म्याग्दीमा बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले फ्रान्समा आयोजना गरिएको देउसी–भैलो कार्यक्रमबाट २ हजार ४८५ युरो संकलन भएको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सको आयोजनामा नोभेम्बर ९, २०२६ मा सम्पन्न देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रमबाट उक्त रकम संकलन भएको हो। फ्रान्समा रहेका म्याग्देली तथा अन्य नेपाली समुदायका व्यक्तिहरूले देउसी–भैलोमा दक्षिणा, स्वेच्छिक दान तथा आर्थिक सहयोग प्रदान गरेको महासचिव महेन्द्र बोहोराले बताउनुभयो ।

मोना फ्रान्सका उपाध्यक्ष मानबहादुर सेन्चुरीको निवासमा आयोजित कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनसँगै गृहजिल्ला म्याग्दीमा बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्य राखिएको थियो। विदेशमा रहेर पनि जन्मभूमिमा विपत्ति पर्दा सहयोग गर्नुपर्छ भन्ने भावनासहित म्याग्देलीहरू अभियानमा जोडिएका थिए। कार्यक्रममा फ्रान्समा बसोबास गर्ने म्याग्देलीका साथै अन्य नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सहभागीहरूले देउसी–भैलोमा दक्षिणा प्रदान गर्नुका साथै बाढीपहिरो पीडितको सहयोगार्थ स्वेच्छाले आर्थिक सहयोग गरेका थिए।

कार्यक्रममा गायिका पूर्णिमा घर्ती मगरले सांगीतिक प्रस्तुति दिनुभएको थियो। उहाँको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र सांस्कृतिकमय बनाएको आयोजकले जनाएको छ। नेपाली मौलिक संस्कृति र परम्परालाई विदेशमा पनि निरन्तरता दिने उद्देश्यले आयोजित कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यको भावनासमेत अभिवृद्धि गरेको थियो।
मोना फ्रान्सका अध्यक्ष दिलबहादुर गर्बुजाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले देउसी–भैलोमा सहभागी भएर आर्थिक सहयोग, दक्षिणा तथा स्वेच्छिक दान प्रदान गर्ने फ्रान्समा रहेका सम्पूर्ण म्याग्देली तथा गैरम्याग्देली नेपालीप्रति आभार व्यक्त गर्नुभएको छ। संकलित २ हजार ४८५ युरो म्याग्दीका बाढीपहिरो प्रभावित परिवारको सहयोगमा परिचालन गरिनेछ। संकलित रकमको विस्तृत विवरण तथा कसले कति सहयोग गर्नुभयो भन्ने विवरण पारदर्शिताका साथ छुट्टै सार्वजनिक गरिने मोना फ्रान्सले जनाएको छ।
म्याग्दीमा प्राकृतिक विपत्तिका कारण घर, खेतबारी तथा सम्पत्तिमा क्षति व्यहोरेका परिवारलाई राहत तथा पुनस्र्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला विदेशमा रहेका म्याग्देलीहरूले देउसी–भैलोमार्फत आर्थिक सहयोग जुटाएका हुन्। मोना फ्रान्सले देउसी–भैलो कार्यक्रमलाई मनोरञ्जन र सांस्कृतिक उत्सवमा मात्र सीमित नराखी गृहजिल्लाका विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने मानवीय अभियानका रूपमा अघि बढाएको छ।















