पुन मगर समाज युकेले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ११ लाख ४७ हजार ३ सय ५८ रुपैयाँ .सहयोग गरेको छ। उक्त रकम नेपाल पुन मगर समाजका महासचिव प्रतिमाया पुन, केन्द्रिय समितिका सदस्यहरुद्धारा म्याग्दीका प्रतिनिधि सभा सदस्य एवम् विज्ञान तथा प्रविधी मन्त्री महावीर पुनको हातमा हस्तान्तरण गरिएको थियो ।
पुन मगर समाज युकेका अध्यक्ष तुलचन्द्र तिलिजाले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताए । नेपालमा बाढीपहिरो सहित प्राकृतिक विपत्तीमा परेकालाई कुनै समस्या नहुने गरी काम गर्न समेत अनुरोध गरेका थिए । अध्यक्ष तिलिजाले बाढीपहिरोबाट जन्मभूमी म्याग्दी समेत मानवीय क्षतीसहितको असर गरेको भन्दै सबैलाई सहकार्य गर्न अध्यक्ष तिलिजाले अपिल गरेका छन् ।
प्राकृतिक विपद्मा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आयोजित कार्यक्रममा प्रभावित परिवारलाई राहत तथा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने घोषणा गरिएको थियो। समाजले विपद्को कठिन घडीमा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि केही सहयोग पुगोस् भन्ने मानवीय भावनाका साथ उक्त रकम प्रदान गरेको जनाएको छ। विदेशमा रहेर पनि नेपाली समाज, समुदाय र मातृभूमिप्रतिको दायित्वलाई आत्मसात् गर्दै समाज मार्फत सेवा र सहयोगको भावनालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।















