नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत म्याग्दीबाट केन्द्रीय सदस्य रेशमबहादुर बानियाँ र जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ लगायत ४२ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको छ। बेनीमा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट खुला, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, श्रमिक, युवा, पेशागत, अपाङ्गता तथा अल्पसंख्यक लगायतका विभिन्न क्लस्टरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत छानिनुभएको छ ।

जिल्ला निर्वाचन अधिकृत भुमेश्वर गौतमका अनुसार खुलातर्फ अमृतमान शेरचन, कर्णबहादुर भण्डारी (केबी), खमबहादुर गर्बुजा ‘खम्बिर’, तेजिन्द्र रोका मगर, दिपेन्द्र शर्मा रिजाल, नेत्रबहादुर महत, भरतबहादुर रकाल, रेशमबहादुर बानियाँ, शिव केसी र हरिकुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।
त्यस्तै, महिलातर्फ देवीकुमारी बुढा, निर्मला श्रेष्ठ, मनकुमारी विश्वकर्मा र रामदेवी पुन चयन हुनुभएको छ । आदिवासी जनजातितर्फ केशमाया मगर, पिपला बुढा, प्रेमबहादुर शेरपुजा मगर र दीपेन्द्र श्रेष्ठ तथा खस आर्यतर्फ अमृतदेवी बानियाँ, चित्रबहादुर केसी र तारानाथ रेग्मी चयन हुनुभएको छ । दलिततर्फ धनमाया घटाने गोतामे, वीरबहादुर विश्वकर्मा र याम हर्मेल महाधिवेशन प्रतिनिधि चुनिनुभएको छ ।

यसैगरी सहिद र द्वन्द्व प्रभावित कोटाबाट भूपेन्द्रबहादुर घिमिरे, मुस्लिमतर्फ अन्जीत खान, श्रमिकबाट नगेन्द्र मल्ल, पेशागतबाट माधवप्रसाद रेग्मी र युवा महिलाबाट एस्पीला बानियाँ निर्विरोध निर्वाचित हुनुभएको छ । भने युवा खुलातर्फ निर्मल खत्री र सोहन श्रेष्ठ, अपाङ्गता कोटाबाट विरेन्द्र बुढाथोकी, अल्पसंख्यकबाट मोहन छन्त्याल र दलित (खुला रअन्य) तर्फ दिलबहादुर विश्वकर्मा सर्वसम्मत चयन हुनुभयो ।
प्रदेश सभा र पालिका पदाधिकारीहरूबाट पदेन महाधिवेशन प्रतिनिधिको रूपमा प्रदेश सभा निर्वाचन क्षेत्र (क)बाट ओम छन्त्याल (प्रदेश सभापति), चक्र केसी (बेनी नगरपालिका सभापति), निरज भण्डारी (रघुगंगा गाउँपालिका सभापति) र कृष्णप्रसाद बरुवाल (अन्नपूर्ण गाउँपालिका सभापति) रहेका छन् ।
त्यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट टंकप्रसाद पुन (प्रदेश सभापति), गोपाल भट्टचन (मंगला गाउँपालिका सभापति), राजेन्द्र जुग्जाली (मालिका गाउँपालिका सभापति) र प्रेम पुन (धवलागिरी गाउँपालिका सभापति) पदेन महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । यसै अधिवेशनबाट कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र (क) को सभापतिमा ओम छन्त्याल र (ख)को सभापतिमा टंकप्रसाद पुन निर्विरोध चयन भएको जिल्ला सहसचिव ध्रुवराज कार्कीले जानकारी दिनुभयो ।
विपद्का बेला सहमति र सहयोगको आह्वान
केन्द्रीय सदस्य बानियाँ र जिल्ला सभापति गर्बुजाले पार्टी केन्द्रको महाधिवेशन कार्यतालिका अनुसार तोकिएको समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै विपद्को यस कठिन घडीमा पनि सहमति जुटाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । सभापति गर्बुजाले विपद् आउँदादेखि नै नेता तथा कार्यकर्ता उद्धार र राहतमा खटिएको बताउँदै अविरल वर्षासँगै आएको बाढीपहिरो पीडितका लागि पार्टीले आर्थिक सहयोग गर्ने र पुनर्निर्माणका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो ।उपसभापति हरिकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश सदस्य अनोद श्रेष्ठ र जिल्ला पूर्वसहसभापति नेत्रबहादुर महत लगायतले बोल्नुभएको थियो ।
यसैबीच, जिल्लाभित्र बाढी(पहिरो पीडितको राहत र पुनर्निर्माणमा सघाउने उद्देश्यले म्याग्दी कांग्रेसले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । विपद् व्यवस्थापन समितिका संयोजक एवं पूर्वसहसभापति नेत्रबहादुर महतको नेतृत्वमा अभियान सुरु गरिएको जिल्ला सहसचिव तथा विपद् व्यवस्थापन समिति सदस्य श्रीराम पौडेलले जानकारी दिनुभयो । सभापति गर्बुजाले व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ सहयोग गरी सुरु गरिएको यस अभियानमा रकम जम्मा हुने क्रम जारी रहेको र यसमा आ–आफ्नो तर्फबाट सहयोग गर्न सबैलाई आह्वान गरिएको छ ।










