म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखधारा, मनभीर सिरुबारी बस्तीका ३३ परिवारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत गैरआवासीय नेपाली संघ (एनआरएनए) को राहत सामग्री पुर्याइएको छ। साथै, म्याग्दीका प्रभावित क्षेत्रका लागि करिब रु. ११ लाख बराबरको राहत सामग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको छ। प्रभावित परिवारका लागि थप राहत सामग्री पठाउने क्रम पनि जारी रहेको छ।
हालै आएको बाढी तथा पहिरोका कारण यस क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क दुवै अवरुद्ध भएकाले प्रभावित बस्तीमा राहत तथा आवश्यक सामग्री पुर्याउन कठिनाइ भएको थियो। सडक पहुँच नभएका कारण नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री प्रभावित परिवारसम्म पुर्याइएको हो।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुन, जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) को समन्वय तथा उद्योग वाणिज्य संघ, म्याग्दीको सहकार्यमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा एनआरएनएको राहत अभियानअन्तर्गत आवश्यक राहत सामग्री पठाइएको हो।
एनआरएनएतर्फबाट प्रवक्ता सोम नाथ सापकोटाले आज राहत सामग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गर्नुभएको हो। संघको अनुरोधमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत दुर्गम तथा सडक सम्पर्क कठिन रहेको प्रभावित बस्तीमा राहत सामग्री पुर्याउने व्यवस्था गरिएको हो।
यसबाट विपद्का कारण समस्यामा परेका परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा अन्य राहत सामग्री उपलब्ध गराउन सहयोग पुगेको छ।
त्यसैगरी, अन्नपूर्ण गाउँपालिका–५, शिखधाराका ६ घरपरिवारलाई पनि एनआरएनएको राहत सामग्री उपलब्ध गराइएको छ।
अन्य प्रभावित क्षेत्रमा पनि राहत अभियान जारी
एनआरएनएको तर्फबाट बागलुङको निसीखोला गाउँपालिकाका ६८ परिवार, पर्वतको जलजला गाउँपालिकाका ३० परिवार तथा म्याग्दीको गलकोट नगरपालिका–९ का २ परिवारलाई पनि राहत सामग्री वितरण गरिएको छ।
त्यसैगरी, बागलुङको ताराखोला गाउँपालिकाका लागि रु. ६ लाखभन्दा बढी बराबरको राहत सामग्री माननीय सांसद सोम शर्माको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। सडक सञ्जालबाट अझै पनि सम्पर्कविहीन रहेको ताराखोलाका प्रभावित नागरिकसम्म राहत पुर्याउन थप समन्वय र आवश्यक व्यवस्थाको काम भइरहेको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारसम्म राहत तथा आवश्यक सहयोग पुर्याउन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, उद्योग वाणिज्य संघ तथा सम्बन्धित निकायसँगको समन्वयमा एनआरएनएको राहत तथा सहयोग अभियानलाई निरन्तरता दिइएको छ।










