Friday, June 27, 2025
24.6 C
Beni
24.6 C
Beni
Friday, June 27, 2025
Home Blog Page 7

रघुगंगा गाउँपालिकाको बजेट ५० करोड

म्याग्दीको रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् १९ औं गाउँसभा ५० करोडको बजेट पारित भएको छ । बिहिबार आयोजित गाउँसभामा अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख ४० हजार ८ सय २० रुपैयाँको बजेट पारित भएको हो ।

गाउँपालिका उपाध्यक्ष पुनले आन्तरिक राजस्व एक करोड पाँच लाख, चालु आर्थिक वर्षबाट खर्च नभएर बाँकी रहने दुई करोड ५५ लाख, गरी आन्तरिक आयतर्फ तीन करोड ६० लाख प्रस्ताव गरेकी थिइन् ।

संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक आय गरी उक्त बजेट ल्याएको उपाध्यक्ष पुनको भनाई छ । रघुगंंगा गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत महिलालाई उद्योग दर्ता निशुल्क, कृषिका साम्रागी खरिदमा ७५ प्रतिशतसम्म अनुदान, पशुपालन, पर्यटन, विकास निर्माण, शिक्षालाई गुणस्तरीय बनाउने विभिन्न कार्यक्रमहरुमार्फत स्वरोजगारमुलक गतिविधिलाई प्राथमिकता दिएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन, वडा कार्यालयको भबन, उद्यमशिलता, बेरोजगारलाई रोजगारमुलक कार्यक्रमहरुका साथै किसानको बर्गिकरण गरी परिचय पत्र वितरण समेत गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । गाउँपालिकाले चालु खर्चतर्फ ३७ करोड ६७ लाख ६० हजार आठसय २० र पुँजीगततर्फ १२ करोड ४३ लाख ८० हजार बजेट प्रस्ताव गरिएको छ ।

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन्। चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ।

विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्‍याइएको थियो। त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ।

यो जम्मा सम्भावित चार कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो। बाँकी तीन कुइँकानको प्रारम्भिक अनुमान अनुसार जलजले क्षेत्रमै कूल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ। यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकता पूरा गर्न सक्ने सम्भावना देखिएको छ।

खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितका अनुसार नेपाल र चीनबीच २०१९ मा भएको जिटुजी सम्झौतापछि यो काम सुरु गरिएको थियो। “नेपाल सरकारले दैलेखको जलजले क्षेत्रमा ४५ रोपनी सरकारी जग्गा अन्वेषण प्रयोजनका लागि छुट्याएर परियोजना सञ्चालन गरेको हो, यो अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण परियोजना हो”, नापितले भने।

उनका अनुसार हाल प्राप्त भएको प्रतिवेदन प्रारम्भिक हो। ग्यासको गुणस्तर, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांशका विषयमा अझ विस्तृत परीक्षण भइरहेको छ। चिनियाँ कम्पनीले सन् २०२५ डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ। सोपछि डिसेम्बर भित्रै व्यावसायिक उत्पादन परीक्षण सुरु गर्ने सरकारी योजना रहेको बताइएको छ।

दैलेखको जमिनले आफैँबाट बल्ने ग्यास र तेल जस्तै पदार्थ चुहिने दृश्य स्थानीयका लागि नयाँ होइन तर वैज्ञानिक रूपमा यसको पुष्टि गर्न २०३६ सालदेखि प्रयास हुँदै आएको हो। विसं २०७२ मा संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दीले मुलुकभर इन्धन संकट सिर्जना गर्‍यो। यसपछि स्वदेशी ऊर्जा स्रोतप्रति सरकार गम्भीर बन्न बाध्य भयो। त्यही पृष्ठभूमिमा दैलेख फेरि चर्चाको केन्द्रमा आयो।

यो सङ्कटले एउटा अवसर सिर्जना गर्‍यो। नेपालले स्वदेशी स्रोत पहिचान र उत्खननको सम्भावनामा पहिलो पटक गम्भीर ध्यान केन्द्रित गर्‍यो। विसं २०७५ माघमा नेपाल–चीन बीच पेट्रोलियम अन्वेषणका लागि हस्ताक्षर भएको सम्झौताले एक प्राविधिक प्रगति मात्र होइन, रणनीतिक सन्देश पनि बोकेको छ।

प्रारम्भिक अन्वेषणमा नेपाली तथा चिनियाँ प्राविधिकले दैलेखको शिरस्थान र नाभिस्थान क्षेत्रमा निरन्तर बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेका थिए। दैलेखका छ–सात ठाउँमा पेट्रोल तथा ग्यास खानी रहेको प्राविधिकहरुको अनुमान रहेको छ।

धेरै पहिला गरिएको सर्भेबाट पनि यहाँ पेट्रोलियम पदार्थ वा ग्यास हुनसक्ने सम्भावना पाइएको थियो। अबको चरणमा त्यसको परिमाण र गुणस्तरबारे विस्तृत रूपमा यकिन गरिको छ। अहिलेको परियोजना चीनको पूर्ण अनुदानमा सञ्चालित नमूना (पाइलट) परियोजना हो।

यो चिनियाँ सरकारको जियोलोजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित हो। त्यसको प्रारम्भिक लागत अनुमानित रु दुई अर्ब ५० करोड रहेको थियो। कोभिड–१९ महामारी लगायत विविध कारणले कार्यान्वयनमा ढिलाइ हुँदा लागत पनि बढेको थियो।

नेपाल सरकारको खानी तथा भूगर्भ विभागले ‘पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना’ स्थापना गरी जग्गा अधिग्रहण, सडक र विद्युत् पहुँच विस्तार तथा प्रशासनिक समन्वयको काम सहजीकरण गरेको थियो। यसले गर्दा स्थानीय जनप्रतिनिधि, प्रशासनिक संयन्त्र वा अन्य कुनै पक्षबाट अवरोध भएन।

परियोजनाले अन्तिममा सार्थकता पाएपछि दैलेखवासी तथा सरोकारवाला निकाय उत्साहित भएका छन्। उत्खनन, प्रशोधन, आपूर्ति श्रृंखला तथा प्राविधिक काममा संलग्न जनशक्तिका कारण स्थानीय स्तरमा रोजगारीको अवसर वृद्धि हुने र उद्योगमैत्री वातावरण बन्ने उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले बताए।

मुलुकको ऊर्जा सुरक्षाका लागि यो परियोजना एक ऐतिहासिक अवसर सावित हुन सक्ने विश्वास लिइएको छ। प्रारम्भिक अनुमान अनुसारको भण्डारण पुष्टि भएमा नेपाल इन्धन आयातमा निर्भर हुनुपर्ने अवस्थाबाट बिस्तारै मुक्त हुँदै स्वदेशी स्रोतबाट नै ऊर्जा उत्पादन र वितरण गर्न सक्ने अवस्थामा पुग्ने बताइन्छ।

कालीगण्डकीको संरक्षणमा लागि पदयात्रा

धार्मिक, सांस्कृतिक र बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदीको संस्कृति र सभ्यताको संरक्षण तथा प्रचार–प्रसार गर्ने उद्देश्यले तनहुँ जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रामा निस्किएको छ । 

बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिकता गुमाएको भन्दै महेश सन्यास आश्रम देवघाटधाम, तनहुँको सङ्कल्प र आह्वानमा गत जेठ २२ गते देवघाटबाट सुरू भएको पदयात्रा २५ दिनमा ४३१ किलोमिटर दूरीमा रहेको उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित दामोदरकुण्डमा पुगेर सम्पन्न हुनेछ ।

पदयात्राका संयोजक तथा देवघाटस्थित महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलका अनुसार कालीगण्डकी बग्दै आएको जिल्लाहरूमा एकदिन विश्राम गरी पैदलमार्ग हुँदै नदीको महत्त्वबारे समुदायलाई समेत जानकारी गराउने गरिएको बताउनुभयो । संयोजक पौडेलले भन्नुभयो, ‘‘गण्डकी सभ्यता जोगाउनु अहिलेको प्रमुख आवश्यकता हो, यो पदयात्रा मात्रै होइन कालीगण्डकीमा देखिएको सङ्कट जोगाउने अभियान पनि हो ।’’ कालीगण्डकी नदीको दामोदर कुण्ड, मुक्तिनाथ हुँदै देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ ।

पदयात्रामा निस्किएको टोलीमा महेश सन्यास आश्रमका सन्त मधुसुदनानन्द गिरि र रमणानन्द गिरिका साथमा, हरिहर संन्यास आश्रमका सन्तहरु, नेपालका प्रतिष्ठित सबै मठ मन्दिरका प्रतिनिधि र भारतका विभिन्न मठ तथा आश्रमबाट आमन्त्रित साधकहरु गरी ६० जना रहेको संयोजक पौडेलले बताउनुभयो । कालिगण्डकी नदीमा राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउँले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग सम्बन्ध रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

कालिगण्डकी संसारकै ठुलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी मानिने  पदयात्रा संयोजक पौडेलले बताउनुभयो । पदयात्रा टोली मुस्ताङको कागबेनी, मुक्तिनाथ मन्दिरमा दर्शन गरी दामोदरकुण्ड प्रस्थान गर्ने छ ।

पदयात्राले कालीगण्डकी नदीको संरक्षण तथा यस क्षेत्रमा रहेका धार्मिक तिर्थस्थलहरुको प्रचारप्रसार गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने स्वामी ऋषी प्रपन्नाचार्यले बताउनुभयो । मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहान समेत भनिन्छ । दामोदरकुण्डमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला पाइन्छ । मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्छ । 

‘समुदायको मन जितेर जलविद्युत निर्माण गरिनुपर्छ’

अन्नपूर्ण गाउँपालिका क्षेत्रमा कालीगण्डकी किनारमा रहेको तातोपानीको मुहानहरु जलविद्युतका कारण विस्थापित हुने तथा सुक्ने भन्दै स्थानीयले चिन्ता गरेका छन्  ।  कालीगण्डकी नदीमा निर्माण सुरु भएका र हुन लागेका जलविद्युतका कारण पानी सुरुङबाट बग्दा नदी किनारमा रहेका तातोपानीका मुहानहरु सुक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन् ।पानी सुकेमा आर्थिक, सामाजिक तथा वातावरणीय हिसाबले पनि प्रभाव पर्ने भएकाले त्यस तर्फ ध्यान दिन स्थानीयले सचेत गराएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको भूरुङ तातोपानीमा आयोजना गरिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइमा सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए । हाइड्रो सपोर्ट प्रा.ली.ले निर्माण गर्न लागेको उक्त जलविद्युत निर्माण हुँदा पिउने पानी तथा तातोपानीको मुहानमा कुनै असर नपर्ने गरी मात्रै काम हुनुपर्ने स्थानीयको माग  छ ।

तातोपानीका स्थानीय अनिल हिराचनले विगतमा कालीगण्डकीको सतह अनुसार तातोपानीको मुहानको स्थान फेरिएको सुनाउँदै तातोपानीको मुलको भविष्य नै अन्यौल हुने तर्फ चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी यही क्षेत्रमा जन्मियौं हुर्कियौं र अब अन्त्य पनि यही हुने हो, यो हुँदै गर्दा हाम्रो हरेक गतिविधि कालीगण्डकीसँग जोडिएको हुनाले पानी सुरुङमा हाल्दा हामी पनि अन्यौलमा हुन्छौं ।’ १० प्रतिशत पानी छाड्ने कुरा ३६५ दिन नै हुनु पर्ने बताउँदै उहाँले भन्नुभयो–हाम्रो मृत्यु संस्कार कालीगण्डकी नदी बगेको किनारमा हुदै आएको छ, पानी सुरुङ छिरे हामीलाई पनि सुरुङ भित्रै लगेर जलाउने कुरा त भएन नि ।

अन्नपूर्ण गाउँपालिका २ का वडा अध्यक्ष ओम फगामीले अन्नपूर्ण क्षेत्रमा अन्य जलविद्युत निर्माणको क्रममा विस्फोटक प्रयोग गरेर सुरुङ बनाउँदा कम्पनका कारणले पानीको मुहान सुकेकाले गर्दा पानीको मुहानमा असर नपर्ने गरी काम गर्न आग्रह गर्नुभएको थियो ।  कालीगण्डकी नदी मात्रै नभएर सभ्यता पनि भएको हुनाले यसलाई जोगाउनु पर्ने धारणा राख्नु भएको थियो । कालीगण्डकी नदी नै रहेन भने यहाँको बसोबास र सभ्यता पनि नरहने तर्फ उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका हाइड्रो सपोर्ट प्रा.ली.का चन्द्रप्रसाद ढकालले तातोपानीको मुहान बचाउँदै स्थानीय जनजीवनमा कुनै पनि प्रभाव नपर्ने गरी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । कुनै पनि मुल्यमा स्थानीयलाई असर नपर्ने गरी काम गर्ने गरी तयारी गरी रहेको सुनाउँदै उहाँले त्यसमा आफ्नो प्रतिबद्धता रहेको धारणा राख्नुभयो ।

सार्वजनिक सुनुवाइको क्रममा जलविद्युत आयोजना निर्माणको क्रममा सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका लागि नौ करोड ७० लाख २४ हजार विनियोजन गरिने जानकारी गराइएको थियो । निर्माण थालिएको चार वर्षमा सम्पन्न हुने उक्त आयोजनाको १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार सात सय ३० कुल लागत रहेको छ । भूमिगत विद्युतगृह रहने उक्त आयोजना निर्माण गर्दा अन्नपूर्ण गाउँपालिकाको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित हुने छन् । एक सय ५१ मिटर ग्रस हेड रहेको उक्त विद्युत आयोजनाको  चार हजार तीन सय १९ मिटर लामो सुरुङ रहने छ । अन्नपूर्ण गाउँपालिका ६ को पोखरे बगरभन्दा ठीक पारी अन्नपूर्ण गाउँपालिका २ मा भूमिगत रहने विद्युतगृहबाट अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको सब स्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडान हुने छ ।

जनकल्याण माविले विविध कार्यक्रमसहित ६९औं वार्षिकोत्सव मनायो

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधवार आफ्नो ६९औं वार्षिकोत्सव अर्थात् स्थापना दिवस मनाएको छ । विद्यालयको आयोजनामा विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

वार्षिकोत्सवको अवसर पारेर विद्यालयले गएको शैक्षिक सत्रमा कक्षा ५ मा उत्कृष्ट अङ्कसहित प्रथम हुने सुमित परियार, द्वितीय सुदिपा परियार, कक्षा ८ मा प्रथम हुने इच्छा बानियाँ, द्वितीय अस्मिता परियार र आयुष बानियाँलाई नगद क्रमशः दुईहजार, एकहजार पाँचसय र सातसय ५० रुपैयाँसहित पुरस्कृत गरिएको थियो । यसैगरी विद्यालयले दिर्घसेवा सम्मान र उत्कृष्ट शिक्षक तथा अभिभावकलाई पनि पुरस्कृत गरेको जनाएको छ।

विद्यालयको बालशिक्षामा लामो समय सेवा गर्नुभएकोमा सुन्तली सुवेदी, कक्षा ८ को नगरपालिकास्तरीय परीक्षामा उत्कृष्ट नतिजा दिलाउन सहजीकरण गर्ने शिक्षक मोहनबहादुर जिसी, शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शिक्षक प्रकाश सुवेदी र उत्कृष्ट अभिभावकतर्फ देवीकुमारी नेपालीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

सोही अवसरमा विद्यालयमा स्थापित धनेश्वरी–तारानाथ स्मृति अक्षयकोषको तर्फदेखि संविधानसभा सदस्य रेशमबहादुर बानियाँलाई सम्मानपत्र प्रदान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्र्दै संविधानसभा सदस्य बानियाँले पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गएकाले गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीको आकर्षण बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालयमा कार्यरत शिक्षकहरुले मेहनतका साथ अध्यापन गराउनुपर्ने बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न तथा राम्रो जनशक्ति उत्पादन गर्नको लागि विद्यालय प्रशासन लाग्नुपर्नेमा जोड दिनुभयो ।

बेनी नगरपालिकाको नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले विद्यार्थीहरुलाई अध्ययनसँगै नगरपालिकामार्फत ‘हामी सक्छौं, हामी गर्छौं’ भन्ने सिपमूलक कार्यक्रममार्फत जोड्ने प्रयास गरिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरुलाई शैक्षिक र भौतिक रुपमा सशक्त बनाएर स्थापित गराउनुपर्ने बताउँदै सामुदायिक विद्यालयलाई सबै क्षेत्र, वर्ग र लिङ्गले अपनत्व गर्नेगरी अगाडि बढाउनुपर्ने बताउनुभयो । साुमदायिक विद्यालयमा सरकारको ठूलो लगानी रहेकाले त्यसको प्रतिफल आउने गरी सबै सरोकारवाला लाग्नुपर्ने उहाँको भनाइ छ । बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँले विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ जोड दिनुपर्ने बताउँदै नगरपालिकाले शैक्षिक सुधारका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो ।

विद्यालयका भूतपूर्व अध्यक्ष माधवप्रसाद रेग्मी र पूर्व अध्यक्ष रामप्रसाद सुवेदीले आ–आफ्नो कार्यकालमा समग्र विद्यालयको शैक्षिक गुणस्तर बढाउन तथा भौतिक विकासमा जोड दिइएको बताउनुभयो । विव्यस अध्यक्षद्वय रेग्मी र सुवेदीले विद्यालय सञ्चालन गर्नको लागि यसअघि विभिन्न माध्यमबाट आर्थिक सङ्कलन समेत गरिएको बताउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले विद्यालयमा हल व्यवस्थापन र अन्य संरचना निर्माणको आवश्कता रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष बलराम बानियाँ, सम्मानित शिक्षक प्रकाश सुवेदी, साहित्यकार अजयमिलन श्रेष्ठ, विद्यार्थीद्वय इच्छा बानियाँ र करिस्मा किसानले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, प्रअ पौडेलको स्वागत र शिक्षक शिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । वार्षिकोत्सव समारोहको कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

माउण्टमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बेनी शाखा म्याग्दीको आयोजनामा मङ्गलवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकको बेनी शाखाद्वारा जिल्लाको बेनी नगरपालिका–७, महारानीथानमा सञ्चालित माउण्ट एभरेष्ट आवसीय माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

माउन्ट एभरेष्ट आवासीय माविको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जनाएको छ । कार्यक्रममा बैंकको बेनी शाखा प्रमुख उपेन्द्र गौतम, शाखा सञ्चालन प्रमुख निर्मला आचार्य र कर्जा विभाग प्रमुख धुर्व भट्टराईले संयुक्त रूपमा बैंकमा खाता खोल्ने प्रक्रिया, बचत गर्नुका फाइदा, बैंकको सेवा, सुविधाबारे सहजीकरण गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा विद्यार्थीहरुलाई मोबाइल बैङ्किङ तथा डिजिटल कारोबार, बैंक तथा खाताका प्रकार, व्यालेन्स ट्रान्सफर, एटिमएको प्रयोग, शेयर बजार तथा शेयर मार्केट तथा डिजिटल कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, सुरक्षालगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको कर्जा विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । शाखा प्रमुख गौतमले विद्यार्थीहरूलाई स्कुलको पढाइसँगै बैङ्किङ सम्बन्धी विषयमा आधारभूत ज्ञान प्रदान गरी भविष्यमा उनीहरूले लिने वित्तीय निर्णयहरूलाई सहज र प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यले साक्षरता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल राजु केसी र भाइस प्रिन्सिपल धुर्वसागर शर्माको विशेष उपस्थिति रहेको थियो भने ५५ जना भन्दाबढी विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए । आगामी दिनमा पनि बैंकले वित्तीय साक्षरतालाई निरन्तरता दिने जनाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको हाल देशभर ७४ जिल्लामा सञ्चालित २ सय ७५ वटा शाखा र ६५ एक्सटेन्सन काउन्टरमार्फत सेवाग्राहीहरुलाई वित्तीय सेवा प्रदान गरिएको छ ।

म्याग्दीमा लेखा समूह गठन, अध्यक्षमा ओमबहादुर रेश्मी

म्याग्दीमा लेखामा आवद्ध कर्मचारी संगठित भएका छन् । जिल्लामा रहेका संघीय, प्रदेश र स्थानीय तहको लेखा शाखामा कार्यरत कर्मचारीले ओमबहादुर रेश्मीको अध्यक्षतामा लेखा समूह म्याग्दी गठन गरेका छन् । समितिको संरक्षकमा कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीका प्रमुख किरणचन्द्र सुबेदी,उपाध्यक्षमा गोकुल शर्मा, सचिव सुमन सुबेदी, सहसचिव बसन्त पौडेल, कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठ रहनुभएको छ ।

कार्यसमितिको सदस्यहरूमा अस्मिता थापा, बिजय बहादुर कुँवर, गणेश पौडेल र सुदिप पोख्रेल रहनुभएको सचिव सुबेदीले जानकारी दिनुभयो । लेखा समूह गठनसँगै वित्तीय अनुशासन कायम गर्ने, पेशागत सुरक्षा,वृत्ति विकास सहित संस्थागत गतिविधिका साथै कर्मचारी स्वाग तथा विदाई लगायत विभिन्न कार्यक्रमहरु गर्ने अध्यक्ष रेश्मीले बताउनुभयो। यसैबीच बुधबार विधिवतरुपमा लेखा समूह जिल्ला प्रशासन कार्यालय मा दर्ता भएको छ । प्रमुख जिल्ला अधिकारी गुरुप्रसाद ढकालले समूहका पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।

बेनीमा बन्दैछ फल्चा शैलीको प्रतीक्षालय (भिडियो)

म्याग्दीको बेनी नगरपालिका-७, पुस्तकालय चोकमा फल्चा शैलीमा निर्माण गर्न लागिएको विश्रामस्थलको शिलन्यास गरिएको छ । बेनी सामुदायिक माविसँगै जोडिएको वडा कार्यालय अगाडी सार्वजनिक जग्गामा भक्तपुर जिल्लाका कालीगढ र इँटाको प्रयोग गरी १२ लाखको लागतमा प्राचिन मौलिकता झल्कने गरी विश्रामस्थलको मेयर सुरत केसीले शिलन्यास गर्नुभयो । करिब ३० जना एकैपटक बस्न मिल्ने विश्रामस्थलमा परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरी असार महिनामै सम्पन्न गरिने छ ।

उक्त बिश्रामस्थलमा विद्यार्थी, ग्रामिण क्षेत्रबाट आएका सर्वसाधारण तथा बृद्धबृद्धाहरुलाई सहज हुने वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । विश्रामस्थलको शिलन्यास कार्यक्रममा उपमेयर ज्योति लामिछाने पौडैल, कार्यपालिका सदस्य र्सिजना श्रेष्ठ, वडा सदस्यहरू सोहन श्रेष्ठ, रमेश फगामी, नेपाल भाषा मंकाखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, फल्चा निर्माण उपभोक्ता समितिका संयोजक कुविरकुमार श्रेष्ठ सहित अगुवाहरुको उपस्थिती रहेको थियो । करिब साढे ३ सय बर्ष अगाडी नेवार समुदायले मानबस्तीको विस्तार गरेका थिए । नेवारी भाषामा केही समयको विश्रामको लागि बनाईएको विश्रामस्थललाई फल्चा नामले चिनिन्छ ।

लेकगाउँमा ‘एक घर, एक धारा’ सहित खानेपानी विस्तार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रमसहित खानेपानी विस्तार भएको छ ।

लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एउटा विद्यालय र दुई वटा सामुदायिक भवनमा खानेपानीको पहुँच विस्तार गरिएको हो ।

लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताउनुभयो ।

घरघरमा निर्माण भएका धारामा पानी आउन थालेको र पूर्वाधारसहित सुरक्षित खानेपानीलाई ध्यान दिइएको उहाँले बताउनुभयो ।

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो ।

खानेपानी आयोजनाका लागि ट्रष्टको ५० लाख ५४ हजार र स्थानीयवासीको १० लाख ९२ हजार रुपैयाँ बराबरको श्रमदान गरी कुल ६१ लाख ४७ हजार रुपैयाँ लगानी भएको छ ।

आयोजना निर्माण शुरू भएको दुई महिनामै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि उपभोक्ता उत्साहित भएका छन् ।

विद्युत् सेवा सुधारका लागि राज्यमन्त्री गर्बुजाको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको ध्यानाकर्षण

उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ध्यानाकर्षण गराएका छन् । सोमबार राज्यमन्त्री गर्बुजाको कार्यकक्षमा भएको भेटमा कार्यकारी निर्देशक शाक्यलाई म्याग्दीमा विद्युत आपुर्ति नियमित गराउन निर्देशन दिनुभयो । म्याग्दीबाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले गृहजिल्ला म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र जलद्यिुत आयोजनालाई समयमै सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।

साथै म्याग्दीमा नयाँ ईन्सुलेटेड तार र ट्रान्सफरमर थप जडान गरी विद्युत आपुर्ती भरपर्दो र नियमित गराउन , जिल्लाको भौगोलिक रुपमा सबैभन्दा दुर्गम गुर्जा लगायतका ग्रामिण बस्तीमा केन्द्रिय प्रसारण लाइन पु¥याउनका लागि प्रक्रिया थाल्न समेत निर्देशन दिनुभयो ।

साथै म्याग्दीका स्थानीय तह सँगको सहकार्यमा जिल्ला सदरमुकाम बेनी सहितका बजारमा सडक बत्ती जडान गर्नका लागि समन्वय गरी प्रक्रिया थाल्न आग्रह गर्नुहुँदै राज्यमन्त्री गर्बुजाले आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राज्यमन्त्री गर्बुजाका निजि सचिव विनोद शर्माका अनुसार ,छलफलमा कार्यकारी निर्देशक शाक्यलाई राज्यमन्त्री गर्बुजाले विद्युत क्षेत्रमा जिल्लामा देखिएका अन्य समस्यालाई समाधान गर्नका लागि आवश्यक कार्य गर्न सचेत गराउनुभयो ।

भेटमा कार्यकारी निर्देशक शाक्यले निर्माणाधिन प्रसारण लाइन र सवस्टेशन तथा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो । म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७, डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३, अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण अन्तिम चरणमा पु¥याएको छ ।