कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखार मन्दिरमा यसबर्ष जनैपूर्णिमाको दिन पूजाआजा गर्न रोक लगाइएको छ ।

लकडाउन खुलेपनि कोरोनाको जोखिम झन् बढ्नै जान थालेपछि वडा बाहिरबाट मन्दिरमा पूजाआजा गर्न आउनेलाई रोक लगाइएको वडा अध्यक्ष गमान छन्त्यालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘बाहिरबाट आउनेलाई प्रवेशमा रोक लगाइएको छ,‘कोरोनाको जोखिमलाई मध्यनजर गरी यस्तो निर्णय गरिएको हो’ अध्यक्ष छन्त्यालले भन्नुभयो । उहाँका अनुसार वडाभित्रबाट समेत सामाजिक दुरी कायम गर्ने गरी आवश्यक जनशक्ती परिचालन गरिने छ ।

मन्दिरमा जनैपूर्णिमाको दिनमा रघुगंगा बाहेक जिल्लाका विभिन्न स्थानीय तह र बाहिरी जिल्लाबाट समेत पूजाआजा गर्नेको घुईचो लाग्ने गरेको छ ।

मन्दिरमा विशेष पूजाबाहेक विगतमा गरिने कार्यक्रमहरु स्थगित गरिएको छ । सदरमुकाम बेनीबजार देखि करिब ४० किलोमिटर उत्तरतर्फ, धौलागिरि हिमालको फेदमा अवस्थित रिखार क्षेत्र धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय हिसावले समेत महत्वपूर्ण मानिन्छ । रिखार ताल छेउमै रहेको शिवमन्दिरमा पूजा गरिन्छ । तलाउको जलले स्नान गरी भगवान्को पूजा–अर्चना गर्नाले भगवानको लोक पाउने र पूण्य प्राप्त हुने जनविश्वास रहेको छ ।

‘हिमालका देबता’ को वासस्थान मानिने रिखार क्षेत्रको क्रृषि मुनीहरूले तपस्यास्थल मानिन्छ । स्कन्दपुराणका अनुसार द्धापरयुगमा देवी देवता र क्रृषि मुनीहरूले तपस्या गर्ने रिखार क्षेत्र मनमोहक प्राकृतिक वातावरण, जैविक र साँस्कृतीक बिविधता, बन्यजन्तु तथा पंक्षीहरू समेत भेटिन्छन् ।

Leave a Reply