प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा बिहीबारदेखि स्वास्थ्यका कार्यक्रमको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ ।
गएको आर्थिक वर्ष २०८३÷०८४ मा जिल्लाभर सञ्चालन तथा सम्पन्न भएका स्वास्थ्य सम्बन्धी कार्यक्रमको समीक्षा गर्दै आगामी योजना तथा कार्यक्रम तर्जुमा गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो । वार्षिक समीक्षा गोष्ठीको जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले एक समारोहबीच उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक रामनाथ शर्मा र प्रादेशिक जनस्वास्थ्य कार्यालय पोखराका वरिष्ठ परिवार नियोजन सहायक नरबहादुर सारुको विशेष उपस्थिति रहेको थियो ।

प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत हिमाली जिल्ला म्याग्दीलाई गतवर्ष पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । यसैगरी एचपिभी खोप अभियान तथा नियमित खोप कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । त्यस्तै सुरक्षित मातृत्व, स्वास्थ्य व्यवस्थापन, रोग नियन्त्रण, उपचारात्मक सेवासहित विभिन्न स्वास्थ्य सम्बन्धी गतिविधिहरु सञ्चालन गरिएको उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख गणेश सुवेदीले कार्यालयबाट गत आर्थिक वर्षमा सञ्चालन तथा सम्पन्न गरिएका कार्यक्रमहरु, उपलब्धि र योजनाको बारेमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचारप्रसारमा वृद्धि भएसँगै म्याग्दीमा घरमै सुत्केरी हुने दर क्रमशः घट्दै गैरहेको कार्यक्रममा जानकारी गराइएको थियो । स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवा लिनुपर्ने विषयमा समुदायस्तरमा गरिएको सचेतनाले सकारात्मक प्रभाव पारेको बताइएको छ ।

गोष्ठीमा बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिला गौतम, अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवाल, रघुगंगा गाउँपालिकाका सिनियर अहेव अधिकृत शिवप्रसाद पाण्डे र मंगला गाउँपालिकाको स्वास्थ्य शाखाका स्टाफनर्स रेनुका बाँस्तोलाले आ–आफ्नो स्थानीय तहबाट सञ्चालन गरिएका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु तथा विभिन्न गतिविधिहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमाथि अर्को स्थानीय तहको स्वास्थ्य शाखाबाट टिप्पणी समेत गरिएको थियो ।

कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था, गत आर्थिक वर्षमा हासिल भएका उपलब्धिहरु, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा आगामी दिनमा स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन आवश्यक योजना र प्राथमिकताका विषयमा समेत अन्तत्र्रिmया र छलफल गरिएको छ ।
दुई दिनसम्म चल्ने कार्यक्रममा आयोजक, स्वास्थ्य संस्था र सरोकारवालाबीच छलफल समेत भैरहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पब्लिक हेल्थ नर्स सारथी कुँवरले स्वागतसहित समीक्षा गोष्ठीको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रम कार्यालयका तथ्याङ्क सहायक सुशील ओझाको सञ्चालनमा सम्पन्न भएको थियो ।












