म्याग्दीमा पहिलोपटक माध्यमिक विद्यालय तहमा कानुन संकायको पढाई सुरु हुने भएको छ । बेनी नगरपालिका–७, महारानीथानमा रहेको माउण्ट एभरेष्ट आवासीय माविले जिल्लामै पहिलो पटक चालु शैक्षिक सत्रमा कक्षा ११ र १२ मा कानून विषय पढाउने भएको हो ।

सरकारी निकायबाट कानुन विषयको पढाईको अनुमति लिएसँगै भर्ना अभियान सुरु गरेको छ । कानुनमा धेरै अवसर सृजना भएपछि विद्यार्थीको आकर्षण यसतर्फ निकै बढेको अवस्थामा कानुन विषयलाई समेत प्राथमिकतामा राखेर भर्ना सुरु गरेको विद्यालयका प्रधानाध्यापक राजु केसीले बताए । ‘कानुन पढ्ने विद्यार्थीको आर्कषण बढेको छ,‘यो अवसरलाई सदुपयोग गर्न अनुरोध गर्दछु’ केसीले भने ।

म्याग्दीमा समेत कानून सम्बन्धि कार्यसम्पादन गर्ने जनशक्तिको अभाव बढ्दै गएपछि यसलाई पूर्ति गर्ने उदेश्यका साथ विद्यालयस्तरबाटै सुरु गरिएको पठनपाठनले जनशक्ती उत्पादनमा समेत सहज हुने विद्यालयले जनाएको छ । कक्षा ११ मा अनिवार्य नेपाली र अंग्रेजीबाहेक ३०० पूर्णाङ्क र कक्षा १२ मा अनिवार्य अंग्रेजीबाहेक चार सय पूर्णाङ्क कानूनको विषय अध्ययन गर्नुपर्ने छ ।

हालसम्म १० जना विद्यार्थीले कानुन विषय रोजेका छन् भने भर्नाका लागि आउने विद्यार्थीलाई समेत जानकारी गराउने गरिएको छ । माउण्टमा पत्रकारिता र ट्राभल एण्ड टुरिजमको समेत पढाई हुन्छ । एसइई परीक्षामा न्यूततम १.६ जिपिए ल्याउने विद्यार्थीले कानून पढ्न पाउनेछन् ।

यो तहमा कानुनको अध्ययनले विद्यार्थीलाई आधारभूत तहदेखि नै विधिशास्त्र, संवैधानिक कानुन, मानवअधिकार लगायतका विषयमा ज्ञान प्राप्त हुन्छ भने कानुनमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीका लागि कक्षा ११ र १२ को कानून संकायको पढाई बलियो जगका रुपमा स्थापित गर्न सहज हुने कानुनका जानकारहरुको भनाई छ ।
माउण्ट एभरेष्टमा यसअगाडी पत्रकारिता र ट्राभल एण्ड टुरिजमको समेत नियमित पढाई हुने गरेको छ ।

 

Leave a Reply