताउनुभयो ।


कार्यक्रममा रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवालले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा गरिब तथा विपन्न परिवारका विद्यार्थीहरु अध्ययनरत रहेको अवस्थामा जाडो याममा विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराएर जेसीजले रचनात्मक कार्य गरेको भन्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो । उक्त अवसरमा बालकक्षामा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान समेत गरिएको थियो ।
युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजले विद्यार्थीहरुको खेल तथा कला र संस्कृति लगायतका लुकेका प्रतिभा उजागरमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । यस अघि गत मंसिरमा म्याग्दी जेसीजले बेनी नगरपालिका– ९ घुरेपानीमा रहेको स्यालीखेत आधारभूत विद्यालयका ३६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।


म्याग्दी जेसीजका कार्यकारिणी उपाध्यक्ष कुमार बानियाँको स्वागत, सुनिता बेलबासेको जेसीज आस्थापाठ र कार्यक्रम संयोजक कृष्णप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बेनीको खुल्लामञ्चमा प्याराफिट शिलन्यास

निर्माणाधिन ‘बेनी मिनि रंगशाला’मा प्याराफिट विस्तारको काम शुरु भएको छ । बेनी नगरपालिकाले प्याराफिट निर्माणका लागि सञ्चालन गरेको योजनाको मंगलबार बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले शिलन्यास गर्नुभयो । नगरपालिकाले प्याराफिट विस्तारका लागि चालु आर्थिक वर्षमा रु. ५० लाख बिनियोजन गरेको थियो ।

प्याराफिट निर्माणका लागि उत्तरगंगा निर्माण सेवाले यही मंसिर पहिलो साता रु. ३५ लाख ९३ हजार १०१ मा ठेक्का सम्झौता गरेको थियो । ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको बेनी नगरपालिकाका प्राबिधिक गोपाल मगरले बताउनुभयो ।

यसअघि म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ । पर्खालमाथि करिब ५० मिटर प्याराफिट बनिसकेको छ । आगामी चैत महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आगामी पुष २८ गते म्याग्दी महोत्सव शुरु हुनुअघिनै प्याराफिट निर्माण सक्ने गरि ठेकेदार परिचालन भएका बताउनुभयो । उहाँले गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले बिनियोजन भएको रु. ८ लाख बजेटबाट कालीगण्डकी किनारतर्फ अधुरो पर्खाललाई पूर्णता दिने र माटोले पुरेर ‘फिलिङ’ गर्ने काम भैरहेको बताउनुभयो ।

अधुरो पर्खाल र प्याराफिट निर्माणका लागि हिउँद अधिवेशनबाट थप बजेट व्यवस्थापन गर्ने नगरप्रमुख केसीले बताउनुभयो । बेनीको खुल्ला मञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई वटा आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु. नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो ।

जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ । त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ । कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । हाल नौ÷नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११÷११ जनाको टिम खेलाउन सकिने वडा सदस्य सोहन श्रेष्ठले बताउनुभयो । प्याराफिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ ।

हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु. एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । युवा तथा खेलकूद मन्त्रालयले विसं २०७१ मा रु. छ लाख ५० हजार र २०७३ मा रु. ५९ लाख ६७ हजार विनियोजन गरेको थियो ।

विसं २०७४ मा रु. एक करोड र २०७५÷७६ मा रु. ६० लाख विनियोजन भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा बेनी नगरपालिकाले रु. नौ लाख, अर्थ मन्त्रालयले रु. ५० लाख, खेलकूद मन्त्रालयले रु. ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट रु. ५० लाख विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७÷७८ र ७८÷७९ मा कुनै पनि निकायबाट बजेट बिनियोजन नहुदा खेलमैदान निर्माण रोकिएको थियो ।