Monday, April 28, 2025
18 C
Beni
18 C
Beni
Monday, April 28, 2025
Home Blog Page 841

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मोटरसाईकल डोराएर विरोध

0

पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरुद्धमा म्याग्दीमा आज एमालेनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विरोध गरेका छन् । सरकारले खाना पकाउने एलपी ग्यास तथा पेट्रोल, डिजेल र मट्टीतेलमा गरेको मूल्यवृद्धिको विरोधस्वरुप युवा र विद्यार्थीले संयुक्त रुपमा विरोध सभा गरेका हुन् ।

वर्तमान सत्ता गठबन्धन सरकारको उपहार, महङ्गी र भ्रष्टाचार भन्दै पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा भएको अस्वभाविक मूल्यवृद्धिको विरुद्धमा विरोध गरिएको युवा र विद्यार्थीले बताएका छन् । म्याग्दी सदरमुकाम बेनीबजारको क्याम्पसचोकबाट मोटरसाईकल डो¥याएर युवा तथा विद्यार्थीले विरोध जनाएका थिए । पानी परिरहेको अवस्थामा त्यसको कुनै प्रवाह नगरी उनीहरु विरोध ¥यालीसहित प्रशासनचोकमा पुगेर कोणसभा गरेका थिए ।

युवा र विद्यार्थीद्वारा आयोजित विरोध ¥यालीपछिको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले गठबन्धनको सरकारले नेपाली जनतालाई महङ्गी र भ्रष्टाचारको उपहार दिएको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकार भारतले एकपक्षीय रुपमा नेपाली भूमि मिचिरहेको बताउँदै महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसपीले पुलको लठ्ठा काटिदिँदा नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको बारेमा समेत बोल्न नसकेकोमा सत्ता गठबन्धनको चर्को आलोचना गर्नुभयो ।

विरोध सभामा विद्यार्थी नेता एवं नेकपा एमाले बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माले सरकारले तत्काल मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीको विशेष उपस्थिति रहेको कार्यक्रम युवा संघ म्याग्दीका संयोजक शिशिर शाहीको अध्यक्षता र अनेरास्ववियुका जिल्ला सचिव मिलन खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सरकारले आइतबार साँझ पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ६३, हवाई इन्धनको प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ । निगमले यसअघि गएको वैशाख ३१ गते पनि पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको थियो ।

बेनीमा बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा गोष्ठी सुरु

0

म्याग्दीको सदरमुकाम बेनीमा आज (मङ्गलवार)देखि शीघ्र कुपोषणको व्यवस्थापन कार्यक्रमअन्तर्गत बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा गोष्ठी सुरु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सपोर्टमा समीक्षा गोष्ठी सञ्चालन गरिएको हो । बहिरङ्ग उपचार केन्द्रबाट सञ्चालित कार्यक्रमबारे समग्र प्रगतिको विषयमा समीक्षा गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जनाइएको छ ।

तालिममा बहिरङ्ग उपचार केन्द्रहरुको प्रस्तुतीकरण, कडा, शीघ्र कुपोषित बालबालिकाहरुको उपचारमा आवश्यक ज्ञान सिपको पुनरावलोकन, समयमै कुपोषित बच्चाको व्यवस्थापन, वृद्धि अनुगमन, आरयुटिएफको आपूर्ति प्रणाली, बहिरङ्ग उपचार केन्द्र विस्तार, कार्यक्रम सञ्चालनका समस्या, असल अभ्यास, कुपोषणमुक्त समाज निर्माण र कार्ययोजना निर्माणको विषयमा सहजीकरण भैरहेको छ ।

दुई दिनसम्म चल्ने तालिमको विषयवस्तुमाथि स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, सुआहारा कार्यक्रम केन्द्रीय कार्यालयका पोषण विज्ञ मनिशा श्रेष्ठ, बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारी र पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थीले सहजीकरण गरिरहनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले समुदायस्तरमा कुपोषण न्युनीकरण गर्नका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले कुपोषित बालबालिकाहरु पत्ता लगाएर तुरुन्तै उपचार गर्नुपर्ने भन्दै पूर्ण पोषणयुक्त वडा बनाउन आवश्यक कार्ययोजना बनाई लागू गनुपर्ने बताउनुभयो ।

सुआहाराको बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारीले समुदायमा रहेको कुपोषण घटाउन सरोकारवाला निकाय सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य कार्यालयका सिनियर अहेव सोमनाथ उपाध्यायले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन पब्लिक हेल्थ नर्स दुर्गा शर्माले सञ्चालन गर्नुभएको थियो । म्याग्दी जिल्लामा रहेका १४ ओटा बहिरङ्ग उपचार केन्द्रहरुबाट कुपोषित बालबालिकाहरुको पहिचान गरी उपचार गर्ने गरिएको छ ।

आर्थिक अभावले आँखाको उपचारमा समस्या

0

म्याग्दीको बेनी नगरपालिका वडा नं २ फाँपरखेतका एक बालकको आँखाको उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अवस्था कमजोर भएका अनिल दर्जीको आँखाको दृष्टीमा समस्या भएपछि उपचारका लागि आवश्यक पर्ने खर्च अभावले समस्या भएको हो ।

स्थानीय अर्जुन मावि भकुण्डेमा अध्ययनरत १३ बर्षिय दर्जीको जन्मजात आँखामा समस्या भएपनि अहिले एउटा आँखामा जटिल समस्या देखिएपछि उपचारमा सहयोगको याचना गरिएको छ । ‘एउटा आँखाबाट मधुरो देख्छु,‘पढ्न पनि समस्या भएको छ,सुत्दा आँखा दुख्छ’अनिलले भने । बाल्यकालदेखि नै आँखाको उपचारमा औषधी सेवन गदैं आएका दर्जीले शल्यक्रिया सहितको उपचारमा खर्च जुटेमा काठमाण्डौ जाने बताए । समयमै उपचार नभए पूर्णरूपमा दृष्टि बिग्रिन सक्ने भन्दै उनले सहयोगको याचना गरेका छन् ।

अनिलका बुबा आइतबहादुर दर्जी समेत पूर्ण रुपमा दृष्टिविहिन छन् । अनिलमा देखिएको समस्या वंशानुगत हुनसक्ने भन्दै उपचारमा ढिलाई गर्न नहुने चिकित्सकको भनाई छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा घरदैलोमा पुगेका नेताहरूले उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएपनि निर्वाचन सकिएपछि सम्पर्कमा नआएको दर्जी परिवारको गुनासो छ ।

गाउँघरमा गिटी कुटेर जिवन निर्वाह गर्ने गरेका आइतबाहादुरको उपचार तथा घरखर्चका लागि यसअगाडी बेनीअनलाइनले समेत सहयोग जुटाएको थियो । अनिलको परिवार गाउँमा रहेको सार्वजनिक जग्गामा बस्दै आएको छ ।
थप जानकारीका लागी वडा अध्यक्ष यामबहादुर कार्की ९८५७६४७०६२

मराङका सबै बस्तीमा वडाकै खर्चमा इन्टरनेट विस्तार गरिने

0

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङका सबै बस्तीमा वडा कार्यालयले इन्टरनेट विस्तार गर्ने भएको छ । नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा विदाई कार्यक्रमपछिको वडा समितिको पहिलो बैठकले वडाभित्रका सबै बस्तीमा मासिक शुल्क बाहेक बजेटबाट इन्टरनेट जडान सहित सेवाप्रवाहलाई कार्यालय बाहिरबाट समेत दिन मिल्ने बनाउने निर्णय गरेको हो ।

दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित राजाराम उपाध्यायले पहिलो कार्यकालको अनुभव सहित थप उर्जा लिएर दोस्रो कार्यकाल वडाबासीको अपुरो योजना पुरा गर्ने बताउनुभयो । ‘अब वडाका धेरै सेवाहरुलाई समयसमयमा बस्तीबाटै दिन्छौ, सकेसम्म वडामा आउनुपर्ने वातावरण बनाउँदैनौ’ वडा अध्यक्ष उपाध्यायले भन्नुभयो । भौगोलिक रुपमा छरिएको बस्तीका जनतालाई सहज र प्रभावकारी सेवा दिन जनप्रतिनिधि प्रतिबद्ध रहेको जनाइएको थियो ।

वडाबाट लिने सेवाहरु अनलाइनको माध्यमबाट हुने भएकाले पनि सेवालाई सहज बनाउने जनप्रतिनिधिको भनाई थियो । अघिल्लो कार्यकालका जनप्रतिनिधिको विदाईको अवसरमा नयाँ जनप्रतिनिधिले पुरानाको अनुभव र सल्लाह सहित सहकार्य गरिने बताएका थिए ।

पाखापानी वडा कार्यालयको सेवा बस्ती-बस्तीबाट दिइने

0

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीले वडा कार्यालयका सेवाहरू बस्ती-बस्तीबाट सञ्चालन गर्ने घोषणा गरेको छ । नवनिर्वाचित वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले पदभारग्रहण गदैं बस्तीमा इन्टरनेटको सुविधा विस्तार गरी अनलाइन प्रविधिबाट गरिने प्रशासनीक सेवा दिने बताउनुभयो । पदभारग्रहणसँगै बसेको वडा समितिको बैठकले विभिन्न ६ निर्णय समेत गरेको छ ।

वडाबाट ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवामा सहज हुने गरी मासिक रुपमा स्वास्थ्य चौकीसँग समन्वय गरी टोलमा पुगेर सेवा दिने, टोल विकास समिति गठन, हरेक विद्यालयमा रहेको बाल विकास केन्द्रको स्थापना तथा भएकालाई नियमित सहयोग गरिने अध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।

दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका शेरपुञ्जाले अब अघिल्लो कार्यकालयमा अपुरा रहेका योजनाहरु सहित हरेक घरधुरीमा सेवा पुग्ने गरी काम गर्ने वडा समितिको पहिलो बैठकले समेत निर्णय गरेको छ । वडाभित्रका अति विकट बस्तीहरुमा रहेको समस्या समाधान सहित आवश्यकता अनुसार घुम्ती शिक्षा, स्वास्थ्य लगायतका अभियानलाई समेत तिब्रता दिने जनाइएको छ ।

बगरफाँटमा खानेपानीको समस्या

0

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा खानेपानीको समस्या समाधान नहुँदा वाक्कदिक्क छन् । केही दिनअघिदेखिको वर्षाका कारण मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाउनुका साथै मुहानमा गेगर थुप्रिएर थुनिएपछि यहाँका २०८ घरपरिवारलाई खानेपानीको चरम समस्या भएको हो ।

यस बीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण आएको बाढीले पाइपमा क्षति पु¥याएपछि बगरफाँटका बासिन्दा विगत दुई महिनादेखि खोला र कुवाँको पानी पिउन बाध्य छन् ।गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुँवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी–२ बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो ।

सो स्थानमा २१४ घरधुरी छन् । विसं २०६९ मा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रेखोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो ।

यसपछि बर्सेनि बर्खाका समयमा बाढी र पहिराले पाइप लाइनलाई क्षति पु-याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकामा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा मर्मत गर्नुपर्ने भएकाले समस्या भएको आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताउनुभयो । गाउँका पुछारमा म्याग्दी नदी र शिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् ।

सफल नमुना बाख्रापालक कृषक बन्नुभयो वडाध्यक्ष

0

नमुना कृषकको पहिचान बनाउनुभएका बेनी नगरपालिका–४ सिंगाका अणबहादुर खड्कालाई जनताले नमुना वडा निर्माण गर्नको लागि मौका दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा उहाँलाई जनताले विश्वास गरेर वडाध्यक्षको जिम्मेवारी सुम्पेका छन् ।

एककरोड ८० लाख रुपियाँभन्दा बढी लगानी गरेर खड्काले गाउँमा सामूहिक बाख्रापालन व्यवसाय गर्नुभएको थियो नै उहाँको कृषि क्रान्तिलाई मलजल गर्न नेकपा माओवादी केन्द्रबाट उहाँलाई वडाध्यक्षको उम्मेदवार बनाएको थियो । सो उम्मेदवारीलाई जनताले पनि साथ दिएपछि उहाँले नेपाली काँग्रेसका सुमन बानियाँलाई  ६६५ मत अन्तरले पराजित गर्दै विजयी हुनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित खड्का दोस्रोपटक विजयी हुनुभयो ।

एकपटकको हारबाट म कत्ति पनि विचलित भएको थिइन, राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील थिएँ, उहाँले भन्नुभयो ‘यसपाली वडावासीले मलाई सेवा गर्ने अवसर दिनुभयो, वडावासीको शिर उच्च हुने काम गरेर देखाउँछु ।’ आफ्नो पेशा कृषि भएकाले किसानको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।

युवालाई कृषि पेशातर्फ आकर्षित गर्ने खालका कार्यक्रमहरु वडाका हुनेछन्, उहाँले भन्नुभयो ‘हाम्रो वडा भनेको कृषि र पशुपालनमा राम्रो सम्भावना भएको वडा भएकाले कृषि क्षेत्रको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छु ।’ कृषिका साथै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा योजना बनाएर वडाको विकासमा सबैसँग सहकार्य गर्ने सोचाई उहाँले बनाउनुभएको छ ।

जनप्रतिनिधि भएपछि पनि बाख्रापालन व्यवसायलाई निरन्तरता दिई अझ राम्रो बनाएर वडावासीलाई उदाहरण प्रस्तुत गर्ने सोच उहाँको छ । उहाँको फर्ममा हाल १० जनाले रोजगारी पाएका छन् । सामूहिक बाख्रापालनको राम्रो उदाहरण देखाएर वडाका बेरोजगार युवालाई सामूहिक कृषि पेशातर्फ आकर्षित गर्ने उहाँ बताउनुहुन्छ ।   gorkhapatraonline

धवलागिरी गाउँपालिकामा जनप्रतिनिधीको पदभार ग्रहण

0

म्याग्दीको धवलागिरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथग्रहण र पदवाहली गरेका छन् । औपचारिक रुपमा सोमबारदेखि पदवाहली गर्नुभएका गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनबाट उपाध्यक्ष रेशम पुन, वडा अध्यक्ष र सदस्यहरुलाई सामुहिक रुपमा पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । निर्वाचन अधिकृत भोलाराज रेग्मीले ३७ जना नवनिर्वाचित जनप्रतिनिधीहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

पदवाहलीसँगै अध्यक्ष पुनले गाउँपालिकाको सडक नपुगेको बस्तीमा सडक पु¥याउने र सामुदायिक स्वास्थ्य इकाई मार्फत स्वास्थ्य सेवा विस्तार गर्ने निर्णय गर्नुभएको छ । “गुर्जा, खिवाङ, मलम्पार, लुलाङ, लमसुङ लगायत बस्तीमा कार्यकालभित्र सडक पु¥याउने निर्णय गरेको छु,” उहाँले भन्नुभयो “वडा स्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने लुलाङ, बुल लगायत ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने अर्को निर्णय गरेको छु ।”

सपथ ग्रहणपछि अध्यक्ष पुनले शाषक नभएर जनताको सेवकको रुपमा काम गर्ने प्रतिवद्धता जनाउँदै आफ्नो भूगोलका समस्या, आवश्यकता पहिचान र समाधानका लागि सवै जनप्रतिनिधीहरुलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।

उपाध्यक्ष रेशम पुनले गाउँपालिकामा उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग तथा परिचालन गरेर विकासमा उपलब्धी, नागरिकले शुसासन र सम्बृद्धी हासिल गर्ने आफूहरुको योजनामा निवर्तमान जनप्रतिनिधी, कर्मचारी, राजनीतिकर्मी र सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।

“हामी सबै नागरिकको साझा प्रतिनिधीको रुपमा जनताले महशुस गर्ने गरी काम गर्नुपर्छ,” उहाँले भन्नुभयो “हाम्रो गाउँपालिकालाई कसरी विकास गर्ने, नागरिकको जिवनस्तर कसरी सुधार गर्ने र शुसासन कायम गर्ने भनेर सबै केन्द्रित हुनुपर्छ ।”

निवर्तमान गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले सिमित स्रोत, भौगोलिक विकटता, न्युन जनशक्ति, प्राकृतिक विपद र महामारीका वाजुद सडक, विद्युतीकरण, शिक्षा, स्वास्थ्य र कानुन निर्माणको क्षेत्रमा उल्लेख्य काम भएको बताउदै त्यसलाई आधार बनाएर अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सुझाव दिनुभयो । सकारात्मक कार्यमा साथ र कमजोरीमा खबरदारीको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित राजाराम उपाध्याय र झकबहादुर छन्त्यालले विभेदरहित सेवा र सन्तुलित विकासको सिद्धान्त अनुसार काम गर्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी इकाइका सभापति तेजेन्द्र थापाले विकट भएपनि जलविद्युत, पर्यटन, जडिवुटीको क्षेत्रमा भएको धवलागिरीको सम्भावनालाई रोजगारी सिर्जना र आर्थिक स्तर सुधारमा परिचालन गर्ने योजना बनाउन सुझाव दिनुभयो ।प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षा शाखाका प्राविधिक सहायक ख्याम सुवेदीले स्वागत गर्नुभएको थियो ।

‘डोजर मालिक आफैँ अपरेटर र इञ्जीनियर बन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ’

0

बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी सडक भत्काउन नपाइने भएको छ । नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मनपरीरूपमा नयाँ सडक मार्ग खोल्न नदिइने जानकारी दिनुभयो ।

पद सम्हालेपछिको पहिलो पत्रकार अन्तक्र्रियामा बोल्दै उहाँले अत्यावश्यक ठाउँमा सडक खन्न परे सम्बन्धित वडाको सिफारिस र कार्यपालिका बैठकको निर्णय चाहिने उल्लेख गर्नुभयो । “भएका सडकलाई स्तरोन्नति गरिन्छ, बाह्रैमास चल्ने बनाइन्छ”, उहाँ भन्नुभयो, “डोजर मालिक आफैँ अपरेटर बन्ने, आफैँ इञ्जीनियर बन्ने प्रवृत्तिको अब अन्त्य गर्नुपर्छ ।”

उहाँले सडक पु¥याउन आवश्यक देखिएका ठाउँमा नगरपालिकाका इञ्जीनियरबाट प्राविधिक नापजाँच गरेर मात्र काम अघि बढाइने बताउनुभयो । नगरप्रमुख श्रेष्ठले मनलागीरूपमा जहाँ पायो त्यहीँ सडक खन्ने कुरालाई कडाइका साथ रोकिने प्रतिबद्धता जनाउनुभयो । “अबको कार्यपालिकाबाट बैठकले यस विषयमा निर्णय नै गर्छ”, उहाँले भन्नुभयो ।

जथाभावी सडक खन्दा भूस्खलन बढ्ने, प्राकृतिक प्रकोप निम्तने र गाउँठाउँको सौन्दर्य पनि नासिने भएकाले कडाइ गर्न लागिएको हो । नगरप्रमुख श्रेष्ठले वर्षायाममा बाढीपहिराका कारण हुनसक्ने सडक अवरोधलाई दृष्टिगत गरी उपकरण र जनशक्तिलाई तयारी हालतमा राखिने बताउनुभयो । यस्तै ग्रामीण भेगको सडकको सफाइ र मर्मतसुधारको कामलाई पनि तत्कालै अघि बढाइने उहाँले उल्लेख गर्नुभयो ।

“पक्की सडकमा खाल्डाखुल्डी परेमा तत्कालै कालोपत्र गर्न मिल्ने उपकरण नगर आफैँले किन्छ, त्यसका लागि आउँदो आवमा बजेट छुट्याउँछौँ”, उहाँले भन्नुभयो, “नगर चक्रपथलगायत ठूला सडक आयोजनाका लागि सङ्घ र प्रदेश सरकारबाट बजेट पार्न पहल सुरु गरिसकेका छौँ ।”

‘हाम्रो बागलुङ, हामी बनाउँछौँ’ भन्ने भावका साथ सबै पक्षलाई समेटेर नगरको सामाजिक, आर्थिक विकासको खाका कोर्ने उहाँले बताउनुभयो । “चुनावी प्रतिबद्धतापत्रअनुसार विकास योजना र प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउँछौँ”, उहाँले भन्नुभयो ।

पत्रकारहरूले नगर क्षेत्रका जल्दाबल्दा समस्याबारे नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए । अस्तव्यस्त ट्राफिक, ढल निकास, खानेपानी, सडक, फोहर व्यस्थापन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रका समस्या समाधानमा नगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।

नगरप्रमुख श्रेष्ठले पद बहालीपछिको पहिलो निर्णय एक वर्षभित्रैमा बागलुङलाई बालमैत्री नगर बनाउने घोषणा गर्नुभएको थियो । विकास र सुशासनमार्फत पाँच वर्षभित्रमा समुन्नत नगरको आधार खडा गरिने उहाँको भनाइ छ ।

गौवध मुद्दामा निस्कोटका दुई जना पक्राउ

0
File photo

गाई मारेको कसूर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट १÷१ बर्ष कैद सजाय ठहरिएका फरार दुई जना प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटको छिस भन्ने स्थानमा बस्ने बर्ष ४० का दिल बहादुर दमाई र सोही स्थानमा बस्ने बर्ष ४८ का तेज बहादुर पुनलाई सोमबार ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत म्याग्दीमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार म्याग्दी चलान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुलुकी अपराध संहिताको दफा २८९ ले गाई वा गोरु मारे तीन वर्षसम्म कैद हुने र कुटी अंगभंग गरे ६ महिनासम्म कैद हुने व्यवस्था गरेको छ ।

error: Content is protected !!