हरिकृष्ण गौतम
म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयको “म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ” को पूर्वसन्ध्यामा अष्ट्रेलियामा रहनुभएका कुहुँ तुसारेपानीका मुक्ति र टिका रोका दम्पत्तीले स्वर्गीय बुबा गणेशबहादुर र आमा पोविसरा रोकाको स्मृतिमा १५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ।
बिहिबारदेखि सुरु हुने महायज्ञमा परिवारको तर्फबाट रोका दम्पत्तीले उक्त सहयोगको प्रतिबद्धता जनाउनुभएको विद्यालयका प्रअ डा.नन्दबहादुर खत्रीले बताउनुभयो । ‘विद्यालयको शैक्षिक क्षेत्रमा उहाँको अतुलनीय योगदान छ, महायज्ञमा प्राप्त सहयोगले हामीलाई थप हौसलमा मिलेको छ’ प्रअ डा. खत्रीले भन्नुभयो । सहयोगदाता रोका दम्पत्ती तथा आमा टिकाकुमारी रोका, छोराछोरी सृष्टि, समित रोकाको तर्फ उक्त सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।

सहयोगदाता रोका दम्पत्तीले विद्यालयमा यसअगाडी १० लाखको अक्षय कोष स्थापना गरी हरेक बर्ष कोषमार्फत खेलुकद सहितका शैक्षिक गतिविधि गर्ने गरिएको छ । तत्कालिन समयमा सहयोगदाता मुक्ति रोकाकी आमा पोविसराको कहालीलाग्दो दुर्घटनामा निधन भएपछि बुबा तत्कालिन कुहूँ गाविसका सचिव गणेशबहादुर रोकाले दीपशिखा माविमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक पुरस्कारका लागि बि.स २०६३ सालमा कोषको स्थापना गर्नुभएको थियो । समाजसेवी रोकाको कोरोना संक्रमणको कारण निधन भएपछि कोषको नाम गणेशबहादुर र पोविसरा रोकाको स्मृति नामाकरण गरिएको थियो ।

यसैबीच विद्यालयमा आयोजना हुने महायज्ञको तयारी पूरा भएको सहयाक प्रअ हरिकृष्ण भट्टराईले बताउनुभयो । यही कात्तिक २६ देखि आगामी मंसिर ३ गतेसम्म कुहुँ स्थित विद्यालय परिसरमा सञ्चालन हुने महायज्ञमा हालसम्म थप विद्यालयका पूर्व प्रअ भद्र बहादु क्षत्रीबाट ५ लाख ५ हजार ५५५ रुपैयाँ, पुर्व विद्यार्थी महेन्द्र घर्तीबाट ३ लाख ५० हजार रुपैयाँ, भुपु माननीय नरबहादुर पुनबाट ३ लाख रुपैयाँ सहयोग गर्नुभएको छ भने बुधबारसम्म करिब ४० लाखको प्रतिबद्धता प्राप्त भएको छ । विपन्न, भौगोलिक रुपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीहरुलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरि सिकाई उपलब्धी वृद्धि गर्ने उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको थियो ।
पण्डीत दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने महायज्ञबाट तीन करोड जुटाउने र दुई करोडभन्दा बढी बचत गर्ने लक्ष्य राखिएको सहायक प्रअ. हरिकृष्ण भट्टराईले जानकारी दिनुभयो । भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कशलयात्रा, आरती, झाकी प्रर्दशनि गरिनेछ ।

प्रबिधीको प्रयोग र शैक्षिक गुणस्तर बृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्युनीकरण गर्ने पनि उद्देश्य रहेकोमा महायज्ञ अवधिमा लक्ष्य अनुसार सहयोग प्राप्त हुने छ । कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ९६ जना विद्यार्थी छन् । वि.स. २०१७ मा स्थापना भएको विद्यालयले वि.स. २०४७ देखि माध्यमिक र वि.स. २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।













