पोखरा । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा म्याग्दीका दुई युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका–दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र रघुगङ्गा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार आज दिउँसो करिब २:५० बजे पोखरा महानगरपालिका–५, जिरो किलोमिटर नजिक रोकिराखेको लु ३ च ५२७४ नम्बरको बोलेरो जिपमा ग २३ प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनापछि बोलेरो जिपका चालक पोखरा महानगरपालिका–२८, कालिका निवासी ४८ वर्षीय अमृत बजगाईं तथा दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए।













