नजिकै रहेको म्याग्दी खोलाबाट  चिसो हावा, आसपासमा विभिन्न प्रजातिमा बिरुवा, ज्येष्ठ नागरिकलाई दिवा आश्रम, बालबालिकालाई खेल्ने ठाउँ, पुराना साम्रागीहरु सहितको आर्कषक म्यूजियम ।

यो केही महिनाभित्र पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले मंगला-२, बाबियाचौरमा प्रयोगमा आउने तयारीमा रहेको एउटा नमुना पार्कको छोटो परिचय हो ।पछिल्लो समय बढ्दो शहरी कोलाहलबाट मुक्त हुन तथा शहरी क्षेत्रको धुलो, धुँवाबाट बच्न र स्वस्थ तथा स्वच्छ हावा लिनका लागि इन्द्रेणी अर्थात् हरियाली पार्कको निर्माण गरिएको हो ।

खासगरी बालबालिका र ज्येष्ठनागरिकलाई लक्षित गरेर इन्द्रेणी पार्क निर्माण गरिएकोमा पछिल्लो समय धमाधम अन्य पूर्वाधारहरु समेत विस्तार भइरहेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौर बजार नजिकै गत वर्षदेखि गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय म्याग्दीमार्फत १८ लाख र गाउँपालिकाले नौलाख थपेर पार्क बनाउन सुरु गरिएको थियो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले इन्द्रेणी पार्क निर्माणमा २५ लाख रुपैयाँ बजेट विनियोजनसहित पार्क निर्माणसम्पन्न गरेको छ।

बाबियाचौर स्थायी घरभई हाल काठमाडौं निवासी क्या. ईन्द्रबहादुर अधिकारीले करिब ४ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि इन्द्रेणी पार्क निर्माणकार्य अगाडि बढाइएको मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले जानकारी दिए । पार्कको फ्रेम तयार गर्नुका साथै पर्खाल लगाइएको छ भने खण्डखण्ड बनाएर सुन्दरता र आकर्षण थप्ने खालका बोटविरुवाहरु रोपिएको छ । विशेष गरेर बालबालिका र ज्येष्ठनागरिकलाई भुलाउने तथा मनोरञ्जन दिने उद्देश्यले मंगला इन्द्रेणी पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष रोकाले बताए ।
पार्कभित्र चाईनी फुल, धुपी, दुबोलगायत विभिन्न किसिमका सुगन्धवाल फलफुलका विरुवाहरु रोपिएको हुँदा यसलाई विस्तारै बालबालिका तथा ज्येष्ठनागरिकहरु रमाउने खालको वातावरण बनाइने गाउँपालिकाको तयारी छ । पार्क निर्माणसँगै छेउतर्फ सङ्ग्रहालय समेत निर्माण गरिने गाउँपालिका अध्यक्ष रोकाको भनाइ छ । आगामी आर्थिक वर्षमा पार्क क्षेत्रलाई घेराबार गरी छेउछाउमा विभिन्न बोटविरुवाहरु रोपिने र पार्कलाई थप व्यवस्थित बनाइने भएको छ । सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाएर उपयोग गर्न पार्क निर्माणको अवधारणा अगाडि सारिएको हो ।जिल्लाको सामुदायिक वन अन्तर्गतका खाली जग्गाजमिन र पाखो क्षेत्रलाई उपयोग गर्नेगरी हरियाली बनाउन पार्क निर्माण थालिएको छ । हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि यसअघि दुईवटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले गतवर्ष म्याग्दीलाई ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । उक्त बजेमध्ये बेनी नगरपालिका–२, ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई १२ लाख र मंगला–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूहलाई १८ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको थियो ।

Leave a Reply