बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि २३ महिनासम्मका तीन हजार ९८ गरी छ हजार ६४७ जना बालबालिकालाई सबै खोप लगाइएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने १३ वटा रोगविरुद्धका सबै खोप लगाइएको हो ।
‘बागलुङका सबै स्थानीय पालिकाले स्वास्थ्य संस्था स्थापना गरेर बालबालिकालाई खोप लगाउने र अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्, बालबालिकालाई दिने नियमित खोपबाहेक यस वर्ष हामीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप पनि लगाइसकेका छौँ, विद्यालय जाने ६ देखि १० कक्षासम्मका ११ हजार ६२ छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका ११ किशोरी गरी जम्मा ११ हजार १७७ जना (९८ प्रतिशत)लाई उक्त खोप लगाएका छौँ’, उनले भने।
हाल बागलुङ जिल्लामा २०५ वटा खोप केन्द्रबाट तथा २१५ खोप ‘सेसन’मार्फत प्रत्येक महिना खोप तथा सरसफाइ प्रवद्र्धन सेवा प्रवाह हुँदै आएको छ ।
बागलुङ नगरपालिकाका एक हजार १२२, जैमिनी नगरपालिकाका ७७२, गलकोट नगरपालिकाका ७५४, ढोरपाटन नगरपालिकाका एक हजार ६२, बडिगाड गाउँपालिकाका ७९५, निसीखोला गाउँपालिकाका ८२९, तमानखोला गाउँपालिकाका २७७, ताराखोला गाउँपालिकाका १९३, काठेखोला गाउँपालिकाका ४३४, बरेङ गाउँपालिकाका ६४५ बालबालिकालाई सम्पूर्ण खोप लगाइएको प्रमुख सापकोटाले बताए ।
यहाँको बेनी नगरपालिका-१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो ।
साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ । उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए।
‘कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पुर्याउन नसक्ने अवस्था थियो,’ उनले भने, ‘गण्डकी प्रदेश सरकारले पक्की नहर र पाइप जडान गर्ने योजना सञ्चालन गरेपछि उत्साही भएका छौँ ।’
चालु आर्थिक वर्षमा १० लाख विनियोजन भएको योजनाबाट दुईवटा च्याम्बर र १२५ मिटर पक्की नहर निर्माण भएको उपभोक्ता समितिका सदस्य चेतन थापाले बताए । उनका अनुसार पहिरो र जमिन भासिने समस्या भएको ठाउँमा आजदेखि १६८ मिटर लामो २५० मिलिलिटर क्षमताको पाइप जडान गर्न थालिएको छ ।
यसअघि विसं २०५१-५२ मा कामका लागि खाद्यान्न कार्यक्रममार्फत मर्मत भएको नहर जीर्ण बनेको थियो । बेनी नगरपालिका र स्थानीयवासीको साझेदारीमा मुहान निर्माण भएको छ । यो योजनाबाट १८० कृषकको २१९ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापामगरले बताए।
आयोजना निर्माणलाई निरन्तरता दिन कार्यालयले ५० लाख लागत अनुमानसहित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । थप एक किलोमिटर नहर निर्माण र पाइपलाइन जडान गर्नुपर्ने उपभोक्ता समिति सदस्य थापाले बताए । सिँचाइ सुविधा सहज भएमा खेतमा तीन बाली लगाउन, व्यावसायिक बेमौसमी तरकारीखेती गरेर आयआर्जन गर्न सकिने उनको भनाइ छ ।
महत्वपूर्ण र आवश्यक योजना भएकाले जनप्रतिनिधिहरूसँग समन्वय गरेर क्रमागत योजनामा समावेश गराउन प्रस्ताव गरेको जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ। ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादननका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो।
आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युतगृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोडिएको हो। विद्युत् विकास बोर्ड र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्राविधिकद्वारा विद्युतगृहमा टर्वाइनलगायत उपकरणमा विद्युत् उत्पादनको परीक्षण गरी कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो।
‘आयोजनाबाट उत्पादित विद्युत् करिब २० दिनका लागि परीक्षणको रूपमा रहने छ, परीक्षण अवधिमा प्राविधिक समस्या नदेखिए व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुन्छ,’ आयोजना प्रमुख काफ्लेले भने। विसं २०७७ देखि नै नारच्याङको बेँसीगाउँबाट पहुँचमार्गका लागि सडक खन्न सुरु गरेको यस आयोजनाले २०७९ सालदेखि आयोजनाको भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो।
यस आयोजनाले नारच्याङको बेँसीगाउँबाट लेकगाउँ हुँदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १३ किलोमिटर पहुँचमार्ग बनाएको छ। आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई सडक यातायातको सुविधा पुगेको छ। एक वर्षअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि गत वर्षको बाढीले बाँध र इन्टेकमा क्षति पुर्याएपछि आयोजनाबाट ढिला गरी विद्युत् उत्पादन भएको हो।
विद्युतगृहमा दुईवटा टर्वाइन जडान गरेर विद्युत् उत्पादन सुरु भएको छ। रेलेखर्कस्थित निर्माण भएको बाँध क्षेत्रमा पानी थिग्य्राउने पोखरी, अण्डर स्वीच, डिसेन्डरको आउटलेट, इन्लेट, फोरवेलगायत पूर्वाधार बनाएर तीन हजार ५०० मिटर लामो पेनस्टक पाइप लाइनमार्फत पानी ल्याएर विद्युतगृहमा खसाली उत्पादन गर्न थालिएको आयोजनाका इलेक्टिकल इञ्जिनियर सुनिलकुमार शाहले जानकारी दिए।
हरिस्वाँरामा रहेको विद्युतगृहमा पानी खसाल्ने हेड ५१० मिटर उचाइको छ। विद्युतगृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको चार दशमलव तीन किलोमिटर प्रसारण लाइन निर्माण भएको छ। रु एक अर्ब ३५ करोड वित्तीय व्यवस्थापन गरेर निर्माण भएको यस आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्।
यस आयोजना बनाउन सिभिलतर्फ साकुरा पावर कन्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ वर्कसप इञ्जिनियरिङ सर्भिसेस प्रालि र इलेक्टोमेकानिकलतर्फ फेलोभेल इनर्जी प्रालि इन्डियाले ठेक्का लिएका थिए। अक्करे भिर पहाडलाई छिचोलेर पहुँचमार्ग बनाउनुपरेको र बाढीपहिरोलगायत प्राकृतिक विपत्तिको सामाना गर्दै आयोजनाले निर्माण सकेर विद्युत् उत्पादन सुरु गरेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए।
नारच्याङमा यसअघि एक सय १० मेगावाट क्षमताको नीलगिरि एक र निलगिरि क्यासेट, पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ। रासस
किभ/वासिङ्टन, (एजेन्सी) । रुस-युक्रेन युद्धमा युक्रेनको सबैभन्दा ठूलो सहयोगी मानिएको संयुक्त राज्य अमेरिकाले नै रुसी अर्थतन्त्रको मेरुदण्ड मानिने तेल उद्योगलाई जोगाउन खोजेको आरोप लागेको छ। युक्रेनले रुसी तेल प्रशोधन केन्द्र (Oil Refineries) मा गर्दै आएको ड्रोन हमला रोक्न अमेरिकाले दिएको दबाबप्रति युक्रेनले कडा आपत्ति जनाएको छ। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले एक अन्तर्वार्तामा अमेरिकाले यस्ता हमला रोक्न आग्रह गरेको पुष्टि गर्दै यसलाई ‘पुटिनको तेल सम्पत्तिको संरक्षण’ को संज्ञा दिएका छन्। यस घटनाले युद्धका बीचमा दुई प्रमुख सहयोगी राष्ट्रहरूबीच गहिरो मतभेद रहेको सतहमा आएको छ।
के हो अमेरिकी चिन्ता?
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले हालै युक्रेनलाई रुसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण रोक्न आग्रह गरेका थिए। उनको तर्क थियो कि यस्ता आक्रमणले विश्वव्यापी ऊर्जा बजारमा अस्थिरता ल्याउन सक्छ र तेलको मूल्य अकासिन सक्छ, जसको असर विश्वभर पर्नेछ। अमेरिकाले यस्ता आक्रमणलाई युद्धको दायरा बाहिरको गतिविधिका रूपमा हेरेको देखिन्छ। युक्रेनको आक्रोश: “सहयोग दिनुस्, आदेश होइन” अमेरिकी आग्रहप्रति युक्रेनले कडा र व्यङ्ग्यात्मक प्रतिक्रिया दिएको छ। विदेशमन्त्री कुलेबाले भने, “यदि हाम्रा साझेदारहरूले हामीलाई सातवटा ‘पेट्रियट’ हवाई रक्षा प्रणाली (Air Defence System) दिन सक्दैनन् भने, हामीलाई यो वा त्यो नगर्नुहोस् भनेर आग्रह गर्ने अधिकार पनि उनीहरूलाई छैन।” उनले थपे, “जब युक्रेनमा बिजुली र पानी छैन, मानिसहरू जाडोमा कठ्याङ्ग्रिएर बसिरहेका छन्, त्यतिबेला हामीलाई कसैले ‘यो नगर, त्यो नगर’ भन्न सुहाउँदैन। हामी आफ्नो अस्तित्वका लागि लडिरहेका छौं।”
किन निशानामा छन् तेल प्रशोधन केन्द्र?
युक्रेनी अधिकारीहरूका अनुसार रुसी तेल प्रशोधन केन्द्रहरू वैध सैन्य निशाना हुन्। उनीहरूको तर्क छ: इन्धन आपूर्ति: यी केन्द्रहरूले रुसी सेनाका ट्याङ्क, लडाकु विमान र بحरी जहाजका लागि आवश्यक इन्धन उत्पादन गर्छन्। आर्थिक स्रोत: तेल निर्यात पुटिन सरकारको आम्दानीको प्रमुख स्रोत हो, जसलाई उनीहरूले युक्रेनविरुद्धको युद्धमा खर्च गरिरहेका छन्। पछिल्ला केही महिनामा युक्रेनी ड्रोनहरूले रुसका एक दर्जनभन्दा बढी प्रमुख तेल प्रशोधन केन्द्रहरूमा सफलतापूर्वक आक्रमण गरेका छन्। यसले रुसको तेल प्रशोधन क्षमतामा करिब १४ प्रतिशतले कमी आएको र उसले पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउन बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विश्लेषण: सहयोगीबीच स्वार्थको टकराव
यो घटनाले युद्ध लम्बिँदै जाँदा सहयोगी देशहरूबीच पनि रणनीति र स्वार्थमा भिन्नता देखिन थालेको स्पष्ट पारेको छ। एकातिर अमेरिका युक्रेनलाई सैन्य सहयोग दिएर रुसलाई कमजोर बनाउन चाहन्छ, तर अर्कोतर्फ विश्वव्यापी अर्थतन्त्र र आफ्नो घरेलु राजनीतिमा पर्ने असरबारे पनि चिन्तित छ। तर, युक्रेनका लागि यो आफ्नो अस्तित्वको लडाइँ हो, जहाँ उसले दुश्मनको युद्ध क्षमतालाई जुनसुकै मूल्यमा ध्वस्त पार्न खोजिरहेको छ। अमेरिकी दबाबका बाबजुद युक्रेनले आफ्नो आत्मरक्षाका लागि यस्ता आक्रमणहरू नरोक्ने संकेत दिएको छ, जसले आगामी दिनमा यी दुई सहयोगीबीचको सम्बन्धमा थप जटिलता ल्याउन सक्ने देखिन्छ।
म्याग्दीमा चालु आर्थिक वर्षको ११ महिनामा पुजीगत (विकास) खर्च ४१ प्रतिशत हाराहारी भएको छ ।
प्रदेश तथा संघ तर्फको कुल विकास खर्च एक अर्ब नौ करोड ३५ लाख ११ हजारमध्ये ४५ करोड ७८ लाख ६१ हजार पाँच सय ९४ रुपियाँ अर्थात् ४१ दशमलव ८७ प्रतिशत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा संघ सरकार तर्फको विकास बजेट खर्च ४२ दशमलव ५८ प्रतिशत भएको छ । असारको २५ गते भन्दा पछाडी कुनै पनि सरकरी भुक्तानी हुँदैनन् त्यसैले त्यस दिन भित्र भुक्तानी गर्न मिल्ने गरी करिब २० दिन काम गरेर ६० प्रतिशत रकम खर्च गर्नुपर्ने अवस्था देखिएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक किरणचन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षमा म्याग्दी जिल्लाको विकास बजेट २८ करोड ४८ लाख ९६ हजार रहेको छ । उक्त रकममध्ये हालसम्म १२ करोड १३ लाख १८ हजार नौ सय २३ रुपियाँ अर्थात् ४२ दशमलव ५८ प्रतिशत रकम खर्च भएको छ ।
चालु खर्च भने हालसम्मको अवस्था हेर्दा सन्तोषजनक मान्न सकिने उहाँको भनाइ छ । चालु तर्फ भने तीन अर्ब ३८ करोड ३ लाख ६० हजार छ सय पाँच रुपियाँमध्ये दुई अर्ब ७८ करोड ८९ लाख ७६ हजार आठ सय ३१ रुपियाँ अर्थात् ८२ दशमलव ५१ प्रतिशत खर्च भएको छ ।
संघ सरकारको मात्रै नभएर प्रदेश सरकार तर्फको बजेटको अवस्था पनि उस्तै देखिएको कोलेनिकाले उपलब्ध गराएको रेकर्डले देखाउछ । चालु तर्फ प्रदेशको बजेट ४८ करोड ९९ लाख २२ हजार रहेकोमा २९ करोड ५८ लाख ६१ हजार तीन सय ३८ रुपियाँ अर्थात् ६० दशमलव ३९ प्रतिशत खर्च भएको छ ।
जिल्लामा प्रदेशबाट आएको विकास बजेटको खर्च भने अहिलेसम्म सन्तोषजनक हुन सकेको छैन । प्रदेशबाट जिल्लाको विकास बजेट ८० करोड ८६ लाख १५ हजार रुपियाँ रहेकोमा हाल सम्म ४१ दशमलव ६२ प्रतिशत रकम खर्च भएको छ । कोलेनिकाले दिएको तथ्य अनुसार म्याग्दीमा विकास बजेट ३३ करोड ६५ लाख ४२ हजार ६ सय ७१ रुपियाँ खर्च भएको छ ।
म्याग्दी जिल्लाको समग्र प्रदेश तथा सङ्घीय सरकारको बजेट चार अर्ब ९६ करोड ३७ लाख ९३ हजार छ सय पाँचमध्ये ७१ प्रतिशत अर्थात् तीन अर्ब ५४ करोड २६ लाख ९९ हजार सात सय ६३ रुपियाँ खर्च भएको छ । विकास खर्च तर्फ भने जिल्ला भरको प्रदेश तथा संघ तर्फको गर्दा पनि ४१ प्रतिशत हाराहारी मात्रै खर्च भएको प्रमुख कोष नियन्त्रक सुवेदीको भनाइ छ ।
सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हुँदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किमी कालोपत्र गर्न थालिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए ।
एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिने कार्यालय प्रमुख सुवेदीले बताए। विसं २०५६ मा ट्रयाक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् । उक्त योजना निर्माण गर्न २०७९ साल भदौ ६ गते निर्माण कम्पनीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो
सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ । यसअघि एक घण्टाको यात्राअवधि हाल २० मिनेटमा छोटिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि आगामी वर्ष रु तीन करोड विनियोजन भएको छ ।
यो सडक तत्कालिन समयमा जिबिस उपसभापति भुपेन्द्र थापाले सुरु गर्नुभएको थियो भने पछि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कालोपत्रे सहितको सडकका लागि बजेट विनियोजन गर्नुभयो । आगामी आवका लागि समेत सडकमा ३ करोड बजेट परेको छ । सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न आव २०७७/७८ मा रु ४०–४० करोड विनियोजन गरेको थियो ।
विश्वविद्यालय अनुदान आयोगको उद्यमशीलता विकास कार्यक्रमबाट म्याग्दी बहुमुखी क्याम्पसका दुई विद्यार्थीले टिम्बुर खेतीका लागि ७ लाख २० हजार अनुदान पाएका छन्। नमुना लेवल अनुसारको व्यवसाय गर्न क्याम्पसका विएडमा अध्ययनरत छात्रा श्रीया श्रेष्ठ र एमविएसमा अध्ययनरत छात्र श्रीकृष्ण अधिकारीको हिमालयन ट्वाक्क टिम्मुर नामको व्यवसायिक योजना देशभरबाट ४६ वटा व्यवसायिक योजनाहरूमध्येमा उत्कृष्ट भएसँगै निःशुल्क बिउँपूजि पाएको क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताउनुभयो
‘यो हाम्रो लागि ठुलो उपलब्धी हो, अब विद्यार्थीलाई उद्यमी बनाउने अभियानमा थप बल पुगेको छ’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पढाइसँगै उद्यमशिलता तालिमका लागि गरिएको मेहनत सफल भएको भन्दै आगामी दिनमा छनौट भएका विद्यार्थीको ब्यवसायिक सफलतामा समेत आवश्यक रचनात्मक सहयोग गर्ने क्याम्प प्रमुख सुबेदीको भनाई छ ।
क्याम्पसले तीन महिनासम्म उद्यमशीलता तालिममा उत्कृष्ट ५ विद्यार्थी छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता परियोजनामा पठाइएको थियो । २४ वाट क्याम्पसवाट आयोगमा पेश गरिएका १ सय २२ वटा व्यावसायीक योजनाहरु मध्ये म्याग्दी क्याम्पसका श्रेष्ठ र अधिकारीले कुल १० लाख भन्दा बढी लगानी सहितको प्रस्ताव गरेका थिए ।क्याम्पसमा ४० दिने उद्यमशीलता सहायता कार्यक्रममा सहभागी भएर उत्कृष्ट ब्यवसायीक योजना तयार गरी विद्यार्थीको ब्यवसायीक परियोजनामा न्यूनतम साढे ८ लाखदेखि साढे ४० लाखसम्मको लागत पेश गरिएकोमा एउटा प्रस्ताव राष्ट्रि«यस्तरमा छनौटले आगामी दिनमा विद्यार्थीमा आर्कषण हुने सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले बताउनुभयो ।
विद्यार्थीले उद्यमशिलताका लागि प्रस्तुतसँगै म्याग्दी महोत्सवमा समेत स्टलमा ब्यवसाय गरेका थिए । क्याम्पसमा तालिममा विद्यार्थीले विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकबाट व्यवसायिक योजना, व्यवसाय सञ्चालनका अवसर र चुनौती, लागत र लाभ विश्लेषण, बैकिंङ सुविधाको उपयोग, ऋण लगानी लगायत विविध विषयमा सहजीकरण गरिएको परियोजना संयोजक रामजीप्रसाद सुबेदीले बताउनुभयो । उक्त विद्यार्थीलाई उद्यमशिलता सम्बन्धि सैद्धान्तिक, अध्ययन अवलोकन भ्रमण, विषय विज्ञ र सफल उद्यमीहरूको अनुभवका लागि जिल्ला बाहिर समेत लगिएको थियो
‘समृद्ध अन्नपूर्ण निर्माणको आधार : दीगो, कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा आइतबार पोखरेबगरमा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा सार्वजनिक सुनुवाइ गरिएको हो ।
चालु आवमा कुल ५४ करोड ८४ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा जेठ महिनासम्म २६ करोड २४ लाख ६४ हजार तीनसय ४७ रुपैयाँ ६७ पैसा अर्थात् ४७ दशमलव ८५ प्रतिशत बजेट खर्च भएको अन्नपूर्ण गाउँपालिकाकाले जनाएको छ । चालु आवमा विनियोजितमध्ये २८ करोड ५९ लाख ७८ हजार छ सय ५२ रुपैयाँ ३३ पैसा मौज्दात रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले चालु आवमा गाउँपालिकामार्फत सम्पादित योजना, कार्यक्रम र बजेटका बारेमा जानकारी गराउँदै वार्षिक बजेटको चालुतर्फ ३४ करोड ९२ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा २२ करोड २२ लाख ८९ हजार दुईसय ५० रुपैयाँ २२ पैसा अर्थात् ६३ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालुतर्फ अब १२ करोड ७० लाख सातसय ४९ रुपैयाँ ७८ पैसा खर्च हुन बाँकी रहेको छ ।
यसैगरी पुँजीगततर्फ कुल १९ करोड ९१ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म चार करोड एकलाख ७५ हजार ९७ रुपैयाँ ४५ पैसा अर्थात् २० दशमलव १७ प्रतिशत मात्रै बजेट खर्च भई १५ करोड ८९ लाख ७७ हजार नौसय दुई रुपैयाँ ५५ पैसा खर्च हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत कँडेलले बताउनुभयो । उहाँले आन्तरिक स्रोत अनुमानभन्दा बढी सङ्कलन गरिसकिएको छ भने केही योजनाहरुमा काम गर्न बाँकी रहेको र ठूला योजनाहरुको भुक्तानी बाँकी रहेकाले पूँजीगत खर्च कम देखिएको बताउनुभयो । चालु आवमा अन्नपूर्णमा जम्मा १ सय ४० वटा योजनाहरु रहेकोमा उपभोक्ता समितिबाट १ सय १० वटा र ठेक्कामार्फत १९ वटा योजनाहरुको काम भएकोमा ११ वटा योजनाको सम्झौता भएको छैन ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा हुकुम पुन, अनिश गर्बुजा, गोपाल बरुवाल, कृष्णप्रसाद बरुवाल, पूर्णबहादुर गर्बुजा, नरिमाया पूर्जा पुन, शिवबहादुर खड्काले जिज्ञासा र प्रश्नहरु सोध्नुभएको थियो । सहभागीहरुले विद्यालयमा कार्यरत लेखा सहायक शिक्षकहरुको सेवासुविधा बढाउनुपर्ने, बाँझो जमिनलाई प्रयोगमा ल्याउनुपर्ने, नारच्याङमा हेलिकप्टर उडानको अनुमति दिनुपर्ने, गाउँपालिकामा जग्गाको बारेमा निवेदन दिँदा पनि सुनुवाइ नभएको, अन्नपूर्ण हीरक महोत्सवको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, जलविद्युत आयोजनामा स्थानीयले शेयर हाल्न पाउनुपर्ने, विरेठाँटी–मुक्तिनाथ केबुलकारको स्टेशन नारच्याङ र घोरेपानीमा बनाउनुपर्ने, कर घटाउनुपर्ने, किसानलाई गोरु पाल्न प्रोत्साहन गर्नुपर्ने, बिजुली नियमित गराउनुपर्ने, स्थानीय बजार अनुगमनमा जोड दिनुपर्ने जस्ता मागहरु गरेका थिए ।
सहभागीहरुले राखेको जिज्ञासा तथा प्रश्नको उत्तर दिँदै गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले खेतीयोग्य तर बाँझो जमिनमा कृषि, फलफुल, जडिबुटी र तरकारी खेतीका लागि कृषक समूहलाई प्रोत्साहन गरिने बताउनुभयो । उहाँले जलविद्युत आयोजना निर्माणको क्रममा पानी सुकाउन नपाइने र स्थानीयलाई आयोजनामा शेयर हाल्ने वातावरण निर्माणका लागि गाउँपालिकामार्फत पहल गरिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कँडेलले एक करोडसम्मका योजनाहरु उपभोक्ता समिति र त्यसभन्दा माथिका योजनाहरु ठेक्का प्रक्रियामा जाने सार्वजनिक खरिद सम्बन्धी नियम रहेकाले उपभोक्ता समितिले निर्माण गर्ने योजनाहरुमा स्थानीयले अपनत्व लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, वडा अध्यक्षहरु रमेश पूर्जा, लोकबहादुर फगामी, रामबहादुर खड्का, मईलन पूर्जा पुन र पर्यटन अभियन्ता चित्र तिलिजाले जवाफ दिनुभएको थियो । गाउँपालिकाको प्रशासकीय अधिकृत भगवती खड्का कटुवालको सञ्चालनमा सम्पन्न कार्यक्रमको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र म्याग्दी शाखाका सहसचिव प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।
गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” म्याग्दी जिल्लाको बेनीबजार (खुल्ला मञ्च)मा आगामी असार ७ गतेदेखि ११ गतेसम्म हुने भएको छ ।
सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बाँनियाले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् । प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, गोर्खा, नवलपुर, लमजुङ र मनाङको सहभागिता हुने अध्यक्ष बाँनियाले बताए ।
प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा हुने प्रतियोगितामा बिजेता टिमले नगद रु २ लाख, उपविजेताले नगद रु १ लाख तथा तेस्रो हुने टिमले नगद रु ५० हजार तथा चौथो हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बाँनियाले बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५–५ हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु ३–३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
हरेक टिममा १२ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक (कुल १४ जना) को सहभागिता रहने प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनको खर्च समेत आयोजकले गर्ने गरी तय भएको म्याग्दी जिल्ला भलिबल संघका महासचिब कुमार किशानले जानकारी दिए ।
यो प्रतियोगिता गण्डकी प्रदेशको भलिबल विकासमा एक महत्वपूर्ण कदम हुने विश्वास गरिएको अध्यक्ष बाँनियाले जनाएका छन् । उनले भने–हामी निश्चित उद्धेश्यका साथ यो प्रतियोगिताको आयोजना गर्दैछौं । सबैको सहकार्यका लागि म आह्वान गर्न चाहन्छु ।” उनले म्याग्दी जिल्ला गण्डकी प्रदेशमा भलिबल खेलको उद्गम थलो भएका कारणले पनि यो प्रतियोगिताको अझै महत्व रहेको उल्लेख गरे ।
प्रतियोगिताको उद्घाटन असार ७ गते संघिय सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री खम बहादुर गर्वुजाले गर्ने तय भएको महासचिव किशानले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघ लोकतान्त्रिक निर्माण ब्यबसायी संघ म्याग्दीको प्रथम जिल्ला भेला तथा अधिवेशनले मनोज कुमार कार्कीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष प्रबिन सापकोटा, महासचिव रामचन्द्र कार्की, कोषाध्यक्ष विजय भट्टचन रहनुभएको छ
समितिको सदस्यहरुमा सुजन बरुवाल, समीर पौडेल,जग भण्डारी, तारा रोका, नरेश पुन, नवराज बरुवाल र सन्जय कुवँर रहनुभएको कोषाध्यक्ष विजय भट्टचनले जानकारी दिनुभयो। अधिवेशनको नेपाली कांग्रेसका उपसभापति कर्णबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । त्यस्तै लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रि सहसंयोजक राजेन्द्र पहाडी, गण्डकी प्रदेशका संयोजक सुरेश श्रेष्ठ, निर्मांण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपाल भट्टचन लगायतको उपस्थिती रहेको थियो।