---Advertisement---

जमिनमा चिरा परेपछि बेनीबजारबासी त्रसित, भूगर्भविद्बाट अध्ययन गरिने

On: September 30, 2026 10:36 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीबजारको शिरमा रहेको पाखो धाँजा फाटेर पहिरो बग्न थालेपछि बेनीबजारबासी त्रसित भएका छन् । बेनी नगरपालिका–८, न्यूरोडको माथि पाखोमा जमिन धाँजा फाटेर चिराचिरा परेर बग्न थालेपछि बजारबासीले संरक्षणका लागि आवश्यक पहल गर्न अनुरोध गरेका छन् ।


गत असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि माथिल्लो क्षेत्रमा चिरा परेको जमिन र भासिएको ठाउँमा हरेक दिन आकार बढेको र बुधबार साँझ पहिरोसहित पानी बगेर बेनीबजारमा आएको न्युरोडका बासिन्दा सन्तोष ढुङ्गानाले बताउनुभयो ।
जमिन चिरा परेको स्थानबाट तल न्यूरोडमाथि रहेको खानेपानीको ट्याक्कीमा क्षती पुगेपछि पानी बगेर बजारमा झरेको छ । खरबारीको माथिल्लो भाग जमिन दबेको छ भने धेरै ठाउँमा चिराचिरा परेर धाँजा फाटेकाले जोखिम रहेको बेनी नगरपालिका–८ खोरियाका बासिन्दा निशा सुवेदीले बताउनुभयो ।


जमिनमा परेको चिरा झन, झन फराकिलो हुन थालेपछि नगरप्रमुख सुरत केसी,प्रमुख जिल्ला अधिकारी गणेश गैरेको टोलीले जोखिमयुक्त क्षेत्रको अवलोकन गरी फर्किएपछि भौगोलिक अवस्थाका बारेमा सचेत बनाइएको छ । पाखोमा निर्माण भएको पक्की पदमार्गको ढलान दवेको र भाँचिएको स्थानीय निशा सुबेदीले बताउनुभयो ।


पहिरोले न्युरोड र गणेशटोल क्षेत्रलाई प्रभावित बनाउने जोखिम रहेकाले जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गरेर भूगर्भविद्बाट अध्ययनका लागि प्रशासन कार्यालयमार्फत सरकारसँग सिफारिस गरिएको नगर प्रमुख केसीले बताउनुभयो । पाखोमा चिरा परेपछि बुधबार दिउँसो र साँझ रुखहरू लडेका कारण जमिनमा असर गरेको अनुमान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेलेस्थलगत अवलोकन र जोखिम अध्ययनका लागि भूगर्वविद्हरू पठाइदिन गृह मन्त्रालय मार्फत बुधबारनै पत्र पठाएको बताउनुभयो । भूगर्भविद्हरूको प्रतिवेदनको आधारमा जोखिमको अवस्था आकलन गर्न सकिने बताउँदै उनले सम्भावित जोखिम र क्षति हुन नदिनका लागि सावधानी अपनाउन सूचना जारी गरिएको छ। उक्त स्थानमा बेनीमा वितरण गरिने खानेपानीको पाइपलाइन समेत रहेको छ भने अन्य संरचनाले समेत बजार क्षेत्रलाई जोखिम बनाएको छ ।

Leave a Comment