Saturday, June 28, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 9

ढोरपाटन सडक सञ्जालमा जोडियो

म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्र्याक (मार्ग) जोडिएको छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफ लाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौं र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दूरीको सडक पनि हो।

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि-२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्र्याक निर्माण भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।

‘मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ करिब नौ किलोमिटर सडकको ट्र्याक निर्माण भएको छ। ढोरपाटनबाट जलजलासम्म पनि १० किमी कच्ची सडक यसअघि नै जोडिएको थियो,’ उनले भने, ‘डोजर जलजला पुगे पनि स्तरोन्नतिको काम सकिएपछि मात्र यातायातका साधन सञ्चालन गर्न सकिन्छ।’

बेनीदेखि विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो। बेनीदेखि मुना–खोरिया–मरेनी हुँदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग खुलेको हो। धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने बताए।

उनका अनुसार पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ। जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्छ। धवलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले तीन वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो।

बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ। प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए।

मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ। रासस

म्याग्दीमा दुई सय व्यवसायी पेशा छाडेर पलायन

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

म्याग्दीमा पछिल्लो तीन आर्थिक वर्षमा आफ्नो पेशा व्यवसाय छाडेर झण्डै दुई सय व्यवसायी पलायन भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा एक सय ९६ व्यवसायीले आफ्नो पेशा व्यवसायलाई औपचारीक रुपमा बन्द गरेरै पलायन भएका हुन् ।

कार्यालय प्रमुख अमृत प्रसाद कँडेलका अनुसार आर्थिक वर्ष २०७९/०८० मा उद्योग तर्फका १४ र वाणिज्य तर्फका २९ गरी ४३, आर्थिक वर्ष २०८०/०८१ मा उद्योग तर्फका ३१ र वाणिज्य तर्फका ५३ व्यवसाय गरी ८४ तथा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उद्योग तर्फ २२ र वाणिज्य तर्फ ३६ गरी ६९ व्यवसायहरु बन्द भएका हुन् ।

आफ्नो व्यवसाय बन्द भएपछि आवश्यक कागजातसहित सम्बन्धित व्यक्ति नै कार्यालयमा आएर व्यवसायीक फर्म खारेज गरेको कार्यालय प्रमुख कँडेलको भनाइ छ ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा एक हजार ३२ नयाँ व्यवसाय दर्ता भएका छन् । उद्योगतर्फ तीन सय ३४ र वाणिज्य तर्फ छ सय ९८ व्यवसाय दर्ता भएका हुन् । तीन वर्षको अवधिमा एक हजार नौ सय ६८ व्यवसायीले आफ्नो फर्म नवीकरण गरेका छन् ।

पर्यटन तथा उद्योग कार्यालयबाट पर्यटनसम्बन्धी ४९ योजनाहरु कार्यान्वयनमा गएका छन् । आर्थिक वर्ष २०७९/८० मा २१, गत आर्थिक वर्षमा १८ र चालु आर्थिक वर्षमा १० गरी उक्त परिणाममा योजनाहरु कार्यान्वयनमा गएका हुन् ।

लुलाङमा नेपाल टेलिकमको मोबाइल फोन सेवा विस्तार

दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर साविक लुलाङ गाविसमा मोबाइल फोन सेवा विस्तार गरेको हो ।

धवलागिरि गाउँपालिकाको खोरिया, दर, मुना, लमसुङ, लुलाङ, मरेनी, जलजला क्षेत्रलाई लक्षित गरेर बिटिएस टावर सञ्चालन भएको धवलागिरि–२ लुलाङका वडाध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिनुभयो ।

फागुन पहिलो हप्ता बिटिएस टावर स्थापना भएको थियो । नेपाल विद्युत् प्राधिकरणले गएको हप्ता केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरेपछि चार महिनापछि बिटिएस टावर सञ्चालन भएको हो । 

धान रोपाईको चटारो…

म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दुखुबेसीका धान रोपाईका लागि जोग्दै गरेका किसान । असार महिनाको सुरुवातसँगै सिचाईको सुविधा भएका क्षेत्रमा रोपाईको तयारी सुरु भएको छ । खोलानदी, खोल्साहरु बाहेक जिल्लाको अधिकाँश कृषकहरु सिचाई सुविधाको अभाबको कारण खेत रोपाइँको लागि बर्षामै भर पर्नुपर्ने बाध्यता रहेको छ । मुल फुट्ने गरि बर्षा नभएसम्म सबैतिर रोपाई सुरु हुदैन । म्याग्दीमा धान उत्पादन हुने ३ हजार ८ सय ९० हेक्टर क्षेत्रफल रहेको छ । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातको धानखेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेतीसमेत हुन्छ ।

पर्यटकीय स्थल खोप्रामा भौतिक पूर्वाधार निर्माण

अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीय स्थल खोप्रालेकमा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरी स्वच्छ खानेपानीको व्यवस्था गरिएको हो । 

गण्डकी प्रदेश सरकारको रु. २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरेको कार्यालय प्रमुख अमृत कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक सय ५० जना क्षमताको आश्रयस्थल, दुई वटा सार्वजनिक शौचालय र खोप्राबाट बयलीतर्फ जाने भिरमा पाँच सय मिटर पदमार्ग निर्माण भएको छ । 

उक्त पदमार्गमा ढुङ्गा पनि बिछ्याइएको उल्लेख गर्दै कँडेलले करिब ६० मिटर पदमार्गको डिलतर्फ फलामको रेलिङ राखिएको बताउनुभयो । “गत वर्ष जडान गरिएको एक हजार ८०० मिटरको पाइपलाई जमिनभित्र गाडिएको छ । यसअघि निर्माण भएको सामुदायिक लजको भवनमा रङरोगन र भल तर्काउने कुलेसो निर्माण भएको छ”, उहाँले भन्नुभयो ।

समुद्री सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्रामा योजना सञ्चालन गर्न पाउद्वार गाउँका मजदुर ४५ दिनसम्म त्यहीँ बास बसेका थिए । गाउँबाट आवतजावत गर्न टाढा भएकाले २८ जनाले सम्बन्धित ठाउँमा बास बसेर साँझ बिहानको समयमा पनि काम गरेका उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले बताउनुभयो । गत वर्ष पनि प्रदेश सरकारद्वारा प्राप्त रु. १२ लाख बजेटबाट यहाँ पर्यटन पूर्वाधार निर्माण भएको थियो । 

स्थानीयवासीले खोपारा भन्ने यस स्थान पर्यटन क्षेत्रमा खोप्राको नामले चिनिएको छ । सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइ र यात्रा अवधि लम्बाउन खोप्रालाई वैकल्पिक गन्तव्य बनाइएको छ । खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याम्प) भित्र पर्छ । गुराँसको जङ्गलको बीचमा पहाडको टाकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो । 

यहाँबाट अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्गल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृश्य अवलोकन गर्न सकिन्छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा खोपरा पर्न थालेपछि पर्यटन सहकारी संस्थाले सञ्चालन गरेको सामुदायिक लजको क्षमता वृद्धि गर्न आश्रयस्थलको नयाँ भवन निर्माण गरिएको अन्नपूूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिनुभयो । रासस

गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै

सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ । पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन् ।

यस अवधिमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा उजुरी परेका छन् । कास्कीमा एक हजार ६८३ र मनाङमा तीन जनाले उजुरी दिएका छन् । नेपाल प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी निरीक्षक प्रकाश पौडेलका अनुसार कास्कीमा आर्थिक वर्ष २०७८/७९ मा ११४ वटा, आव २०७९/८० मा २३२ वटा, आव २०८०/८१ मा ९३८ र चालु आवको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परेका छन् ।

नवलपुरमा आर्थिक वर्ष २०७८/७९ मा ३१ वटा, आव २०७९/८० मा ४४ वटा, आव २०८०/८१ मा २०२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परका छन् । तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा १९ वटा, आव २०७९/८० मा ५२ वटा, आव २०८०/८१ मा १३७ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४१ वटा मुद्दा परको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

स्याङ्जामा आर्थिक वर्ष २०७८/७९ मा २४ वटा, आव २०७९/८० मा ३३ वटा, २०८०/८१ मा ७३ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २९ वटा मुद्दा परेका छन् । बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा नौ वटा, आव २०७९/८० मा नौ वटा, आव २०८०/८१ मा ३५ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २८ वटा मुद्दा परको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

गोरखामा आर्थिक वर्ष २०७८/७९ मा १९ वटा, २०७९/८० मा ११ वटा, आव २०८०/८१ मा ६४ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ वटा मुद्दा परेका छन् । लम्जुङमामा आर्थिक वर्ष २०७८/७९ मा साइबर अपराधसम्बन्धी उजुरी परेको छैन । आर्थिक वर्ष २०७९/८० मा चार वटा, आव २०८०/८१ मा ७१ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २६ वटा मुद्दा परेको पौडेलको भनाइ छ ।

पर्वतमा आर्थिक वर्ष २०७८/७९ मा १० वटा, आव २०७९/८० मा १७ वटा, आव २०८०/८१ मा ५२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ११ वटा मुद्दा परेका छन् । म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा छ वटा, आव २०७९/८० मा छ वटा, आव २०८०/८१ मा ३६ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ वटा मुद्दा परेका छन् ।

मनाङमा आर्थिक वर्ष २०७८/७९ मा साइबर अपराधसम्बन्धी उजुरी परेको छैन भने आव २०७९/८० मा एउटा वटा, आव २०८०/८१ मा एउटा र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एउटा वटा मुद्दा परेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

नेपाल प्रहरी प्रदेश कार्यालयमा २०७८/७९ मा दुई वटा, आव २०७९/८० मा तीन वटा, आव २०८०/८१ मा १३ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एउटा पनि मुद्दा नपरेको उहाँको भनाइ छ ।

सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता

गण्डकी प्रदेशमा साइबर अपराधसम्बन्धी सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता छन् भने कम उजुर गर्नेमा ह्वाट्सएप प्रयोगकर्ता छन् । चार वर्षमा दुई हजार ५४६ जना फेसबुक प्रयोगकर्ताले उजुरी दिएका छन् भने ७३ जना ह्वाट्सएप प्रयोगकर्ताले उजुरी दिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । प्रहरी निरीक्षक पौडेलका अनुसार १७७ जना टिकटक, ८१ जना इन्स्टाग्राम ७३ जना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले उजुरी गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा १९० जना, आव २०७९/८० मा ३१३ जना, आव २०८०/८२ मा एक हजार ५४२ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५०१ जना फेसबुक प्रयोगकर्ताले उजुरी दिएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २५ जना, आव २०७९/८० मा ४९ जना, आव २०८०/८२ मा २९ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ७५ जना टिकटक प्रयोगकर्ताले उजुरी दिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा छ जना, आव २०७९/८० मा ३८ जना, आव २०८०/८१ मा २० जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १७ जना इन्स्टाग्राम  प्रयोगकर्ताले उजुरी दिएका छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा चार जना, २०७९/८० मा नौ जना, आव २०८०/८२ मा २१ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १९ जना ह्वाट्सएप प्रयोगकर्ताले उजुरी दिएका छन् । चार वर्षमा ७३ जना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले उजुरी दिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले तयार गरेको तथ्याङ्कअनुसार सामाजिक सञ्जाल ह्याकसम्बन्धी बढी उजुरी परेको छ । ह्याकसम्बन्धी एक हजार ८०६ जना, फेक आइडीसम्बन्धी ६७४ जना, ठगीसम्बन्धी ३४, गालीगलौजसम्बन्धी ११३ जना, अश्लिल गतिविधिसम्बन्धी २०५ जना र अन्य साइबर अपराधसम्बन्धी ६८ वटा उजुरी परेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा परेका ६६६ उजुरीमध्ये ४३० वटा फछ्र्यौट भएका छन् । २३६ उजुरी भने फछ्र्यौटका क्रममा छन् ।

सबैभन्दा बढी युवा पीडित

प्रदेश प्रहरी कार्यालय गण्डकीको तथ्याङ्कलाई हेर्दा साइबर अपराधबाट सबैभन्दा बढी युवापुस्ता पीडित भएको देखिन्छ । विद्यालय र क्याम्पस पढ्ने उमेर समूहका विद्यार्थी र आफैँ केही गर्नसक्ने युवा साइबर अपराधबाट पीडित बनेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म २६-३५ उमेर समूहका एक हजार ६१ जना पीडित भएका छन् ।

सोह्र वर्ष मुनिका ५८ जना, १६-२५ उमेर समूहका ८३६ जना पीडित भएका छन् । त्यस्तै, ३६-४५ उमेर समूहका ६२७ जना, ४६-६० उमेर समूहका २६९ जना, ६० वर्ष माथिका ५४ जना र अन्य उमेर समूहका ४६ जना पीडित बनेका छन् ।

किन युवा पुस्ता बढी पीडित छन् ?

साइबर अपराधसम्बन्धी कानुनबारे सचेत नहुँदा घटनाहरु हुने गरेको अधिवक्ता राम शर्माले बताउनुभयो । साइबर अपराध कम गर्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत हुन जरुरी रहेको बताउनुभयो । साइबर कानुन नेपालमा भएको हुँदा यसको कार्यान्वयन अलि प्रभावकारी हुन नसक्दा घटना हुने गरेको उहाँको भनाइ छ ।

अधिवक्ता शर्माले भन्नुभयो, “अहिले मर्यदाविपरीत तस्बिर र भिडियो पोस्ट गर्ने प्रचलन जस्तो भयो, यसले स्वयं व्यक्ति र समाजलाई पनि राम्रो गरेको छैन, हरेक नागरिक सचेत नभएसम्म यस्ता किसिमका अपराधका घटना  कम गर्न गाह्रो हुन्छ ।” चिनजानका आधारमा मोबाइल बैंकिङका पासवर्ड अरुलाई दिने र अपरिचित लिङ्क खोल्दा धेरैको फेसबुक ह्याक हुने गरेको धेरै मानिसहरु पीडित हुनुपरेको शर्मा बताउनुहुन्छ ।

मुलुकी ऐन तथा अन्य ऐनका विभिन्न दफा लगाएर कानुन कारबाही हुँदै आएकामा विसं २०६३ बाट भने विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी विशेष ऐन नै ल्याई हाल लागू भइरहेको उहाँले बताउनुभयो ।

यस ऐनको दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसुरको उल्लेख गरी सो प्रमाणित भएमा कानुनअनुसार रु ५० हजारदेखि पाँच लाखसम्म जरिवाना तथा छ महिनादेखि पाँच वर्षसम्मका जेल सजाय कसुर अपराधको मात्रा हेरी अदालतले तोक्नसक्ने कानुनी प्रावधान छ ।

मनसुनी वायुको प्रभाव : आज देशैभरि वर्षा हुन सक्ने

हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाकोअनुरोध छ।

भिरमहको उत्पादन घट्यो

म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् ।

अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा यसपाली २०० लिटर मात्र मह उत्पादन भएको बताउनुभयो । पाइजाको टोलीले स्वाँत गाउँ नजिकै रहेको छहरीभिर र छिसको टाउकोमा दुई दिन मह सिकार गरेका थिए ।

हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्सातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले उत्पादन कम भएको पाइजाले बताउनुभयो । म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा र धौलागिरि गाउँपालिकाको लेकाली क्षेत्रमा भिरपहरामा जेठ महिनामा मह सिकार गर्ने चलन छ ।

वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । गत वर्ष दुई हजार लिटर मह निकालेको धौलागिरि गाउँपालिका–२ खोरीयाका मह सिकारी मोतीप्रसाद पाइजाको टोलीले यस वर्ष ५०० लिटर मात्र निकालेको छ ।

धौलागिरिको गुुर्जा, मुदी, रघुगङ्गाको चिमखोला, कुइनेमङ्गले, अन्नपूर्णको हिस्तानमा रहेका भिरमा मह सिकार गर्न गएका सिकारी टोलीहरूले पनि मह उत्पादन घटेको बताएका छन् । खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बिच भागमा भिरमौरीको वासस्थान हुन्छ । वनजङ्गलमा फुल्ने फूल भिरमौरीको आहारा हो । हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइसराइ गर्छन् ।

डोरीको सहायताले डरलाग्दो भिरमा झुन्डिएर निकालिने भिरमह प्रतिलिटर तीन हजारदेखि तीन हजार ५०० का दरले बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवर्धक मानिने भिरमह धार्मिक कार्यका लागि पनि प्रयोग हुन्छ ।

विदेश गएका र सहरमा बस्नेहरूले भिरमह कोसेलीका रूपमा लैजाने गर्छन् । भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टी रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।

महको चाका वरिपरि मौरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिए पछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्‍याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुवाँ झोस्न सुरु गर्छन् मौरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।

मौरी अन्यत्रै भागेपछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । रासस

बागलुङ जिप दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो

शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।

शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ का ७० वर्षीय नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो।

गम्भीर घाइते भएकी ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए।

दुर्घटनामा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर घाइते भएका छन्।

घाइतेहरूलाई मणिपाल अस्पताल पोखरा र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको उनले जानकारी दिए। जिप सडकदेखि करिब ६० मिटर तल खसेको बस्नेत बताए। गाडीमा १६ जना सवार थिए। रासस

आन्दोलनको उपलब्धी माथी नै प्रश्न उठ्यो : उपाध्यक्ष गर्बुजा

शिक्षकहरुले गरेको लामो आन्दोलन पछि भएको सहमतीले यतिका लामो आन्दोलन नै आवश्यक नरहेको जस्तो बनाएको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष जंगबहादुर गर्बुजाले बताउनु भएको छ

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १४ औं जिल्ला अधिवेशनमा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो । झण्डै एक महिना लामो आन्दोलन गर्दा पनि शिक्षकहरुले गरेको आन्दोलन अनुसारको उपलब्धी मिल्यो मिलेन भनेर प्रश्न उठाउने अवस्था सृजना भएको उहाँको धारणा थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज यामबहादुर कुँबरले राज्यको हरेक ठाउँमा आफ्नो अमुल्य योगदान दिने शिक्षकको पेशा मर्यादित हो र यसलाई जोगाइ राख्नु पर्ने बताउनुभयो । उहाँले शिक्षकको मर्यादा र सम्मान अरुले दिने भन्दा पनि आफूहरुले नै व्यवस्थीत गर्नुपर्ने उहाँको तर्क थियो ।
अधिवेशनको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष रामप्रसाद पोखरेल, सदस्य गोविन्द भण्डारी, गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेल, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी लगायतले बोल्नु भएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका अध्यक्ष लेखबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भीमबहादुर घर्तीले गर्नुभएको थियो । अधिवेशनको बन्दशत्रले नयाँ समिति चयन गर्ने उपाध्यक्ष रमेशसिं ठकुरीले जानकारी दिनुभयो ।